पदको सौदाबाजी गरेर कार्यकर्ताको आत्मसम्मान किनबेच हुँदैन : शशांक कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा महाधिवेशन आयोजक समिति देउवा पक्षका संयोजक शशांक कोइरालाले पार्टीभित्र देखिएको वर्तमान विवाद व्यक्ति, समूह वा पदको विषय मात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको बताएका छन्।
कोइरालाले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर १५औँ महाधिवेशन सहमति, सहकार्य र एकताका आधारमा सम्पन्न गर्न आफूहरूले सुरुदेखि नै प्रयास गरेको बताए। पार्टीलाई विभाजनतर्फ लैजाने कदमबाट बच्न संवाद र सहमतिमार्फत समाधान खोज्न आग्रह गरिए पनि ती प्रयासलाई सकारात्मक रूपमा ग्रहण नगरिएको उनको भनाइ छ।
विशेष महाधिवेशनको नाममा थप विवाद सिर्जना नगर्न र संगठनात्मक एकतालाई क्षति नपु¥याउन आफूहरूले आग्रह गरेको उनले बताए। पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकतर्फी रूपमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिका घोषणा गर्नु उचित नभएको कोइरालाको भनाइ छ।
उनले भनेका छन्, ‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।’
निश्चित सर्त स्वीकार गरे मात्रै पद व्यवस्थापन गर्ने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाउने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कार कमजोर बनाउने उनले बताए।
‘नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन,’ कोइरालाले भने।
कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न खोजेको उनको आरोप छ। कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी पार्टीभित्रको विवाद समाधान गर्नुपर्नेमा उनले जोड दिए।
कोइरालाले सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गरेका छन्। उनले असोज ३ गतेदेखि विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन्।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा तह हुँदै विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। साथै मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशन सफल बनाउन कांग्रेसका नेता-कार्यकर्तालाई आह्वान गरेका छन्।
‘नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित छ। विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा हामीले स्थापित गर्न सक्छौँ,’ उनले भनेका छन्।
