प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने – एमाले
काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले संसदमा आएर माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भएको दाबी गर्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने मागसमेत राखिन्।
अर्यालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै अभिन्न भूभाग भएको उल्लेख गर्दै ती क्षेत्र निःसर्त रूपमा फिर्ता हुनुपर्ने धारणा राखिन्।
उनले भनिन्, ‘आज पनि राष्ट्रियता सम्बन्धी बहस चलिरहेको छ, यो कुनै एउटा प्रतिपक्षको विषय मात्रै होइन, यो ३ करोड नेपाली जनताको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ।’
उनले राष्ट्रियताको विषयमा सत्ता–विपक्षबीच विभाजन हुनु नहुने बताउँदै संसदबाट साझा राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने प्रस्तावसमेत अघि सारिन्।
अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर क्षमायाचनासहित विवादित अभिव्यक्ति रेकर्डबाट हटाउने प्रक्रिया अघि बढाउन सभामुखलाई आग्रह गरेकी छन्।
