पार्टी गठन नहुँदै फुट्दै प्रसाईं र राणा
काठमाडाैं। राजावादी अभियन्ता दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग्गिएका डा. धवलशम्शेर राणाले केही दिनअघि ‘जय नेपाल पार्टी’ गठन गर्ने घोषणा गरेका थिए। तर पार्टी औपचारिक रूपमा दर्ता हुनुअघि नै दुई नेताबीच विवाद उत्पन्न भएपछि गठन प्रक्रिया अन्योलमा परेको छ।
प्रसाईं र राणाबीचको समझदारीअनुसार प्रसाईं नयाँ पार्टीमा सर्वोच्च नेताको भूमिकामा रहने तय भएको थियो। आगामी साउन २८ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने तयारी भए पनि निर्धारित मितिमा दर्ता नहुने भएको छ। प्रसाईंले मंगलबार सामाजिक सञ्जालमार्फत आवश्यक तयारी पूरा नभएकाले पार्टी दर्ताको प्रक्रिया केही समय पछि सरेको जानकारी दिएका छन्।
यसैबीच, प्रसाईं र राणाबीच गम्भीर मतभेद उत्पन्न भएको देखिएको छ। प्रसाईंले मंगलबार सार्वजनिक रूपमा राणाले राजसंस्था नचाहेको आरोप लगाएका छन्।
राणाले एक टेलिभिजन अन्तर्वार्तामा दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाट भएको बताएका थिए। राणाको उक्त अभिव्यक्तिप्रति प्रसाईंले कडा आपत्ति जनाउदै फिर्ता लिनुपर्ने छन्। उनले राणाको अभिव्यक्तिले राजसंस्थालाई कमजोर बनाउने काम गरेको भन्दै माफी माग्नुपर्ने बताएका हुन्।
राणाप्रति लक्षित गर्दै प्रसाईंले आफूहरूले गठन गर्न लागेको नयाँ पार्टीभित्र ‘सीआईए पसेको’ समेत टिप्पणी गरे। यसले दुई नेताबीचको विवादलाई थप चर्काएको देखिन्छ।
प्रसाईंले फेसबुकमा लेखेका छन्, ‘नयाँ पार्टी गठन तथा दर्ताका लागि गर्नुपर्ने सम्पूर्ण तयारीहरू हामीले अझै पूरा गरिसकेका छैनौँ। अहिले पनि पार्टी गठन, संगठनात्मक संरचना तथा अन्य आवश्यक विषयमा आन्तरिक छलफल र तयारी भइरहेको छ। त्यसैले यही २८ गते नयाँ पार्टी दर्ता गर्ने भनिएको मिति केही समयका लागि सरेको जानकारी गराउँछु। सम्पूर्ण तयारी पूरा भएपछि नयाँ पार्टी दर्ता गर्ने मिति तथा अन्य आवश्यक विषयमा आधिकारिक रूपमा सबैलाई जानकारी गराउनेछौँ।’
यता, राणाले भने पार्टी दर्ता प्रक्रिया पछि सरेको विषयमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। प्रसाईंले तयारी नपुगेका कारण दर्ता प्रक्रिया सारिएको बताए पनि दुई पक्षबीच उत्पन्न विवादकै कारण पार्टी गठन र दर्ताको योजना प्रभावित भएको स्रोतको दाबी छ।
