`

तिहारका लागि बजार झारिए हिमाली च्याङ्ग्रा (तस्वीरहरू)

Nepal One HD २२ कार्तिक २०८३ १५:३९
अर्थ समाचार

बागलुङ। तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहरका बजारमा ओर्लिन थालेका छन्। चाडपर्वमा च्याङ्ग्राको मासु खाने परम्परा रहेकाले व्यापारीहरू मुस्ताङ, डोल्पा र तिब्बतबाट ल्याइएका भेडाच्याङ्ग्रा बिक्रीका लागि विभिन्न सहरमा पुर्‍याउन सक्रिय भएका छन्।

बागलुङ, पर्वत, कास्की हुँदै काठमाडौं, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्‍याउने क्रम बढेको छ। पछिल्लो एक सातायता हिमालपारिको मुस्ताङ हुँदै च्याङ्ग्रा बजारमा आउन थालेका हुन्।

यस वर्ष भने विगतका तुलनामा च्याङ्ग्राको आपूर्ति घटेको व्यापारीहरू बताउँछन्। अघिल्ला वर्ष दसैँकै समयमा हजारौँको संख्यामा भेडाच्याङ्ग्रा बजारमा भित्रिने गरे पनि बाढीपहिरोले आवागमन प्रभावित हुँदा यसपालि दसैँमा च्याङ्ग्रा ल्याउन कठिन भएको थियो। बागलुङ जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि ढुवानी थप प्रभावित बनेको थियो।

अहिले मौसम अनुकूल बनेपछि व्यापारीले च्याङ्ग्रा बजार झार्न थालेका छन्। डोल्पा–मुस्ताङ सीमाक्षेत्रबाट करिब २३ दिनको कठिन यात्रा पार गर्दै बागलुङ आइपुगेका व्यापारी दिक्पाल गुरुङले यसपटक तीन सय च्याङ्ग्रा ल्याएको बताए।

उनका अनुसार ल्याइएका च्याङ्ग्रामध्ये केही मुस्ताङ र केही डोल्पाका हुन्। ती च्याङ्ग्रा काठमाडौंसम्म पुर्‍याएर बिक्री गर्ने योजना रहेको उनले बताए। ‘दसैँका बेला बाढीपहिरोले गर्दा बजार झार्न सकिएन। अहिले मौसम राम्रो भएकाले तीन सय च्याङ्ग्रा ल्याएका छौँ,’ उनले भने।

बागलुङमा रोजाइका च्याङ्ग्राको मूल्य प्रतिगोटा ३५ हजारदेखि ५२ हजार रुपैयाँसम्म पुगेको छ। मासुको मूल्य पनि बढेको छ। उपभोक्ता विजय पौडेलका अनुसार अहिले बागलुङ बजारमा च्याङ्ग्राको मासु प्रतिकिलो २ हजार २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। गत वर्ष यही मासु प्रतिकिलो १ हजार ९०० रुपैयाँसम्ममा पाइने गरेको उनको भनाइ छ।

बाढीपहिरोका कारण आपूर्ति घट्दा मूल्य बढेको हुनसक्ने पौडेलको अनुमान छ। स्वाद र गुणस्तरका कारण हिमाली च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको र तिहारमा यसको माग थप बढ्ने गरेको उनी बताउँछन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *