समान काम, समान दाम भन्दै कर्मचारीद्वारा सीटीईभीटी घेराउ
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले विभिन्न माग राख्दै परिषद्को केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।
साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध आन्दोलन गर्दै आएका कर्मचारीले माग सम्बोधन नभएपछि पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। आन्दोलनमा करिब २ हजार २ सय करार तथा ज्यालादारी कर्मचारी सहभागी रहेको बताइएको छ।
कर्मचारीले समान कामका लागि समान ज्याला लागू गर्नुपर्ने माग गरेका छन्। त्यससँगै स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्वको व्यवस्था गर्न उनीहरूको माग छ।
लामो समयदेखि परिषद्अन्तर्गतका विभिन्न शिक्षालयमा काम गर्दै आए पनि समान प्रकृतिको जिम्मेवारी पूरा गर्ने कर्मचारीबीच पारिश्रमिक तथा सेवा–सुविधामा विभेद गरिएको आन्दोलनरत कर्मचारीको गुनासो छ। उनीहरूले यस्तो विभेद अन्त्य गरी न्यायोचित सेवा–सुविधाको व्यवस्था गर्न माग गरेका छन्।
करार तथा ज्यालादारी केन्द्रीय संघ समितिका सह–संयोजक इन्जिनियर युकेश गौतमले चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्दासमेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि केन्द्रीय कार्यालय घेराउ गर्नुपरेको बताए।
उनका अनुसार कर्मचारीका माग वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्छ। समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वलाई मुख्य मागका रूपमा अघि सारिएको उनले बताए।
