बालेन : डेढ महिनामा सदन आए, डेढ मिनेटमा बाहिरिए [भिडियाे]
काठमाडौं। करिब डेढ महिनापछि प्रतिनिधिसभा बैठकमा उपस्थित भएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बैठकमा डेढ मिनेट पनि नबसी बाहिरिएका छन्।
मंगलबार संसद्को बैठक चलिरहेकै बेला प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका थिए। उनको उपस्थितिलाई विपक्षी दलहरूले उठाउँदै आएका विभिन्न विषयमा जवाफ आउने अपेक्षासँग जोडेर हेरिएको थियो।
प्रधानमन्त्री शाह संसद् प्रवेश गरेलगत्तै केहीबेर आफ्नो सिटमा बसे पनि करिब डेढ मिनेटमै रवि लामिछानेसँगै बैठक कक्षबाट बाहिरिएका थिए। उनको बहिर्गमनपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढेको थियो।
पछिल्ला केही दिनदेखि विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र त्यसबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै संसद्मा निरन्तर विरोध जनाउँदै आएका छन्। साथै, सुकुम्बासी व्यवस्थापनलगायत सरकारका विभिन्न निर्णय र गतिविधिमाथि पनि सांसदहरूले प्रश्न उठाइरहेका छन्।
प्रधानमन्त्री शाहले मंगलबारको बैठकमा ती विषयमा जवाफ दिने अपेक्षा गरिए पनि प्रतिनिधिसभाको कार्यसूचीमा उनको सम्बोधन समावेश थिएन। संसद्मा उपस्थित भएर पनि छोटो समयमै बाहिरिएपछि उनले आज कुनै सम्बोधन गरेनन्।
प्रधानमन्त्रीको संसद् प्रवेश र तत्कालै बहिर्गमनलाई लिएर संसद् परिसरमा विभिन्न टिप्पणी भइरहेका छन् भने उनी किन बाहिरिए भन्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
