`

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन गर्न शाहीको माग

Nepal One HD २६ जेठ २०८३ २१:२०
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको स्वागत गरेका छन्। ‘माननीय गृहमन्त्री  सुधन गुरुङज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ शाहीले लेखेका छन्।   

शाहीले मंगलबार  सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दरबार हत्याकाण्ड सम्बन्धी सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘दरबार हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गर्ने प्रतिबद्धताको हार्दिक स्वागत गर्दछु। सत्यतथ्य उजागर गर्न घटनाकालमा जिम्मेवार पदमा रहेका सबै सरोकारवालाहरू, विशेषगरी तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति महामहिम रामचन्द्र पौडेलज्यू लगायतलाई अनुसन्धानको दायरामा ल्याई निष्पक्ष छानबिन गर्न हार्दिक अपिल गर्दछु।’ 

उनले तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल लगायत सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरेका छन्।

शाहीले दरबार हत्याकाण्ड नेपाली इतिहासको अत्यन्त संवेदनशील र रहस्यमय घटनामध्ये एक भएकाले यसबारे उठेका प्रश्नहरूको जवाफ दिन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक रहेको बताएका छन्।

उनले सरकारले कुनै पूर्वाग्रह वा राजनीतिक प्रभावबिना अनुसन्धान प्रक्रिया अघि बढाई जनतासामु सत्य तथ्य ल्याउने विश्वाससमेत व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *