`

महेश बस्नेतलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी परिचालन

Nepal One HD १५ चैत २०८२ १९:२८
नेकपा एमाले

काठमाडौं। महेश बस्नेतलाई पक्राउ गर्ने तयारी प्रहरीले अघि बढाएको छ। आइतबार नै पक्राउ गर्ने तयारी भए पनि अनुकूल अवस्था नभएकाले स्थगित गरिएको र अहिले पुनः तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार आइतबार साँझमै बस्नेतलाई नियन्त्रणमा लिने तयारी भएको थियो। उनीविरुद्ध साइबर अपराधसम्बन्धी उजुरी परेपछि सोही आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो।

जानुका पाठक (शोभा)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाउँदै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

यसअघि प्रहरीले उक्त जाहेरीमाथि थप अनुसन्धान आवश्यक नदेखिएको भन्दै तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयमा पत्र पठाएको थियो। तर, सरकारी वकिल कार्यालयले बस्नेतले फेसबुकमा ‘नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपस्ट बौलाउँदै हिँडिरहेको छ’ भन्ने अमूर्त र अमर्यादित अभिव्यक्ति प्रयोग गरेको सन्दर्भमा त्यसले कसलाई लक्षित गरेको हो भन्ने स्पष्ट गर्नुपर्ने बताएको छ।

केही दिनदेखि गृहमन्त्रालयले बस्नेतका गतिविधिमाथि निगरानी राख्दै आएको र पक्राउको तयारीबारे बस्नेत स्वयं पनि जानकार भइसकेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *