हुआङलाई फर्काउन मस्कसहितका टेक हस्ती सक्रिय
काठमाडौं । व्यक्तिगत सम्बन्ध र चीनसँगको सम्भावित गोप्य साँठगाँठसम्बन्धी विवादका कारण पद छाडेको दाबी गरिएका एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउन प्रविधि क्षेत्रका शक्तिशाली व्यवसायीहरू सक्रिय भएका छन्।
टेस्ला तथा स्पेसएक्सका प्रमुख इलन मस्क र एपिक गेम्सका सीईओ टिम स्विनीसहित सिलिकन भ्यालीका प्रभावशाली व्यवसायीहरूले हुआङको पुनरागमनको पक्षमा समर्थन जनाएका छन्। फाइनान्सियल टाइम्सका अनुसार हुआङले पनि आफू निकट व्यक्तिहरूसँग नेतृत्वमा फर्किने सम्भावनाबारे छलफल गरेका छन्।
हुआङलाई पुनः जिम्मेवारी दिनुपर्ने मागसहित कम्पनीका कर्मचारी तथा लगानीकर्ताहरूले समेत आवाज उठाएका छन्। एनभिडियामा लगानी गरेका अल्टिमिटर क्यापिटलका ब्राड गस्र्टनर र एट्राइड्स म्यानेजमेन्टका गेभिन बेकरले कम्पनीको सञ्चालक समितिलाई पत्र लेख्दै उनको पुनरागमनसहित सबै सम्भावनालाई खुला राख्न आग्रह गरेका छन्।
हुआङको पुनरागमनका लागि समर्थकहरूले छुट्टै समूह बनाएर कम्पनीको सञ्चालक समिति र अमेरिकी ह्वाइट हाउससम्म दबाब सिर्जना गर्ने तयारी गरेको समाचारमा उल्लेख छ। लामो समयदेखि एनभिडियालाई विश्वकै अग्रणी एआई चिप निर्माता बनाउने भूमिकामा रहेका हुआङलाई पुनः नेतृत्वमा ल्याउनुपर्ने उनीहरूको तर्क छ।
हुआङको राजीनामासँग जोडिएको अर्को विषय उनको व्यक्तिगत सम्बन्ध हो। विभिन्न सञ्चारमाध्यममा सार्वजनिक विवरणअनुसार उनीमाथि तीन महिलासँग विवाहेतर सम्बन्ध रहेको आरोप लागेको थियो।
पहिलो विवाद सिंगापुरस्थित मेगास्पिडकी अधिकारी एलिस हुआङसँग जोडिएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार उनीहरूबीच पटक-पटक भेटघाट भएको थियो। एलिसमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका पनि व्यक्त गरिएको छ।
त्यस्तै, एनभिडियाकी हेल्थकेयर उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको सम्बन्ध रहेको दाबी सार्वजनिक भएको थियो। उनी कम्पनीमा हुआङलाई प्रत्यक्ष रूपमा रिपोर्ट गर्ने अधिकारी रहेको बताइएको छ। रोयटर्सले उद्धृत गरेका स्रोतका अनुसार एनभिडियाकै अर्की एक महिला कर्मचारीसँग पनि उनको सम्बन्ध रहेको दाबी गरिएको थियो। यद्यपि, ती महिलाको पहिचान सार्वजनिक गरिएको छैन।
विवाद सार्वजनिक भएपछि हुआङले कम्पनीका कर्मचारीलाई पठाएको सन्देशमा आफ्नो व्यवहारले पत्नी र सन्तानलाई चोट पुगेको स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो। उनले परिवारप्रति इमानदार रहन नसकेकोमा पछुतो व्यक्त गर्दै कर्मचारीको विश्वास कायम राख्न नसकेको स्वीकार गरेका थिए।
यसैबीच, उनले नोभेम्बर १२ मा प्रमुख कार्यकारी अधिकृतको पद छाडेको समाचार सार्वजनिक भएको थियो। तर वाल स्ट्रिट जर्नलले भने उनले स्वेच्छाले राजीनामा नदिई सञ्चालक समितिको निर्णयबाट पद गुमाएको दाबी गरेको थियो।
एलिस हुआङमाथि चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका सार्वजनिक भएपछि अमेरिकी निकायहरूले पनि यस विषयमा चासो देखाएका छन्। एलिसमार्फत एनभिडियाका अत्याधुनिक एआई चिप चीन पुगेका थिए वा कम्पनीका गोप्य सूचनामा पहुँच स्थापित गरिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ। अमेरिकी न्याय विभागले पनि यससँग सम्बन्धित विषयको जाँच गरिरहेको बताइएको छ।
अमेरिकी संसद्ले नोभेम्बर १८ मा एलिसलाई बन्द कोठामा हुने छलफलका लागि बोलाएको विवरणसमेत सार्वजनिक भएको छ। एनभिडियाको सञ्चालक समितिले पनि आन्तरिक रूपमा छुट्टै छानबिन गरिरहेको बताइएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले पनि एनभिडियाको नेतृत्व र चीनसँगको कारोबारबारे प्रश्न उठाएका छन्। उनले कम्पनीले नक्कली व्यावसायिक संरचनामार्फत अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम छल्दै चीनलाई शक्तिशाली एआई चिप बिक्री गरेको थियो कि थिएन भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन्। उनको चासो हुआङको व्यक्तिगत जीवनभन्दा पनि अमेरिकी राष्ट्रिय सुरक्षा र निर्यात नीतिको सम्भावित उल्लंघनमा केन्द्रित रहेको बताइएको छ।
हुआङले पद छाडेपछि कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसले अन्तरिम नेतृत्व सम्हालेकी छन्। कम्पनीको त्रैमासिक वित्तीय नतिजा सार्वजनिक हुनुअघि व्यवस्थापनलाई स्थिर राख्ने जिम्मेवारी उनको काँधमा छ।
