वीपीको ‘तीन घुम्ती’ अब नाटकमा मञ्चन हुने
काठमाडौं । नेपाली साहित्यका विशिष्ट कृति विश्वेश्वरप्रसाद कोइराला (वीपी) को उपन्यास ‘तीन घुम्ती’ अब नाटकका रूपमा मञ्चन हुने भएको छ।
कान्तिपुर थिएटरले उक्त उपन्यासलाई नाट्य रूपान्तरण गरी मञ्चमा ल्याउन लागेको हो। नाटकको परिकल्पना तथा निर्देशन सुनैना पन्थीले गर्नेछिन् भने कवयित्री रिमा केसीले नाट्य लेखन तथा रूपान्तरण गरेकी छन्।
यसअघि ‘मिरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’, ‘सेतो धरती’, ‘महाभारत’ र ‘समर लभ’ जस्ता नाटक मञ्चन गरिसकेको थिएटरले दर्शकको चाहनाअनुसार ‘तीन घुम्ती’ मञ्चन गर्न लागेको जनाएको छ।
नाटकका मुख्य पात्र इन्द्रमाया, पीताम्बर र रमेशको भूमिकाका लागि अडिसनमार्फत कलाकार छनोट गरिने भएको छ। अडिसनमा सहभागी हुन इच्छुक कलाकारले उपन्यास ‘तीन घुम्ती’ अध्ययन गरी सम्बन्धित पात्रको चरित्र बुझ्नुपर्नेछ।
त्यस्तै, अभिनयसम्बन्धी तालिम लिएको वा थिएटर तथा चलचित्र क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने सर्तसमेत राखिएको छ।
वीपी कोइरालाको चर्चित उपन्यासलाई नाट्य रूप दिएर मञ्चमा प्रस्तुत गर्न लागिएपछि साहित्य र रंगमञ्चका दर्शकमाझ यसले चासो बढाउने अपेक्षा गरिएको छ।
