गृहमा १२९ दरबन्दी थपिँदा सहसचिव ९ घटे
काठमाडौं। गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम)-२०८३ स्वीकृत गर्दै मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कर्मचारीको दरबन्दी पुनर्मिलान गरेको छ।
नयाँ संरचनाअनुसार मन्त्रालयको कुल दरबन्दी ४ हजार ४८२ बाट बढाएर ४ हजार ६११ पुर्याइएको छ।
नयाँ व्यवस्थामा उच्च तहका सहसचिवको दरबन्दी घटाइएको छ भने उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदारलगायत तल्ला तहका कर्मचारीको संख्या बढाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार सहसचिवको दरबन्दी ७५ बाट घटाएर ६६ कायम गरिएको छ। अर्थात् सहसचिवका नौ दरबन्दी कटौती भएका छन्। सचिवको एक दरबन्दी भने यथावत् राखिएको छ।
यसैगरी उपसचिवको दरबन्दी १५५ बाट बढाएर १६१ पुर्याइएको छ। उपसचिवतर्फ ६ दरबन्दी थप भएका छन्।
नयाँ ओएण्डएमअनुसार शाखा अधिकृतका ५३ दरबन्दी थप गरिएको छ। यसअघि ५९१ रहेको शाखा अधिकृतको दरबन्दी अब ६४४ पुगेको छ।
नायब सुब्बाको दरबन्दी १ हजार ३७० बाट बढाएर १ हजार ४२१ पुर्याइएको छ। यस पदमा ५१ दरबन्दी थप भएका छन्।
त्यस्तै खरिदारको दरबन्दी ७१४ बाट बढाएर ७१७ कायम गरिएको छ। खरिदारतर्फ तीन दरबन्दी थप गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवातर्फ पनि आठ दरबन्दी थप भएका छन्। यसअघि १३८ रहेको स्वास्थ्य सेवाको दरबन्दी अब १४६ पुगेको छ।
श्रेणीविहीन कर्मचारीका १७ दरबन्दी थप गरिएको छ। यसअघि १ हजार ४३८ रहेको यस्तो दरबन्दी अब १ हजार ४५५ पुगेको छ।
गृह मन्त्रालयले नयाँ ओएण्डएम प्रतिवेदन स्वीकृत गरिसकेको भए पनि त्यसअनुसारको दरबन्दी संरचना तत्काल कार्यान्वयनमा भने आइसकेको छैन।
मन्त्रालयको प्रशासन महाशाखाका अनुसार अब आवश्यक प्रक्रिया पूरा गरी नयाँ दरबन्दी संरचना कार्यान्वयनमा लगिनेछ।
यसरी नयाँ संगठन संरचनाले गृह मन्त्रालयमा समग्र कर्मचारी संख्या बढाए पनि सहसचिवजस्तो उच्च प्रशासनिक तहको दरबन्दी घटाएको छ।
