धोविखोलामा लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक युवक पक्राउ

NepalOne २६ माघ २०७९ १५:४८
प्रशासन

काठमाडौँ – काठमाडौँको धोविखोला करिडोर अन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिको शव फेला परेको सूचना प्राप्त भएको र अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैचा घर भएका राम बहादुर थापाले एक दिन अगाडी लुटपाट गरी पर्सा घर भई टोखा बस्ने ध्रुव बहादुर खड्काको हत्या गरेको खुलेको जनाएको हो ।

पक्राउ परेका राम बहादुर थापाले बतिसपुतलीबाट ट्याक्सीमा राखी एकान्त स्थानमा लगी लुटपाट गर्दै कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए, सोही राती १० बजे पुन थापा साईकल चढी उक्त स्थानमा पुगी दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसि क्यामेरा फुटेजबाट देखिएको कार्कीले बताउनुभयो ।

पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्यान लिएर ज्यान सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा तेह्रथुम म्याङलुङ १ घर भई काठमाडौँको माछापोखरी बस्ने सोनाम नेपाललाई पक्राउ गरेको छ । काठमाडौँको बसन्तनगरमा सञ्चालन भएको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा विभिन्न सङ्घ संस्थाहरूका लेटरप्याड र छापहरू फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया