अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ ।क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो ।
अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उहाँको सामु सर्वाधिक ठूलो चुनौती थियो, एसिसी एसिया कपमा छनोट हुनु ।
नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँ नेतृत्वको नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो । जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजय व्यहोयो । समूह विजेताको हैसियतामा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो ।
फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो । नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो । उहाँले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राख्नुभयो ।
सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिनुभयो । टोलीको सफलतामा निर्णायक प्रदर्शन गर्नुभएका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुनुभयो । उहाँ एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन हुनुभएको हो ।
कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गर्नुभएको थियो । उहाँले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ ।
“एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो । उहाँले जुन प्रकारले टोलीको नेतृत्व गरिरहनुभएको छ, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ”, चौधरीले रासससँग भन्नुभयो, “प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गर्नुभयो । टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उहाँको कप्तानी उत्कृष्ट रह्यो । आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ ।”
क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहनुभएका चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताउनुभयो । टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उहाँले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताउनुभयो ।
“सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो”, चौधरीले भन्नुभयो ।
उहाँले अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताउनुभयो । नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ ।
“नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ । जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ । यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन । एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ । नेपालले त्यसको फाइदा उठाउन सक्छ”, पूर्वखेलाडी चौधरीले भन्नुभयो ।
ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ । नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ । शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ ।
