`

यस्तो छ एसियन गेम्स खेल्ने नेपाली टोली

Nepal One HD २८ भदौ २०८३ १७:०६
खेलकुद

काठमाडौं। जापानमा आयोजना हुने आगामी एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको टुंगो लागेको छ। नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो।

टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। उनीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल टोलीमा समेटिएका छन्।

एसियन गेम्सको क्रिकेटतर्फ नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने लक्ष्यसहित सहभागिता जनाउने तयारी गरेको छ।

नेपाली टोलीको व्यवस्थापनतर्फ टिम लिडरको जिम्मेवारी पूर्वक्रिकेटर विनोद दासले सम्हाल्नेछन्। मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर रहनेछन्।

त्यस्तै, टोलीका मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् भने अब्दुर सतार प्रशिक्षकका रूपमा रहनेछन्। प्राविधिक पक्षको जिम्मेवारी रमन शिवाकोटीले सम्हाल्नेछन्।

एसियन गेम्समा नेपालको क्रिकेट टोलीको प्रदर्शनलाई नेपाली खेलप्रेमीले विशेष चासोका साथ हेरेका छन्। अनुभवी खेलाडी र युवा प्रतिभाको मिश्रण रहेको टोलीबाट यसपटक राम्रो नतिजाको अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *