बक्स अफिसमा ‘आ बाट आमा २’ अगाडि, ‘१२ गाउँ २’ को प्रशंसा; ‘छ माया छपक्कै २’ प्रति दर्शक असन्तुष्ट
काठमाडौं। दसैँको अवसरमा प्रदर्शनमा आएका नेपाली चलचित्र ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ बारे हलमा चलचित्र हेरेर बाहिर निस्किएका दर्शकले आ-आफ्ना प्रतिक्रिया दिएका छन्। दर्शकको प्रतिक्रियामा ‘आ बाट आमा २’ को भावनात्मक कथावस्तु र ‘१२ गाउँ २’ को एक्सनको प्रशंसा गरिएको छ भने ‘छ माया छपक्कै २’ ले अपेक्षाअनुसार मनोरञ्जन दिन नसकेको दर्शकको भनाइ छ।
प्राप्त प्रारम्भिक अनुमानअनुसार शुक्रबार र शनिबारसम्म चन्द्र पन्त निर्देशित ‘आ बाट आमा २’ ले करिब ७० देखि ८० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्र हेरेर निस्किएका दर्शकले यसलाई उत्कृष्ट र भावुक बनाउने फिल्मका रूपमा प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार चलचित्रको कथावस्तुले मन छुने र परिवारसँग बसेर हेर्न मिल्ने खालको रहेको बताएका छन्। आमाको माया र पारिवारिक सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरिएकाले चलचित्र मन परेको दर्शकको भनाइ छ।
त्यस्तै, विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ ले शुक्रबार र शनिबारसम्म करिब ४० देखि ५० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको प्रारम्भिक अनुमान छ। चलचित्र हेरेर निस्किएका दर्शकले पहिलो भागजस्तै दोस्रो भाग पनि राम्रो बनेको प्रतिक्रिया दिएका छन्। उनीहरूले चलचित्रको एक्सन र प्रस्तुतिको प्रशंसा गर्दै नेपाली चलचित्र क्षेत्रमा यस्ता फिल्म बन्नु ठूलो कुरा भएको बताएका छन्। दर्शकका अनुसार चलचित्रले पहिलो भागबाट बनेको अपेक्षालाई कायम राखेको छ।
यसैगरी, दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’ ले प्रदर्शनको पहिलो दिन करिब ३० देखि ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको प्रारम्भिक अनुमान छ। तर, चलचित्र हेरेर बाहिरिएका केही दर्शकले भने यसको कथावस्तुमा नयाँपन नभएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार चलचित्रमा पुरानै शैलीको कथा दोहोरिएको छ र नयाँ तथा रोचक विषयवस्तुको अभाव देखिन्छ।
केही दर्शकले चलचित्रबाट हाँसो र भावनात्मक दुवै पक्षको अपेक्षा गरे पनि आफूहरूले त्यस्तो अनुभव गर्न नसकेको बताएका छन्। ‘न हाँस्न सकियो, न रुन सकियो’ भन्ने प्रतिक्रिया दिँदै उनीहरूले चलचित्रले अपेक्षाअनुसार मनोरञ्जन दिन नसकेको गुनासो गरेका छन्। केही दर्शकले चलचित्रलाई ‘बकवास’ समेत भनेका छन्।
प्रारम्भिक अनुमानित कमाइका आधारमा ‘आ बाट आमा २’ अगाडि देखिएको छ भने ‘१२ गाउँ २’ प्रति दर्शकको प्रतिक्रिया सकारात्मक छ। ‘छ माया छपक्कै २’ प्रति भने केही दर्शक असन्तुष्ट देखिएका छन्।
