गृहमा हेरफेर: नौ सहसचिवको सरुवा, सात जिल्लाका सीडीओ फेरिए
काठमाडौं । गृह मन्त्रालयले प्रशासनिक संयन्त्रमा फेरि चलखेल गरेको छ। एकैपटक नौ जना सहसचिवको सरुवा तथा पदस्थापना गर्दै सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र महत्वपूर्ण विभागीय जिम्मेवारीमा हेरफेर गरिएको छ।
मंसिर ११ गतेको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई सिंहदरबारस्थित गृह मन्त्रालयमा तानिएको छ। उनको ठाउँमा गृह मन्त्रालयमै कार्यरत सहसचिव एकदेव अधिकारीलाई पर्साको सीडीओ बनाएर पठाइएको छ।
त्यस्तै, सिन्धुपाल्चोकका सीडीओ शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलाई भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवका रूपमा सरुवा गरिएको छ।
मन्त्रालयले गृह मन्त्रालय वा मातहतका निकायमा कार्यरत थप पाँच सहसचिवलाई रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुलीको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ।
एकैपटक भएको यो फेरबदलले जिल्ला प्रशासनदेखि अध्यागमन र विपद् व्यवस्थापनसम्मका निकायमा नयाँ नेतृत्व पुगेको छ।

