एनभिडिया प्रमुखको लफडा, विवाहेतर सम्बन्धदेखि जासुसीसम्म
काठमाडौं । विश्वकै चर्चित प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ व्यक्तिगत सम्बन्ध र विदेशी जासुसीसम्बन्धी विवादमा तानिएका छन् ।
उनले आफ्नी पत्नीसँग विश्वासघात गरेको स्वीकार गरेपछि कम्पनीको सञ्चालक समितिले विदेशी गुप्तचर गतिविधिसँग जोडिएको विषयमा स्वतन्त्र अनुसन्धान अघि बढाउने निर्णय गरेको छ ।
६३ वर्षीय हुआङले कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा विवाहेतर सम्बन्ध स्वीकार गर्दै पत्नी र छोराछोरीलाई चोट पुर्याएकोमा क्षमा मागेका छन् । उनले आफ्नो गल्तीको सम्पूर्ण जिम्मेवारी लिने र त्यसबाट हुने आलोचना स्वीकार गर्ने बताएका छन् ।
यद्यपि, उनले आफ्नो सन्देशमा सम्बन्धमा रहेकी महिलाको नाम भने खुलाएका छैनन् ।
यो घटनाक्रमसँगै सिङ्गापुरस्थित प्रविधि कम्पनी मेगास्पिडकी पूर्व उच्च अधिकारी एलिस हुआङसँग उनको सम्बन्धबारे थप चर्चा सुरु भएको छ । दुवैको थर एउटै भए पनि उनीहरूबीच पारिवारिक नाता नरहेको बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस हुआङमाथि चीनका लागि काम गरेको र एनभिडियाको संवेदनशील सूचना प्राप्त गर्ने प्रयास गरेको आशङ्का गरेका छन् । उनीमार्फत अत्याधुनिक एआई चिप्स चीन पुर्याउन सहयोग भएको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।
विवाद सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले आइतबार स्वतन्त्र अनुसन्धान गर्ने घोषणा गरेको छ ।
कम्पनीले स्वतन्त्र सञ्चालक र बाह्य कानुनी सल्लाहकार सम्मिलित समितिले अनुसन्धानको निगरानी गर्ने जनाएको छ ।
एनभिडियाका अनुसार हालसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचना चुहिएको विश्वास गर्ने कुनै आधार भेटिएको छैन । तर, सार्वजनिक भएका विवरणको गम्भीरतालाई ध्यानमा राख्दै उपलब्ध सबै सूचनाको परीक्षण गरिने कम्पनीले स्पष्ट पारेको छ ।
हुआङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले एनभिडिया र अमेरिकी राष्ट्रिय सुरक्षाको रक्षा गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् ।
कम्पनीका प्रवक्ताले भने विवादका कारण व्यावसायिक गतिविधि प्रभावित नहुने बताएका छन् । हुआङले कुनै अवरोधबिना सीईओका रूपमा नेतृत्वलाई निरन्तरता दिने उनको भनाइ छ ।
एनभिडियाको पछिल्लो विवादलाई अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिमा जारी प्रतिस्पर्धासँग जोडेर हेरिएको छ ।
सिङ्गापुरको मेगास्पिड एनभिडियाका एआई चिप्स खरिद गर्ने कम्पनीमध्ये एक हो । अमेरिकी अधिकारीहरूले उक्त कम्पनीमार्फत निर्यात प्रतिबन्धमा रहेका अत्याधुनिक चिप्स चीन पुग्न सक्ने आशङ्का गर्दै आएका छन् ।
यसअघि अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्स र फाइनान्सियल टाइम्सले एलिस हुआङ र जेन्सेनबीच निकट सम्बन्ध रहेको तथा अमेरिकी गुप्तचर निकायले यस विषयमा चासो देखाएको विवरण सार्वजनिक गरेका थिए ।
एनभिडियाले भने ग्राहक कम्पनीका अधिकारीहरूसँग सीईओले भेटघाट गर्नु सामान्य व्यावसायिक प्रक्रिया भएको बताउँदै आएको थियो । हुआङले प्रत्येक वर्ष हजारौँ ग्राहक कम्पनीका प्रतिनिधिसँग भेट गर्ने कम्पनीको भनाइ थियो ।
एनभिडियाका चिप्स चीनमा बिक्री गर्न अनुमति दिनुपर्ने पक्षमा हुआङले यसअघि वकालत गर्दै आएका थिए । तर, पछिल्लो विवादले चीनसँगको प्रविधि कारोबारमा थप निगरानी बढ्न सक्ने विश्लेषकहरूको अनुमान छ ।
यर्कभिल एन्ड आइभ्सका वरिष्ठ प्रबन्ध निर्देशक ड्यान आइभ्सका अनुसार अनुसन्धानले कम्पनीको सेयर मूल्यमा दबाब सिर्जना गर्न सक्छ । लगानीकर्ताले हुआङको नेतृत्व निरन्तर रहने विषयलाई समेत चासोका साथ हेर्न सक्ने उनको भनाइ छ ।
विवादले अमेरिकी राजनीतिक वृत्तमा समेत प्रवेश पाएको छ । अमेरिकी प्रतिनिधिसभाका तीन प्रभावशाली समितिका रिपब्लिकन अध्यक्षहरूले हुआङलाई पत्र पठाउँदै समितिसमक्ष उपस्थित भएर स्पष्टीकरण दिन आग्रह गरेका छन् ।
विदेश मामिला, चिनियाँ कम्युनिस्ट पार्टीसम्बन्धी विषय र गुप्तचरसम्बन्धी समितिका अध्यक्षहरूले मेगास्पिडसँगको सम्बन्ध तथा विदेशी जासुसीबाट कम्पनीको सूचना सुरक्षित राख्ने व्यवस्थाबारे जानकारी मागेका हुन् ।
उनीहरूले अमेरिकी संवेदनशील प्रविधि र सूचनामा चीनको पहुँचबारे गम्भीर राष्ट्रिय सुरक्षा चासो उत्पन्न भएको उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हुआङलाई राम्रो र इमानदार व्यक्ति भन्दै उनको प्रशंसा गरेका छन् । अनुसन्धान घोषणा भएपछि आफूले हुआङसँग कुराकानी नगरेको पनि ट्रम्पले बताएका छन् ।
सन् १९९३ मा स्थापना भएको एनभिडिया अहिले विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) उद्योगको प्रमुख कम्पनीमध्ये एक हो । एआई प्रविधिको विस्तारसँगै कम्पनीका चिप्सको माग बढ्दा यसको बजार मूल्य चार ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
कम्पनीका सहसंस्थापकसमेत रहेका हुआङ एनभिडियाको प्रमुख अनुहार मानिन्छन् । उनी लामो समयदेखि कम्पनीको नेतृत्वमा रहँदै आएका छन् ।
विश्लेषकहरूका अनुसार हुआङको नेतृत्व र एनभिडियाको व्यावसायिक सफलताबीच गहिरो सम्बन्ध छ । त्यसैले उनको व्यक्तिगत विवाद र जासुसीसम्बन्धी अनुसन्धानले कम्पनीको प्रतिष्ठा तथा लगानीकर्ताको विश्वासमा प्रभाव पार्न सक्ने देखिएको छ ।
यसैबीच, हुआङले कलेज जीवनमा भेटेकी पत्नी लोरी हुआङसँग सन् १९८५ मा विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन् ।
एनभिडियाका प्रमुख हुआङ नेपाललाई गरेको आर्थिक सहयोगका कारण पनि चर्चामा आएका थिए । गत भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उनले एक करोड अमेरिकी डलर उपलब्ध गराएका थिए ।
उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको थियो । सहयोगका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत हुआङलाई धन्यवाद दिएका थिए ।
