`

नेपाली राष्ट्रियताको भाषिक जग : आदिकवि भानुभक्त आचार्य

अशोक सुकुमार २८ असार २०८३ १८:०२
अन्तर्वार्ता/बिचार

नेपाल आमाको कोखबाट समय-समयमा इतिहासलाई नयाँ गति दिने असाधारण व्यक्तित्वहरूको जन्म भएको छ। कला, साहित्य, संस्कृति, दर्शन, राजनीति र सामाजिक रूपान्तरणका क्षेत्रमा उनीहरूले दिएको योगदानले नेपालको राष्ट्रिय पहिचानलाई समृद्ध बनाएको छ। यिनै विभूतिहरूमध्ये नेपाली साहित्यका आकाशमा ध्रुवताराजस्तै चम्कने व्यक्तित्व हुन्, – आदिकवि भानुभक्त आचार्य।

वि.सं. १८७१ असार २९ गते आइतबार तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्तका पिता धनञ्जय आचार्य सरकारी सेवामा खरदार थिए भने माता धर्मावती आचार्य धार्मिक संस्कारले सम्पन्न महिला थिइन्। बाल्यकालदेखि नै संस्कृतका प्रकाण्ड विद्वान् बाजे श्रीकृष्ण आचार्यको सान्निध्यमा हुर्किएका उनले व्याकरण, काव्य, वेदान्त, ज्योतिष र संस्कृत साहित्यको गहन अध्ययन गरे। मात्र १२ वर्षको उमेरमै ज्योतिषशास्त्रका सूक्ष्म विषय बुझ्ने क्षमता विकास गरिसकेका भानुले गुरुकुलीय परम्परा र स्वाध्यायबाट प्राप्त यही विद्वत्ताको आधारमा भविष्यमा नेपाली साहित्यलाई नयाँ युगतर्फ डोर्‍याउने सामर्थ्य हासिल गरे।

नेपाली साहित्यको इतिहासमा भानुभक्त आचार्यलाई ‘आदिकवि’ भनिनुको अर्थ उनी नेपाली भाषाका इतिहासकै सबैभन्दा पहिलो कवि हुन् भन्ने कदापि होइन। भानुभक्तभन्दा अगाडि पनि सुवानन्द दास, शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल जस्ता थुप्रै प्राथमिक कालीन कविहरू थिए। तथापि, ती रचनाहरू सीमित दायरामै रहे।

कवि भानुभक्तले भने छरिएर रहेका टुटफुट र फुटकर कविताको जगमा उभिएको नेपाली साहित्यलाई ‘रामायण’ जस्तो विशाल ग्रन्थ रचना गरी नेपाली भाषालाई राष्ट्रिय एकताको सुत्रमा बाँधे। त्यसकारण नेपाली भाषालाई पहिलोपटक व्यापक साहित्यिक प्रतिष्ठा दिलाउने, जनभाषालाई काव्यको माध्यम बनाउने तथा नेपाली साहित्यको सशक्त परम्परा स्थापित गर्ने श्रेय उनैलाई जान्छ। त्यसैले नेपाली साहित्यका युवाकवि मोतीराम भट्टले वि.स. १९४८ मा भानुभक्तको जीवनी प्रकाशन गरेर उनलाई सर्वप्रथम ‘आदिकवि’ को उपाधि प्रदान गरेका थिए। आज आदिकवित्वको विषयमा विद्वत् बहस भए पनि नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविका रूपमा लाक्षणिक र गुणात्मक अर्थमा उनी सर्वस्वीकार्य आदिकवि हुन्।

इतिहासमा कहिलेकाहीँ एउटा सामान्य भेटले असाधारण परिवर्तनको सुरुआत गर्छ। भानुभक्तको जीवनमा घाँसीसँगको भेट त्यस्तै घटना थियो। संस्कृत साहित्यका आदिकवि वाल्मीकि, महाकवि कालिदासको काव्यशक्ति र आफ्नै पितृपरम्पराबाट प्रभावित भई उनीभित्र कवित्वको बीजारोपण भइसकेको थियो। तर त्यो प्रतिभालाई जनसेवामुखी साहित्यतर्फ मोड्ने प्रेरणा एउटा साधारण घाँसीबाट प्राप्त भयो। परिवारको जीविकोपार्जन गर्दै बचेको थोरै रकमले गाउँमा सार्वजनिक कुवा खन्ने र समाजका लागि स्थायी कीर्ति छोड्ने घाँसीको सोचले भानुभक्तलाई गहिरो आत्मबोध गरायो। धन, विद्वत्ता वा कुलीनता भन्दा समाजोपयोगी कर्म नै मानिसको अमर परिचय बन्ने सत्य उनले त्यही दिन अनुभूत गरे। त्यसैको परिणामस्वरूप नेपाली साहित्यमा अमर बनेका यी पङ्क्तिहरू जन्मिए,

भर जन्म घाँसतिर मन् दिई धन कमायो ।
नाम केही रहोस् पछि भनेर कुवा खनायो ॥

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनी भईकन आज यस्तो ॥

त्यसपछि उनले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुखमा सीमित नराखी लोककल्याणकारी साहित्य सिर्जनामा समर्पित गर्ने अठोट गरे। यही भावलाई उनले ‘धिक्कार होस् मकन बस्नु नराखी कीर्ति’ भन्ने जीवनदर्शनमार्फत अभिव्यक्त गरेका छन्। वास्तवमा यही क्षण भानुभक्तको कविजीवनको वास्तविक जन्मक्षण थियो।

त्यस समय संस्कृत भाषाको प्रभुत्व थियो। धार्मिक ग्रन्थहरू विद्वान् पण्डितहरूको सीमित घेराभित्र मात्र सीमित थिए। संस्कृत नजान्ने सामान्य नेपाली जनताले रामायणजस्तो महान् ग्रन्थको सार बुझ्न सक्ने अवस्था थिएन। भानुभक्तले यही सामाजिक यथार्थलाई गहिरो रूपमा आत्मसात् गरे। धर्म, नैतिकता र आदर्श जीवनका मूल्यहरू सबै नेपालीको पहुँचमा पुग्नुपर्ने विश्वासका साथ उनले संस्कृतको अध्यात्मरामायणलाई नेपाली भाषामा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गरे।

वि.सं. १८९८ मा उनले बालकाण्डको रचना गर्दै नेपाली रामायण लेखनको प्रारम्भ गरे। वि.स. १९०६ मा न्यायिक कामका सिलसिलामा काठमाडौँ आएका भानुभक्त पछि वि.स. १९०७ मा सरकारी सेवामा आबद्ध भए। तर हिसाब–किताबसम्बन्धी विवादका कारण उनी कुमारीचोकको भ्यालखान (कारागार) मा कैद हुन पुगे। सामान्यतः कारागारलाई सिर्जनशीलताको अन्त्य हुने स्थान मानिए पनि भानुभक्तका लागि त्यही स्थान साधना र सृजनाको तपोभूमि बन्यो। पाँच महिनाको कैद अवधिमा उनले अयोध्याकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डको रचना गरे। जेलजीवनको यथार्थलाई उनले व्यङ्ग्यात्मक शैलीमा यसरी व्यक्त गरेका छन्,

‘रोज् रोज् दर्शन पाउँछू चरणको ताप छैन मन्मा कछू ।
रातभर नाच पनि हेर्छू खर्च नगरी ठूला चैनमा म छु ॥
लामखुट्टे, उपियाँ, उडुस् यी सङ्गी छन् यिनकै लहडमा बसी ।
लामखुट्टेहरू गाउँछन्, यी उपियाँ नाच्छन्, म हेर्छू बसी ॥’

जेलमुक्त भएपछि उनले युद्धकाण्ड र उत्तरकाण्ड पूरा गर्दै करिब एघार वर्षको निरन्तर साधनापछि नेपाली साहित्यको अमूल्य निधि रामायणलाई पूर्णता दिए।

भानुभक्तको साहित्यिक योगदान रामायणमा मात्र सीमित छैन। वि.सं. १९१० तिर उनले प्रश्नोत्तरी र भक्तमाला जस्ता कृतिहरू रचे। त्यस्तै वि.स. १९१९ तिर काठमाडौँबाट आफ्नो जन्मथलो तनहुँ फर्कने क्रममा बाटोमा तारापति उपाध्यायको घरमा बास बस्दा त्यहाँको पारिवारिक परिवेशमा सासू–बुहारीको ‘वाझावाझ’ (झगडा) प्रत्यक्ष सुनेर उनले एकै रातमा ३३ श्लोक भएको ‘वधूशिक्षा’ नामक औपदेशिक कविता लेखे। यो कविताले नेपाली समाजको पारिवारिक शान्ति, मर्यादा र महिलाका कर्तव्यहरूलाई तत्कालीन सामाजिक मर्यादाको कसीमा राखेर प्रस्तुत गरेको छ।

जीवनको अन्तिम क्षणमा वि.सं. १९२५ मा कडा रोगले समातेर रोगशय्यामा थला परेका बेला पनि उनको काव्यचेतना मरेन। मरणान्तक कष्टकै बीच उनले ‘रामगीता’को रचना गरे, जुन उनी मुखले श्लोक भन्दै गए र उनका एकमात्र पुत्र रमानाथ आचार्यले ओछ्यानको छेउमा बसेर लिपिबद्ध गर्दै गए। जीवनको अन्तिम चरणमा पनि उनको साहित्यसाधना रोकिएन। सोही वर्ष आश्विन ६ गतेका दिन चुँदी रम्घामै उनको निधन भयो। यसले साहित्यप्रतिको उनको अनवरत साधना र समर्पणलाई प्रमाणित गर्छ।

उनले अनावश्यक क्लिष्टता, अत्यधिक आलङ्कारिकता वा दुरूह अभिव्यक्तिको सट्टा जनताले बोल्ने र बुझ्ने नेपाली भाषालाई काव्यको माध्यम बनाए। यही कारण उनका श्लोकहरू विद्वान् मात्र होइन, सामान्य किसान, गृहिणी, विद्यार्थी र गाउँका ज्येष्ठ नागरिकसम्मको स्मृतिमा आज पनि जीवित छन्। भाषा त्यतिबेला मात्र राष्ट्रिय सम्पत्ति बन्छ, जब त्यसले समाजका सबै वर्गलाई समान रूपमा सम्बोधन गर्न सक्छ। भानुभक्तको साहित्यले यही ऐतिहासिक भूमिका निर्वाह गरेको देखिन्छ।

विशेषतः शार्दूलविक्रीडित, शिखरिणी, वसन्ततिलका लगायतका छन्दलाई नेपाली भाषाको स्वाभाविक लयअनुकूल प्रयोग गर्नु भानुभक्तको उल्लेखनीय उपलब्धि हो। उनले छन्दको नियम र अनुशासनलाई कायम राख्दै भावलाई सरल, सहज र प्रभावकारी बनाएका छन्। छन्द र भाषाबीचको यही सन्तुलनले उनको काव्यलाई सरस, कर्णप्रिय र जनप्रिय बनाएको छ। सायद त्यसैले नेपालभित्र मात्र नभई दार्जीलिङ, सिक्किम, आसामदेखि विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका लागि उनी आज पनि ‘जातीय कवि’ र भाषिक पहिचानको प्रतीकका रूपमा सम्मानित छन्।

यद्यपि भानुभक्तको साहित्यलाई आलोचनात्मक दृष्टिले पनि हेर्न आवश्यक छ। केही आधुनिक समीक्षकहरूले वधूशिक्षा जस्ता कृतिमा तत्कालीन पितृसत्तात्मक सामाजिक मूल्यहरूको प्रभाव रहेको टिप्पणी गरेका छन्। त्यस्तै रामायण अनुवादात्मक कृति भएकाले त्यसमा मौलिकताको सीमा रहेको तर्क पनि गरिन्छ। यस्ता आलोचनाहरू साहित्यिक विमर्शका स्वाभाविक अंश हुन्। तर उपलब्ध ऐतिहासिक सन्दर्भलाई हेर्दा भानुभक्तको मूल उद्देश्य समाजलाई नैतिक शिक्षा, धार्मिक चेतना र भाषिक एकताको साझा आधार प्रदान गर्नु थियो। त्यसैले उनको मूल्याङ्कन आजको सामाजिक मापदण्डले मात्र होइन, उनी बाँचेको युग, त्यस समयको समाज र भाषिक अवस्थालाई केन्द्रमा राखेर गरिनु बढी न्यायोचित हुन्छ।

आजको डिजिटल युगमा भाषा र संस्कृतिमाथि नयाँ चुनौतीहरू देखा परेका छन्। विश्वव्यापीकरण, प्रविधिको तीव्र विकास र विदेशी भाषाको बढ्दो प्रभावका कारण नयाँ पुस्ता आफ्नै भाषिक सम्पदाबाट क्रमशः टाढिँदै गएको चिन्ता व्यक्त गरिन्छ। विदेशी भाषा सिक्नु आधुनिक विश्वको आवश्यकता हो, तर त्यसका नाममा आफ्नै मातृभाषाको उपेक्षा गर्नु सांस्कृतिक आत्मविश्वासको क्षय हो। भानुभक्तको जीवनले सिकाएको पाठ यही हो- विश्वसँग संवाद गर्न अनेक भाषा सिक्न सकिन्छ, तर आफ्नो पहिचानको आधार भने आफ्नै भाषा हुन्छ। आफ्नै मातृभाषा र समृद्ध राष्ट्रभाषाको चीरहरण गरेर, आफ्नै पहिचानको जग भत्काएर पराईको बैसाखी टेक्नु आत्मघाती विडम्बना र सांस्कृतिक दासता मात्र हो।

घाँसीबाट प्राप्त लोकहितको प्रेरणा, कारागारभित्रको अदम्य साधना, रामायणमार्फत जनभाषाको उत्थान र सरल भाषाशैलीद्वारा साहित्यलाई जनजीवनसँग जोड्ने उनको योगदान नेपाली इतिहासको अमिट सम्पत्ति बनेको छ। आज भानुभक्तप्रतिको सच्चा श्रद्धाञ्जलि उनको तस्बिरमा माल्यार्पण गर्नु मात्र होइन; नेपाली भाषाको शुद्धता, समृद्धि र सिर्जनशीलतालाई नयाँ पुस्तासम्म जीवन्त राख्नु हो।

किनभने भाषा जोगियो भने इतिहास जोगिन्छ, इतिहास जोगियो भने पहिचान जोगिन्छ, र पहिचान जोगियो भने मात्र राष्ट्रको आत्मा दीर्घकालसम्म जीवित रहन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *