`

दीपक खड्कालाई अदालत ल्याइयो

Nepal One HD १५ चैत २०८२ १७:२५
नेपाली कांग्रेस

काठमाडौं । दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। आज बिहान पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई म्याद थप प्रक्रिया अघि बढाउन अदालत लगिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

सुधन गुरुङका अनुसार भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा भेटिएको रकमबारे अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो।

खड्काको निवासमा जलेको अवस्थामा फेला परेको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै घरबाट जलेका नोटका टुक्रा तथा वरपरबाट खरानी संकलन गरिसकेको छ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए। आगलागीपछि नेपाली तथा विदेशी मुद्राका नोट जलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। केही सग्ला नोट प्रदर्शनकारीले लगेको देखिने तस्बिर र भिडियोसमेत बाहिरिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *