`

रुकुम पूर्वकाे उत्तरी भेगबाट मतपेटिका सङ्‍कलन हेलिकप्टरबाट

काठमाडौं । रुकुम (पूर्व)काे उत्तरी भेगबाट मतपेटिका सङ्‍कलन गर्न हेलिकप्टर उडेकाे छ ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बिहीबार साँझ ५ बजे नेपाली सेनाको हेलिकप्टर सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकातर्फ उडेकाे हाे ।

उनले पैदल यात्रामा दुई दिन लाग्ने भएपछि हेलिकप्टरबाट मतपेटिका सङ्‍कलन थालिएकाे बताइन् ।

​पहिलो चरणमा पुथा उत्तरगंगा गाउँपालिका-२ स्थित पेल्मा र सोही वडाको आधारभूत विद्यालय हार्दिवाङका मतपेटिकाहरू संकलन गरेर ल्याइएको छ ।

आजै दोस्रो चरणमा सिस्ने गाउँपालिका–१ स्थित साविकको पाखापानी गाविस भवनमा रहेको मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको परियारको भनाइ छ ।

जिल्लाका कुल ५७ मतदान स्थलमध्ये बाँकी ५४ वटा केन्द्रका मतपेटिकाहरू भने पैदल मार्गबाटै आज रातिसम्म सदरमुकाम पुर्‍याइनेछ।

 

प्रधानमन्त्रीलाई बालेनले भने- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई ‘आमा’ भनेर सम्बाेधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन)ले आभार प्रकट गरेका छन् । उनले कार्कीकाे नेतृत्वमा लाेकतन्त्रले जितेकाे भन्दै हर्ष प्रकट गरे ।

झापा-५ मा मतदान सकिएर मतपेटिका सिल भइरहेकाे विवरण आउँदा बालेनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा ।’

काठमाडौंका पूर्वप्रमुख बालेन पहिलाेपटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धी भएका हुन् ।

अपडेट : झापा-५ मा सकियाे मतदान, सिल गरिँदै मतपेटिका

काठमाडौं । झापा-५ मा मतदान सकिएकाे छ । अहिले मतपेटिका संकलनको काम भइरहेको छ ।

आजै सर्वदलीय बैठक बस्ने निर्वाचन कार्यालयले जनाएकाे छ । बैठकले गर्ने निर्णयकाे आधारमा मतगणना सुरु गरिने भएकाे छ ।

झापा-५ देशकै सर्वाधिक चर्चित निर्वाचन क्षेत्र हाे । चर्चित हुनुकाे कारण त्यहाँ एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी प्रतिस्पर्धामा उत्रिनाले हाे ।

 

दाेलखाकाे मालुमा स्थगित भएकाे ६ घण्टापछि मतदान सुचारु

काठमाडौं । दाेलखाकाे तामाकाेशी गाउँपालिका-४ काे मालुमा रहेकाे गाेलेश्‍वर मावि मतदान केन्द्रमा स्थगित मतदान सुरु गरिएकाे छ ।

घर फर्किँदै गरेका मतदाता र दलका प्रतिनिधिहरुलाई निर्वाचन कर्मचारीहरुले माइकिङ गरेर बाेलाएका छन् । बिहान करिब ३०० मत खसेपछि विवाद भएकाे थियाे ।

नेपाली काङ्‍ग्रेस र नेकपाका कार्यकर्ताहरले बिहान त्यहाँ मतपत्र लुटेकाे एमाले र रास्वपाले आराेप लगाएका छन् । त्यही क्रममा दलका प्रतिनिधिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातसमेत गरेका थिए । त्यसपछि विवाद बढ्याे । विवाद बढ्दै जाँदा बिहान ११ बजेतिर प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ । तामाकोशी-४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगीलगायत प्रहरी नियन्त्रणमा छन् । काङ्‍ग्रेस र नेकपाले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका छन् ।

 

केन्द्रमा झापा-५, ४:३० सम्म गरे ६० प्रतिशत मतदाताले मतदान

दमक। झापा क्षेत्र नम्बर ५  मा ६० प्रतिशत मत खसेको छ ।

दिउँसो साढे ३ बजेसम्म ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका पूर्वमेयर एवं रास्वपा वरिष्ठ नेता बालेन शाहबीच तिव्र प्रतिष्पर्धा हुने देखिएको छ। उनीहरु दुवैजना प्रधानमन्त्रीका उम्मेदवार समेत हुन्। 

साढे ४ बजेसम्ममा खस्यो ९० लाख मत

काठमाडौं। दिउँसो ४ बजेसम्म ८८ लाख मत खसेको छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रमा ८८ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।

सर्लाही-४ मा आजै मतगणना गरिने

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत सर्लाही ४ मा शान्तिपूर्वक मतदान भइरहेको छ ।

निर्वाचनअन्तर्गत आज भएको मतदानमा सर्लाही ४ मा केही ठाउँमा विवाद भए पनि समाधान गरेर शान्तिपूर्वक मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले ५० प्रतिशतभन्दा बढी मत खसिसकेको बताए । साँझसम्म सबै मतदान स्थल-केन्द्रको मतपेटिका संकलन गरी गणनास्थलमा ल्याइसक्ने र सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने तयारी भइरहेको उनले बताए । 

यो क्षेत्रमा काङ्ग्रेस सभापती गगन थापा र रास्वपा नेता अमरेश कुमार सिंह बीच कडा प्रतिष्पर्धा हुने आँकलन गरिएको छ। 

मतदानको जानकारी गराउन निर्वाचन आयोगले सवा ६ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानसम्बन्धी अद्यावधिक विवरण साँझ सवा ६ बजे दिने भएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले साँझ ६ बजे आयोगमा पत्रकार सम्मेलन गरी अद्यावधिक विवरण जानकारी गराइने बताए । 

‘मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन आज बिहीबार साँझ ६ः१५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’, प्रवक्ता भट्टराईले सूचना जारी गर्दै भनेका छन् । 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । ५ बजेसम्म लाइन बसेका मतादाताले भने त्यसपछि पनि मतदान गर्न पाउनेछन् । 

आयोगले दिउँसो पत्रकार सम्मेलन गरी उत्साहजनक रूपमा मतदाताहरू मतदानमा सहभागी भएको जानकारी गराएको थियो। 

सुदूरपश्चिममा ४ बजेसम्म ४२ प्रतिशत भन्दा बढीले गरे मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा ४ बजेसम्म ४२ प्रतिशत भन्दा बढी मतदाताले मतदान गरेका छन् । 

कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ। 

प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए।

४ बजेसम्म देशभर ८० लाख मत खस्यो

काठमाडौं । बिहीबार अपरान्ह ४ बजेसम्म ८० लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा ८० लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

 अहिलेसम्म कुल मतदाताको ४२ प्रतिशत भन्दा बढी मत खसेको हो ।

मतदाता ६४० तर खसेन एकै भाेट, किन गरे सिङ्‍गाे गाउँले निर्वाचन बहिष्कार ?

काठमाडौं । दाङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ काे बबई गाउँपालिकाकाे एउटा मतदान केन्द्रमा मतदाताहरुले मतदान बहिस्कार गरेका छन् ।

गाउँपालिकाकाे वडा नम्बर-१ का अध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार जिला आधारभूत विद्यालय मतदान केन्द्रमा अहिलेसम्म एक जना मतदाता पुगेका छैनन् ।

त्यहाँ ६४० जना मतदाता छन् । गत स्थानीय तह निर्वाचनमा ४०० काे हाराहारीमा मतदान भएकाे थियाे । तर, प्रतिनिधिसभा निर्वाचनमा उनीहरु ‘नाे भाेट’काे पक्षमा उभिए ।

यस ठाउँ बाँके राष्ट्रिय निकुञ्‍जकाे मध्यवर्ती क्षेत्रमा पर्छ । बर्दीया राष्ट्रिय निकुञ्‍जलगायत विभिन्‍न निकुञ्‍जकाे मध्यवर्ती क्षेत्रका वासिन्दाहरु वन्यजन्तुबाट असुरक्षित बन्दै गइरहेका बेला उनीहरुले प्रधानमन्त्रीलाई समेत भेटेर बस्ती स्थानान्तरणकाे माग गरेका थिए ।

तर, बस्ती स्थानान्तरण भएन । यसपछि निर्वाचन प्रचारका लागि विभिन्न दलका उम्मेदवारहरु जाँदा उनीहरुले बेवास्ता गरे । बस्ती स्थानान्तरण नभई मत नदिने अडान लिए ।

तर, पनि यहाँ मतदान केन्द्र ताेकियाे । मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य मतदान कर्मचारीसँगै सुरक्षाकर्मी निर्वाचन अधिकृतकाे कार्यालयले खटायाे ।

मतदाताहरु भने मतदान गर्न आएनन् । याे समाचार तयार पार्दासम्म जिला आधारभूत मतदान केन्द्रमा मतदान शून्य भएकाे छ ।

भक्तपुरमा ३ बजेसम्म ९२ हजार मतदाताले गरे मतदान

भक्तपुर। भक्तपुर जिल्लाका दुई निर्वाचन क्षेत्रमा दिउँसो १३ः५० बजेसम्म कुल ९१ हजारभन्दा बढी मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ३ बजेसम्म ४५ हजार ३५८ मत खसेको छ । जसमा महिला मतदाता २२ हजार ५७ र पुरुष मतदाता २३ हजार ३०१ रहेका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा ४६ हजार ५६५ मत खसेको छ । यस क्षेत्रमा महिला मतदाता २२ हजार ७१९ र पुरुष मतदाता २३ हजार ८४६ रहेका छन् । मतदान शान्तिपूर्ण रुपमा जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

कर्णालीमा खस्यो ३० प्रतिशत मत

सुर्खेत। कर्णाली प्रदेशमा  प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ३० प्रतिशत मत खसेको छ । 

प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार दिउँसो १ बजेसम्म तीन लाख १८ हजार ३०२ मत खसेको छ ।

 कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी रहेको उनले बताए । कर्णालीमा १० लाख ३७ हजार २५० मतदाता छन् ।

दार्चुलामा ३५ प्रतिशत मतदाताले गरे मतदान

धनगढी। दार्चुलामा प्रतिनिधसभा सदस्य निर्वाचनमा दिउसो २ बजेसम्म प्रतिशत मत खसेको छ । 

१ बजे सम्ममा ३२ हजार भन्दा बढीले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । जसमा १५ हजार १८७ पुरुष तथा १३ हजार महिला छन् । 

 

‘निर्वाचनबाट अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्नु छ’ (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्यसँग जोड्दै शान्ति, सुव्यवस्था र लोकतन्त्रको पुनर्स्थापनाका लागि निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार यो निर्वाचनले देशमा शान्ति सुरक्षाको स्थिति सुदृढ गर्दै जनतालाई बिना डर त्रास हिँडडुल गर्न, पेसा-व्यवसाय सञ्चालन गर्न र दैनिक क्रियाकलाप सहज रूपमा अघि बढाउन सक्ने वातावरण सुनिश्चित गर्नुपर्छ। जनतामा विश्वास र आश्वस्तता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए।

ओलीले लोकतन्त्रको पुनर्स्थापनासमेत यस निर्वाचनको मुख्य उद्देश्य भएको उल्लेख गर्दै अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधि र प्रवृत्तिहरूलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा यसले महत्वपूर्ण योगदान गर्नुपर्ने धारणा राखे।

लोकतान्त्रिक पद्धतिबाट संविधानलाई सही ट्रयाकमा ल्याई देशलाई स्थिरता, स्थायित्व, सुशासन र विकासको मार्गमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले देशको अस्तित्व, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितहरूको सम्बर्द्धन नै अहिलेको सबैभन्दा मुख्य कार्यभार भएको उल्लेख गर्दै निर्वाचनमार्फत राष्ट्र जोगाउने अभियानलाई सफल बनाउनुपर्ने बताए।

निर्वाचन बिथोल्न खोज्ने नेकपा बहुमतका २ कार्यकर्ता चितवनबाट पक्राउ

काठमाडौं। चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेकपा बहुमतका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ। 

भरतपुर महानगरपालिका-१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

धादिङ गल्छी गाउँपालिका-१ घर भई हाल चितवन भरतपुर महानगर-७ बस्ने नेकपा बहुमतका सेक्रेटरी सुमन श्रेष्ट र भरतपुर-१० बस्ने विद्यार्थी संयोजक २१ वर्षीय किरण गौतमलाई पक्राउ गरेको हो।

मतदानमा झापा-५ का मतदाताको उत्साहपूर्ण सहभागिता, अहिलेसम्म खस्यो ७२ हजार भन्दा बढी मत

दमक ।  प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ । 

चुनावी प्रतिस्पर्धाका कारण देशभरको ध्यान खिचेको यो क्षेत्रलाई यसपटक ‘चुनावी इपिसेन्टर’का रूपमा समेत हेरिएको छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म यस क्षेत्रमा ७२ हजार ५ सय ५४ मत खसिसकेको छ । 

यहाँ कुल १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेका छन् । दिउँसो ३ बजेसम्मको विवरणअनुसार करिब आधाभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी भइसकेका छन् ।

मकवानपुरमा ३५ प्रतिशत मतदान सम्पन्न

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा दिउँसो २  बजेसम्म ३५ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता छन् ।

मुगुमा दिउँसो १ बजेसम्म ४३ प्रतिशत मतदान

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ। मुगुमा कूल ३६ हजार ३१ मतदाता छन्।

रामेछापमा १ बजेसम्म ४७ हजार मत खस्यो

काठमाडौँ । रामेछापमा दिउँसो १ बजेसम्म ४७ हजार ४४७ मत खसेको छ। बिहीबार प्रतिनिधि सभा निर्वाचनमा उक्त संख्यामा मत खसेको हो । 

जसमध्ये २६ हजार ८३३ महिला र २० हजार ५६४ पुरुषले मतदान गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। 

‌ओलीले भाेट दिएपछि महेश बस्नेतले आफूलाई ठाने भाग्यमानी (भिडियाे)

काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर-२ का उम्मेदवार महेश बस्नेतले आफ्ना अध्यक्ष केपी शर्मा ओलीप्रति गाैरव प्रकट गर्दै आफूलाई भाग्यमानी ठानेका छन् ।

ओलीले बस्नेतलाई बालकाेटस्थित महेन्द्र शान्ति विद्यालय पुगेर मतदान गरेका थिए । मतदानपछि बस्नेतले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आएर आफूलाई मतदान गर्नु गर्वको विषय भएको बताए ।

‘मेरो लागि त गौरवको कुरा हो। मेरो पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्रीका रूपमा पार्टीले निर्णय गरेको व्यक्तित्वले मेरो निर्वाचन क्षेत्रमा आएर मलाई मतदान गर्ने जुन सौभाग्य मैले प्राप्त गरेको छु, यो मेरो लागि एउटा गौरवको विषय हो,’ उनले भने।

बस्नेतले ओलीलाई नेपाली राजनीतिका ‘आइकन’का रूपमा चित्रण गर्दै उनको लोकप्रियता र आकर्षण अझै कायम रहेको दाबी गरे। ‘केपी शर्मा ओलीजी नेपालको राजनीतिका एउटा आइकन हो। निकै आकर्षणको केन्द्र हो उहाँ। उहाँलाई हेर्न आम मतदाता निकै धेरै आकर्षित छन् र मिडियाहरूको पनि निकै ठूलो चासो छ,’ उनले बताए।

उनले कसैले नचाहँदैमा ओलीको सानमान र क्रेज नघट्ने दाबीसमेत गरे।

‘केपी ओली कसैले नचाहँदैमा उहाँको सानमान र क्रेज घट्छ भन्ने मलाई लाग्दैन। उहाँ नेपाली राजनीतिका समकालीन नेतामध्ये सबैभन्दा उत्कृष्ट, चर्चित र राजनेताको छवि भएका नेता हुनुहुन्छ,’ बस्नेतले ओलीकाे बखान गरे ।

 

१ बजेसम्म खस्यो ४४ लाख मत

काठमाडौं । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।

१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो ।

अहिलेसम्म ३५ लाख मत खस्यो

काठमाडौं । दिउसो १२ बजेसम्म देशभर ३५ लाख भन्दा बढी मतदाताले मतदान गरेका छन्। 

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको निवार्चन आयोगले जनाएको छ ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

…जहाँ हातपातपछि मतपत्र नै गायब भयाे, धुइँधुइँती खाेज्दा पनि परेन फेला

काठमाडौं । हरेक निर्वाचनमा लफडा भइरहने जिल्ला हाे- दाेलखा । बुथ कब्जा त कहिले मतपत्र कब्जा हुन्छ । कुटपिट त सामान्य नै भएकाे छ ।

यी सबै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनकाे मान्यताविपरीतका कार्य हुन् । आपराधिक गतिविधि हुन् । यसपटक पनि दाेहाेरिएकाे छ ।

दोलखाको तामाकोशी गाउँपालिका-४ मा त्यस्ताे भएकाे हाे । त्यहाँ आज बिहानै मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरबिच झडप भयाे ।

उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास गरे । यसपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर, त्यहीबेला केही मतपत्र गायब भयाे ।

याे समाचार तयार पार्दासम्म मतपत्र फेला परेकाे छैन । मतपत्र खाेजीकाे क्रम भने जारी छ ।

दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार १० वटा मतपत्र फेला परेकाे छैन । हराएकाे मतपत्र सङ्ख्या भने ५५ वटा हाे । ४४ वटा मात्रै फेला परेकाे आलेले बताए ।

काठमाडौंमा मतदान गरेर सर्लाही पुगे गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौंमा मतदान गरेर सर्लाही पुगेका छन् । सभापति थापा सर्लाही-४ बाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

जहाँ थापा र रास्वपा उम्मेदवार अमरेशकुमार सिंहबीचमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

भरसक बहुमत ल्याउँछ एमालेले, नभए प्रमुख पार्टी हुन्छ : ओली (भिडियाे)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले भरसक बहुमत ल्याउने बताएका छन् । नभए पनि एमाले पहिलो बन्ने दाबी गरे ।

भक्तपुर–२ मा आफ्ना पार्टीका उम्मेदवार महेश बस्नेतलाई मतदानपछि पत्रकारहरूसँग उनले भने, ‘भरसक बहुमत ल्याउँछ एमालेले । कथंकदाचित ल्याएन भने प्रमुख पार्टीको रूपमा आउँछ ।’

ओली झापा–५ का उम्मेदवारसमेत हुन् । उनी आजै झापा जाने तयारी छ ।

स्याङ्जाकाे एक मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं। मतदान अधिकृतले प्रत्यक्षतर्फकाे मतपत्रमा हस्ताक्षर नगरेकाे फेला परेपछि स्याङ्जाको एक मतदानस्थलमा मतदान स्थगित भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को वालिङ नगरपालिका-१० मा रहेको मतदानस्थल बालज्योति आधारभूत विद्यालय मदीखोलामा मतदान स्थगित भएको हो।

बिहीबार बिहान साढे ११ बजेदेखि नै मतदान स्थगित भएको हाे ।

 

करिब ३२ लाखले मतदान गरे, देशभर उत्साहजनक मतदान जारी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान भइरहेकाे छ । बिहान ७ बजेदेखि भइरहेकाे मतदान बेलुकी ५ बजेसम्म जारी हुनेछ ।

अपरान्ह १२ बजेसम्म देशभर १८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ ।

आयोगले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको जनाएको छ ।

निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

देशभर अहिलेसम्म खस्यो करिब ३२ लाख मत

काठमाडौं । दिउसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७ सय ३६ मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निवार्चन आयोगले जनाएको छ ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।

सिरहामा चार घण्टामा ३० प्रतिशत मतदान

सिरहा ।  सिरहामा मतदान सुरु भएको चार घण्टाभित्रै करिब ३० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय सिरहाका प्रमुख राजन श्रीवास्तवका अनुसार बिहान ११ बजेसम्म जिल्लाभर ३० प्रतिशतसम्म मतदान भएको छ ।

जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको  छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको छ ।

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै मतदान गरेका छन्।

भक्तपुर क्षेत्र नम्बर २ मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका हुन्।

ओली प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट उम्मेदवार छन्।

ओली झापा नजाने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा नजाने भएका छन्।

आफूले उम्मेदवारी दिएको झापा ५ मा जाने कार्यक्रम ओलीले स्थगित गरेका हुन्।

भक्तपुर क्षेत्र नम्बर २मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका छन्।

काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो।

झापा-५ मा खस्यो ४५ प्रतिशत मत

दमक । झापा क्षेत्र नम्बर-५ मा ४५ प्रतिशत मत खसेको छ ।

झापा-५ का मतदान अधिकृतका अनुसार मध्याह्न १२ बजेसम्म ४५ प्रतिशत मत खसेको हो ।

यो क्षेत्रमा १ लाख ६३ हजर ३ सय ७९ मतदाता रहेका छन् । जसमा पुरुष मतदाता ८१ हजार ८१, महिला मतदाता  ८२ हजार २९६ र अन्य २ जना मतदाता छन् ।

११ बजेसम्म देशभरि खस्यो १०.१८ प्रतिशत मत

काठमाडौं । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

सुर्खेत कारागारमा ८८ मत खस्यो

सुर्खेत । सुर्खेत कारागारमा मतदान सकिएको छ ।  प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार सुर्खेत कारागारमा ८८ मत खसेको छ ।

बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । सुर्खेत कारागारमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। 

१०३ जना मतदाता रहेको भनिए पनि केही कैदी स्थान्तरण भएकाले ८८ मत मात्रै खसेको गुरुङले बताए ।

पाका मतदाताले भने- ओलीलाई मत लाउनुपर्छ, अरुकाे काम छैन (भिडियाे)

काठमाडौं । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान खिचेको निर्वाचन क्षेत्र झापा– ५ हो ।

विगतमा ६ पटक निर्वाचन जितेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसमेत उम्मेदवार रहेको यहाँ पनि बिहानैदेखि शान्तिपूूर्ण मतदान भइरहेको छ ।

जेन–जीदेखि पाका उमेरका मतदाताहरू मताधिकार प्रकट गर्न मतदान केन्द्रहरूमा गइरहेका छन् ।

मतदान गोप्य हुन्छ तर मतदानपछि एक जना मतदाताले निर्धक्कपूर्वक नेपालवाट एचडीसँग भने, ‘केपीलाई मतदान गर्नुपर्छ तर त्यसै माहोल बनिहाल्छ नि ।’

हामीले उनलाई निर्वाचनको माहोल सोधेका थियौँ तर उनले भने मतदान कसलाई गरेको भनेर खुलाए ।

उनले ओलीबाहेकको ‘काम नभएको’ भन्दै अविश्वास प्रकट गरे ।

रास्वपा उम्मेदवार अमरेशकाे गृहपालिका बलरामा विवाद, राेकियाे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिकामा विवाद भएको छ । विवादपछि मतदान राेकिएकाे छ ।

दलका प्रतिनिधिहरूबीच नै विवाद भएछि सर्लाहीको बलरा नगरपालिका- ४ स्थित श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा रोकिएको हो ।

मतदान रोकिएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेर विवाद मिलाउने प्रयास गरेका छन् ।

 

अनुमति नलिएर चढेपछि फर्किएको थियो बालेन चढेको हेलिकप्टर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ । 

शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो । 

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको हो ।

हवाई फायरपछि दाेलखाकाे गाेल्मेश्वरमा राेकिएकाे मतदान सुचारु गर्ने सर्वदलीय सहमति

काठमाडौं । बिहान हवाई फायर भएपछि दोलखाको तामाकोसी गाउँपालिका-४ मा पर्ने गोल्मेश्वर मावि मतदानस्थलमा रोकिएको मतदान सुचारु गर्ने सहमति भएको छ ।

याे सहमति सर्वदलीय बैठकपछि गरिएकाे हाे । मतदान स्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि तनाव भएकाे थियाे ।

त्यस क्रममा प्रहरीले १ राउन्ड हवाई फायर गरेको थियो ।

नारायणकाजी श्रेष्ठले मतदान नगर्ने, के हाे कारण ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सर्लाही-३ का उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान नगर्ने भएका छन् ।

उनकाे मतदाता नामावली गृहजिल्ला गाेरखामा छ । उम्मेदवार रहेकाे जिल्ला सर्लाहीमै रहेका कारण उनले गाेरखाकाे सिरानचाेक-८ काे जाैबारी मतदान केन्द्र गएर मतदान नगर्ने भएका हुन् ।