न्याय माग्दै रास्वपा कार्यालय घेराउ गर्न पुगे जेनजी अभिभावक
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूका अभिभावकहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन्।
तर उनीहरूलाई कार्यालय प्रवेश गर्न प्रहरीले रोकेको छ। आफ्ना कुरा राख्न चाहँदा पनि बाहिरै रोकिएको उनीहरूले बताएका छन्।
अभिभावकहरूले आफ्ना सन्तानलाई न्याय दिनुपर्ने भन्दै रास्वपाको कार्यालयमै आएर आवाज उठाएका हुन्। उनीहरूको भनाइमा, जेन–जी आन्दोलनकै जगमा पार्टीले राजनीतिक लाभ लिएको भन्दै अहिले आफ्ना छोराछोरीलाई अन्याय भएको छ।
‘उहाँहरूलाई कसैले यहाँ आउन बोलाएको रहेछ, तर अहिले प्रहरीले बाहिरै रोकेको छ,’ जेन–जी अगुवा रिजन रानामगरले बताए।
पक्राउ परेका अमिर गुरुङ, निकेश विक, युनिक श्रेष्ठ, मिलन खत्री, विनोद कार्की, मिलन तामाङ र अभिषेक बस्नेतलगायतका परिवारका सदस्यहरू कार्यालय पुगेका थिए।
प्रहरीले प्रवेश रोकेपछि उनीहरूले न्यायको माग गर्दै कार्यालय प्रवेश गर्न दिनुपर्ने अडान राखिरहेका छन्।
