मेसीको गोलमा अर्जेन्टिनाको शानदार पुनरागमन, खेल २–२ को बराबरीमा
काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को नकआउट चरणमा मंगलबार राति भइरहेको इजिप्ट र अर्जेन्टिनाबीचको खेल अत्यन्त रोमाञ्चक बनेको छ। दुई गोलले पछि परेको अवस्थाबाट अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै खेल २–२ को बराबरीमा ल्याएको छ।
खेलको ८०औँ मिनेटमा क्रिस्टियन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। त्यसको तीन मिनेटपछि कप्तान तथा स्टार खेलाडी लियोनेल मेसीले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपछि अर्जेन्टिनाले खेल बराबरीमा पुर्याएको हो। मेसीको गोलसँगै अर्जेन्टिनाका समर्थक उत्साहले भरिएका छन् भने खेलको रोमाञ्च थप बढेको छ।
यसअघि इजिप्टले खेलको १४औँ मिनेटमा यासिर अब्राहिम र ५८औँ मिनेटमा मोस्ताफा जिकोको गोलमा २–० को अग्रता बनाएको थियो। तर, अन्तिम चरणमा अर्जेन्टिनाले लगातार दुई गोल गर्दै खेलको दिशा नै परिवर्तन गरेको छ।
खेलको अन्तिम समय नजिकिँदै गर्दा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ आक्रामक खेलिरहेका छन्। निर्धारित समयको बाँकी मिनेटमा दुवै टोलीले निर्णायक गोलको खोजी जारी राखेका छन्, जसका कारण खेल थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ।
