नक्कली प्रहरी बनेर दुई लाख असुल्न खोज्ने पाँच जना पक्राउ
काठमाडौं । प्रहरी निरीक्षक भन्दै मुद्दा मिलाइदिने बहानामा दुई लाख रुपैयाँ असुल्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काँडाघारी प्रहरी प्रभागमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिलाई छुटाइदिने भन्दै उनीहरूले उनका भाइसँग रकम मागेका थिए।
घटना मंसिर १० गते दिउँसोको हो। एक व्यक्ति प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि पुगेका थिए। उनलाई भेट्न गएका भाइलाई बाटोमै पाँच जनाले रोकेर आफूहरू प्रहरी निरीक्षक भएको परिचय दिए। त्यसपछि दाजुलाई मुद्दा नचलाइ छुटाइदिने भन्दै दुई लाख रुपैयाँको व्यवस्था गर्न दबाब दिए। रकमसँगै होटल खर्चसमेत तिर्नुपर्ने उनीहरूको माग थियो।
तर, मागअनुसार पैसा दिन पीडित पक्ष तयार भएन। त्यसपछि उनीहरूले फोन र म्यासेजमार्फत विभिन्न धम्की दिन थालेको प्रहरीले जनाएको छ।
घटनाबारे सूचना पाएपछि काँडाघारी प्रहरी प्रभागबाट खटिएको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ओखलढुंगाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन रहेका छन्। उनीहरू काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
