मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान
जनकपुर। मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधामदेखि सुरु भएको स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान मधेस प्रदेशका १३६ पालिका एवं सहरमा सञ्चालन गरिने बताउनुभएको छ ।
जनकपुरधाममा आज पत्रकार सम्मेलनमा उहाँले जनकपुरधामबाट सुरु भएको सार्वजनिकस्थलको संरक्षण गर्ने अभियान मधेस प्रदेशका सबै पालिकामा सञ्चालन हुने बताउनुभएको हो ।
गृहमन्त्री महतोले गत चैत २७ गते जनकपुरधाममा आठ जिल्ला प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूको समन्वय बैठकमा सबै स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक सम्पत्तिको रक्षा तथा अतिक्रमण हटाउने र सफा बनाउने विषयमा सुरक्षा निकायलाई निर्देशन दिइएको बताउनुभयो ।
गृहमन्त्री महतोले प्राचीन मिथिलाको राजधानीका रूपमा परिचित जनकपुरधाममा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटनमा उल्लेखनीय वृद्धि गरेर यस क्षेत्रको आर्थिक विकासको व्यापक सम्भावना व्यापक रहेको बताउनुभयो ।
प्रदेश सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढिरहेको जानकारी दिँदै उहाँले विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
