`

अन्तर्राष्ट्रिय श्रमिक दिवस : अनौपचारिक क्षेत्रका श्रमिकहरू अझै मारमा (तस्वीरहरू)

Nepal One HD १८ वैशाख २०८३ १३:१५
अर्थ समाचार

काठमाडौं । हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। श्रमिकहरूको हक, अधिकार र योगदानको सम्मानमा मनाइने यस दिवसमा नेपालका अधिकांश श्रमिक भने अझै पनि आधारभूत अधिकारबाट वञ्चित छन्।

नेपालमा करिब ८० प्रतिशतभन्दा बढी श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्। निर्माण, कृषि, यातायात, घरेलु काम लगायतका क्षेत्रमा कार्यरत यी श्रमिकहरू कुनै स्पष्ट श्रम सम्झौता, सामाजिक सुरक्षा वा बीमाको सुविधा बिना काम गर्न बाध्य छन्।

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि कामको निश्चित समय, न्यूनतम ज्याला र सुरक्षित कार्यस्थल अझै सुनिश्चित हुन सकेको छैन। दैनिक ज्यालामा काम गर्नेहरू काम पाए मात्र आम्दानी हुने भएकाले उनीहरूको जीवनयापन अनिश्चित छ।

थापाथलीस्थित सुकुम्बासी बस्ती भत्किएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएकी ५५ वर्षीया गीता लामा दैनिक ज्याला मजदुरीका लागि साबेल चलाउँदै भन्छिन्, ‘अस्तिसम्म सुकुम्बासीमै भए पनि आफ्नै घर थियो, अहिले त्यो पनि छैन। हामी दैनिक ज्याला मजदुरी गर्नेहरूलाई काम पाउन गाह्रो छ, काम पाए पनि शारीरिक रूपमा गर्न नसकिने हुन्छ। दैनिक १ हजार ज्यालामा काम गर्नुपर्छ, महँगी बढेको छ, खाना, लुगा सबै चाहिन्छ। त्यो १ हजारले दैनिकी चलाउन पनि मुस्किल छ।’

सुकुम्बासी बस्तीबाटै होल्डिङ सेन्टरमा बस्दै आएका विजय मगरको पनि उस्तै अवस्था छ। उनले भने, ‘अहिले दैनिक कमाइले जीवन चलाउन मुस्किल छ, दैनिक कमाइ थोरै छ, महँगी बढ्दै गएको छ। सार्वजनिक बस चढ्दा उस्तै महँगो भाडा छ, बजारमा केही सस्तो छैन। दैनिक १ हजार कमाइ हुन्छ, सधैं काम पाइँदैन,’ उनले बताए।

बिहान कामको खोजीमा निस्किने र साँझ हातमा परेको ज्यालाले घर चलाउने बाध्यता गीता लामा र विजय मगरको मात्र होइन, अझै पनि हजारौं श्रमिकको यथार्थ हो। काम नपाएको दिन उनीहरूलाई परिवारको पेट पाल्नै समस्या हुने अवस्था छ।

सल्यानबाट काठमाडौं आई कुलेश्वर फलफूल बजारमा भारी बोक्दै आएका टेकबहादुर सुनार र वीरबहादुर बस्नेतको अवस्था पनि उस्तै छ। दैनिक रूपमा भारी बोक्ने उनीहरू, काम नभएको दिन कमाइविहीन हुन्छन्। न्यून कमाइबाटै परिवारको लालनपालन, पढाइ लगायत सबै जिम्मेवारी पूरा गर्नुपर्ने कर्तव्य उनीहरूको काँधमा छ। त्यसैले उनीहरू यो दुःखको काम छोड्न सक्दैनन्।

न्यूनतम ज्याला, सामाजिक सुरक्षा र बीमामा पहुँच बाहिर

सरकारले तोकेको न्यूनतम ज्याला व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। विशेषगरी निर्माण र साना उद्योग क्षेत्रमा श्रमिकहरूले तोकिएकोभन्दा कम पारिश्रमिक पाउने गुनासो व्यापक छ।

श्रमिक संगठनहरूले बारम्बार आवाज उठाए पनि अनुगमन र कार्यान्वयन कमजोर देखिन्छ। त्यस्तै, सामाजिक सुरक्षा कोषको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रका धेरै श्रमिक यसमा आबद्ध हुन सकेका छैनन्।

रोजगारी अस्थायी हुनु, जानकारीको अभाव र नियोक्ताको बेवास्ता यसको मुख्य कारण हुन्। यसका कारण दुर्घटना, बिरामी वा बेरोजगारीको अवस्थामा श्रमिकहरू पूर्ण रूपमा असुरक्षित रहन्छन्।

त्यसका साथै महिला श्रमिकहरू घरेलु काम, कृषि तथा साना उद्योगमा न्यून पारिश्रमिक र दोहोरो श्रमको मारमा छन्। यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका वा देशभित्रै बसाइँ सरेका श्रमिकहरू पनि अस्थिर रोजगारीको चक्रमा फसेका देखिन्छन्।

श्रमिकको अधिकार कागजमै सीमित भएकाले व्यवहारमा सुनिश्चित हुन सकेको छैन। श्रमिकहरू संगठित हुन नसक्नु र आवाज कमजोर हुनु पनि अर्को चुनौती हो।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा औपचारिक कार्यक्रम र नाराहरूभन्दा बाहिर निस्केर श्रमिकहरूको वास्तविक समस्या समाधानतर्फ ठोस पहल आवश्यक देखिन्छ।

श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र सुरक्षित कार्यस्थल सुनिश्चित नगरी समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने विज्ञहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *