`

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको उम्मेदवारी

Nepal One HD १९ असोज २०८३ १६:२९
राजनीति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

महाधिवेशनको नेतृत्व चयन प्रक्रिया अघि बढेसँगै खतिवडाले आफ्नो प्रचार अभियानसमेत तीव्र बनाएका छन्। उनले ‘बदलौँ कांग्रेस, बदलौँ देश’ भन्ने नारासहित सहमहामन्त्री पदका लागि प्रतिनिधिसँग मत मागिरहेका छन्।

खतिवडाको प्रचार सामग्रीमा कांग्रेसलाई नयाँ सोच, ऊर्जा र संगठनात्मक सुदृढीकरणसहित अघि बढाउनुपर्नेमा जोड दिइएको छ। पार्टीको नीति, संगठन र नेतृत्वमा सुधार गर्दै नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने सन्देश पनि उनले अघि सारेका छन्।

उनले आफ्नो उम्मेदवारीलाई अनुभव र ऊर्जाको संयोजनमार्फत कांग्रेसलाई थप सशक्त बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

महाधिवेशनलाई पार्टीको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै खतिवडाले संगठनलाई जनतासँग थप जोड्ने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएसँगै नेतृत्व चयनको प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ। निर्वाचन समितिको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी मनोनयन र असोज २२ गते मतदान गर्ने कार्यक्रम छ।

सहमहामन्त्री पदमा विभिन्न नेताले दाबी प्रस्तुत गरिरहेका बेला खतिवडाले पनि आफ्नो उम्मेदवारी औपचारिक रूपमा अघि सारेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *