रास्वपा महाधिवेशनमा देखिने छैनन् तीन संस्थापक
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै गर्दा पार्टी स्थापना गर्दाका केही चर्चित नेता महाधिवेशनमा नदेखिने भएका छन् ।
पार्टी निर्माण, संगठन विस्तार र वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाको उदयमा महत्वपूर्ण भूमिका खेलेका तीन संस्थापक डा. मुकुल ढकाल, सुमना श्रेष्ठ र सन्तोष परियार पार्टीकाे पहिलाे महाधिवेशनमा नदेखिने भएका हुन् ।
ढकाल रास्वपा गठनका बेला सभापति रवि लामिछानेपछि सबैभन्दा प्रभावशाली नेतामध्ये एक थिए। पार्टी दर्ता, विधान निर्माण, संगठन विस्तार र राजनीतिक दस्तावेज तयार पार्ने काममा उनको महत्वपूर्ण भूमिका थियो। उनी प्रवक्ता हुँदै महामन्त्रीसम्म बनेका थिए। तर पछि पार्टी नेतृत्वसँगको विवाद र अनुशासनसम्बन्धी प्रश्न उठेपछि उनी कारबाहीमा परे र पार्टीबाट बाहिरिए।
त्यस्तै, रास्वपाकी संस्थापक नेतृ सुमना श्रेष्ठ पनि महाधिवेशनमा देखिने छैनन्। पार्टीकी सहमहामन्त्री तथा समानुपातिक सांसद भइसकेकी श्रेष्ठले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपासँग दूरी बनाएकी छिन् । पूर्वशिक्षामन्त्रीसमेत रहेकी उनले शिक्षा र नीतिगत बहसमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
अर्का संस्थापक सदस्य सन्तोष परियार पनि अहिले रास्वपामा छैनन्। पार्टीको प्रारम्भिक संगठन निर्माणमा सक्रिय रहेका परियार पछि रास्वपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए। त्यसैले उनी पनि रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुने छैनन्।
रास्वपाले महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थापक सदस्यहरूको योगदानलाई सम्मान गर्ने तयारी गरेको छ। तर पार्टी स्थापना र विस्तारका क्रममा महत्वपूर्ण भूमिका खेलेका यी तीन संस्थापक अनुहारको अनुपस्थितिले महाधिवेशनमा एउटा विशेष चर्चा भने सिर्जना गरेको छ।
७ असार २०७९ मा दर्ता भएको रास्वपाले स्थापना भएकै वर्षको प्रतिनिधिसभा निर्वाचनमा २१ सिट जित्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको थियो। त्यसपछि प्राप्त राजनीतिक सफलतासँगै पार्टी पहिलो महाधिवेशनसम्म आइपुगेको भए पनि सुरुवाती यात्राका केही प्रमुख सहयात्रीहरू भने अब त्यो यात्राको हिस्सा छैनन्।
