३८ दिनमै १० करोडको आँकडा पार गर्यो ‘पेन्सन पट्टा’
काठमाडौं । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। प्रदर्शनमा आएको ३८ दिनमा चलचित्रले १० करोड १७ लाख ७३ हजार ८२८ रुपैयाँ ग्रस आम्दानी गरेको हो।
चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक विवरणअनुसार आइतबारसम्म चलचित्रका ३ लाख ५९ हजार १९४ टिकट बिक्री भएका छन्। भदौ २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले सुरुवाती दिनमा सुस्त व्यापार गरे पनि त्यसपछि दर्शकको साथ पाउँदै कमाइ बढाएको हो।
१० करोड रुपैयाँभन्दा बढीको व्यापारसँगै ‘पेन्सन पट्टा’ यस वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ।
माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्रले लाहुरे जीवनसँग जोडिएका पारिवारिक समस्या, सम्बन्धमा आउने उतारचढाव र भावनात्मक संघर्षलाई कथाको केन्द्रमा राखेको छ। सामाजिक परिवेशमा आधारित यस चलचित्रले लाहुरे परिवारको जीवन र त्यससँग गाँसिएका संवेदनशील पक्षलाई प्रस्तुत गरेको छ।
चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन्। विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनीभा तुलाधर र सुरज तमुलगायत कलाकारको पनि अभिनय रहेको छ।
