डीएसपीले हामी बालेनको पुलिस होइनौँ भनेपछि…
कैलाली। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टीकरण लिन जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
घोडाघोडी नगरपालिका-५ दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा डीएसपी चौधरीले ‘हामी बालेनको पुलिस होइनौँ, नेपाल पुलिस हौँ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले उनलाई सोधपुछका लागि बोलाएको हो।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई घटनाबारे सामान्य जानकारी लिन जिल्ला प्रहरी कार्यालय बोलाइएको जानकारी दिएका छन्।
कार्यक्रममा बोल्दै चौधरीले प्रहरी संगठन कुनै व्यक्ति वा सरकारको नभई कानुनको शासनअनुसार सञ्चालन हुने संस्था भएको बताएका थिए। उनले ‘अन्यायमा परेकालाई न्याय दिलाउने पुलिस यही हो, केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भन्दै प्रहरीको निष्पक्ष भूमिकाबारे धारणा व्यक्त गरेका थिए।
उनले आफूहरू राजनीतिक प्रभाव, पहुँच वा कुनै दलको समर्थनबाट नभई खुला प्रतिस्पर्धामार्फत प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै ‘हामी भोट, टीका वा दारुभात खाएर आएका होइनौँ’ समेत बताएका थिए।
डीएसपी चौधरीले कार्यक्रममा आफ्नो अभिव्यक्तिको भिडियो सार्वजनिक नगर्न आग्रह गरेका थिए। तर, कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
भिडियो सार्वजनिक भएपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन्। त्यसपछि उत्पन्न भएको विवादका बीच जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई अभिव्यक्ति कुन सन्दर्भमा आएको हो भन्ने विषयमा स्पष्टीकरण लिन बोलाएको जनाएको छ।
