रवि जेलबाट भाग्नु फौजदारी अपराध भएको आयोगको निष्कर्ष
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता देखिएको उल्लेख गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोगले उक्त कार्य मानव अधिकार उल्लंघन मात्र नभई कारागार ऐन, २०७९ अनुसार फौजदारी अपराधसमेत भएको निष्कर्ष निकालेको छ ।
आयोगले तयार पारेको छानबिन प्रतिवेदनमा रवि लामिछानेसहित नख्खु कारागारका प्रशासक सत्यराज जोशी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र हरि ढकालमाथि पनि अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी र बालबिझ्याइँकर्तालाई बाहिर पठाउन सहयोग गरिएको र त्यसबाट आम नागरिकको मानव अधिकार प्रभावित भएको उल्लेख गरिएको छ ।
आयोगका अनुसार यस घटनामा रवि लामिछाने र कारागार प्रशासक सत्यराज जोशीको भूमिका देखिएकाले थप अनुसन्धान आवश्यक रहेको हो ।
आयोगले सोधपुछका क्रममा रवि लामिछाने र जेलर सत्यराज जोशीको बयान बाझिएको पनि जनाएको छ । प्रतिवेदनअनुसार जेलर जोशीले रवि लामिछानेका समर्थक र सहयोगीबाट डर, त्रास तथा दबाब आएको कारण आफूले रिहा सम्बन्धी पत्रमा सही गरेको बताएका छन् ।
तर रवि लामिछानेले भने कारागार प्रशासनकै आग्रहमा आफू बाहिरिएको दाबी गरेका छन् । उनले जेलरले ‘तपाईं बाहिर गए जेल सुरक्षित हुन्छ’ भनेपछि आफू बाहिरिएको बयान दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
