तुलसीपुरमा ३५५ जनामा देखियो क्षयरोग
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा बालबालिकासहित ३५५ जनामा क्षयरोग (टिबी) संक्रमण पुष्टि भएको छ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमितमध्ये १५ वर्षमुनिका ३४ जना बालबालिका रहेका छन् भने १५ वर्षभन्दा माथिका ३२१ जनामा क्षयरोग देखिएको हो ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका क्षयरोग स्रोत व्यक्ति शिवप्रसाद तिवारीका अनुसार सरकारी तथा केही निजी स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेका १३ वटा डट्स (डाइरेक्टली अब्जर्भ्ड ट्रिटमेन्ट सर्ट–कोर्स) केन्द्रबाट निःशुल्क परीक्षण, उपचार र व्यवस्थापन सेवा प्रदान भइरहेको छ।
तिवारीका अनुसार तुलसीपुर क्षेत्रमा क्षयरोग उपचारको सफलता दर उत्साहजनक रहेको छ। हाल संक्रमितमध्ये करिब ९७ प्रतिशत बिरामी पूर्ण रूपमा निको हुने गरेका छन् भने करिब ३ प्रतिशत बिरामीको क्षयरोगकै कारण मृत्यु हुने गरेको तथ्यांक छ।
नेपाल सरकारले सन् २०३५ सम्म देशलाई क्षयरोगमुक्त बनाउने राष्ट्रिय लक्ष्य अघि सारेको सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले पनि स्थानीय स्तरमा विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।
जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमपी न्यौपानेका अनुसार आगामी तीन वर्षभित्र तुलसीपुरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्यसहित निदान, उपचार र व्यवस्थापनका कार्यक्रमलाई थप प्रभावकारी बनाइएको छ। उनले समयमै परीक्षण, संक्रमितको पहिचान र नियमित औषधि सेवन सुनिश्चित गर्न सकिए क्षयरोग नियन्त्रण सम्भव हुने बताए।
यद्यपि, समुदायमा अझै पनि क्षयरोगबारे चेतनाको कमी, प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने प्रवृत्ति तथा सबै सम्भावित बिरामीको समयमै परीक्षण हुन नसक्नुजस्ता चुनौतीहरू बाँकी रहेको न्यौपानेले उल्लेख गरे।
स्वास्थ्यकर्मीहरूका अनुसार दुई साताभन्दा बढी लगातार खोकी लाग्ने, तौल घट्दै जाने, राति धेरै पसिना आउने, ज्वरो आउने तथा थकान महसुस हुने लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुपर्ने हुन्छ।
समयमै उपचार सुरु गरेमा क्षयरोग पूर्ण रूपमा निको पार्न सकिने रोग भएको चिकित्सकहरू बताउँछन्।
