`

कोइराला नेपाली राजनीतिक वृत्तका बहुआयामिक व्यक्ति : पूर्वराष्ट्रपति भण्डारी

Nepal One HD १९ चैत २०८२ १८:४२
प्रमुख खबर

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कमलप्रसाद कोइराला नेपाली राजनीति वृत्तका बहुआयामिक व्यक्ति रहेको बताउनुभएको छ ।

कमलप्रसाद कोइराला स्मृतिग्रन्थ प्रकाशन समितिले आज यहाँ आयोजना गरेको ‘कमलप्रसाद कोइराला स्मृतिग्रन्थ’ लोकार्पण समारोहमा पूर्वराष्ट्रपति भण्डारीले उहाँका सबै परिवारका अग्रज फरक राजनीतिक धारको अग्रस्थानमा रहेपनि कोइरालाले आफ्नै वैचारिक मार्ग खोजेको बताउनुभयो ।

“कम्युनिष्ट विचारधारालाई आत्मसात गर्दै उहाँले जीवनपर्यन्त राष्ट्रियता सार्वभौमिकता, सामाजिक न्याय र समानताको पक्षमा दृढदापूर्वक कलम चलाउनुभयो र सङ्घर्षको कठिन बाटो अङ्गाल्नुभयो”, उहाँले भन्नुभयो, “कमल कोइरालाको जीवनशैली अन्यन्त सरल, सादगीपूर्ण र मिलनसार थियो । पद प्रतिष्ठा र विलासिताभन्दा टाढा रही आफ्नो जीवन लेखक र राजनीतिक अभियानका माध्यमबाट जनता र राष्ट्रको सेवामा समर्पित रहनुभयो ।”

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कमल कोइराला आफ्नो परिवारको एक्लो कम्युनिष्ट रहेको चर्चा गर्दै पछिल्लो पटक उहाँ कम्युनिष्ट आन्दोलनप्रति नरम हुँदै गएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता गिरिराजमणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको जनमत खस्केको भन्दै त्यसलाई गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार किशोर श्रेष्ठले कमल कोइराला सरल, सहज र सादगी व्यक्तिका रुपमा परिचित रहेको बताउनुभयो । कोइरालाको ८७ बर्षको उमेरमा २०८१ चैत १७ गते उपचारका क्रममा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *