`

क्यानडाको सैन्य अड्डानजिक भीषण आगलागी

Nepal One HD २ कार्तिक २०८३ १३:२६
विश्व

काठमाडौं । क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य अड्डानजिक भीषण आगलागी भएको छ। घटनामा केही व्यक्तिको मृत्यु भएको आशंका गरिए पनि हताहतको यकिन विवरण सार्वजनिक भएको छैन।

क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले घटनाको पुष्टि गर्दै अवस्था अत्यन्तै संवेदनशील रहेको बताएका छन्। उनका अनुसार घटनास्थलको परिस्थिति तीव्र गतिमा परिवर्तन भइरहेको छ। पछिल्लो समयमा यस्तो घटना भएको आफूलाई सम्झना नभएको पनि उनले बताएका छन्।

क्यानडाका सशस्त्र बलले आगलागी नियन्त्रणमा लिन र घटनाको कारण पत्ता लगाउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको छ। तर, आगलागीबाट भएको क्षति र सम्भावित मानवीय क्षतिबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

अल्बर्टाको वेनराइटमा रहेको उक्त सैन्य अड्डा क्यानडाका प्रमुख सैन्य प्रशिक्षण केन्द्रमध्ये एक हो। सामान्य अवस्थामा त्यहाँ करिब ६९० सैन्य कर्मचारी र ३०० नागरिक कर्मचारी कार्यरत रहने गरेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समार्फत घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले घटनाबाट प्रभावित व्यक्तिहरूप्रति समवेदना व्यक्त गरेका छन्।

स्थानीय प्रशासनले सर्वसाधारणलाई आगलागी प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। साथै, आपत्कालीन सेवाका सवारीसाधनलाई सहज आवतजावत गर्न दिन सडक खाली राख्न निर्देशन दिएको छ। आगलागीको कारण र घटनाबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *