`

स्वर्गको नाङ्गो नाच

समिन बरुवाल २४ असार २०८३ १८:५८
अन्तर्वार्ता/बिचार

‘स्वर्ग’ मानव सभ्यताको सबैभन्दा पुरानो र आकर्षक कल्पनामध्ये एक मानिन्छ। हजारौँ वर्षदेखि मानिसले दुःख, अन्याय, मृत्यु र अभावबाट मुक्त हुने एउटा स्थानको कल्पना गर्दै आएको छ। त्यो स्थानलाई कसैले स्वर्ग भन्यो, कसैले जन्नत, कसैले देवलोक, कसैले स्वर्गीय राज्य, त कसैले महापरिनिर्वाणको संज्ञा दिए।

प्रायः धर्ममा सबैभन्दा पवित्र मानिने वा सत्कर्मको फलस्वरूप स्वर्ग प्राप्ति हुने विश्वास गरिन्छ। के साँच्चै स्वर्ग यति पवित्र छ? यदि छ भने, किन त्यसको नाममा पृथ्वीमा यति धेरै विभाजन, हिंसा, व्यापार, सत्ता र छल देखिन्छ?

पत्याउन गाह्रो हुन्छ। किनकि स्वर्गको सपना देखाएर मानिसलाई मानवताभन्दा टाढा पुर्‍याइएका दृष्टान्तहरू छ्यापछ्याप्ती भेटिन्छन्। स्वर्गकै नाममा अनेकौँ छलकपट, धोकाधडी, व्यवसाय, अपराध आदि भइरहेको पनि पाइन्छ। खास ठेट शब्दमा, ‘स्वर्गको नाङ्गो नाच’ धर्तीमै प्रशस्त देख्न सकिन्छ।

कस्तो होला स्वर्ग? के होला स्वर्ग? प्रश्न उठ्छ। किनकि ज्ञानको सुरुवात नै जिज्ञासाबाट हुन्छ।

हिन्दू दर्शनमा स्वर्गलाई पुण्यकर्मको फलस्वरूप प्राप्त हुने लोकका रूपमा वर्णन गरिएको छ। इन्द्रको दरबार, अप्सरा, गन्धर्व, दिव्य सुख र ऐश्वर्यका अनेक चित्रण पुराणहरूमा पाइन्छन्।

हिन्दू पौराणिक कथामा अप्सराहरूलाई स्वर्गका सुन्दर नर्तकी र कलाकारका रूपमा चित्रण गरिएको छ। तर धेरै कथाहरूमा उनीहरूलाई देवराज इन्द्रले आफ्ना स्वार्थ पूरा गर्न, विशेष गरी ऋषिहरूको तपस्या भंग गराउन, पठाएको वर्णन पाइन्छ।

यदि कुनै व्यक्तिको सौन्दर्य वा प्रतिभालाई उसको स्वतन्त्र इच्छाभन्दा बढी अरूको उद्देश्य पूरा गर्न प्रयोग गरिन्छ भने, के त्यो शोषण होइन? कि होइन?

परम्परागत धार्मिक दृष्टिले यसलाई दैवी लीला वा धर्मकथाको अंश मानिन्छ। तर आधुनिक सामाजिक र नारीवादी विश्लेषणले यस्तालाई सत्ताले स्त्रीको सौन्दर्यलाई साधन बनाएको उदाहरणका रूपमा बुझ्छ। कि बुझ्दैन?

स्वर्गका अप्सराहरूको प्रसङ्ग स्वर्गको सत्ता र नैतिकताको सम्बन्धबारे सोच्न बाध्य पार्ने प्रसङ्ग हो। कसरी बुझ्ने भन्ने कुरामा पनि फरक पर्छ। अपवादका केही रूढी हटाउने हो भने धर्मका दर्शन अत्यन्त ग्रहणयोग्य पनि छन्। ती ग्रहणयोग्य तत्व बिर्सेर युग कुन स्वर्गको खोजीमा छ?

त्यो पौराणिक कथामा जे भए पनि केही भएन। तर प्रश्न त यहाँ उठ्नुपर्छ, जहाँ कतिपयले धर्मलाई स्वर्ग प्राप्त गर्ने साधन मात्र बनाएका छन्। विकसित युगमा पूजा, दान वा कर्मलाई आत्मशुद्धिको सट्टा स्वर्गको ‘टिकट’ जस्तो बुझ्ने प्रवृत्ति विकसित भएको देखिन्छ। यो सही छ? प्रश्न पक्कै उठ्छ।

यता, बौद्ध दर्शनमा पनि देवलोक वा स्वर्गीय लोकहरूको उल्लेख पाइन्छ। तर बुद्धले स्पष्ट रूपमा सिकाए, देवलोकमा जन्म लिनु पनि अनित्य हो। त्यहाँको आयु लामो हुन सक्छ, सुख धेरै हुन सक्छ, तर त्यो पनि अन्ततः समाप्त हुन्छ। त्यसैले बौद्ध धर्मको लक्ष्य स्वर्ग होइन, निर्वाण हो।

लोभ, द्वेष र मोहबाट पूर्ण मुक्ति नै लक्ष्य हो। तर पनि विकृतिको घुसपैठ भने भएको छ, चाहे त्यो व्यक्तिगत आडम्बरमा होस्, चाहे त्यो देखासिखीमै किन नहोस्। धर्मका ठेकेदारहरू त्यहाँ पनि स्वर्गको ‘टिकट’ बाँड्न पुगेकै छन्।

बुद्धको एक दर्शन छ, त्यो हो ‘स्मृति’। त्यसमा भनिन्छ, सचेत नभएसम्म कुनै निर्वाण प्राप्त हुँदैन। किन अशोक अवस्था हासिल हुन सक्दैन, सायद बुद्ध दर्शनले यही भन्छ। कैयौँ विकृतिमा मुकदर्शक हुनु र बुद्धको त्यो सजगताबीच तालमेल मिलेन भने, सायद त्यहीँबाट अर्को विकृति सुरु नहोला भन्न सकिँदैन।

तर सबैलाई स्वर्ग नै जानु छ। पुग्नु त स्वर्ग नै छ। यता इस्लाममा पनि जन्नत ईश्वरप्रति इमान, असल कर्म, न्याय, करुणा र आज्ञापालनको प्रतिफलका रूपमा वर्णन गरिएको छ।

कुरआनमा जन्नतलाई शान्ति, सुरक्षा, आनन्द र ईश्वरको कृपाले भरिएको स्थानका रूपमा चित्रण गरिएको छ। त्यहाँ अन्याय, पीडा र भय हुँदैन। तर विश्वमा अशान्ति फैलाउने अधिकांश देश इस्लामिक देश हुन्। यो तथ्याङ्कमा आधारित कुरा हो। यद्यपि इस्लामका धेरै विद्वानहरूले जोड दिएका छन् कि जन्नतको अवधारणालाई हिंसा, घृणा वा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नु धर्मको मूल शिक्षाविपरीत हो।

भनिन्छ, इतिहासमा केही उग्रवादी समूहहरूले जन्नतको नाममा युवालाई हिंसामा उक्साउने प्रयास गरेका उदाहरण छन्, तर ती मुख्यधाराको इस्लामी शिक्षाका प्रतिनिधि होइनन्। तर वर्तमान अभ्यासमा शान्तिसँग त्यति खासै राम्रो सम्बन्ध रहेको पनि देखिँदैन। धर्मका धेरै राम्रा र योग्य कुरा धारण गर्न छाडेर हतियार बोकेर कुन शान्ति खोज्न हिँड्छ मानिस? प्रश्न पक्कै उठ्छ। तर जन्नतका टिकट काउन्टरका साहुहरू मौन छन्।

स्वर्गको कुरा गर्दा ईसाई मुख्य सूचीमा पर्ने धर्म हो। यस धर्ममा स्वर्ग परमेश्वरसँगको अनन्त संगति मानिन्छ। प्रेम, क्षमा, दया र विश्वासका माध्यमबाट मानिस परमेश्वरको राज्यमा प्रवेश गर्ने विश्वास राखिन्छ। स्वर्गलाई भौतिक सुखको स्थानभन्दा पनि ईश्वरको उपस्थितिको पूर्ण अनुभवका रूपमा बुझिन्छ।

तर इतिहास साक्षी छ। गलत अभ्यास र परम्पराको अनुसरणमा इतिहासका कतिपय कालखण्डमा स्वर्ग र पापको अवधारणालाई मानिसलाई डराउने वा नियन्त्रण गर्ने साधनका रूपमा प्रयोग गरिएको पाइन्छ।

प्रायः सबै धर्ममा अस्वाभाविक स्वर्ग प्राप्तिको मोहले विकृतिले नराम्ररी गाँजेको छ। जबसम्म कुनै पनि धर्ममा प्रश्न मर्छ, त्यसमा विकृति सुरु हुन्छ। यी सबै विकृतिको जड प्रश्न र जिज्ञासाको कमी त होइन?

जुनसुकै धर्म होस्, चाहे त्यो सिख होस्, चाहे जैन। कर्मको पूर्ण क्षयपछि मुक्ति प्राप्त हुने शिक्षा दिन्छ। अन्ततः लगभग सबै धर्म वा परम्पराले एउटा साझा कुरा भन्छन्, असल जीवन, सत्य, करुणा र नैतिकता। जब धर्म मानिसको स्वार्थ बन्न पुग्छ, तब धर्ममा विकृति सुरु हुन्छ।

धर्म खराब होइन। जब स्वर्गको नाममा व्यापार भयो। स्वर्गको नाममा सत्ता खोजियो। स्वर्गको नाममा युद्ध भए। स्वर्गको नाममा मानिसलाई विभाजन गरियो। स्वर्गको आशा देखाएर पृथ्वीमा अन्याय सहन बाध्य बनाइयो। तब धर्म विस्तारै विकृत हुँदै गयो भन्दा फरक पर्दैन।

कतिपयले दानलाई सौदाबाजी बनाए, कतिपयले धार्मिक अधिकारलाई आर्थिक लाभको माध्यम बनाए, कतिपयले स्वर्गको वाचा गरेर अनुयायीको विवेकमाथि नियन्त्रण गर्न खोजे। हो, यस्तै भएको हो? हो।

यसरी धर्मको मूल शिक्षाभन्दा मानिसको लोभ ठूलो बन्दा स्वर्गको अवधारणा नै विकृत हुन पुग्यो।

यदि मानिसले पृथ्वीमा घृणा, अन्याय, हिंसा र शोषण फैलाउँछ भने, उसले स्वर्गको कुरा गर्ने नैतिक अधिकार कति रहन्छ?

स्वर्गको सपना देख्नु गलत होइन। गलत तब हुन्छ, जब स्वर्गको नाममा पृथ्वीलाई नरक बनाउनु सही ठानिन्छ। यदि धर्मले हामीलाई बढी इमानदार, बढी करुणाशील, बढी न्यायप्रिय र बढी जिम्मेवार बनाउँदैन भने, त्यस धर्मको अभ्यास बाहिरी अनुष्ठानमा सीमित रहन्छ। स्वर्गको चर्चा धेरै हुन्छ, तर स्वर्गीय चरित्र हराउँछ।

स्वर्गको वास्तविक नाङ्गो नाच कुनै धर्मभित्र होइन; त्यो मानिसको लोभ, अहंकार, सत्ता-लिप्सा र अन्धविश्वासभित्र छ। कुनै पनि धर्मको मूल शिक्षाले अन्याय, हिंसा, छल वा घृणालाई अन्तिम सत्य भनेको छैन। विकृति त्यतिबेला जन्मिन्छ, जब मानिसले धर्मलाई आत्मपरिवर्तनको बाटो होइन, अरूमाथि प्रभुत्व जमाउने साधन बनाउँछ। र मुकदर्शक भएर त्यसैको पूजा गर्छ।

अन्ततः सायद स्वर्ग टाढाको लोक होइन। स्वर्ग यहीँ हुन्छ र यहीँबाट सुरु हुन्छ। हो, स्वर्ग त्यहाँ सुरु हुन्छ जहाँ न्याय हुन्छ, करुणा हुन्छ, सत्य हुन्छ, मानवता हुन्छ। र नरक त्यहीँ जन्मिन्छ जहाँ यी सबै हराउँछन्।

तसर्थ, प्रश्न स्वर्ग कहाँ छ भन्ने होइन। खास प्रश्न यो हो, ‘हामीले पृथ्वीलाई स्वर्गतर्फ लैजाँदै छौँ कि स्वर्गको नाममा नयाँ-नयाँ नरकहरू निर्माण गर्दै त छैनौँ?’

अन्तमा, केहि विकृत मानसिकता भएका व्यक्ति , समुदाय र धर्मका छद्मभेषीहरूले  स्वर्गको नाममा  नाङ्गो नाँच त देखाएका छैनन् । तपाइले प्रश्न र जिज्ञासा गर्न त बिर्सिनु भएको छैन ?

ज्ञात रहोस् धर्मको नाममा कुनै विकृति नहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *