`

एक महिनादेखि बेपत्ता असई युवतीसँग झुण्डिएको अवस्थामा मृत फेला

Nepal One HD २० जेठ २०८३ १६:५५
प्रमुख खबर

काठमाडौं। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमा पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी निवासी सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) शक्तिराम र कैलालीको घोडाघोडी नगरपालिका–१ की २६ वर्षीया शर्मिला चौधरी रहेका छन्।

उनीहरूको शव पाँचखाल नगरपालिका-३ स्थित ठूली सामुदायिक वनभित्र एउटै रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार दुवै जनाको शव सडेको अवस्थामा फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट घटना केही दिनअघि नभई लामो समयअघि भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार शक्तिराम सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा कार्यरत थिए। उनी वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा गएका थिए। यता शर्मिला चौधरी वैशाख १८ गते शक्तिरामलाई भेट्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

दुवै जना सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि सम्बन्धित निकायमा निवेदन दिएका थिए। शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बलको १५ नम्बर हेडक्वाटर पाँचखालमा खोजतलासका लागि निवेदन दिएका थिए भने शर्मिलाका भाइ रञ्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दर्ता गराएका थिए।

बुधबार बिहान वन क्षेत्रमा सल्लाको खोटो संकलन तथा अनुगमनका क्रममा पुगेका वन उपभोक्ता समितिका सदस्यहरूले रुखमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले शवको पहिचान गर्ने प्रक्रिया अघि बढाएको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट बरामद कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातका आधारमा परिवार र आफन्तसँग रुजु गर्दा मृतकहरूको पहिचान खुल्न आएको हो।

घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *