`

कांग्रेसमा अब इतर–भितर छैन, नेतृत्व फेरेर जान्छौं : केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले आफू डा. शेखर कोइरालाको सपना साकार पार्न विशेष महाधिवेशनमा सहभागी भएको बताएका छन् । ‘डा.शेखरलाई सम्मान गर्न चाहन्छु, उहाँको आवाजलाई साकार गर्न पनि म यहाँ आएको छु,’ उनले भने, ‘किनकी उहाँले भन्नुभयो अहिलेको नेतृत्वले लिएको टिकट लिन्न ।’ चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्ने पक्षमा शेखर कोइरालाले संकल्प लिएको पनि कार्कीले सम्झिए ।

‘म नियमित महाधिवशेनको पक्षमा छु, नभए विशेष महाधिवेशनको पक्षमा छु भन्नु भएको थियो,’ उनले भने, ‘उहाँको भौतिक उपस्थिति जरुरी छैन, त्यो विचार सारा महाधिवेशन प्रतिनिधिहरुले पुरा गर्दै हुनुहुन्छ ।’ नेता कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी नेतृत्व फेरेर जान्छौँ ।’

भए नियमित नभए निर्वाचन अगाडि नै विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा आफू भएको उल्लेख गर्दै उनले कांग्रेस मालिकको आदेशले नभएर आम कार्यकर्ताहरूले बनाएको संरचना भएको बताए । उनले नेपाली कांग्रेसमा गुटगत राजनीति विशेष महाधिवेशनले खारेज गरिदिएको उल्लेख गर्दै भने, ‘अब इतर र भितर छैन । भन्ने सन्देश दिनलाई पनि विशेष महाधिवेशनमा आएका छौँ ।’

 

 

 

 

 

 

 

 

 

कांग्रेसलाई समाप्त हुन नदिन नेतृत्व परिवर्तन गर्न चाहेको हौं : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले विशेष महाधिवेशन पक्षधरलाई पार्टी फुटाउन खोजेको आरोप लगाएको बताएका छन् । उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुलाई अपमान गर्दै पार्टी संस्थापन पक्षले उनीहरुमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएको जिकिर गरेका हुन् ।

आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसको भविष्यका लागि पार्टी नेतृत्व परिवर्तन गर्न आफूहरु लागि परेको बताए । उनले कांग्रेसको भविष्य समाप्त हुन नदिन पनि आफूहरुले विशेष महाधिवेशन बोलाएको समेत बताए ।

नेता पौडेलले भने, ‘नेतृत्व रक्षाका लागि कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने ? यो हाम्रो हातमा छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरु उहाँहरुले कांग्रेसका निम्ति जीवन समर्पित गर्नु भयो । कसैले राज्यको पद प्राप्त गर्नु भएन होला । तर उहाँहरुले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नु भएको छ । उहाँहरुलाई कांग्रेस फुटाउनु छैन । उहाँहरुलाई कांग्रेस बलियो बनाउनुछ । उहाँहरुलाई कांग्रेसलाई एकतावद्ध गर्नुछ । त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दा उहाँहरुलाई अपमान गरेर कांग्रेस फुटाउन लागेको भनेर भन्न पाँदैन ।’ नेता पौडेलले विशेष महाधिवेशन पक्षधरहरुले पार्टीको विभाजन नचाहेको पनि बताए । पौडेलले विधानले निर्दिष्ट गरेको विशेष महाधिवेशन भएकाले कार्यसम्पादन समितिले निर्देशित गर्न नसक्ने बताए ।

उनले भने, ‘विशेष महाधिवेशन दर्ता गरेको तीन महिनामा नियमित महाधिवेशन गरिएको भए विशेष महाधिवेशन स्वतः निष्क्रिय हुने थियो ।’ कांग्रेस नेताहरुले महाधिवेशन माग गर्नेहरूको भावना नबुझेका कारण आज विशेष महाधिवेशन आयोजना भएको नेता पौडेलले बताए । बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुने बताउँदै पौडेलले विश्वास प्राप्त गर्न नसक्ने नेताले नैतिकताको ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘कांग्रेस फुटाउन लाग्यो भन्न पाइँदैन, बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुन्छ । गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ । लोकतान्त्रिक पद्धतिका लागि संघर्ष गरेको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु ।’

 

 

 

 

 

 

 

भृकुटीमण्डपबाट देउबालाई फूलको प्रहार, के देलान् देउबाले उपहार?

कांग्रेसका दुई महामन्त्रीको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन समारोह चलिरहँदा सभापति शेरबहादुर देउवा मौन थिए । साँझ पाँच बजे आसपासमा विशेष महाधिवेशनमा सहभागिताका लागि ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे भने यति नै बेला देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाए ।

भृकुटीमण्डपमा गगन-विश्वलाई समर्थन गर्दै भाषण गरेका अधिकांश नेताहरूले देउवालाई उद्घाट समारोहमा प्रमुख अतिथि बन्ने अवसर गुमाए पनि भोलि बन्द सत्र उद्घाटन गर्न आउन आग्रह गरेका थिए । विशेष महाधिवेशन आयोजकले सभापति देउवालाई प्रमुख अतिथि नै बनिदिन आग्रह गरेका थिए । निमन्त्रणा पत्र बोकेर गएका थिए रामपल्टन साह । साहले देउवा भेट्न त पाएनन्, देउवाका स्वकीय सचिव भानु देउवाले झपारेर फर्काएका थिए । साहका अनुसार भानु देउवाले चिठी पढेर उनकै खल्तीमा मात्रै राखिदिएनन्, ‘लाज लाग्दैन?’ भन्दै झपारे । अनि, तुरून्तै निस्केर जाऊ भनेर आदेश दिए ।

देउवा डेरामा अपमान भोगेका विशेष महाधिवेशन आयोजकले भने देउवालाई फूलले प्रहार गरे। उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले देउवालाई सभापतिका रुपमा पार्टी फूट्न नदिन अनुरोध गरे । उनीहरुले देउवालाई किसुनजी सम्झाए । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले अलग भेला गरेका थिए । यो भेलाले पार्टीलाई फुटतिर लगेको थियो । तर, पार्टी सभापति कृष्णप्रसाद भट्टराई कार्यक्रमस्थलमा पुगे र सबैलाई ‘जय नेपाल’ भनिदिए । किसुनजीले नै गिरिजाबाबु र उनका समर्थकलाई जय नेपाल गरेपछि पार्टी फुट्नबाट जोगिएको थियो । यो फूलको प्रहारले देउवा कति पग्लिन्छन्, त्यो अलग कुरा हो ।

तर, विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले सहभागिता जनाउने सुनिश्चित भएपछि देउवा दबावमा छन् । विधानअनुसार आव्हान गरिएको र बहुमत सदस्यले सहमागिता जनाएको विशेष महाधिवेशनलाई अवैध करार गर्ने बाटोमा देउवा हिड्ने हो भने पार्टी विभाजन हुने निश्चित छ । विशेषले नयाँ नेतृत्व चयन गर्ने हो र त्यसलाई देउवाले नस्वीकार्ने हो भने चुनावको मुखमा काँग्रेस फुट्ने निश्चित नै हुने छ ।

विशेष महाधिवेशनवालाहरू लचक भए र नयाँ नेतृत्व चयन गरेनन् भने भने पनि पार्टी कसरी चलाउने, के गर्ने के नगर्ने भन्ने नीतिगत निर्देशन महाधिवेशनले पक्कै दिने छ । यसपछि पनि मनलाग्दी नेतृत्वले पार्टी सञ्चालन गर्ने ठाउँ रहनेछैन । विशेषको निर्देशनले देउवा र कार्यवाहक सभापति खड्कालाई मज्जैले अंकुश लगाउने छ ।

विशेषको निर्देशनले चुनाव अघि अर्को पार्टीसँग गठबन्धन गर्ने कि नगर्नेदेखि लिएर उम्मेद्वार कसरी छान्ने भन्नेसम्ममा देउवा-खड्कालाई बाउन्ड्री कोर्न सक्छन् । यसले देउवामाथि दवाब बढ्ने नै छ । अझ, देउवा पक्षका मानिएका गोपालमान श्रेष्ठजस्ता नेताहरू भृकुटीमण्डपमा गएर गगन-विश्वलाई ढाडस दिएपछि देउवामाथि पर्ने दवाब थप चर्को भयो ।

यतिबेला भृकुटीमण्डपमा जिज्ञासा छ- के भोलि देउवाले भृकुटीमण्डपको हलमा आएर ‘जय नेपाल’ गर्लान् ?

किसुनजीको उदाहरण पछ्याउँदै देउबाले ‘जय नेपाल’ गरेनन् भने कांग्रेस फेरि फुट्ला ? २०५९मा पार्टी फुटाएको मात्रै होइन, ज्ञानेन्द्र शाहको पछि लागेर प्रजातन्त्रै मासेको आरोप बोकेका देउवाले पार्टी फूटाएको अर्को आरोप पनि बोक्नु पर्ला ?

देउवालाई फूलले प्रहार गरिरहेका भृकुटीमण्डप सभाका सहभागी पनि यति बेला सोचिहरेका छन्- महाराजगञ्जबाट के देलान् देउबाले उपहार ?

तर, त्यो भन्दा ठूलो प्रश्न छ- काँग्रेस कता जाँदै छ ?

कांग्रेस गुटमुक्त र कृपाबाट अलग हुनुपर्छ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पार्टीलाई गुटमुक्त बनाउँदै कृपाबाट अलग राख्नुपर्ने बताएकी छन् । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेतृ भुसालले यस्तो बताएकी हुन् । उनले आफूहरु गुट नचिन्ने र कृपा नमान्ने जिकिर गरिन् । उनले पार्टीलाई थप कमजोर हुन नदिनको लागि विशेष महाधिवेशन आह्वान गरिएको बताइन् । उनले भनिन्, ‘हामी चाहन्छौँ अब नेपाली कांग्रेस गुटबाट मुक्त हुनुपर्छ ।

नेपाली कांग्रेसको यो कुरु क्षेत्र अब हिंसाबाट मुक्त हुनुपर्छ । नेपाली कांग्रेस अब कृपाबाट अलग हुनुपर्छ । हामी गुट चिन्दैनौँ, हामी कृपा मान्दैनौँ । हामी कांग्रेसलाई कमजोर हुन दिन चाहन्नौँ ।’ उनले युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना हुने तथा महिलालाई सबै प्रकारको हिंसाबाट मुक्त गर्ने सन्देश महाधिवेशनले दिनुपर्नेमा जोड दिइन् ।

नेतृ पुष्पा भुसालले ५४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई सम्मान गर्नको लागि आजको कार्यक्रममा सहभागी भएको बताएकी छन् । विशेष महाधिवेशनको पक्षका खुलेका संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्यहरुको तर्फबाट बोल्दै पार्टीको नेताहरूको घरमा जाँदा पनि कुनै निकास ननिस्केको सुनाइन् । उनले भनिन, ‘हामी निराश भएर फर्किएर आउनु परेको भएकाले ५४ प्रतिशत भन्दा बढी प्रतिनिधिलाई सम्मान गर्न आएका छौँ ।’ उनले विधानभन्दा बाहिर कोही नेता र कार्यकर्ता जान सक्दैन भन्ने सन्देश दिएको बताइन् ।

 

 

 

 

 

 

 

 

कांग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रह : नेतृत्वमा पुग्ने यात्राबाट पछि नहट्नुस्

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसद एवं उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् । आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता चौधरीले विशेष महाधिवेशन पक्षधरहरुले युवा नेतृत्व चाहेको र त्यो अभियानलाई महामन्त्रीद्वय थापा र शर्माले अधुरो छोडन नमिल्ने समेत बताए ।

उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरुको सपना पूरा हुनेगरी विकासको खुड्किलोमा अघि बढाउनु पर्ने बताए । नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाई कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताए ।उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरुलाई उम्मेदवार बनाउनु पर्ने प्रस्ताव समेत गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले कमसेकम ५० प्रतिशत नयाँ अनुहारहरुलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली कांग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रुपमा उभ्याएको देख्न चाहन्छ । कुनै पनि मान्छेले राजनीतिलाई पेशा होइन, समाजलाई रुपान्तरण गर्ने समाजको एउटा प्लेटफर्मको रुपमा खुला हृदयले आमन्त्रणका साथ भित्र्याएको हेर्न चाहन्छ । त्यस्तो नेपाली कांग्रेस जसले २०४८ सालमा यो देशको आर्थिक रुपान्तरण नै गर्‍यो । नेपाली कांग्रेसले राजनीतिक रुपान्तरण मात्रै होइन आर्थिक रुपान्तरण नै २०४८ सालमा गरेको र त्यसैआधारमा त्यही आधारमा आजसम्म पनि देश कुनै न कुनै त्यही रुपमा चलिराखेको छ ।’

उनले भने, ‘फेरि नेपाली कांगे्रसले ती पुराना जेलनेल भोगेको पोलिटिकलका साथसाथ अर्थतन्त्रलाई एउटा बलियो दिशा दिनसक्ने, एउटा सक्रियताका साथ ती प्रकृतिले दिएको अवसरहरुलाई सार्थक बनाउन सक्ने त्यस्तो किसिमको एउटा अर्थतन्त्र निर्माण गर्न सक्ने । यी दुवै पक्षलाई लिएर जान सक्ने एउटा बलियो साझेदारीलाई लिएर जान सक्ने युवाहरुको सपनालाई सार्थक बनाउन सक्ने प्रतिवद्धता भएको पार्टी देख्न चाहेको छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढनुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुहोस् । अब यो नेपालले कुर्नै नसक्ने अवस्थामा पुगेको नेपाललाई विकासको त्यो खुडकिलोमा पुर्‍याउनुहोस् ।’ नेता चौधरीले नेपाली कांग्रेसले जेन–जीको भावनाअनुसार चल्नुपर्ने समेत बताए।

 

 

 

 

 

 

जसपा नेपाल र लोसपाबीच १२ बुँदे सम्झौता : महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । उपेन्द्र यादव र महन्थ ठाकुरले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्दै नेताहरूको कार्यविभाजन समेत गरेका छन् । जसअनुसार ठाकुर संरक्षक रहने र यादव अध्यक्ष रहने सहमति भएको छ ।

सम्झौताअनुसार एकीकरणपछि दलको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहनेछ भने पार्टीको चुनाव चिन्ह छाता रहनेछ । ‎एकीकृत पार्टीलाई सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ । दुवै पार्टीका केन्द्रीय समिति पूर्णरूपमा समायोजन नहुन्जेलसम्म केन्द्रीय समन्वय समिति नै पार्टीको संगठन सञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक निकाय रहनेछ ।

‎सम्झौतामा दुवै पार्टी मातहत रहेका सबै तह र निकायका संगठन, भ्रातृ तथा शुभेच्छुक संगठन, विभाग तथा संयन्त्रहरू जनता समाजवादी पार्टी, नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार क्रियाशील रहने उल्लेख गरिएको छ । समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म संगठनहरू आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने छन् । ‎‎केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक तथा अध्यक्षबाट प्रमाणीकरण गरिने व्यवस्था छ । ‎सम्झौतासँगै मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि महिला, अल्पसंख्यक र दलित समूहमा यसअघि दिइएको उम्मेदवारी निस्क्रिय गर्ने सहमति पनि गरिएको छ ।

 

 

 

 

 

 

 

बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउँछौं : खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउने बताएका छन् । जेन–जी रेडफोर्सले आइतवार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले पार्टीको अबको लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको बताए ।

बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरेर वैज्ञानिक समाजवादको दिशातर्फ देशलाई लैजाने उनले बताए । उनले सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिष्ट पार्टीले गर्ने पनि दाबी गरे । नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वारलाई जिताउनको लागि देशभर तयारी थाल्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकतावद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तिमा जाँदैछौँ । तर अहिले चाहीँ हामी निर्वाचनको अभियानतर्फ अगाडि बढ्दैछौँ । यो निर्वाचनमा तपाई हामीले देशव्यापी रुपमा हाम्रा उम्मेद्वारहरुलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदको रुपमा रुपान्तरण गर्नको लागि देशव्यापी रुपमा हाम्रो उम्मेद्वारहरुलाई विजयी गराउने र हामीले बहुमत प्राप्त गरेर यो देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु आजको हाम्रो कार्यनीतिक लक्ष्य हो । त्यो बनायौँ भने मात्रै हामी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नेछौँ ।’ उनले युवाहरुलाई पार्टी नेतृत्वको लागि तयार गर्ने कुरामा आफूहरु लागेको पनि जानकारी दिए । पार्टीमा ४० प्रतिशत युवाको सहभागिता रहने उनको भनाई छ ।

निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने बताएका छन् । जेन–जी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेद्वार बनाउने बताएका हुन् । उनले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेद्वार बनाउने जानकारी दिए । पार्टीको केन्द्रिय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।

उनले भने, ‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिष्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेन–जी पुस्ताका युवाको रुपमा चिनिन्छन् । उनीहरुलाई उच्च प्राथमिकता दिने हामीले कोशिस गरेका छौँ । हामीले जेन–जी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ लाखौं युवाहरुलाई सम्बोधन गर्न खोजेका छौँ । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढि भन्दा बढी युवाहरुलाई र केन्द्रिय समितिमा पनि बढि भन्दा बढी युवाहरुलाई हामी समेट्दै छौँ ।’ संयोजक दाहालेले जेन–जी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए । उनले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिए । उनले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिए ।

आन्दोलन गर्न सक्यौ, शासन सत्ता चलाउन सकेनौं : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारीले पार्टीमा व्यापक परिवर्तन आवश्यक रहेको र मात्र पद बाँडेर मुलुक अगाडि बढ्न नसक्ने स्पष्ट पारेका छन् । कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगत ३४ वर्षको अनुभवलाई उद्धृत गर्दै भने, ‘ठूला पार्टीहरू मिलेर सरकार बनायौं, तर हाम्रा नेताहरूलाई जोगाउन हेलिकप्टर चढाएर लगेर राख्नु पर्‍यो ।’

भण्डारीले आफ्नो सम्बोधनमा देश अहिले संकटमा रहेको बताए । उनले भने, ‘अहिले हाम्रो मुख्य लक्ष्य प्रजातन्त्र जोगाउनु हो । देश अफ्यारो अवस्थामा छ र आगामी निर्वाचनमा हामीले एक ढिक्का भएर जानुपर्छ ।’ उनले पार्टीहरूले अब पद बाँड्नेभन्दा पार्टी निर्माण र नेतृत्व सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । नेता भण्डारीले यसअघि भएका विभिन्न आन्दोलनले केही उपलब्धि त ल्याएको तर शासन सञ्चालन गर्न नसक्दा देश संकटमा परेको बताए ।

उनले स्पष्ट पारे, ‘चलाख र सक्षम नेतृत्व नभए, जति पद दिए पनि मुलुक चल्दैन । हामीले समाजमा आशा जगाउन सकेनौं । आन्दोलन गर्न सक्यौं, शासन चलाउन सक्यौं भने वर्तमान संकट आउँदैनथ्यो ।’ भण्डारीले विशेष महाधिवेशनले कांग्रेस र देशको लागि योग्य नेतृत्व र स्पष्ट नीति तय गर्नुपर्ने बताए । ‘अब समाजमा आशा जगाउने बेला आएको छ । त्यसका लागि महाधिवेशनले सही निर्णय गर्नु आवश्यक छ’, उनले भने । उनको भनाइ अनुसार, आगामी दिनमा पार्टीले मात्र नभई राष्ट्रले पनि स्थिरता र विकासतर्फ अघि बढ्न सक्षम नेतृत्वको आवश्यकता छ ।

 

 

 

 

किसुनीजीलाई सम्झेर देउवाले भोली बन्दसत्र उद्घाटन गर्न आउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई पूर्व सभापति कृष्णप्रसाद भट्टराई (किसुनजी)लाई स्मरण गर्दै पार्टी बचाउन आग्रह गरेका छन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले कांग्रेसको इतिहास स्मरण गराउँदै नेतृत्वबीचको एकता र सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए। 

‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा किसुनजी सभापति हुनुहुन्थ्यो, यस्तै भेलामा किसुनजी आएर ‘जय नेपाल, हामीबीच कुनै विमति छैन’ भन्नुभएको थियो’, सम्बोधनका क्रममा भण्डारीले भने, ‘किसुनजीका अनुयायी शेरबहादुर दाइ आएर कांग्रेस बचाउनुपर्छ।’

उनले मुलुक गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै भौतिक तडक–भडकले देश नबन्ने स्पष्ट पारे। ‘राम्रा गाडी चढेर र चिल्ला कुरा गरेर देश बन्दैन,’ भण्डारीले भने, ‘गाडी दिएर मुलुक अगाडि बढ्न सक्दैन, व्यक्ति विचारले चल्छ, पदले मुलुक बन्दैन।’

भण्डारीले कांग्रेसका ऐतिहासिक नेताहरू बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाप्रति पार्टीले अपेक्षित सम्मान दिन नसकेको पनि बताए। 

कांग्रेसको विशेष महाधिवेशनमा ५० प्रतिशत प्रतिनिधिले दर्ता गरे नाम

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा हुन लागेको दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सुरु भइरहेको छ । बिहान ९ बजेदेखि सुरु भएको नाम दर्तामा हालसम्म २३४० सय भन्दा बढी प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको जनाएको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

३५ वर्षसम्म हामीले बाटो बिराएका रहेछौँ : विनोद चौधरी

अरबपति तथा काङ्ग्रेस नेता विनोद चौधरीले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन गत ३५ वर्षसम्म नेपालीले भोग्नु परेको पिडा र व्यथा भएको बताएका छन्। 

‘ ३५ वर्षसम्म हामीले बाटो बिराएका रहेछौ’, उनले भने ‘ अब नेपाली कांग्रेसले बाटो बिराउनु हुदैन, रुपान्तरित भएर जानुपर्छ।’

साथै, चौधरीले कांग्रेसले देशमा राजनैतिक मात्र नभएर आर्थिक क्रान्ति पनि गरेको दाबी गरे। युवाहरुको अवसरका रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा उनको जोड थियो। 

काङ्ग्रेस विशेष महाधिवेशन : चार बजेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिद्वारा नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आइतबार अपराह्न ४ बजेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा नाम दर्ता गर्ने क्रम धमाधम चलिरहेको छ । अझै दर्ता गर्ने क्रम जारी रहेको भन्दै विशेष महाधिवेशन पक्षधरले लाइनमा अझै ४०० जना भन्दा बढी रहेको दाबी गरेको छ । 

रास्वपा सहमहामन्त्री आचार्य समानुपातिक सूचीबाट बाहिरिए, अब प्रत्यक्ष चुनाव लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पुस १३ गते रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा उनको नाम खस÷आर्य समूहतर्फ पहिलो नम्बरमा थिए । तर, आफै समानुपातिक उम्मेदवार खोज्ने समितिमा रहेर आफै पहिलो नम्बरमा बसेको भन्दै उनको चर्को आलोचना भएको थियो ।

निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन दिएको आज अन्तिम दिनमा उनले नाम फिर्ता लिएका हुन् । आचार्यले पार्टी सभापति रवि लामिछानेसँग परामर्श गरेर नाम फिर्ता लिएका हुन् । उनले अब प्रत्यक्ष चुनाव लड्ने बताएका छन् । ‘समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा रहेको मेरो नाम छोडेर प्रत्यक्षतर्फको यात्रा अघि बढाउँदैछु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ‘साथ र सहयोगको अपेक्षा गर्दछु ।’ उनी दाङका हुन् । दाङमा ३ वटा निर्वाचन क्षेत्र छन् । अब तीमध्ये कुनै एक क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने छन् ।

‘घुमन्ते उम्मेदवार’ प्रचण्ड, यसपटक रुकुम पूर्वबाट निर्वाचन लड्ने टुंगो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचन लड्ने निश्‍चित गरेका छन् । उनी शनिबार रुकुम पूर्व पुगेका थिए ।

त्यहाँ पुगेर उनले आगामी २१ फागुनमा हुने निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्‍ने बताएका हुन् ।

हालै रुकुम पूर्वबाट काठमाडौं आएको पार्टीको एक प्रतिनिधिमण्डलले संयोजक दाहाललाई यसपटक चुनाव लड्न आग्रह गरेका थिए । त्यसअघि उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको थियो ।

रुकुमपूर्व पनि रुकुम पश्चिम र रोल्पाजस्तै १० वर्षे माओवादी युद्धको ‘इपिसेन्टर’ हो । उक्त युद्ध प्रचण्डकै नेतृत्वमा भएको थियो ।

प्रचण्डले अब पाचौँपटक निर्वाचन लड्ने क्षेत्र रुकुम पूर्वलाई नै रोजेका हुन् । यससँगै प्रचण्ड युद्धको केन्द्रमा निर्वाचन लड्न १८ वर्षपछि फर्किए ।

तत्कालीन नेकपा माओवादी हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलोपटक २०६४ सालमा संविधानसभा निर्वाचन हुँदा प्रचण्ड रोल्पा– २ मा उम्मेदवार भए । त्यसबेला उनी निर्वाचित भए ।

उनी विघटित प्रतिनिधिसभामा भने गोरखा–२ बाट निर्वाचित थिए । यसपटक त्यहाँबाट नेता लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ । उनले निर्वाचन लड्ने भएका छन् । उनी चुनावी अभियानमा सक्रिय भइसकेका छन् ।

प्रचण्डले २०७४ सालको प्रतिनिधिसभा निर्वाचन चितवन– ३ बाट जितेका थिए । २०७० को संविधानसभा निर्वाचन काठमाडौं–१० र सिरहा–३ बाट लडे । काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसीसँग पराजित हुँदा सिरहा–३ मा जितेका थिए ।

२०६४ मा भने उनी रोल्पा–२ सँगै काठमाडौं–१० बाट निर्वाचन लडेका थिए । दुवै ठाउँबाट उनी निर्वाचित भएका थिए । यसले प्रचण्ड घुमन्ते नेता भएको देखाउँछ ।

दाहाल निर्वाचन क्षेत्र मात्रै होइन, पार्टी नाम पनि उत्तिकै फेर्ने नेता हुन् । उनले युद्ध नेकपा माओवादी पार्टीको नाममा नेतृत्व गरे ।

२०६४ सालपछि संविधानसभामा पहिलो दल भइसकेपछि नारायणकाजी श्रेष्ठको नेकपा संयुक्तसँग एकता गरेपछि एकीकृत नेकपा माओवादी बनाए ।

२०७४ अघि माओवादीबाट पहिले विभाजित भएका दल वा समूहलाई एकता प्रक्रियामा ल्याएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे । गत मंसिरको तेस्रो सातादेखि भने विभिन्‍न दलहरूलाई एकता प्रक्रियामा ल्याएर नेपाली कम्युनिस्ट पार्टी बनाए ।

यसले पार्टी नाम पनि दाहाल उत्तिकै फर्ने नेता हुन् । कतिसम्म भने उनले नाम पनि पटकपटक फेरे । विद्यालय जीवनमा उनी छविलाल दाहाल थिए ।

जतिबेला भूमिगत भए, त्यसबेला उनको नाम कहिले कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड भयो ।

 

विशेष महाधिवेशनले गरेका निर्णय देउवाले मान्नु पर्छ : देवराज चालिसे

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसे आफूहरूले पार्टी रूपान्तरणको प्रयास गरेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी रूपान्तरणको लागि पार्टीभित्र झगडा गरेको बताए । उनले भने, ‘सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टाचारको सुरुआत भयो । त्यति मात्रै होइन चुनावअघि गठबन्धनको प्रयास हुँदै छ । त्यसले हाम्रो सिद्धान्तलाई कहाँ पुर्‍याउँछ ? आदर्शलाई कहाँ पुर्‍याउँछ ?’

उनले पार्टीको आयु सत्ता र सीटसँग नभई जनताको मनसँग जोडिन्छ भन्ने कुरा ख्याल गर्नुपर्ने बताए । उनले पार्टीको विधानअनुसार आफूहरूले विशेष महाधिवेशन गरेको बताए । उनले भने, ‘विधान लागू गर्दा पार्टी फुट्छ भने त्यो विधान खारेज गर्नुस्, अन्यथा पार्टीको विधान उल्लङ्घन गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई छैन ।’ नेता चालिसेले विशेष महाधिवेशनको हलबाट हुने निर्णय सबैले मान्नुपर्ने बताए ।

चालिसेले कसैको प्रभावमा नपरेर हलले निर्णय गर्ने बताए । सभापति शेबहादुर देउवालाई विधानअुनसार, विशेष महाधिवेशनको गर्न आग्रह गर्दा नमानेपछि आफूहरू सरेको उनको भनाइ थियो । अब विशेष महाधिवेशनले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए । ‘हलभित्र पसेपछि हुने निर्णय शेरबहादुर देउवाले मान्नुुर्पछ, वडाको सदस्यले पनि मान्नु पर्छ,’ चालिसेले भने । विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन् । पार्टीलाई सुधार गर्न बाध्यकारी कदम चाल्नु परेको उनको भनाइ थियो ।

 

 

देउवालक्षित शर्माको कटाक्ष, स्वर्ग जाने बेलामा रोईलो नगर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई कब्जामा लिएको आरोप लगाएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुँदै गएको दाबी गरे। उनले कांग्रेसको विचारधारा मध्यमार्गी भएको उल्लेख गर्दै त्यसबाट विचलन भइरहेको आरोप लगाए।

सभापति देउवाप्रति कटाक्ष गर्दै शर्माले भने, ‘शेरबहादुर दाइ, तपाईंलाई माथिबाट बोलाइरहेको बेला पार्टीमा रोइलो नमच्चाउनुस्।’ उनले नेतृत्व प्रतिस्पर्धाबाट भाग्न नहुने भन्दै महाधिवेशनमा खुला प्रतिस्पर्धाको आह्वान गरे।

‘भोलि बिहान हल उद्घाटन गर्न आउनुस्,’ शर्माले भने ‘आउनुस् प्रतिस्पर्धा गरौं। जसले हारे पनि लोकतन्त्रले हार्नु हुँदैन ।’

उनले पार्टी नेतृत्वका लागि आफूहरू पाँच विकल्प लिएर तयार रहेको उल्लेख गर्दै पार्टीलाई लोकतान्त्रिक प्रक्रियामार्फत अगाडि बढाउनुपर्नेमा जोड दिए।

कांग्रेस चार महिनादेखि कोमामा थियो : चतुरबहादुर चन्द

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले चार महिनादेखि कोमामा रहेको कांग्रेसलाई महामन्त्रीद्वयले प्राण दिएर बाहिर निकालेको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गदै देशले परिवर्तन खोजेको बताएका छन् ।

उनले भने, ‘कांग्रेस अब यो देशको अभिभावक पार्टी बन्दै छ । इतिहासमा नेतृत्व दिएको कांग्रेस पछिल्लो चार महिना पछारिएको थियो ।’ विशेष महाधिवेशनले कांग्रेसभित्रको विकृति अन्त्य गर्ने गरी नीति पास गर्नुपर्ने बताए। पार्टीमा युवा नेतृत्वलाई अगाडि सार्नुपर्ने पनि बताए ।

 

 

गगन थापा कांग्रेसजनको आशा र भरोसाका केन्द्र : तीर्थ लामा

काठमाडौं । नेपाली कांग्रेसका काभ्रे सभापति तीर्थ लामाले कांग्रेसको जिम्मेवारी अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काँधमा आएको बताएका छन् । विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापा कांग्रेसजनको आशा र भरोसाको केन्द्र रहेको बताए । उनले विशेष महाधिवेशन उद्घाटन समारोह ऐतिहासिक भएको बताएका छन्।

जेनजी विद्रोहपछि पार्टीको निकास निकाल्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ । उनले भने, ‘यो उपस्थितिले समयसापेक्ष चल्नुपर्छ भन्ने अग्रज नेताहरूलाई सन्देश दिएको छ । मुलुकलाई निकास दिनसक्ने नेताहरू भनेको गगन थापा र विश्वप्रकाश शर्मा नै हो ।’ उनले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने प्रस्ट पारे ।

विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइन : करुणा कटुवाल

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बोल्दै उनले विशेष महाधिवेशनले कांग्रेसको दिशानिर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताइन् ।

उनले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरिन् । विशेष महाधिवेशन कांग्रेसको निकासका लागि मात्रै नभई देशकै निकास निकाल्नका लागि आवश्यक भएको बताइन् । कांग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘नेपाली कांग्रेसलाई मात्रै निकास होइन, देशको निकासका लागि यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासको लागि हाम्रो पुस्ताको भावनालाई समेट्नको लागि यो विशेष महाधिवेशन हो । यो कुनै फुटको होइन, कुनै तिक्तताको लागि होइन । कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन । यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयास मात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होइनौँ । हामी नेपाली कांग्रेसको दिशानिर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’ उनले विशेष महाधिवेशनले आगामी निर्वाचनमा कांग्रेसलाई नयाँ उत्साहका साथ होमिन सहयोग गर्ने बताइन् ।

जेनजी सहिदकी दिदी सुशीला भन्छिन्, ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’

काठमाडौं । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गरे । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गरे । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गरेका थिए । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गरेका थिए ।

तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी (विजयकी श्रीमती) को आत्तिएको स्वरमा फोन आयो, ‘दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?’ विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो ।

हेटौँडामा बस्दै आएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उनी भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि गए । सबै वार्ड हेर्दा पनि विजय भेटिएनन् । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देखे । सुशीला भावुक हुँदै भन्छन्, ‘घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।’

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुन् । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका थिए । सामान्य किसान परिवारमा जन्मिएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उनले इञ्जिनियरिङ पढाउन सहयोग गरेका थिए । विजय बितेपछि चौधरी परिवार शोकमा डुबेका छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बसेका विजयका दाइ अजय कामको खोजीमा छन् । गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे–अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।

हुन पनि विजय परिवारप्रति व्यावहारिक र जिम्मेवार थिए । त्यसैले उनी सबैको प्यारो थिए । आमा बुवाको आँखामा उनी हिरा थिए । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्ल हुँदै भन्छन्, ‘उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।’

अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिन्छन् । ‘मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरू कसले गुमायो होला र ?’ उनी बोल्दा बोल्दै रोक्किन्छन् । विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिन्छन् । अमित भन्छन्, ‘देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।’

विजयका बुवा दमको रोगी छन् । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहेका विजय नभएपछि उनको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउछिन् । जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका विजय अब सम्झनामा मात्र छन् । ‘सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्’, दिदी सुशीला भन्छिन् ।
–बुनु थारु / रासस

 

 

 

इतिहासको ब्याज खाएर पार्टी चल्दैन : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी कुनै व्यक्तिको पेवा नभइ विधानअनुसार चल्नुपर्ने स्पष्ट पारे। उनले विधि र प्रक्रियाबाट विचलित हुँदा पार्टी कमजोर बन्दै जाने चेतावनी पनि दिए।

श्रेष्ठले मुलुक जटिल अवस्थामा पुगेको र राष्ट्रियता खतरामा रहेको उल्लेख गर्दै दक्षिण एसियाको राजनीतिक अवस्था पनि अस्थिर बन्दै गएको बताए। ‘दक्षिण एसियामा हाम्रो आकाशमा बादल मडारिएको छ,’ उनले भने।

इतिहासका उपलब्धिहरू मात्र स्मरण गरेर भविष्य सुरक्षित नहुने धारणा व्यक्त गर्दै श्रेष्ठले भने, ‘राजा फाल्यौं, प्रजातन्त्र ल्यायौं भनेर इतिहासको ब्याज खाएर भविष्य चल्दैन।’

उनले नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र नै कमजोर हुने भन्दै पार्टीलाई सशक्त, अनुशासित र विधानसम्मत ढंगले अघि बढाउन आवश्यक रहेको बताए।

६ महिनामा विकास बजेट ११ प्रतिशत पनि भएन खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा विकास बजेट ११ प्रतिशत पनि खर्च भएको छैन । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब भन्दा बढीको पुँजीगत बजेट ल्याएको सरकारले पुष २६ गतेसम्ममा ४३ अर्ब ६० करोड खर्च भएको छ । यो विनियोजित बजेटको १०.६९ प्रतिशत हो ।

गत आ.व.को यही अवधीमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको थियो । जुन विनियोजित बजेटको १५.२१ प्रतिशत रहेको थियो । यसले गत वर्षको भन्दा पनि अहिले विकास बजेट खर्च निराशाजनक रहेको देखाउँछ । जेन–जी आन्दोलन, रुग्ण ठेक्काका नाममा सम्झौता तोडिँदा त्यसको असर विकास बजेट कार्यान्वयनमा परेको सम्वद्ध पक्षहरुले बताउँछन् ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बजेट कार्यान्वयनको सन्दर्भमा पुजीगत खर्चमा केही समस्या देखिएको बताए । उनले जेन–जी आन्दोलनका कारण विकास बजेट चाहेअनुसार खर्च हुन नसकेको बताए । करिव एक डेढ महीना प्रशासनिक संयन्त्र अलमलमा पर्दा त्यसले बजेट कार्यान्वयन प्रभावकारी नभएको उनको भनाइ छ । यद्यपि अर्थ मन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायहरुलाई सहजीकरण गरेको र अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउने पाण्डेयले बताए ।

पाण्डेयले भने, ‘बजेट कार्यान्वयनको पाटो हेर्दा बजेटका मुख्य तीन शिर्षकहरु चालु खर्च जुन अपेक्षित नै छ । पुजीगत खर्चमा केही समस्या देखिएको छ । त्यो समस्या जेन–जी आन्दोलनका कारण पनि देखिएको हो । करिव एक डेढ महिना प्रशासनिक संयन्त्र अलमलमा परे । त्यसले पनि बजेट कार्यान्वयन प्रभावकारी नभएको हो । अर्थमन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायहरुलाई सहजीकरण गरेको छ । अबका दिनमा विकास बजेटमा उल्लेख्य सुधार आउनेछ ।’

पाण्डेयकाअनुसार कुनै ठेकदारले लामोसयम काम नगरेर बस्दा त्यसले विकासमा पार्ने प्रभाव र अहिलेका मौजुदा कानूनमा विचार गरेर रुग्ण ठेक्काबारे कतिपय निर्णयहरु गरिएको र त्यसले भोलीको विकास निर्माणमा सकारात्मक असर पार्नेछ ।
निर्माण व्यवसायीहरु पनि विकास निर्माण प्रभावित भइरहेको बताउँछन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विगतमा हचुवाका भरमा आयोजनाहरु छनौट गरिएर अघि बढाइँदा कतिपय आयोजनाहरुमा काम गर्न निर्माण व्यवसायीलाई समस्या भइरहेको बताए ।

उनकाअनुसार जति पनि त्यस्ता योजनाहरु छन् खारेज गरिनु पर्छ । प्रत्युत्पादक योजनाहरु जुन आवश्यक छैन त्यसलाई सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाका आधारमा सुविस्ताका आधारमा कार्यालय र निर्माण कम्पनीको सहमतिमा अन्त्य गरिनुपर्ने उनको भनाइ छ । आयोजना अघि नबढ्नुमा कार्यालयको कमी कमजोरी पनि छन् भने निर्माण व्यवसायीको पनि हुन सक्छन् । त्यसमा कार्यालयहरुले दिनुपर्ने सम्पूर्ण, भुक्तानी दायित्व बहन गरेर ठेक्का अन्त्य गर्नुपर्ने सिंहको भनाइ छ । निर्माण कम्पनीको दोष भए त्यसको कार्यसम्पादन जमानत जफत गरेर अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष सिंहले भने, ‘जति पनि योजनाहरु प्रतिउत्पादक छन् ती योजनाहरुलाई खारेज गर्नुपर्छ । त्यस्ता प्रतिउत्पादक योजनाहरु जुन आवश्यक छैन त्यसलाई सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाका आधारमा सुविस्ताका आधारमा कार्यालय र निर्माण कम्पनीको सहमतीमा अन्त्य गर्नुपर्छ । आयोजना अघि नबढ्नुमा जतिपनि कार्यालयको कमीकमजोरी छ, त्यसमा कार्यालयले दिनुपर्ने सम्पूर्ण, भुक्तानी दायित्व बहन गरेर ठेक्का अन्त्य गर्नुपर्छ । जतिमा निर्माण कम्पनीको दोषी छन् त्यसको कार्यसम्पादन जमानत जफत गरेर अन्त्य गर्नुपर्छ ।’ विकास खर्च नहुनुमा निर्माण व्यसायीले सरकारलाई र सरकारले निर्माण व्यवसायीलाई दोषरोपण गर्दै आइरहेका छन् । निर्माणमा रहेका वास्तविक समस्यालाई समाधान गर्न दुवै पक्षले चासो दिएको देखिँदैन ।

 

 

 

कांग्रेस यथास्थितिमा चल्दैन, नेतृत्व परिवर्तन चाहिएको छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गुरुराज घिमिरेले पार्टी अब यथास्थितिमा अघि बढ्न नसक्ने स्पष्ट बताएका छन् । आज (बुधबार) विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्व र नीतिगत परिवर्तन आवश्यक रहेको बताए ।

घिमिरेले भने, ‘जेनजी विद्रोहले पार्टीभित्रको सन्देश स्पष्ट पारेको छ। कांग्रेसलाई अब नयाँ नेतृत्व र नीति आवश्यक छ । ३६ वर्षको राजनीतिक यात्रा र अनुभवको गम्भीर समीक्षा गर्न आवश्यक छ। यो महाधिवेशन नै पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने ऐतिहासिक अवसर हो ।’

उनले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि महाधिवेशनमा सहभागी भएर एकताको सन्देश दिन आह्वान गरे । घिमिरेले यसरी भनिरहेका छन्, ‘सभापति र कार्यवाहक सभापतिज्यूलाई आजको ऐतिहासिक क्षणमा उपस्थित भएर यो विशेष महाधिवेशनलाई १०० प्रतिशत सफल बनाउन आग्रह गर्दछु । मेरो तिक्ताको भण्डार रित्तिएको छ, तपाईंहरू पनि आउनुहोस् र आगामी संसदीय निर्वाचनमा कांग्रेसको दिग्विजय सुनिश्चित गर्न सहयोग गर्नुहोस् ।’

उनले पार्टीका साधारण सदस्य र संस्थापन पक्षका सबै नेताहरूलाई महाधिवेशनमा सहभागी भएर उत्सव मनाउन र पार्टी एकताबद्ध बनाउने पक्षमा उभिन पनि आग्रह गरे । उनले जोड दिए, ‘नेपाली कांग्रेसको साधारण सदस्यले पनि पार्टीको दीर्घकालीन जीवन र लोकतान्त्रिक भविष्य सुनिश्चित गर्न ठूलो भूमिका राख्छन् । आज उनीहरूले यही विशेष महाधिवेशनको माग गरेका छन् । सबैले सहभागी भएर एकताको सन्देश दिन आवश्यक छ ।’ घिमिरेको यो अभिव्यक्तिले पार्टीभित्रको विद्यमान असन्तुष्टि र नेतृत्व परिवर्तनको आवश्यकता पुनः उजागर गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनले नेतृत्व, नीति तथा आगामी निर्वाचन रणनीतिमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।

 

 

विशेष महाधिवेशनले जस्तो निर्णय गरे पनि कांग्रेसलाई क्षति नै हुन्छ: जगत नेपाल

जगत नेपाल नेपाली कांग्रेसको इतिहासलाई गहिरोगरी अध्ययन गरेका अध्येता र लेखक हुन् । उनका ‘बीपीको विद्रोह’, ‘पहिलो संसद: बीपी महेन्द्र टकराव’ प्रकाशित छन् भने उनी कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधामन्त्री गिरिजाप्रसाद कोइरालाको आत्मकथा ‘आफ्नै कुरा’ को सम्पादक पनि हुन् ।
कांग्रेसको स्थापनादेखि अहिलेसम्मको इतिहासलाई नजिकाबाट नियालिरहेको अध्येता नेपालसँग आजबाट सुरू भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबारे गरिएको कुराकानी:

  • नेपाली कांग्रेसको जीवनमा विशेष महाधिवेशन भनेको दुर्लभ घटना हो। दोस्रो विशेष महाधिवेशन आजबाट सुरु भएको छ। त्यो विशेष महाधिवेशनको आवश्यकता किन पर्‍यो र यसको सान्दर्भिकता के हो?

संगठनले कुनै नीतिगत निर्णय गर्नुपर्‍यो वा कुनै क्राइसिस आयो भनेर नेतृत्व परिवर्तन गर्नुपर्‍यो अथवा समयमा नियमित महाधिवेशन गर्न सकिएन र तत्काल निर्णय लिनुपर्ने भयो भने विशेष महाधिवेशन गर्ने हो ।

नेपाली कांग्रेसको ८ दशक लामो इतिहासमा दुईवटा विशेष महाधिवेशन भएका छन्। एउटा २०१४ सालमा भएङ्को थियो । यसबेला २००७ सालको क्रान्तिपछि संविधानसभाको चुनाव गर्ने म्यान्डेट थियो तर दरबार र दलहरूबीचको ‘कन्ट्रोभर्सी’का कारण संविधानसभाको चुनाव हुन सकेन। सुरुमा बीपीले सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाए। पार्टीकै सभापति बनाएर राजाले चुनाव गराउन सजिलो हुन्छ कि भनेर सुवर्ण शमशेरको नेतृत्वमा कांग्रेसको महाधिवेशन गरियो र सुवर्ण शमशेरलाई सभापति बनाइयो। तर, चुनाव नहुने परिस्थिति बनेपछि राजालाई दबाब दिनुपर्ने भयो र इलेक्सनमा जानुपर्ने अवस्था आयो। त्यो अवस्थामा विशेष महाधिवेशनबाट सुवर्ण शमशेरको प्रस्तावमा बीपी कोइराला सभापति बनेका थिए।

अहिले पनि कांग्रेसको नेतृत्वमाथि खासगरी जेनजी आन्दोलनपछि जुन प्रश्न उठ्यो, त्यसलाई सम्बोधन गर्न विशेष महाधिवेशनको माग गरियो। पार्टी नेतृत्वले नबोलाएपछि दुई महामन्त्रीको अगुवाइमा यसलाई कार्यान्वयनमा लगिएको छ ।

  • यो विशेष महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्छ कि गर्दैन भन्ने विषयमा अहिले पनि विभिन्न अड्कलबाजी छन्। उहाँहरूले प्रस्ट रूपमा भन्नुभएको छैन। धेरैजसो प्रतिनिधिहरूले भने यो महाधिवेशनले नयाँ नेतृत्व छनोट गरेर जानुपर्छ भनेका छन्। यदि महाधिवेशनले नयाँ नेतृत्व छनोट नगर्ने हो भने यसको सान्दर्भिकता वा महत्व रहन्छ कि रहँदैन?

नेपाली कांग्रेसको इतिहासमा यो अत्यन्तै जटिल मोड हो। एकातिर नेतृत्वमाथि सबैभन्दा ठूलो प्रश्न उठेको छ। यहाँसम्म कि अहिलेको नेतृत्वलाई लिएर चुनावमा जान सकिँदैन भन्ने मान्यता बनाएर नै यो विशेष महाधिवेशन बोलाइएको हो। अर्कोतिर तत्काल चुनाव हुँदैछ। त्यसकारण नयाँ नेतृत्व चयन गर्दा कांग्रेस विभाजन हुन सक्ने अवस्था छ र धेरै मानिसहरू कांग्रेस टुक्रियोस् भन्ने चाहँदैनन्। त्यसैले अहिले यो विषय बहसमै छ। मानिसहरू छलफल गरिरहेका छन्। विशेष महाधिवेशनले कुनै न कुनै निर्णय त लिन्छ तर त्यो निर्णय अत्यन्तै जटिल छ। खुकुरीको धार जस्तै दुवैतिर धार छ। जतातिर परे पनि कांग्रेसलाई क्षति हुने स्थिति देखिन्छ।

  • यदि विशेष महाधिवेशनले नेतृत्व परिवर्तन नगर्ने निर्णय गर्‍यो भने के यो महाधिवेशन गर्नुको अर्थ रहन्छ?

अहिले मुख्य कुरा त विभिन्न ट्र्याकबाट निरन्तर वार्ता र मिलाउने प्रयासहरू भइरहेका छन्। विभिन्न मध्यमार्गी नेताहरूले पहल गरिरहेका छन्। यदि नेतृत्व चयन गर्दा स्पष्ट बहुमतका साथ कांग्रेस टुक्रिन्छ भने त्यसले केही स्पष्टता दिन सक्छ। तर, झिनो अन्तरले पार्टी विभाजन भयो भने त्यो झन् घातक हुन सक्छ। त्यो पार्टीका लागि मात्र होइन, लोकतान्त्रिक प्रक्रियाका लागि पनि घातक हुन सक्छ। जस्तो २०५९ सालमा पार्टी फुट्दा राजाले टेकओभर गरेका थिए। अहिले पनि परिस्थिति निकै नाजुक छ। संविधान कार्यान्वयनको चुनौती छ। यस्तो बेलामा नेपालको लोकतान्त्रिक दल फुट्यो भने त्यसले ल्याउन सक्ने संकटको अनुमान गर्न सकिँदैन। त्यसकारण, अहिले निर्णय भन्दा पनि ‘वेट एन्ड सी’ नै हो।

  • यसका दुई सम्भावित परिणाम देखिन्छन्। एउटा, कार्यकर्ताको चाहनालाई सम्बोधन गर्दै नेतृत्वमाथि दबाब सिर्जना गरेर नेतृत्व परिवर्तन र कांग्रेसलाई जनचाहना तथा युवा पुस्ताको अपेक्षाअनुसार रूपान्तरण गर्ने बाटोमा धकेल्न सक्छ। अर्को, कांग्रेस विभाजनतर्फ जान सक्छ। यसले राष्ट्रिय राजनीतिमा के-के प्रभाव पर्ला ?

यदि विभाजन भयो भने यसको असर सबैभन्दा पहिले चुनावमा पर्छ। पार्टी फुट्नु–नफुट्नु ठूलो कुरा होइन। तर पार्टी कमजोर हुँदा जनताले पाउँदै आएका अधिकारहरू खोसिने अवस्था आयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। पार्टी फुट्ला, फेरि जोडिएला, नयाँ पार्टी बन्न सक्छ। तरऽ लोकतान्त्रिक अधिकार नै गुम्ने अवस्था आयो भने त्यो ठूलो क्षति हुन्छ।

 

राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् ।

पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो ।

गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशन उदघाटन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा आइतबार औपचारिक रूपमा सुरु भएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गर्दै तथा विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहायक महामन्त्री फरमूल्लाह मंसुरसहित चन्द्र भण्डारी, तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, महेश आचार्य, ओमकारप्रसाद श्रेष्ठलगायत नेताहरूको उपस्थिति थियो। विभिन्न जिल्लाका सभापतिहरू पनि महाधिवेशनमा सहभागी भएका छन् ।

यस विशेष महाधिवेशनमा भने पार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका शीर्ष नेताहरू सहभागी भएनन् । विशेष महाधिवेशनको निम्तो अस्वीकार गरेपछि महामन्त्रीद्वयकै नेतृत्वमा उद्घाटन गरिएको हो । यही कारण कांग्रेसभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ। देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको छ भने गगन–विश्व समूहले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशन आयोजना गरेको दाबी गरेको छ ।

जुलुस, नारा र शक्ति प्रदर्शन
विशेष महाधिवेशनका अवसरमा कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीलगायत क्षेत्रबाट बाजागाजासहितका जुलुस भृकुटीमण्डपतर्फ आएका थिए । जुलुसमा ‘नेपाली कांग्रेस के भन्छ ? गगन–विश्वले भन्छ’ भन्ने नारा गुञ्जिएको थियो । तामझामका साथ उद्घाटन सत्र चलिरहँदा प्रतिनिधिहरूको दर्ता प्रक्रिया पनि सँगसँगै अघि बढेको छ । नेताहरूका अनुसार प्रतिनिधिको संख्या र सहभागिताले कांग्रेसको आगामी नेतृत्व र राजनीतिक दिशा परिवर्तन हुने–नहुने निर्धारण गर्नेछ । उद्घाटन समारोहपछि आजै बन्द सत्र सुरु हुने र विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने जनाइएको छ ।

महाधिवेशन सुरु हुनुअघि महामन्त्री गगन थापा घरबाट आमाबुवाको आशीर्वाद लिएर कार्यक्रमस्थलतर्फ प्रस्थान गरेका थिए । उनले ‘यहाँहरूको माया अनि आमाबुवाको आशीर्वाद लिएर आउँदै छु’ भन्दै आफ्नो भाव व्यक्त गरेका थिए । उता, उद्घाटन सत्र चलिरहेकै बेला थापाकी पत्नी अञ्जना केसी थापाले सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै उनको साहस र प्रतिबद्धताको प्रशंसा गरिन् ।

उनले जोखिम ठूलो भए पनि गगन एक्लो नरहेको, परिवर्तन चाहने धेरै मानिसहरूको साथ रहेको उल्लेख गरेकी छन् । विशेष महाधिवेशनले कांग्रेसभित्रको आन्तरिक मतभेद सतहमा ल्याएको छ । एकातिर संस्थापन पक्षको बहिष्कार, अर्कोतिर युवा नेतृत्वको अगुवाइमा भएको महाधिवेशन—यी घटनाक्रमले पार्टीको भविष्य र नेतृत्व संरचनाबारे नयाँ बहस सुरु गराएको छ । अब बन्द सत्रका निर्णय र प्रतिनिधिको सहभागिताले नेपाली कांग्रेसको आगामी राजनीतिक यात्रा कता मोडिन्छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।

 

गोपालमानसहित संस्थापन पक्षका नेताहरु समेत भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा शुरू भएको छ । दिउँसो २ बजे शुरू भएको उद्घाटन सत्रमा पार्टीका विभिन्न धारका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
विशेष महाधिवेशनमा नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष आकर्षणका रूपमा सहभागी भएका छन् । उनलाई महामन्त्री गगन थापाले मञ्चमा स्वागत गरेका थिए । चुनावअघि महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि सामूहिक रूपमा भृकुटीमण्डप पुगेका छन्, जसले महाधिवेशनको राजनीतिक महत्त्वलाई थप बल दिएको छ ।

उद्घाटन समारोहमा पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरू महेश आचार्य, भरत साह, चन्द्र भण्डारीलगायत नेताहरू सहभागी छन् । पार्टीभित्र पछिल्लो समय मध्यमार्गी भूमिका खेलेका २५ केन्द्रीय सदस्यमध्ये २० जना विशेष महाधिवेशनमा सहभागी हुने जनाइएको छ, जसले आन्तरिक सन्तुलन र संवादको प्रयासलाई संकेत गरेको छ । संस्थापन पक्षबाट केन्द्रीय सदस्यहरू तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी र राजन केसीलगायत नेताहरू कार्यक्रमस्थलमा पुगेका छन् । उनीहरूको उपस्थितिलाई पार्टी एकताको सन्देशका रूपमा हेरिएको छ ।

यस्तै, डा. शेखर कोइराला पक्षका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीको उपस्थिति पनि महाधिवेशनमा देखिएको छ । विभिन्न गुट र धारका नेताहरू एउटै मञ्चमा देखिनुले विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक संवाद, भावी राजनीतिक दिशा र संगठनात्मक पुनर्संरचनाका लागि निर्णायक मानिएको छ । नेपाली कांग्रेसले यो विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका मतभेद, आगामी रणनीति र संगठन सुदृढीकरणका विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ ।

भृकुटीमण्डप कांग्रेसमय, विशेष महाधिवेशनले ट्राफिक जाम (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डप कांग्रेस नेता तथा कार्यकर्ताले भरिएको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्ला-काठमाडौं, भक्तपुर र ललितपुरबाट आएका र्‍यालीका कारण भृकुटीमण्डप र आसपासका क्षेत्र कांग्रेसमय बनेका छन् ।

क्षेत्रीय समितिहरूको अगुवाइमा आएका नेता–कार्यकर्ताहरूको  र्‍याली क्रमशः भृकुटीमण्डप प्रवेश गरिरहेकाले महाधिवेशनस्थलमा भीड बढ्दै गएको छ । र्‍याली आउने क्रम जारी रहेकाले विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम केही ढिला भएको छ । केहीबेरमा उद्घाटन समारोह सुरु गर्ने तयारी रहेको आयोजकले जनाएका छन् । विशेष महाधिवेशनमा सहभागी हुन ठूलो संख्यामा नेता तथा कार्यकर्ता राजधानी भित्रिएपछि काठमाडौँको यातायात व्यवस्था प्रभावित भएको छ । भृकुटीमण्डप, खुल्लामञ्च आसपास, पुतलिसडक, सिंहदरबार, माईतिघर, थापाथली चोक र त्रिपुरेश्वर क्षेत्रमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै ती क्षेत्रहरूमा सवारी आवागमन कठिन भएको जनाएको छ । ट्राफिक प्रहरीले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ भने आवश्यक नपरेसम्म ती क्षेत्रतर्फ यात्रा नगर्न सुझाव दिएको छ । विशेष महाधिवेशन आजै भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिक दिशानिर्देश र भावी रणनीतिका हिसाबले महत्वपूर्ण रूपमा हेरिएको छ । राजधानीमा बढेको भीड र सवारी चापलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी तथा ट्राफिक प्रहरी परिचालित गरिएको छ ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु

कांग्रेस विशेष महाधिवेशन आइतबारदेखि सुरु भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुर्व पार्टी सभापतिहरुको फोटोमा माल्यार्पण गरेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।

महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका पुर्व मन्त्रीहरु, पुर्व पदाधिकारी, पुर्व केन्द्रीय सदस्यहरुको बाक्लो उपस्थिति देखिएको छ।

 

गगनजीलाई सभापति बनाउनुपर्छ भन्‍ने माहोल छ, देउवा कारबाही गर्ने तहमा पुग्‍छन् भन्‍ने लाग्दैन : प्रतिमा गाैतम

काठमाडौं । महामन्त्रीहरू गगन थापा र विश्‍वप्रकाश शर्माको अगुवाइमा आजदेखि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन हुँदै छ । विशेष महाधिवेशनलाई कांग्रेस विभाजनको ‘पानीढलो’ भनिएको छ ।

गगन थापालाई सभापति चयन गर्ने विशेष महाधिवेशन पक्षधरहरूले बताउने गरेका छन् । त्यो भनेको सभापतिबाट शेरबहादुर देउवालाई हटाउने भनिएको हो ।

यसबीच आजै देउवालाई केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका छन् । सम्भवतः विशेष महाधिवेशन पक्षधरहरूलाई देउवाले कारबाही गर्दैछन् । यी विकसित घटनाक्रमले कांग्रेस सग्लो रहने सम्भावना न्यून बनाएको छ ।

यिनै सन्दर्भमा पूर्वसांसदसमेत रहेकी विशेष महाधिवेशन पक्षधर नेतृ प्रतिमा गौतमसँग गरिएको संवादको सम्पादित अंश

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि हुँदैछ । विशेष महाधिवेशनमा के हुन्छ ?

नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनमा देशभरिबाट हर्षौल्लासका साथ साथीहरू आउनुभएको छ । महाधिवेशन प्रतिनिधिहरू आउने क्रम जारी छ । आज उद्घाटन सत्र हुन्छ । भोलि बन्द सत्र हुन्छ ।

आजको उद्घाटन सत्र काठमाडौं सभापति सबुज बानियाको सभापतित्वमा हुन्छ । भोलिको बन्दसत्र ज्येष्ठ सदस्य ओमकार श्रेष्ठको सभापतित्वमा हुन्छ ।

भोलि चाहिँ हामी बन्द सत्रमा कांग्रेसको नीति र नेतृत्व परिवर्तनबारे छलफल गर्छौँ । त्यसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हलमा बहस गर्नु हुनेछ ।

बहस मात्रै हुन्छ कि नीति र नेतृत्व दुवै फेर्नुहुन्छ ?

त्यो हलले निर्देशित गर्ने विषय हो । मैले अहिल्यै भन्‍न सकिने भएन । तर, आम साथीहरूको भावना चाहिँ नीति, नेतृत्व दुइटै फेरिनुपर्छ भन्‍ने छ । त्यो हललाई नै जिम्मा दिऔँ । बन्द सत्रको हलको भावनाअनुसार सबै अगाडि बढ्छ ।

गगन थापा सभापति बन्छन् त ?

हजुर, एकदमै । गगनजीलाई सभापति बनाउनुपर्छ भन्ने माहोल छ । अहिले नारा जुलुस साथ देशभरिबाट गगनजी सभापति हुनुपर्छ भन्दै महाधिवेशन प्रतिनिधिहरू आउनु भएको छ ।

मलाई लाग्छ, अब भोलि सभापतिबारे बहस हुन्छ । आज उद्घाटन सत्र मात्रै हुने हो । भोलि बन्द सत्रमा टुंगो लगाउँछ ।

जे होस् अधिकांश साथीहरू नीति र नेतृत्व दुइटै परिवर्तन गर्नुपर्छ भनेर आउनुभएको देखिन्छ । यहाँको माहोलले पनि त्यो भन्छ ।

वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्ने भनिएको सन्दर्भमा अहिले नै विशेष महाधिवेशन गर्नुको आवश्यकता किन पर्‍यो ?

नियमित महाधिवेशनको जुन तालिका ल्याइएको थियो, त्यो तालिकाअनुरूप केन्द्रीय समिति अगाडि बढ्न सकेन । पटकपटक तालिका फेरिनु र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले आजभन्दा ठीक तीन महिना अगाडि विशेष महाधिवेशन धारा १७ को (२) अनुसार उहाँहरूले हस्ताक्षर गरेर माग गर्नुभएको थियो ।

सो अनुरूप आज तीन महिनाको अन्तिम दिन भएको हुँदा विशेष महाधिवेशनको अनिवार्यता थियो । त्यो विधानको धारामा भएको ‘म्यान्डेटरी’ थियो । त्यो विधानको धारा म्यान्डेटरी व्यवस्था हुँदा आज विशेष महाधिवेशन भयो ।

यो कसैको रहर, कसैको चाहना, कसैको इच्छाले भन्दा पनि हामीलाई त्यो विधानले दिएको व्यवस्थाअनुसार विधि र प्रक्रियाअनुसार हामी अगाडि बढेका हौँ ।

तर, सभापति शेरबहादुर देउवाले आजै  केन्द्रीय समितिको भर्चुअल बैठक पनि बोलाएका छन् । सम्भवतः कारबाही गर्ने होला विशेष महाधिवेशन पक्षधरहरूलाई । कारबाही गरे भने वा विशेष महाधिवेशनबाट देउवालाई सभापतिबाट हटाए त पार्टी त फुट्छ होला नि ?

मलाई लाग्दैन त्यस्तो । हामी विधानभन्दा बाहिर गएर अगाडि बढेको भएदेखि यी कुराहरू हुन्थ्यो होला । तर, विधानसम्मत ढङ्‍गबाट अगाडि बढ्दाखेरि कारबाही हुने कुरा हो भने यो धेरै पार्टीको संगठनको हितमा हुँदैन ।

५४/५५ प्रतिशत साथीहरूलाई बाहिर राखेर सभापतिले क–कसलाई कारबाही गर्न सक्नुहुन्छ ? मलाई त्यो लाग्दैन कि उहाँहरूले त्यो कदम चाल्नुहुन्छ भन्‍ने ।

तर, जे भए पनि कांग्रेस जुट्ने होइन, फुट्ने त निश्‍चित भयो होइन ?

हामी कांग्रेसलाई बलियो, सुदृढ, सशक्त, जनमुखी, जनताको आवाजलाई बुझ्‍न सक्ने सशक्त पार्टी बनाएर अगाडि बढाउन चाहन्छौँ । अहिले नै कांग्रेसमा रक्त सञ्‍चार भइसकेको छ ।

देशभरिबाट कांग्रेसमा उत्साह भरिएको छ । त्यसकारण यो उत्साह र रक्त सञ्‍चारलाई फेरि हामीले गाउँसम्म पुर्‍याएर गाउँका सबै नागरिकहरूलाई गोलबद्ध गर्दै कांग्रेस नयाँ सन्देश र नयाँ नीतिसहित निर्वाचनमा अगाडि बढ्नुपर्छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट यदि गगन थापा सभापति चुनिए मान्यता दिएन भने अवस्थामा के होला ?

अहिले त्यति धेरै नसोचौँ । भोलिको हलले कुन ढंगबाट विशेष महाधिवेशनलाई अगाडि बढाउँछ ? त्यसपछि मात्रै निष्कर्ष हुन्छ ।

भृकुटीमण्डप आईपुगे थापा र शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल भृकुटीमण्डप आइपुगेका छन्। विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्नको लागि महामन्त्रीद्वय भृकुटीमण्डप आएका हुन्।

महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन आह्वान भएको थियो । कार्यक्रमस्थल भृकुटीमण्डपमा विभिन्न ठाउँबाट बाजागाजासहित जुलुसहरू आउने क्रम जारी छ। कार्यक्रम स्थल अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले भरिभराउ देखिन थालेको छ ।

महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तालेहरूले भृकुटीमण्डपमा ‘अब पालो गगन-विश्व युग’ को भन्दै नारा लगाइरहेका छन्।

भारत र न्यूजिल्यान्डको पहिलो एकदिवसीय खेल : भारतले टस जितेर बलिङ रोज्यो

भारत र न्यूजिल्यान्डबीचको तीन खेलको एकदिवसीय श्रृंखलाको पहिलो खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। 

आगामी टी–२० विश्वकप नजिकिँदै गर्दा पनि आगामी एक साताको ध्यान भने एकदिवसीय क्रिकेटमै केन्द्रित हुनेछ। विशेषगरी विराट कोहली र रोहित शर्मामाथि सबैको नजर रहनेछ। दुवै अनुभवी ब्याटरले हालै विजय हजारे ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्दै रनको वर्षा गरेका थिए। 

कप्तान शुभमन गिलको पनि यो श्रृंखलामा विशेष परीक्षा हुनेछ। टी–२० विश्वकप टोलीमा नपरेपछि उनको प्रदर्शनमाथि प्रश्न उठिरहेको छ।  दक्षिण अफ्रिकाविरुद्ध चोटका कारण सीमित खेल खेलेका गिलले यो अवसरलाई सदुपयोग गर्नुपर्नेछ। 

गिलको उपस्थितिले देब्रे हाते ओपनर यशस्वी जायसवाललाई शीर्षक्रमबाट बाहिर राखिएको छ । यद्यपि जायसवालले अघिल्लो श्रृंखलामा अष्ट्रेलिया विरुद्ध आफ्नो क्रिकेट करिअरको पहिलो एकदिवसीय शतक बनाएका थिए।

यो खेल नयाँ बारोडा क्रिकेट एसोसिएसन स्टेडियम कोटाम्बीमा आयोजना भइरहेको छ ।

न्यूजिल्यान्ड टोली भने केही प्रमुख खेलाडी बिना नै भारत आएको छ। मिचेल सान्टनर चोटका कारण बाहिर छन् भने टम लेथम पारिवारिक कारणले अनुपस्थित छन्। केन विलियम्सन SA20 लिगमा व्यस्त छन्। टोलीको कप्तानी माइकल ब्रेसेवेलले गर्नेछन्।

 न्यूजिल्यान्डका लागि काइल जेमिसन, आदित्य अशोकसँगै डेभोन कोनवे, ड्यारिल मिचेल, हेन्री निकोल्स, विल यङ र ग्लेन फिलिप्सजस्ता ब्याटरहरूमा आशा रहनेछ।

दुवै टोलीको अन्तिम-११ 

भारत: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस ऐर, केएल राहुल (विकेटकिपर), रविन्द्र जडेजा, वासिङ्टन सुन्दर, कुलदीप यादव, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज, हर्षित राणा।

न्यूजिल्यान्ड: माइकल ब्रेसेवेल (कप्तान), डेभोन कोनवे , मिचेल हे (विकेटकिपर), हेन्री निकोल्स, विल योङ, ज्याकरी फौल्क्स , ड्यारिल मिचेल, ग्लेन फिलिप्स, आदित्य अशोक, क्रिस्टियन क्लार्क, काइल जेमिसन

‘म सभापति देउवाको शैली र युवाहरूको जोशको चेपुवामा छु’ (भिडियोसहित)

 आज देश आसन्न निर्वाचनको सङ्घारमा छ। केही महिना मात्र भएको छ, जेन्जी आन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सुशीला कार्कीको सरकार गठन भएको छ। यस क्रममा संविधान सभाबाट जारी भएको नेपालको संविधान यतिखेर छत्बिच्छत् भएको अवस्थामा छ। आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरुले देशको संविधान नेपाली जनताले लेख्छन् भनि नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो। 

यो गौरवशाली इतिहासको शृंखलाले अनेकन कष्ट, यातना र बलिदान भोग्दै निरंकुश तन्त्रहरुसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौमिक सत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो। यतिखेर हामी लगायत सबै राजनैतिक दलहरु त्यही सार्वभौम संविधान, जो नेपालको मूल कानून हो, भावी निर्वाचनमार्फत बचाउने प्रयत्न गरिरहेका छौं।

 हामी भाद्र २४ गतेदेखि २७ गतेसम्म घटित अन्योल, अराजकता र संविधानहीनताको त्राशदीपूर्ण अवस्थालाई यति चाडो कसरी बिर्सन सक्छौं र ? नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने असहज अवस्था आइपऱ्यो। हाम्रो यस किसिमको अवस्था पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा शहीदहरु प्रति न्याय गरेको ठहर छ। के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रका लागि बलिदान, संघर्ष, यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौं?

 हाम्रा आदरणीय नेताहरु, बुद्धिजीवी वर्ग, कानूनवेत्ता, पत्रकार साथीहरु लगायत सबैलाई देशको मूल कानूनको महत्व र कांग्रेसका साथीहरुलाई समेत संविधानहीनताको अवस्थाबारे मैले भनिरहनु नपर्ला, मभन्दा यहाँहरु धेरै मर्मज्ञ हुनुहुन्छ। जेन्जी आन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरुको नेतृत्वबारे नागरिक तहबाट र पार्टीभित्रबाट पनि बहस, छलफल र दबाबहरु सुरु हुनु स्वाभाविक थियो, भयो।

 राजनीतिक दलहरुको विफलताले राजनीतिक नेतृत्वमा प्रश्न उठ्यो र यस प्रकरणमा नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरु अगाडि आए। नेपाली कांग्रेसको विधानको विकास क्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन प्रावधानहरु राखिएका छन्। नेपालको संविधानझैं यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोग गर्ने कोसिस गरियो। यसको श्रेय निसन्देह पुराना पुस्ताहरुलाई दिनुपर्छ। 

यही कारण आज नेपाली कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय कार्यसमितिमा पनि युवाहरुको सहभागिता रह्यो। कांग्रेसको वैधानिक विकास क्रममा हाम्रा श्रद्धेय नेता बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो। त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ। 

कसैप्रति विद्वेष र निषेध थिएन। मैले यिनै मर्मलाई आत्मसात गरेर कांग्रेसभित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ। धेरै युवा साथीहरु मसँग जोडिए। म सधैं कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्ने संघर्षरत रहेँ। मेरो लड्ने तरिका शान्त र मधुरो थियो। मेरा कैयौं शैलीहरुसँग साथीहरु असहमत भएको म बुझ्थेँ। तर पनि, म कांग्रेसको रुपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। 

म यहाँ प्रष्ट भन्न चाहन्छु, मेरो निजी महत्वकांक्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन। यस्ता अवसरहरु आए, तर मैले रुचि देखाएन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन। मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु। यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरुकोको असन्तोषको सामना गर्न परिरहेको छ। जो ऊर्ज़ावान र जोशीलो भएर मेरो अगाडी उपस्थित हुन्छन्। 

मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ। मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रुपमै राखेको छु। मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्रावधिक र भावनात्मक सन्देश प्रभाव नहोस् भन्ने सतर्क थिएँ। मलाइ यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहन पर्छ भनेर। 

म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडी बढिरहने छु। बिपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन, न कांग्रेसको विधान र नेपालको संविधानमा थियो। यो बिपीको अन्तारात्माको आवास थियो, यो नेपाली जनको आवास थियो। म एक्लो भएपनि बिपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरजाबाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरुले छाडेको पद चिन्हबाट विचलित हुने छैन।

यो पद चिन्ह भनेको कांग्रेसको मौलिक आदर्श, सिद्धान्त हो, जसमा टेकेर नेपालीहरु सार्वभौम भए, स्वतन्त्र भए। के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल ठोक्ने महाधिवेशन गरेर जान सक्दैनौं? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक, साथीहरु र अन्तर्राष्ट्रिय समुदायको पनि हामी एकता बद्ध भएर अगाडी बढेको हेर्न नचाहेका होलान् र? सोचौं हामी। 

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरु, तपाईंहरु पार्टीको धरोहर हुनुहुन्छ। तपाई‌ंहरु विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आउनु भएको छ। पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ। त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहनेछु भन्ने प्रण पनि गर्दछु। मेरो दृढ विश्वास छ, एकता बद्ध भएर अगाडी बढ्न सकिन्छ र यो जय नेपालको नाराको गुञ्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ, जय नेपाल।

(विशेष महाधिवशेन सुरू हुनुअघि कोइरालाले दिएको भिडियो सन्देशबाट)

 

सभापति पदको लोभ छैन, पार्टी एकताकै लागि अन्तिमसम्म लड्छु : शेखर कोइराला (भिडियो)

काठमाडौैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन नहोस् भन्ने अठोटसहित आफू कांग्रेस एकताको पक्षमा निरन्तर आवाज उठाइरहेको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन उद्घाटनको संघारमा भिडियो सन्देश जारी गर्दै उनले व्यक्तिगत पद, प्रतिष्ठा वा शक्ति आफूलाई कहिल्यै लोभ्याउने विषय नभएको बताएका छन् ।

कोइरालाले कांग्रेस रूपान्तरणको अभियानमा आफूले शान्त, धैर्यशील र संयमित शैली अपनाएको उल्लेख गर्दै भने, ‘मेरा कतिपय शैलीसँग साथीहरू असहमत हुनु स्वाभाविक हो, तर आक्रोश र अधैर्यले पार्टीलाई सही दिशामा लैजान सकिँदैन भन्ने मेरो विश्वास हो ।’ उनले मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने आकांक्षा आफूमा कहिल्यै नरहेको दोहोर्‍याए ।

उनका अनुसार परिवारबाट प्राप्त जीवन दर्शन नै उनको राजनीतिक मार्गदर्शक सिद्धान्त हो । ‘त्यही दर्शनबाट प्रेरित भएर म कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहने छु’, उनले भने। यस क्रममा एकातर्फ सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग संघर्ष गर्नुपरेको र अर्कोतर्फ परिवर्तन चाहने ऊर्जावान युवाहरूको असन्तोष पनि सम्बोधन गर्नुपर्ने चुनौती आफूले भोगेको उनको भनाइ छ ।

देश निर्वाचनको संघारमा रहेको र संविधानसमेत चुनौतीको अवस्थामा रहेको उल्लेख गर्दै कोइरालाले वर्तमान परिस्थितिमा कांग्रेसको एकता ऐतिहासिक आवश्यकता भएको बताए । ‘निर्वाचित सरकारको सट्टा अनिर्वाचित सरकार रहेको अवस्था, संविधानमाथि प्रश्न उठिरहेका बेला कांग्रेस एकताबद्ध हुनु अपरिहार्य छ’, उनले भने । जेन–जी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिकामाथि उठेका प्रश्नलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

कोइरालाले पार्टीभित्र विधि, प्रक्रिया र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । विशेष महाधिवेशनबारे आफ्नो धारणा केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखिसकेको जानकारी दिँदै उनले बीपी कोइरालाको मेलमिलाप नीति कानुनको अक्षरभन्दा पनि जनताको आवाज र अन्तरआत्माबाट आएको दर्शन भएको स्मरण गराए ।

महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसको ‘धरोहर’ को संज्ञा दिँदै उनले उनीहरू विधान कार्यान्वयन र पार्टी एकता कायम गर्न सक्षम रहेको गहिरो विश्वास व्यक्त गरे । ‘के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वका साथ एकताबद्ध महाधिवेशन गर्न सक्दैनौँ ? हाम्रो एकता देख्न चाहने समर्थक, शुभेच्छुक र अन्तर्राष्ट्रिय समुदाय छैनन् र ?’ उनले प्रश्न गरे । अन्त्यमा, पार्टीभित्र देखिएको गतिरोध समाधानका लागि आफूले केही दिनदेखि निरन्तर ‘भगीरथ प्रयास’ गरिरहेको उल्लेख गर्दै डा. कोइरालाले स्पष्ट प्रतिबद्धता जनाए, ‘जबसम्म निकास निस्किँदैन, तबसम्म म लागिरहने छु ।’

 

 

 

विशेष महाधिवेशनमा फरक दृष्य : कार्यकर्ता कुर्सीमा, नेतालाई कुसन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसबीच सुरु हुन लागेको यस महाधिवेशनमा उद्घाटन सत्रअघि नै एउटा फरक र प्रतीकात्मक दृष्य देखिएको छ ।

भृकुटीमण्डपको खुला चौरमा तयार गरिएको उद्घाटन मञ्चमा नेताहरूका लागि परम्परागत कुर्सी नराखी कुसनको व्यवस्था गरिएको छ । विशेष महाधिवेशन आयोजक समितिले विगतको अभ्यासलाई निरन्तरता दिँदै नेताहरूलाई कुर्सीभन्दा तल कुसनमा बसाउने व्यवस्था गरेको हो । यसलाई नेताहरू र कार्यकर्ताबीचको दूरी घटाउने सन्देशका रूपमा पनि हेरिएको छ । मञ्च अगाडि भने कुर्सीहरू पंक्तिबद्ध रूपमा राखिएका छन् । ती कुर्सीमा १४औं महाधिवेशनका प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरू बस्ने छन् । मञ्चमा नेताहरू कुसनमा र दर्शकदीर्घामा प्रतिनिधि कुर्सीमा बस्ने दृष्यले महाधिवेशनमा नयाँ सन्देश प्रवाह गरेको देखिन्छ ।

विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ । शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोललगायत स्थानबाट निस्किएका र्‍यालीहरूले महाधिवेशनस्थललाई उत्साहपूर्ण बनाएका छन् । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले नेतृत्व परिवर्तन, पार्टी सुदृढीकरण र आन्तरिक एकताको माग उठाएका छन् । पार्टीभित्र देखिएको गहिरो विवादबीच आयोजना गरिएको यो विशेष महाधिवेशनले कांग्रेसको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ । मञ्चको व्यवस्थादेखि प्रतिनिधिहरूको सक्रिय सहभागितासम्म देखिएको फरक दृश्यले यस महाधिवेशनलाई अघिल्ला महाधिवेशनभन्दा अलग र अर्थपूर्ण बनाएको छ ।

 

 

 

 

विशेष महाधिवेशनमा नारा : नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व ले भन्छ

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु हुनुअघि राजधानी काठमाडौं आज राजनीतिक रूपमा निकै तातिएको छ । दिउँसो १ बजे भृकुटीमण्डपमा हुने उद्घाटन समारोहअघि काठमाडौं र ललितपुरका छ स्थानबाट छुट्टाछुट्टै  र्‍याली निस्किएर भृकुटीमण्डपमा केन्द्रित भएका छन् । कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निस्किएका जुलुसहरू बाजागाजा, झाँकी र नारासहित भृकुटीमण्डप पुगेका हुन् ।  र्‍यालीमा सहभागी कार्यकर्ता तथा प्रतिनिधिहरूले ‘नेपाली कांग्रेस के भन्छ ? गगन–विश्व ले भन्छ’, ‘जेनजी युवा के भन्छ ? गगन–विश्व ले भन्छ’ जस्ता नाराहरू घन्काएका छन् ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नीति र नेतृत्व परिवर्तनको माग गर्दै हस्ताक्षर गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन बोलाइएको हो । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विधानअनुसार विशेष महाधिवेशन अनिवार्य भएको भन्दै आयोजकहरूले यसलाई पार्टी रुपान्तरणको निर्णायक क्षणका रूपमा व्याख्या गरेका छन् ।

भृकुटीमण्डपमा पुगेका प्रतिनिधिहरूको साझा धारणा स्पष्ट छ–अब कांग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनैपर्छ । सिराहाबाट आएका प्रतिनिधि मुस्तक अन्सारी भन्छन्, ‘देशको अहिलेको अवस्था र युवाको चाहनाले युवा नेतृत्व खोजेको छ । कांग्रेसलाई चलायमान बनाउन गगन–विश्वको विकल्प छैन ।’ गुल्मीबाट आएकी पार्वती कुँवर नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन आवश्यक भएको बताउँछिन् । ‘जेनजी आन्दोलनपछि झन् युवाको नेतृत्वको आवश्यकता देखिएको छ । बन्दसत्रले नेतृत्व परिवर्तन गर्छ भन्ने विश्वास छ’, उनले भनिन् ।

गोरखाबाट आएका प्रेमकुमार खत्री पार्टीमा नीतिगत र संरचनागत परिवर्तन अनिवार्य भएको बताउँछन् । ‘कांग्रेस पछिल्लो समय क्लब जस्तो बनेको छ । यो विशेष महाधिवेशनले नीति, नेतृत्व र विधि सबै परिवर्तन गर्नुपर्छ’, उनको भनाइ छ । जर्मनीबाट तीन दिनको बिदा लिएर आएकी प्रतिनिधि प्रतिमा भट्टले त नेतृत्व चयन नभएसम्म नफर्किने संकल्प नै व्यक्त गरेकी छन् । ‘पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको नेताले अब विश्राम लिनुपर्छ । नयाँ पुस्ताले पार्टी र देशको नेतृत्व लिनुपर्छ’, उनले भनिन्।

नेविसंघका केन्द्रीय सदस्य मनोज पुरी विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन नगरी फर्किने विकल्प नरहेको बताउँछन् । ‘हस्ताक्षर संकलन गर्दा नीति र नेतृत्व बदल्ने वाचा गरिएको थियो । त्यो पूरा भएन भने आह्वानकर्ताले नै जिम्मेवारी लिनुपर्छ’, उनले चेतावनी दिए । उनका अनुसार यदि गगन–विश्व पछि हटे कार्यकर्ताबाटै विद्रोह हुन सक्ने अवस्था बनेको छ । युवा नेता मोहन कालाथोकी पनि अब नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको दाबी गर्छन् । ‘५४ प्रतिशत प्रतिनिधिको समर्थनपछि अब नेतृत्व नफेर्ने सम्भावना सकियो । बहुमत भृकुटीमण्डपमै छ’, उनले भने ।

उदघाटन आज, निर्णायक बन्द सत्र भोलि

आज उद्घाटन सत्र र भोलि बन्दसत्र चल्ने विशेष महाधिवेशनबाट नीति, नेतृत्व र जेनजी आन्दोलनप्रतिको पार्टी दृष्टिकोण स्पष्ट हुने अपेक्षा गरिएको छ । महाधिवेशन प्रतिनिधि मात्र होइन, साधारण कार्यकर्तासमेत ठूलो संख्यामा उपस्थित भई कांग्रेसमा ‘फ्रेस नेतृत्व’ र एकताबद्ध पार्टीसहित चुनावतर्फ अघि बढ्नुपर्ने माग गरिरहेका छन् । अब सबैको चासो एकै ठाउँमा केन्द्रित छ–के यो विशेष महाधिवेशनले साँच्चै कांग्रेसको नेतृत्व र दिशामा ऐतिहासिक मोड ल्याउला ?

 

 

आज पृथ्वी जयन्ती, पृथ्वीनारायणका दश दिव्योपदेश

काठमाडौँ । तकालिन गोरखा राज्यका राजा र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती मनाईदै छ । 

पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा शेरा दरबारमामा आफ्ना भारदारहरूलाई राज्य सञ्चालनका विभिन्न आयामका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्योपदेशका नामले पनि चिनिन्छ । 

उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाई छ। पृथ्वीनारायण नारायण शाह भन्दथे कि ‘बुढाहरू मर्दा कोही अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा घतिला(गहिरो अर्थ भएका) हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन्।’

पृथ्वीनारायण शाहका दस ‘दिव्य-उपदेश’
– बुढा मरै भाषा सरै भनि भन्छन् । तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् ।

–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो । त्यो पाटन । त्यो काठमाडौं हो । भनि देषा(या) र मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो ।

–लमजुन् भन्याको गरुड हो । गोर्षा भन्याको सरप हो । नेपाल भन्याको भ्यागुता हो । अघी गरुडको आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउछ ।

–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ । चीन वादशाहसित ठूलो घाहा राष्नु । दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु तर त्यो महाचतुर छ ।

–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ । षेलषाल मात्र ठुलो रहेछ । कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन । सुरो पनि हंदैन ।

–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्‍या पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भया आफ्नु देस गमन रहन्छ ।। 

–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु । गर्‍हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु ।

–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु । क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् । 

–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु । नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भंडार भन्याका रैतानहरू हुन् ।

–मेरा साना दुषले आज्र्याको मुलुक होइन । सबै जातको फुलबारि हो । सबैलाई चेतना भया । यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ) ।

एकता भङ्गपछि रास्वपाले सच्यायो समानुपातिक बन्दसूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बुझाएको बन्दसूची पुनः अध्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँग भएको एकता औपचारिक रूपमा भङ्ग भएपछि रास्वपाले आइतबार निर्वाचन आयोग पुगेर संशोधित सूची दर्ता गराएको हो । रास्वपाका प्रवक्ता मनीष झाले उज्यालो नेपालसँगको एकता शनिबार साँझ अन्त्य भएपछि आसन्न निर्वाचनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समानुपातिक उम्मेदवारको सूची अद्यावधिक गरिएको जानकारी दिए। यसअघि एकताको सहमतिअनुसार दुवै दलले संयुक्त रूपमा समानुपातिक बन्दसूची बुझाएका थिए ।

एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् । तर, अब फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टी समानुपातिकतर्फ सहभागी नहुने भएको छ । एकता कायम रहँदा उज्यालो नेपालका तर्फबाट पनि रास्वपाकै नाममा सूची बुझाइएको थियो । यसैबीच, रास्वपाले यसअघि बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र र बाहिर व्यापक आलोचना भएको थियो ।

आलोचनापछि सूचीमा समेटिएका डा. रामजी राम, डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू, सिर्जना ओली (सिर्जु) र मोहना अन्सारीलगायतले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका थिए । उज्यालो नेपालबाट समावेश गरिएका तथा नाम फिर्ता लिएका नेताहरूको स्थानमा नयाँ नाम समेटेर रास्वपाले समानुपातिक बन्दसूची पुनः संशोधन गरेको हो । पार्टीका अनुसार अद्यावधिक सूची निर्वाचन आयोगको नियम र समयसीमाअनुसार दर्ता भइसकेको छ । एकता भङ्ग र बन्दसूची संशोधनको यो घटनाले निर्वाचनको तयारीमा रहेका दलहरूको आन्तरिक व्यवस्थापन र रणनीतिमा प्रभाव पार्ने देखिएको छ ।