एनपिएलमा ‘होम एन्ड अवे’को घोषणा, मोफसलमा उत्साह
प्रधानमन्त्री शाहका अनुसार प्रतियोगितामा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितका घरेलु क्रिकेट मैदान निर्माण गरिनेछ । एउटै मैदानमा केन्द्रित हुँदै आएको एनपिएल देशका विभिन्न सहरमा पुग्ने भएपछि स्थानीय समर्थकले आफ्नै सहरमा घरेलु टोलीको खेल हेर्न पाउने सम्भावना बढेको छ ।
क्लब सञ्चालकहरूले प्रधानमन्त्रीको घोषणालाई स्वागत गर्दै आफ्नै मैदानमा खेल्ने वर्षौंदेखिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । कर्णाली एक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले कर्णालीका खेलाडी र समर्थकले आफ्नै माटोमा घरेलु टोलीलाई खेलिरहेको हेर्न पाउने अवस्था बन्न लागेको बताएका छन् । उनका अनुसार यो योजना कार्यान्वयनमा आए कर्णालीको खेलकुद विकास, पूर्वाधार निर्माण, स्थानीय प्रतिभाको पहिचान र खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेछ ।
कर्णालीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार, नेपाल क्रिकेट संघ (क्यान) लगायतका निकायसँग सहकार्य गर्न क्लब तयार रहेको घिमिरेले बताएका छन् ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले पनि घोषणाको स्वागत गरेका छन् । आफ्नै सहरमा आफ्नै मैदानमा खेल हुनु केवल क्रिकेटको विषय नभई समर्थकलाई टोलीसँग जोड्ने, स्थानीय अर्थतन्त्र चलायमान बनाउने र आधुनिक खेल पूर्वाधार विकास गर्ने अवसर भएको उनको भनाइ छ ।
न्यौपानेका अनुसार घरेलु मैदानले स्थानीय युवा खेलाडीलाई प्रेरणा दिनुका साथै प्रशिक्षण सहज बनाउने र प्रदेशभर खेलकुदको वातावरण विस्तार गर्नेछ । योजना सफल बनाउन नेपाल सरकार, प्रदेश सरकार, भरतपुर महानगरपालिका, क्यान तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्न चितवन राइनोज तयार रहेको उनले बताएका छन् ।
भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै न्यौपानेले त्यहाँ छिट्टै फ्लडलाइट जडान हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीको घोषणाअनुसार चितवन राइनोजले गौतमबुद्ध क्रिकेट रंगशाला, कर्णाली एक्सले सुर्खेत क्रिकेट रंगशाला, विराटनगर किङ्सले वैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सले सिद्धार्थ क्रिकेट रंगशाला र सुदूरपश्चिम रोयल्सले फाप्ला क्रिकेट रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गर्नेछन् ।
त्यसैगरी काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट रंगशाला, पोखरा एभेन्चर्सका लागि पोखरा क्रिकेट रंगशाला र जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला तोकिएको छ ।
