`

‘मलाई माटोमा मिलाउँछु भन्छन्, म आफैँ माटो हुँ’ – हर्क साम्पाङ

Nepal One HD ३० जेठ २०८३ १९:४२
प्रमुख खबर

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले देशप्रतिको आफ्नो गहिरो प्रेमकै कारण आफूले निरन्तर गाली र अपमान सहनुपरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित श्रम संस्कृति पार्टी उपत्यका साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूलाई संसारमै सबैभन्दा बढी गाली र अपमान गरिने व्यक्ति आफू भएको अनुभूति भएको बताए ।

उनले भने, ‘मैंले सबैभन्दा पहिले के महसुस गर्छु भने यो देशलाई माया गर्दा दुनियाँभरका मानिसले गाली गर्दा रहेछन्। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने र अपमान गरिने मान्छे म हुँ। मैले किन गाली खाइराख्नुपरेको छ भने म देशलाई बिछट्टै माया गर्छु।’

साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरैपटक रोएको र हाँसेको बताए । ‘देशलाई सम्झेरै थुप्रै पटक रोएको छु, हाँसेको पनि छु। हाँसेँ भने यो देशसँगै हाँसौँला, रोएँ भने यो देशसँगै रोऔँला। देश बिर्सिएर एकै पल पनि बाँच्न नपरोस्।’

साम्पाङले आफूलाई आलोचना गर्नेहरूलाई संकेत गर्दै भने, ‘मलाई धेरै मान्छेले माटोमा मिलाउँछु भन्छन्। मलाई कहाँ मिलाउने ? म आफैँ माटो हुँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *