देउवाको शक्ति क्षय
काठमाडौं। नेपाली कांग्रेसमा कुनै समय शेरबहादुर देउवाको बोली नै अन्तिम निर्णय हुन्थ्यो ।
पार्टीको केन्द्रीय नेतृत्वदेखि सरकार गठन, मन्त्री नियुक्ति र राजनीतिक भागबण्डासम्म देउवाकै इच्छाले काम गर्थ्यो । उनी निकट हुनु नै अवसर पाउने बलियो आधार थियो । तर, समय सधैँ एकनास रहेन । शक्ति रहँदासम्म वरिपरि झुम्मिनेहरू अहिले धमाधम कित्ता बदल्न थालेका छन् । कांग्रेसको १५औँ महाधिवेशनले देउवाको राजनीतिक प्रभाव ओरालो लागेको संकेत गरेको छ ।
देउवा समूहमा लामो समय बसेर अवसर लिएका थुप्रै नेता अन्तिम समयमा गगन थापा खेमातिर लागे । तर, कित्ता फेर्दैमा सबैको राजनीतिक भविष्य सुरक्षित भएन । महालक्ष्मी उपाध्याय डिना महामन्त्रीमा पराजित भइन् ।
गोविन्द भट्टराई उपसभापति बन्न सकेनन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको समेत अपेक्षित प्रभाव देखिएन । शेखर कोइरालाको साथ छाडेका जीवन परियारलाई पनि उपसभापतिको दौडमा विनोद चौधरीले उछिने ।
यसले देउवा समूहबाट बाहिरिएका नेताहरू मात्रै होइन, नयाँ नेतृत्वको समीकरणमा पुगेकाहरूको समेत राजनीतिक हैसियत परीक्षण भएको देखाउँछ । यद्यपि, रामहरि खतिवडा, उदयशमशेर राणा र जीवनबहादुर शाहीजस्ता नेताले सफलता पाए । उनीहरूको जितलाई पूर्णबहादुर खड्का निकट समूहको प्रभावसँग जोडेर हेरिएको छ । यसले कांग्रेसभित्र देउवाको पुरानो शक्ति संरचना भत्किएर नयाँ केन्द्र निर्माण भइरहेको सन्देश दिएको छ ।
देउवाको समस्या महाधिवेशनमा आफ्ना मान्छेले पराजय बेहोर्नुमा मात्रै सीमित छैन । चोलेन्द्रशमशेर राणासँग जोडिएको पछिल्लो घटनाक्रमले पनि उनको राजनीतिक वृत्तमा तरंग पैदा गरेको चर्चा छ ।
देउवाले लामो समयदेखि आन्तरिक र बाह्य राजनीतिक सम्बन्धलाई आफ्नो शक्तिको आधार बनाउँदै आएको कांग्रेसकै नेताहरू बताउँछन् । तर, अहिले त्यही सम्बन्धले संकट टार्न सक्नेमा उनीहरू विश्वस्त देखिँदैनन् ।
कांग्रेसभित्रका कतिपय नेताको बुझाइमा देउवाले पार्टी मिलाउनेभन्दा पनि व्यक्तिगत राजनीतिक समीकरण जोगाउने खेलमा बढी समय खर्चिए । त्यसको असर अहिले देखिन थालेको छ । उनीसँग नजिक रहेका नेताहरू नयाँ नेतृत्वमा आफ्नो स्थान खोजिरहेका छन् । कुनै समय देउवाको समर्थनबिना अघि बढ्न नसक्नेहरू अहिले उनको नामबाट टाढिन थालेका छन् ।
अर्कोतिर नयाँ सभापति गगन थापाका लागि पनि चुनौती कम छैन । पार्टीभित्रको एउटा ठूलो समूह असन्तुष्ट रहँदा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा त्यसको असर पर्न सक्छ । रास्वपाको बढ्दो प्रभाव तथा एमाले र नेकपाबीच सम्भावित सहकार्यले कांग्रेसमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तो अवस्थामा देउवा समूहलाई बाहिर राखेर कांग्रेसले चुनावी प्रतिस्पर्धा गर्न सहज हुने देखिँदैन ।
देउवासँग अझै अनुभव, पुराना सम्बन्ध र राजनीतिक सम्पर्कको पूँजी बाँकी छ । तर, त्यसलाई संगठनात्मक शक्तिमा बदल्ने अवस्था कमजोर बन्दै गएको छ । कुनै समय आफ्नै इसारामा चल्ने पार्टीमा अहिले उनी निर्णायक शक्ति रहन सकेनन् ।
राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैनन् भनिन्छ । देउवाको हकमा पनि शक्ति रहँदा साथ दिनेहरू शक्ति घटेपछि टाढिन थालेको दृश्य देखिँदैछ ।
