रास्वपा महाधिवेशन : कांग्रेसबाट सभापति गगन स्वयं रबि-बालेनसँग उभिँदै
चितवन । चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा स्वयं शुभकामना दिन उपस्थित हुने भएका छन्।
यसअघि उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी भए पनि अन्ततः सभापति थापा आफैं सहभागी हुने निर्णय भएको उनका सचिवालय प्रमुखले जानकारी दिएका छन्।
पार्टी स्रोतका अनुसार संसदको सबैभन्दा ठूलो दलको महाधिवेशन भएकाले त्यसलाई बेवास्ता गर्न नहुने निष्कर्षसहित सभापति थापा स्वयं जाने निर्णय गरिएको हो।
अन्य दलका प्रतिनिधिहरू पनि महाधिवेशनमा सहभागी हुने क्रम जारी छ। नेकपा एमालेले पूर्व उपमहासचिव प्रदीप ज्ञवालीलाई पठाउने भएको छ भने नेकपा माओवादी केन्द्रले सचिवालय सदस्य वर्षमान पुनलाई प्रतिनिधि बनाएको छ।
यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनलाई शुभकामना दिइसकेका छन्। अन्य दलहरूबाट पनि क्रमशः प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
