कांग्रेसमा पदको लुछाचुँडी, विभाजनको खतरा !
काठमाडौं । नेपाली कांग्रेस फेरि विभाजनको डिलमा पुगेको छ। लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक पार्टी अहिले विचार, सिद्धान्त र संगठन निर्माणभन्दा पदको भागबन्डा, गुटगत स्वार्थ र नेतृत्वको टकरावमा रुमल्लिएको छ।
बीपी कोइरालाले स्थापना गरेको कांग्रेस पटकपटक फुट्दै र जुट्दै यहाँसम्म आइपुगे पनि यसपटकको विवादले पार्टीको अस्तित्व र भविष्य नै संकटमा पार्ने संकेत देखिएको छ।
जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको दबाब बढेपछि गगन थापा समूहले विशेष महाधिवेशनको बाटो रोज्यो। १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन पनि भयो। तर नेतृत्व फेरिएसँगै विवाद समाधान हुनुको साटो पार्टीभित्रको कित्ताकाट झन् चर्किएको छ।
परिवर्तनको नारा दिएर आएको नेतृत्वले सुरुमै पार्टीलाई एकढिक्का बनाउन नसक्नुले नयाँ नेतृत्वको राजनीतिक क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ।
नयाँ कार्यसमिति गठनसँगै कांग्रेसमा पदको अस्वाभाविक विस्तार गरिएको छ। सभापतिको पद एउटा भए पनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएर पुराना तथा नयाँ नेताहरूलाई व्यवस्थापन गर्ने रणनीति अपनाइएको देखिन्छ। संगठनको आवश्यकताभन्दा नेताहरूको व्यवस्थापनलाई प्राथमिकता दिँदा कांग्रेसको संरचना जम्बो बन्न पुगेको छ। पद थप्दैमा संगठन बलियो हुने र जनताको विश्वास फर्किने होइन। पद बाँडेर गुट व्यवस्थापन गर्ने शैलीले कांग्रेसलाई दीर्घकालीन लाभभन्दा थप बोझ दिने निश्चित छ।
कम्युनिस्ट पार्टीहरूमा देखिएको जम्बो केन्द्रीय समितिको अभ्यास कांग्रेसले पनि पछ्याउन खोजेको हो भने त्यसको औचित्य के ? सयौँ सदस्यको समिति बनाउँदैमा पार्टी लोकप्रिय हुने भए नेपाली राजनीतिमा संगठन ठूलो भएका दलहरू नै सधैँ चुनाव जितिरहेका हुन्थे। पार्टीको शक्ति पदको संख्यामा होइन, जनताको विश्वास र कार्यकर्ताको प्रतिबद्धतामा हुन्छ।
कांग्रेसभित्र डनवाद र धनवादको प्रभाव घट्नुको सट्टा नयाँ नेतृत्वमा समेत पहुँच र प्रभाववालाहरूको वर्चस्व कायम रहेको गुनासो छ। समावेशिताको नाममा प्रतिनिधित्व सुनिश्चित गर्नु सकारात्मक भए पनि अन्य पदमा समेत पहुँचकै आधारमा अवसर बाँडिएको आरोपले नयाँ नेतृत्वको परिवर्तनकारी दाबीमाथि प्रश्न उठाएको छ।
युवाको नाममा नेतृत्व परिवर्तनको बहस चलिरहँदा उमेरलाई मात्रै योग्यताको मापदण्ड बनाउनु अर्को कमजोरी हो। पाँच–छ पटक सांसद भइसकेका व्यक्ति पुराना हुने तर पार्टी र सरकारको नेतृत्वमा मात्रै कार्यकालको सीमा खोज्ने तर्क आफैँमा विरोधाभासपूर्ण छ।
राजनीति उमेरको प्रतिस्पर्धा होइन। अनुभव, क्षमता, त्याग र विचार पनि नेतृत्वका आधार हुन्। उमेरका नाममा कसैलाई निषेध गर्ने र लोकप्रियताका नाममा कसैलाई देवत्वकरण गर्ने दुवै प्रवृत्ति लोकतान्त्रिक राजनीतिका लागि घातक छन्।
अहिले सामाजिक सञ्जालको लोकप्रियतालाई नै जनमत ठान्ने रोग कांग्रेसमा पनि प्रवेश गरेको छ। आज वाहवाही पाएको नेता भोलि आलोचनाको केन्द्र बन्न सक्छ। सामाजिक सञ्जालको तालीलाई स्थायी जनसमर्थन ठानेर राजनीतिक निर्णय गर्नु नेतृत्वको ठूलो भूल हुन सक्छ।
पार्टीको आधिकारिकतालाई लिएर अहिले कांग्रेसभित्र दुई धारबीच संघर्ष च लिरहेको छ। नियमित महाधिवेशन पक्षधर शेरबहादुर देउवा, डा. शेखर कोइराला र डा. शशांक कोइरालालगायत नेताहरूले आफ्नो दाबी छाडेका छैनन्। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिएपछि विवाद सर्वोच्च अदालत पुगेको छ। सर्वोच्चले देउवा पक्षको निवेदनमा निस्सा दिएपछि यो विवाद कानुनी लडाइँमा समेत प्रवेश गरेको छ।
गगन थापाले ‘कांग्रेस २.०’ को नारा दिएर पार्टीलाई नयाँ ढंगले अघि बढाउने घोषणा गरेका छन्। तर नारा, गीत र प्रचारले मात्रै पार्टी बदलिँदैन। पार्टी बदल्न नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियाको पारदर्शिता र फरक मत राख्नेहरूलाई सम्मान गर्ने राजनीतिक संस्कार आवश्यक पर्छ। सभापति बनेपछि आफ्नो समूहका नेताको मात्रै होइन, विरोधी खेमामा रहेका नेता तथा कार्यकर्ताको पनि विश्वास जित्न सक्नुपर्छ।
गगन थापासँग नियमित महाधिवेशनबाटै सभापति बन्ने सम्भावना हुँदाहुँदै विशेष महाधिवेशनको बाटो रोज्नुले पार्टीभित्र अनावश्यक दूरी बढाएको देखिन्छ। लोकप्रियता र राजनीतिक सम्भावना हुँदाहुँदै हतारमा लिइएको निर्णयले कांग्रेसलाई एकताबद्ध गर्न सकेन। नेतृत्वमा पुग्नु एउटा उपलब्धि हो, सबै पक्षलाई साथ लिएर हिँड्नु वास्तविक परीक्षा हो।
महामन्त्री रहँदा गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन समयमै सम्पन्न गर्न नसकेको विषय पनि अहिले प्रश्नको घेरामा छ। क्रियाशील सदस्यताको व्यवस्थापनदेखि महाधिवेशनको तयारीसम्म उनीहरूको जिम्मेवारीबारे सबाल छन्। तत्कालीन सभापति देउवाले काम गर्न नदिएको भन्दै जिम्मेवारीबाट पन्छिनु समस्याको समाधान थिएन।
त्यसो भन्दैमा देउवा पक्ष दूधले नुहाएको पनि होइन। देउवाको नेतृत्वशैली, निर्णय प्रक्रिया र पूर्णबहादुर खड्काको भूमिकालाई लिएर पार्टीभित्र लामो समयदेखि असन्तुष्टि थियो। गगन समूहसँग संवाद गरेर सहमतिमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा नेतृत्वबीच अविश्वास बढ्दै जानुमा पुरानो नेतृत्व पनि उत्तिकै जिम्मेवार देखिन्छ।
कांग्रेसको अर्को विडम्बना अवसरवादको राजनीति हो। हिजो गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्नुपर्ने माग गर्नेहरू आज नयाँ नेतृत्वसँग निकट हुन थालेका छन्। पूर्णबहादुर खड्काको पक्षमा उभिएका कतिपय नेता गगनको पक्षमा देखिनुले कांग्रेसभित्र विचारभन्दा अवसर र पदको राजनीति बलियो रहेको पुष्टि गर्छ।
देउवा पक्षका नेताहरूलाई समेत समेट्ने नाममा केन्द्रीय समितिको आकार बढाइएको बुझिन्छ। पद थपेर असन्तुष्ट नेताहरूलाई व्यवस्थापन गर्न सकिएला, तर राजनीतिक असन्तुष्टि र वैचारिक मतभेद त्यसबाट अन्त्य हुँदैन। उल्टै ठूलो केन्द्रीय समितिले बैठक, निर्णय प्रक्रिया र जिम्मेवारी बाँडफाँटलाई झन् जटिल बनाउनेछ। केन्द्रीय सदस्य पदको गरिमा र राजनीतिक महत्त्वसमेत घट्ने जोखिम छ।
आगामी निर्वाचन कांग्रेसका लागि सहज देखिँदैन। आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र विभाजनको आशंकाले पार्टीको चुनावी सम्भावनामा प्रत्यक्ष असर पार्न सक्छ। विपक्षीले कांग्रेसलाई हराउन छुट्टै रणनीति बनाउनुभन्दा कांग्रेसभित्रकै कलह पर्याप्त हुने अवस्था सिर्जना हुनु पार्टीका लागि दुर्भाग्यपूर्ण हो।
कांग्रेसप्रति जनताको अपेक्षा अझै समाप्त भएको छैन। लोकतन्त्रको स्थापना र संरक्षणमा ऐतिहासिक भूमिका खेलेको दलले सामाजिक न्याय, समावेशिता र लोकतान्त्रिक मूल्यको रक्षा गर्नुपर्ने दायित्व बोकेको छ। तर नेतृत्वको ध्यान वैचारिक पुनर्जागरणभन्दा पदको भागबन्डा र गुटगत सन्तुलनमा केन्द्रित हुनु चिन्ताजनक छ।
