‘कफी विद करण’ स्क्रिप्टेड हो?
काठमाडौं। चर्चित सेलिब्रिटी च्याट शो ‘कफी विद करण’ फेरि विवादमा तानिएको छ । शोको र्यापिड फायर राउन्ड स्वाभाविक नभई पहिल्यै तयार पारिएको स्क्रिप्टअनुसार चल्ने गरेको हुन सक्ने भन्दै सामाजिक सञ्जालमा चर्चा चुलिएको हो ।
विवादको केन्द्रमा अभिनेत्री शनाया कपूरको एउटा तस्बिर छ । शोको छैटौँ भागमा अतिथि बनेकी शनाया मेकअप गराइरहेको बेला खिचिएको उक्त तस्बिर सार्वजनिक भएपछि दर्शकको ध्यान अगाडिको टेबलमा राखिएको कागजतर्फ गएको छ ।
कागजमा ठूला अक्षरमा ‘र्यापिड फायर: शनाया कपूर’ लेखिएको देखिन्छ । त्यसको तल साना अक्षरमा केही विवरण पनि रहेको देखिएपछि कार्यक्रमको लोकप्रिय खण्ड नै पहिल्यै योजनाबद्ध हुने गरेको हो कि भन्ने अड्कलबाजी सुरु भएको छ ।
वर्षौंदेखि करण जोहरका पाहुनाले दिने तत्कालका जवाफ र रमाइला प्रतिक्रियाका कारण चर्चित बनेको र्यापिड फायर राउन्डबारे दर्शकहरूबीच मतभेद देखिएको छ । कतिपयले यसलाई दर्शकलाई झुक्याउने काम भन्दै आलोचना गरेका छन् भने केहीले च्याट शोमा अतिथिलाई सम्भावित विषयबारे जानकारी दिनु सामान्य प्रक्रिया भएको तर्क गरेका छन् ।
तर, भाइरल तस्बिरमा देखिएको कागजको सानो अक्षर स्पष्ट छैन । त्यसैले त्यो प्रश्नहरूको सूची हो, स्क्रिप्ट हो वा सामान्य तयारीका लागि राखिएको टिपोट मात्र हो भन्ने पुष्टि भएको छैन ।
विवादबारे शोका प्रस्तोता करण जोहर र शनाया कपूरले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
शनाया ‘स्टुडेन्ट अफ द इयर: आफ्टर डार्क’ वेब सिरिजको चर्चाबीच ‘कफी विद करण’ को नवौँ सिजनमा सहभागी भएकी थिइन् ।
छैटौँ भागमा उनीसँगै अनन्या पाण्डे र अनन्या बिर्ला पनि अतिथिका रूपमा उपस्थित थिए । यो शोमा शनायाको पहिलो सहभागिता थियो ।
