विश्व बजारमा चिनियाँ ईभीको दबदबा, आफ्नै देशमा भने ग्राहकको खडेरी
एजेन्सी । विश्व विद्युतीय सवारी साधन (ईभी) बजारमा चीनले आफ्नो दबदबा बढाउँदै लगे पनि घरेलु बजारमा भने चिनियाँ गाडी उत्पादक कम्पनीहरू संकटमा परेका छन् । उन्नत ब्याट्री प्रविधि, सस्तो मूल्य र आक्रामक बजार विस्तारका कारण युरोपदेखि ल्याटिन अमेरिकासम्म चिनियाँ ब्रान्डको प्रभाव बढिरहेको छ । तर, आफ्नै देशमा भने अत्यधिक उत्पादन, सीमित माग र चर्को प्रतिस्पर्धाले अटोमोबाइल उद्योगलाई दबाबमा पारेको छ ।
चीनको घरेलु बजारमा अहिले गाडी उत्पादक कम्पनीको संख्या आवश्यकताभन्दा बढी छ । सयौँ कम्पनी सीमित ग्राहकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । बजारमा आफ्नो हिस्सा जोगाउन कम्पनीहरूले गाडीको मूल्य घटाउने र विभिन्न छुट दिने रणनीति अपनाइरहेका छन् । यसले उपभोक्तालाई सस्तोमा गाडी किन्ने अवसर दिए पनि उत्पादकहरूको नाफा भने निरन्तर घटिरहेको छ ।
अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नल को प्रतिवेदनले पनि चीनको अटोमोबाइल उद्योगमा देखिएको संकटलाई उजागर गरेको छ । प्रतिवेदनअनुसार चिनियाँ कम्पनीहरूले बजारको वास्तविक मागभन्दा निकै बढी उत्पादन क्षमता विस्तार गरेका छन् । ठूलो लगानीमा निर्माण गरिएका कारखानाहरू पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पर्ने गाडीसमेत बिक्री हुन नसक्ने अवस्था सिर्जना भएको छ ।
चीनको समस्या प्रविधि र उत्पादन क्षमताको अभाव होइन, बजारको मागभन्दा तीव्र गतिमा उद्योग विस्तार हुनु हो । विगतमा सरकारी अनुदान, ठूलो लगानी र विद्युतीय गाडीप्रतिको बढ्दो आकर्षणले चीनको ईभी उद्योगलाई विश्वकै प्रमुख उत्पादकका रूपमा स्थापित गराएको थियो ।
स्थानीय सरकारले रोजगारी सिर्जना र औद्योगिक विकासलाई प्राथमिकता दिँदै गाडी उत्पादक कम्पनीलाई प्रोत्साहन गरेका थिए । यही अवसरको उपयोग गर्दै बीवाईडी, नियो, साओमी र गिलीजस्ता कम्पनीले आफ्नो उत्पादन क्षमता विस्तार गरे । तर, ईभी बजारमा देखिएको सम्भावनालाई पछ्याउँदै नयाँ कम्पनीहरू पनि ठूलो संख्यामा प्रवेश गरे । सबैले माग निरन्तर बढ्ने अनुमानमा कारखाना निर्माण गरेपछि उत्पादन क्षमता र वास्तविक मागबीच ठूलो खाडल सिर्जना भयो ।
अहिले यही असन्तुलनले चिनियाँ कम्पनीहरूलाई मूल्ययुद्धमा धकेलेको छ । ग्राहक आकर्षित गर्न कम्पनीहरूबीच मूल्य घटाउने प्रतिस्पर्धा चलिरहेको छ । बजार हिस्सा जोगाउन सस्तोमा गाडी बेच्नुपर्ने र घट्दो नाफा पूर्ति गर्न थप उत्पादन गर्नुपर्ने बाध्यताले उद्योगलाई थप संकटतर्फ धकेलेको छ । विशेषगरी कमजोर आर्थिक अवस्था भएका र प्रतिस्पर्धीभन्दा फरक उत्पादन दिन नसक्ने साना कम्पनीहरूलाई बजारमा टिक्न कठिन भइरहेको छ ।
घरेलु बजारमा बिक्रीको दबाब बढेपछि चिनियाँ कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारलाई आफ्नो प्रमुख गन्तव्य बनाउन थालेका छन् । उनीहरू सस्तो मूल्य र आधुनिक प्रविधिका गाडी लिएर युरोप, दक्षिणपूर्वी एसिया तथा ल्याटिन अमेरिकी बजारमा विस्तार भइरहेका छन् । यसले परम्परागत युरोपेली र अमेरिकी गाडी उत्पादकहरूलाई समेत आफ्नो मूल्य तथा उत्पादन रणनीति परिवर्तन गर्न दबाब दिएको छ ।
तर, विदेशमा गाडी निर्यात बढाउँदैमा चीनको घरेलु संकट समाधान हुने निश्चित छैन । अन्तर्राष्ट्रिय बजारमा व्यापारिक अवरोध, कडा कानुनी प्रावधान, स्थानीय उत्पादकसँगको प्रतिस्पर्धा र उपभोक्ताको विश्वास जित्नुपर्ने चुनौती चिनियाँ कम्पनीहरूका अगाडि छन् ।
चीनको ईभी उद्योगमा देखिएको यो अवस्थाले भारतलगायत उदीयमान अर्थतन्त्रलाई पनि महत्त्वपूर्ण सन्देश दिएको छ । ट्रिभ मोबिलिटीका संस्थापक तथा प्रमुख कार्यकारी नवीन गुप्ताका अनुसार उत्पादन क्षमता विस्तार गर्नु वा नयाँ प्रविधि भित्र्याउनु मात्रै उद्योगको दीर्घकालीन सफलताका लागि पर्याप्त हुँदैन ।
बजारको वास्तविक मागअनुसार उत्पादन क्षमता निर्धारण गर्नु, वित्तीय सन्तुलन कायम राख्नु र उपभोक्ताको विश्वास जित्नु नै उद्योगको दिगो विकासका लागि महत्त्वपूर्ण पक्ष हुन् । विज्ञहरूका अनुसार छुट र आक्रामक विस्तारमा मात्रै आधारित व्यावसायिक रणनीति दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्छ ।
चार्जिङ पूर्वाधार, मर्मतसम्भार सुविधा, बजारको वास्तविक आवश्यकता र गाडी सञ्चालनको समग्र लागतलाई बेवास्ता गर्दै उत्पादन तथा बिक्री बढाउने प्रतिस्पर्धाले उद्योगलाई नै संकटमा पार्न सक्छ ।
चीनको पछिल्लो अनुभवले ईभी उद्योगमा ठूलो उत्पादन क्षमता र अत्याधुनिक प्रविधि हुँदैमा सफलता सुनिश्चित नहुने देखाएको छ । विश्व बजारमा दबदबा कायम गरिरहेका चिनियाँ कम्पनीहरूलाई समेत आफ्नै देशमा गाडी बिक्री गर्न चुनौती थपिनुले बजारको माग र उत्पादनबीचको सन्तुलन कति महत्त्वपूर्ण छ भन्ने स्पष्ट पारेको छ ।
