`

ओलीको अडान : कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्नँ

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै पनि आयोगले बोलाउँदैमा लुरुलुरु बयान दिन नजाने बताएका छन् । आज (आइतबार) सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।

‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’ अध्यक्ष ओलीले आफूले मात्रै देशको चिन्ता लिएर दुःख पाउनु परेको बताएका छन् । ओलीले आफूभन्दा धेरै आयु भएका व्यक्तिहरूले देशको बारेमा चिन्ता लिनुपर्ने बताए । आफू ७३ वर्ष उमेरको भइसकेको भन्दै आफैंले मात्रै दुःख पाउनुपर्ने ? भन्दै उनले प्रश्न गरे ।

‘देश मेरो मात्रै होइन नि त । म ७३ त पूरा भइसकें । मैले मात्रै दुःख पाउने ? मैले भन्दा धेरै बाँच्नुपर्ने मान्छे नेपालमा थुप्रै छन्,’ ओलीले भने, ‘देशको बारेमा उनले मेरो भन्दा बढी सोच्नुपर्ने हो । म सँग किन रिस उठेको हो थाहा छैन । मैले भ्रष्टाचार गरिनँ ।’
उनले नेपालमा राजनीतिक दल र नेताहरूप्रति घृणा भएको स्वीकार गरेका छन् ।

‘नेपालमा पनि पोलिटिक्स, पोलिटिकल पार्टी र लिडरसँग घृणा छ,’ उनले भने, ‘अनुभव नै नभएका छन् । यो ओलम्पिकमा सेलेक्सन किन गर्नुपर्‍यो ? जेनजी पठाऔं न । उहाँहरू सेलेक्सन मान्न त गाह्रो हुन्छ ।’ उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालतर्फ इंकित गर्दै कानुन पढेकाहरू मन्त्री प्रधानमन्त्री भएको बताए । ‘अनि कोही कानुन पढेर न्यायाधीश भएका प्रधानमन्त्री हुने, कोही कानुन पढेका मात्रै अर्को मन्त्री हुने,’ ओलीले भने ।

तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बद्नियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी/गराई भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डा मिश्रा, विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटाविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरिएको छ ।

यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इञ्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इञ्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

ज्यान जोखिममा राखेर सत्य बोलिरहेको छु : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै जोखिम भए पनि सत्य बोल्ने आफ्नो बानी रहेको बताएका छन् । जेन–जी आन्दोलनपछि सरकार छोडेका उनले पहिलो पटक सम्पादकसँगको संवाद गर्दै सो कुरा गरेका हुन्। ‘ज्यान जोखिममा राखेर असत्यको विरोध गरेको छु,’ उनले भने, ‘मेरो सिद्धान्त, नीति अहिले पनि बदलिएको छैन, अहिले पनि त्यसैमा छु ।’

जेनजीलाई धोका दिएर विरोध प्रदर्शन हिंसात्मक भएको उनले दाबी गरे । ‘जेनजीले उठाएका जम्मा तीनवटा माग थिए तर, त्यहाँ प्रधानमन्त्रीको राजीनाको माग थिएन,’ ओलीले थपे, ‘म तिनै कुराको लागि लडिरहेको थिएँ ।’

सम्पादकहरुलाई ओलीको प्रतिप्रश्न : तपाईंहरुले आत्मालोचना गर्नु भयो ?
एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन र त्यसपछि भएका मानवीय र भौतिक क्षतिबारे पत्रकारहरुले पनि आत्मआलोचना गर्नुपर्ने बताएका छन् । आइतबार संवादकहरुसँगको संवादमा यत्रो क्षति हुँदा पनि किन आत्मआलोचित नभएको भन्ने प्रश्न उनलाई गरिएको थियो । त्यसको जवाफमा ओलीले पत्रकारहहरू पनि जेनजी आन्दोलनमा भएको हिंसाको कारक भएको भन्दै आत्मलोचना तपाईंहरुले पनि गर्नुभयो होला भनेर प्रतिप्रश्न गरे ।

‘अरुले आत्मआलोचना गरे, सम्पादकज्यूहरुले पनि गर्नु भयो होला,’ ओलीले भने, ‘अशान्तिको वातावरण बनाएकोमा, हिंसाको वातावरण बनाएकोमा पक्कै पनि महसुस गर्नु भएको होला भन्ने ठान्छु म । प्रोभोकेसन जुन गर्नु भएको थियो, सबैलाई भन्दिनँ जसले गर्नु भएको थियो उसैले सम्झिनु होला भन्ने ठान्छु ।’ उनले आफूमा अहंकार नभइ सत्य बोल्ने बानी भएको उल्लेख गरे। ‘पक्कै पनि हेर त दम्भव, अहंकार भन्नु हुन्छ । यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी छ,’ ओलीले भने ।

ग्लोबल आइएमई बैंकलाई दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनद्वारा प्रदान गरिएको प्रतिष्ठित ‘बेस्ट बैंक अवार्ड २०२५’ बाट दोस्रो पटक सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक साझेदारी, व्यावसायिक र ग्राहकमैत्री सेवा विकास, तथा क्रेडिट रेटिङका मापदण्डमा उत्कृष्ट ठहरिँदै ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि नेपालकै उत्कृष्ट बैंकका रूपमा चयन भएको हो । यसअघि पनि बैंकले सन् २०२४ मा यही अवार्ड प्राप्त गरेको थियो ।

अध्यक्ष ढकालले यस सम्मानले बैंकलाई अझ नवप्रवर्तनशील र उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गर्ने बताए । उनले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, सेयरधनी, कर्मचारी, ग्राहक र साझेदारहरूलाई आभार व्यक्त गर्दै भने, ‘यो अवार्ड हाम्रो सबैको सामूहिक प्रयासको परिणाम हो ।’
ग्लोबल फाइनान्स म्यागाजिनले यस वर्ष अफ्रिका, एसिया–प्यासिफिक, ल्याटिन अमेरिका, मध्यपूर्व, र युरोपका उत्कृष्ट बैंकहरूलाई समेत सम्मान गरेको छ । सो सूचीमा हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, जापानको एसएमबीसी, मलेशियाको यूओबी, बंगलादेशको सिटी बैंक र नेपालको ग्लोबल आइएमई बैंक पनि समावेश छन् ।

ग्लोबल आइएमई बैंक यो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। यसअघि पनि बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४, २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर अवार्ड जस्ता प्रतिष्ठित सम्मानहरू प्राप्त गरिसकेको छ ।

वर्तमानमा बैंकले देशका ७७ वटै जिल्लामा ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले विश्वका विभिन्न देशहरू–अमेरिका, अष्ट्रेलिया, कोरिया, जापान, कतार, साउदी अरब, मलेशिया, यूएई लगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

 

जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको बताएका छन्।

आइतबार राजधानीमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए  भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने।’

ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म तिनै तीन कुराका लागि लडिरहेको थिएँ।’ उनका अनुसार ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए।

देश र जनताप्रति बफादार छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको तर अहिले त्यो भंग भएको टिप्पणी गरेका छन् । आज (आइतबार) सम्पादकहरूसँगको छलफलका क्रममा उनले अहिले देशमा त्रासको वातावरण भएको बताए । उनले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी पनि गरेका छन् । कसैलाई मन परे पनि नपरे पनि उक्त बफादारिता नछाड्ने उनले बताए ।

‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुंग भएको छ । अस्थिरतामा गएको छ,’ ओलीले भने, ‘अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’

प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय प्रधानमन्त्रीबाट सदर

काठमाडौं । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको ‘एनेक्स’ भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय गरिएको छ । महाप्रबन्धक प्रदीप अधिकारीले प्राधिकरण सञ्चालक समितिको असोज ३० गतेको बैठकले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको जानकारी दिए। सञ्चालक समितिले उक्त निर्णयमा सञ्चालक समितिका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेकी छन् ।

निर्णयमा लेखिएको छ, ’२०८२ भदौ २३ र २४ मा भएको प्रदर्शनका क्रममा काठमाडौं जिल्ला अदालतको भवनमा क्षति हुन गई कार्य सञ्चालनमा बाधा पुगेको, सर्वोच्च अदालत एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट समेत उक्त भवन जिल्ला अदालत काठमाडौंलाई तत्काल उपलब्ध गराई सेवा सञ्चालनमा सहजीकरण गर्न प्राधिकरणलाई अनुरोध भई आएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बबरमहलस्थित प्राधिकरणको मूल भवनको पूर्वतर्फको ‘ब्लक बी’ भवन दुई पक्ष (काठमाडौं जिल्ला अदालत र प्राधिकरण) बीच आवश्यक सम्झौता गरी काठमाडौं जिल्ला अदालतको सेवा सञ्चालन गर्न दिने ।’ काठमाडौं जिल्ला अदालत र सँगै रहेको प्राधिकरणको मूल भवन आजगनीका कारण क्षतिग्रस्त छन् ।

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

पर्वत । साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।

जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुदुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो ।

हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

हाल जर्मनीमा बसोबास गर्दै आएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गरेका हुन् । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गरे ।

साहसिक पर्यटन प्रवर्द्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे ।

पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो ।

क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । “यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ”, उनले भने ।

नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यको अनुभव र युरोपेली प्रशिक्षकको सहयोगमा यो परियोजना अघि बढाइएको कोइरालाले बताए। उनका अनुसार खेल हेर्दा डरलाग्दो देखिए पनि पूर्ण रूपमा सुरक्षा मापदण्ड अपनाइएको थियो । “हाइलाइन २० मिटरबाट सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ”, उनले भने ।

वर्षायाम सकिएसँगै पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । सोही अवसरमा गरिएको हाइलाइन हेर्न पनि सयौँ पर्यटक सहभागी भएका थिए । यसबाहेक जिपनलाइन, बञ्जी, स्वीङ, स्काइसाइक्लिङ, मेगाट्रोल, पिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ ।

विप्लवको प्रश्न : नेपालमा ‘अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ गठन हुन लागेको हो ?

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा वैदेशिक हस्तक्षेपको सम्भावित स्वरूपप्रति गम्भीर आशंका व्यक्त गरेका छन् । उनले ‘जेनजी आन्दोलन’ सँग सम्बन्धित टीओबी (TOB) समूहको क्रियाकलापप्रति चिन्ता प्रकट गर्दै, नेपालमा ‘संयुक्त अमेरिकी–नेपाली–तिब्बतीयन सेना’ बनाउने योजनाको संकेत देखिएको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले टीओबी भन्ने समूह देखिएको छ । हतियार देखाएको छ । अमेरिकाको प्रत्यक्ष हस्तक्षेप भएको देखिन्छ । कतै अमेरिकी–नेपाली–तिब्बतीयन सेना बनेको त होइन ?’

विप्लवले हालको सरकार र संविधानमा गहिरो असन्तुष्टि प्रकट गर्दै सर्वपक्षीय अन्तरिम सरकार गठनको माग राखेका छन् । उनका अनुसार, यस्तो सरकारमा जनआन्दोलनमा संलग्न सबै पक्ष, उत्पीडित वर्ग, किसान, मजदुर, दलित, महिला, मधेशी, जनजाति, बुद्धिजीवी, व्यवसायी र वैज्ञानिकसम्मको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

संविधान सुधार र सत्ता संरचनामा आमूल परिवर्तनको माग

महासचिव चन्दले संविधान पुनर्लेखनको खाँचो औंल्याउँदै उच्चस्तरीय संविधान सुधार आयोग गठनको प्रस्ताव राखेका छन् । उनले वर्तमान शासन संरचना परिवर्तन गरी पूर्ण समानुपातिक प्रणालीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली निर्माण गर्नुपर्ने माग समेत गरे । ‘शासकीय स्वरूप नै बदल्नुपर्ने बेला आएको छ’, उनले भने, ‘संविधान संशोधन बिना अगाडि बढ्न सकिन्न, त्यसपछि मात्र निर्वाचनमा जान सकिन्छ ।’

भ्रष्टाचार, कालोधन र नोटबन्दीको माग
विप्लवले देशमा व्यापक कालोधन थुप्रिएको दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट तत्काल खारेज गर्नुपर्ने बताएका छन् । ‘पैसा जनतासँग छैन । पूँजी निष्क्रिय बनेको छ’, भन्दै उनले कालोधनको स्रोत पत्ता लगाउन छानबिन आयोग गठनको माग गरे । उनका अनुसार विदेशी बैंकमा लुकाइएको नेपाली सम्पत्तिमाथि समेत छानबिन हुनुपर्छ ।

नेकपाको उद्योग र उत्पादनमूलक कार्यदिशा

नेकपाले पार्टीको उत्पादनमूलक कार्यदिशालाई निरन्तरता दिँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत कृषि र उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ । विप्लवका अनुसार, यस वर्ष वर्षे बालीको उत्पादन अपेक्षाकृत राम्रो भएको छ र पार्टीले उत्पादनलाई राजनीतिक कार्यक्रमसँग जोड्दै जानेछ ।

एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता
पत्रकार सम्मेलनको अन्त्यतिर विप्लवले वाम आन्दोलनलाई मजबुत बनाउन सबै कम्युनिष्ट शक्तिहरू एकीकृत हुनुपर्ने बताए । ‘अब एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न आवश्यक छ’, उनले जोड दिए ।

 

जेनजी आन्दोलनपछि पहिलो पटक ओली पत्रकारहरुसँगको अन्तरक्रियामा (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन्।

प्रेस चौतारी नेपालको आयोजनामा ओलीले सम्पादकहरुसँग संवाद गरेका हुन्।

मलामी बोकेको ट्याक्टर दुर्घटना : तीनको मृत्यु, नौं जना घाइते

कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आज दुर्घटना भएको हो ।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।
दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइतेबारे थप विवरण आउन बाँकी छ । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

 

लुटेका हतियार र भागेका कैदी प्रयोग गर्दैनौं भनेर दलहरुले स्वघोषणा गर्नुपर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गरिने बताएका छन् । ती हतियारहरु राजनीतिक दलहरुले दुरुपयोग गर्न नहुने उनले बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्याललाई लुटिएका हतियारले चुनावमा जोखिम उत्पन्न गर्दैन ? भनेर सोधिएको थियो । जवाफमा शर्माले हतियारहरु कुनै पनि संगठित गिरोहको हातमा नपुगेको दावी गरे ।

उनले भने, ‘हाम्रो विश्लेषणले ती हतियारहरु कुनै संगठित गिरोहको हातमा पुगेको छैन र पुग्दैन भन्ने नै छ । उनीहरु असंगठितरुपमा लुकिछिपी बसेका छन् । त्यसलाई जसरी पनि रिकभर गछौं । ती भागेका कैदीबन्दीहरु र हतियारलाई राजनीतिक दलले प्रयोग गर्ने वा सहयोग लिने छैनौं भनेर स्वघोषणा गर्नुपर्‍यो । अरुलाई प्रयोग गर्न दिँदैनौं ।’ भागेका कैदीबन्दीलाई राजनीतिक गतिविधि वा सरकार र व्यवस्था विरोधि क्रियाकलापमा प्रयोग नगर्ने भनेर राजनीतिक दलले घोषणा गर्नुपर्ने उनको माग छ ।

‘शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं’
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको जानकारी गराएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले शान्ति सुरक्षाको प्रत्याभूत गराउनका लागि संयुक्त पेट्रोलिङ सुरु गर्ने जानकारी गराए । ‘निर्वाचनको वातावरण बनाउन, शान्ति सुरक्षाको प्रत्याभूत गराउन संयुक्त पेट्रोलिङ गर्ने, सुरक्षा फौजको पेट्रोलिङ गर्ने । त्यही बीचमा हतियार रिकभर गर्ने लगायतका काम अघि बढाउँछौं,’ गृहमन्त्री लेखकले भने ।

 

जेनजी आन्दोलनपछि पहिलोपटक सञ्चारकर्मीसँग अध्यक्ष ओली (लाइभ)

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।

जेन—जी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा सहभागी भएका हुन् । छलफलमा ओलीेले पत्रकारहरुको जिज्ञासा सुन्ने क्रम शुरु भएको छ । त्यसपछि उनले जवाफ दिनेछन् ।

 

निर्माण व्यवसायीले गृहमन्त्रीलाई भेटेर मागे शान्ति सुरक्षाको प्रत्याभुति

काठमाडौँ । निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमुलक टोलीले आज गृहमन्त्री अर्याललाई भेटेको हो । भेटमा निर्माण उद्योगलाई चलायमान गराउने विषयमा छलफल भएको छ ।

निर्माणजन्य कार्यमा असुरक्षाको महशुस हुने वातावरण भएको भन्दै व्यवसायीहरुले ढुक्कसँग काम गर्नसक्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भेटबारे जानकारी दिँदै दीपावली पछि निर्माणका काममा तिब्रता दिन लागिएको र उश्रृङ्खल तत्वबाट बाधाअड्चन खडा गर्ने भएकाले सुरक्षाको प्रत्याभुति मिलाउन गृहमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

अध्यक्ष सिंहले भने– ‘दिपावली पछि निर्माणको काम तिब्रता दिँदैछौं । उश्रृंखल तत्वबाट अवरोध खडा गर्नसक्ने भएकाले गृहमन्त्रीको ध्यानाकर्षण गरायौँ । हामीले कार्यक्षेत्रमा गएर काम गर्नका लागि शान्ति सुव्यवस्था हुनप¥यो भनेर गृहमन्त्रीसँग माग गरेका छौं । गृहमन्त्रीले शान्ति सुरक्षाको पूर्णरुपमा अनुभुति हुनेगरी दिलाउने बताए ।’

अध्यक्ष सिंहकाअनुसार शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने गृहमन्त्रीले भेटका क्रममा बताए । व्यवसायीहरुले कामका क्रममा भोग्नुपरेका कानूनी अड्चनका, समस्याबारेमा समेत गृहमन्त्रीसमक्ष जानकारी गराएका थिए ।

नेकपाले गर्‍यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेज र सर्वपक्षीय सरकार गठनको माग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ । नेकपाले आज (आइतबार) पत्रकार सम्मेलन गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो । अहिलेको सरकारले सबैलाई र जेनजी आन्दोलनकै भावनालाई समेत समेट्न नसकेको उल्लेख छ ।

नेकपाले चुनावमा भाग लिने तर त्यसका लागि सुरक्षाको वातावरण नरहेको जनाएको छ ।‘नेकपा चुनावमा भाग लिन चाहन्छ । तर सुरक्षा छैन । राजनीतिक तहमा उच्चस्तरीय संयत्न बनाउनु पर्छ’ नेकपाले भनेको छ, ’जबरजस्ती चुनावको कुरा गरिन्छ भने त्यो कठपुतली नचाउने थलो बन्छ ।’

 

गायिकाको आत्मदाह प्रयासपछि गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा

काठमाडौं । एक गायिकाले स्टुडियोमा आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) सोधपुछका का लागि जिल्ला प्रहरी परिसरमा राखिएका छन् । शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी थिइन् । उक्त घटनामा गायक गिरी पनि सामान्य घाइते भएका छन् ।

गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्ज लगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी अहिले पनि जिल्ला प्रहरी परिसर, भद्रकालीकै हाताभित्र रहेको प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् । के कसरी घटना भएको हो भन्ने कुरा बुझ्नका निम्ति गिरीलाई नियन्त्रणमा लिइएको भट्टराईले जानकारी दिएका छन् । गिरीलाई म्याद थपेर मुद्दा चलाइहाल्नु पर्ने कुनै कारण नभएको उनले बताएका छन् ।

वैशाखी टेकेर प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी घाइतेहरु (तस्बिरहरु)

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको एक समूह प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ । आइतबार उनीहरू वैशाखी टेकेरै प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न सिंहदरबार पुगेका हुन् ।

समूहमा करिब दुई दर्जना युवा सहभागी रहेका छन् ।

घाइतेहरूले प्रदर्शनको क्रममा भएको घटना र आफ्नो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्य राखेको बताएका हुन् ।

 

तिहारमा ६ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसप टक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान रहेको जनाएको हो ।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए । ‘यस पटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु प¥यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन् । अब सास्ती बेहोर्नु पर्ने छैन’, उनले भने ।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए । ‘दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो। शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ । अब राष्ट्रिय राजमार्गमा समस्या छैन’, उनले भने, ‘कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ ।’

हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत {तस्वीरहरु}

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । श्रम संस्कृति पार्टी दर्ताका लागि यस अघि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ आइतबार बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेर फर्किएका हुन् ।

उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि अहिले सनाखत गरिरहेका आयोगले जनाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यले आयोगमा पुगेर सनाखत गरे पनि साधारण सदस्यलाई सनाखत गर्नका लागि भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाइएको छ । उनीहरुले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्नेछन् । त्यहाँबाट सनाखत गर्ने कार्य पुरा भएर विवरण आयोगमा आएपछि दल दर्ताको प्रक्रिया अन्तिम चरणमा पुग्नेछ । त्यसपछि आयोगको बैठक बसेर दल दर्ता गर्ने निर्णय गर्नेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

तिहारको मुखमा विदेशिने युवा भन्छन्, ‘अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्’

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरुको चाप उल्लेख्य रूपमा बढेको छ । पछिल्लो केही दिनयता दैनिक हजारौं यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् ।

विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ । अधिकांश यात्रु खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रमिक गन्तव्यतर्फ प्रस्थान गरेका छन् । तिहार जस्तो सांस्कृतिक पर्वमा परिवारबाट टाढा हुनुपर्ने अवस्था एक पीडादायी भएको वैदेशिक रोजगारीका लागि देश छोड्दै गरेका युवा श्यामकुमार रैलाले बताए । अन्तरिम सरकारलाई देशमा रोजगारीको सिर्जना गर्ने वातावरण निर्माणको व्यवस्था होस् भन्ने उनको सुझाव रहेको छ ।

उनले भने, ‘चाडबाडको मुखमा यसरी आफ्नो स्वदेशी भूमि छाडेर विदेशमा जानुपर्दा हरेक नेपालीलाई नराम्रौ लाग्छ, मलाई मात्र होइन । अब देशमा नयाँ सरकार गठन भएको छ । नयाँ नयाँ परिवर्तन हुँदैछ विस्तारै । अब हामी जस्तो पढेलेखेका युवाहरु देशलाई चाहिन्छ हामीलाई पनि थाहा छ त्यो । रोजगारीको वातावरण यो नयाँ आएको सरकारले हामीलाई व्यवस्था गरिदियोस् भन्ने हाम्रो चाहना हो । अब भएका दक्ष युवा शक्तिहरु नेपालमै हुन् भन्ने चाहीँ हाम्रो पनि कामना हो ।’ एकातिर देशमा तिहारको रौनक तयार हुँदैछ । अर्कातर्फ हजारौँ नेपालीहरू विमानस्थलमा परिवारको हात छोडेर आफ्नो भविष्य खोज्दै उडिरहेका छन् । —न्युज एजेन्सी नेपाल

तिहार सुरू भएसँगै किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं। तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन् । किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन् ।

यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर यो वर्ष भने अरू बेला जस्तो सयपत्री नफुलेको किसानहरू बताउँछन्।

मन्त्रीमा चर्चा भएकी डा. मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जेनजीको सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चामा भएकी मिश्रविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दाको फाइल पेश गरेको हो । ‘विशेष अदालतमा भर्खरै आरोपपत्र पेश भएको छ र फाइल रुजु गरी दर्ता गर्ने क्रम चलिरहेको अखितयार स्रोतले जानकारी दिएको छ ।

उनी स्वास्थ्य सचिवको आकांक्षी थिइन् । सरकारले उनको साटो डा. विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन् । जेनजीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।

स्वभाविक स्वास्थ्यमन्त्रीको रुपमा मिश्राको नाम चर्चामा आउन थालेपछि अख्तियारका पदाधिकारीहरुले प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई ‘उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै भ्रष्टाचारको आरोपपत्र दर्ता हुनसक्ने’ जानकारी गराएको थियो । त्यसपछि मिश्राको नाम एकाएक रोकिएको थियो । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेश गरेको हो ।

नर्सका माग सम्बोधन गर्न सरकारले बनायो समिति, आजै वैठक

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा अनुप बाँस्तोला सदस्य छन् । यस्तै चिकित्सा शिक्षा आयोगका निर्देशक, स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख पनि सदस्य छन् ।

देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरुले उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलन गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिवसहितको टोलीलाई बोलाएर तत्काल सम्बोधन गर्न निर्देशन दिएकी थिइन्। प्रधानमन्त्री कार्कीसँग स्वास्थ्य मन्त्रालय पनि आफैसँग छ । समितिको पहिलो बैठक आजै बसेर आन्दोलनरत नर्सहरुलाई काममा फर्काउने वातावरण बनाउने प्रयास भइरहेको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

‘भोलिदेखि तिहार बिदा छ । धेरै जनशक्ति बिदामा बस्ने भएकाले कामको चाप हुन्छ । त्यसैले आजै सहमति गरी आन्दोलनरत पक्षलाई काममा फर्काउने कोशिसमा छौँ,’ डा देवकोटाले भने, ‘काममा फर्किनका लागि हाम्रो आह्वान पनि छ ।’ डा. देवकोटाका अनुसार समितिले एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन दिनुपर्नेछ । तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा सुझावसहितको प्रतिवेदन दिनुपर्ने समितिको कार्यादेश छ ।

गृह, अर्थ, श्रम, शिक्षा मन्त्रालयका प्रतिनिधि पनि सदस्य छन्।नेपाल नर्सिङ परिषद्, नेपाल नर्सिङ, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स, अफिन, आन्दोलनरत नर्सका प्रतिनिधि पनि समितिमा रहेका छन् । स्वास्थ्य मन्त्रालयकै चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ । नर्सहरुले सरकारले तोकेको आधारभूत तलब तथा सुविधा पाउनुपर्ने माग गरिरहेका छन् । अहिले सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपैयाँ रहेको छ ।

समितिको कार्यादेशः
१. निजी तथा सामुदायिक अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्गरस्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा तलब सुविधा सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य निकायबाट भएका परिपत्र एवं प्रतिवेदनहरुको आधार लिने र विश्लेषण गर्ने ।

२. निजी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा नर्सिङ लगायतका स्वास्थ्यकर्मीहरुको मर्यादित श्रम तथा सुविधाका सम्बन्धमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरकारी सरह न्यूनतम तलब भत्ता प्रदान गर्न पटकपटक भएका निर्देशन, परिपत्रहरुको हालसम्म कार्यान्वयन नभएकाले सोको यथाशीघ्र कार्यान्वयन गर्न सहमति कायम गर्ने ।

३. यस किसिमका समस्याहरु बारम्बार आईरहेको परिप्रेक्ष्यमा दिर्घकालीनरुपमा यस समस्याको समाधान गर्न नेपाल सरकार, सम्बन्धित मन्त्रालयहरुले गर्नुपर्ने कार्यको लागि राय सुझाव र कार्ययोजना प्रतिवेदन पेश गर्ने ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कति सकियो काम ?

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उनले टावरको वाल निर्माण गर्ने काम समेत भइरहेको बताए । उनका अनुसार टावर तीन तलाको हुनेछ ।
‘प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम हुँदैछ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर रहेका छन्’, मिश्रले भने, ‘दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहार लागेसँगै मुस्लिम समुदायका २५–३० जनाले मात्र काम गर्नेछन् । छठपछि कामले तीव्रता पाउने छ ।’ ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको महानगरले जनाएको छ ।
पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने महानगरका इञ्जिनियर मिश्रले जानकारी दिए । उनका अनुसार थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।  त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका–१५ मा पर्दछ । अन्तर्राष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।

योगेश भट्टराईको पाँच बुँदे प्रस्ताव : प्रतिनिधिसभा पुनर्स्थापना, पूर्व प्रधानमन्त्रीहरूलाई प्रतिबन्ध

काठमाडौं । नेपालको राजनीतिक मञ्चमा फेरि एक पटक शक्तिशाली बहसको प्रवेश भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनासँग जोडिएको पाँच बुँदे प्रस्ताव सार्वजनिक गर्दै वर्तमान राजनीतिक संकटको वैकल्पिक खाका अगाडि सारेका छन् । तर, यो केवल सामान्य प्रस्ताव होइन–यो प्रस्तावले विगतका शक्ति केन्द्रहरूलाई सिधा चुनौती दिएको छ ।

भट्टराईको प्रस्तावको केन्द्रबिन्दुमा रहेको छ, ‘अब पूर्व प्रधानमन्त्रीहरू फेरि प्रधानमन्त्री बन्न पाउने छैनन्’ भन्ने कठोर शर्त । विगतका अनुहारहरूले देशलाई बारम्बार पुरानै गल्तीतिर डोर्‍याएको ठहर गर्दै उनले नयाँ राजनीतिक यात्रामा नयाँ पुस्ता र जनमतको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।

पाँच बुँदे प्रस्तावमा के भन्छन् भट्टराई ?
पूर्व प्रधानमन्त्रीहरूको ‘कमब्याक’ बन्द
पुनःस्थापित संसदबाट विगतमा प्रधानमन्त्री भइसकेका नेताहरूलाई पुनः सत्तामा फर्कन नदिने स्पष्ट अडान ।

सर्वदलीय सरकारमा ‘जेनजी’ को सहभागिता
दलहरूबीच सहमतिको आधारमा युवापुस्ताको प्रतिनिधित्व हुनेगरी सर्वदलीय सरकार बनाउने ।

संविधान संशोधनमा ‘जेनजी आन्दोलन’ को प्रभाव
नयाँ पुस्ताको भावना र मागअनुसार संविधान संशोधन गरिने– ‘बाहिरी दबाब होइन, भित्री आवश्यकता’ को संकेत ।

सुशासनका लागि विशेष प्रस्ताव
भ्रष्टाचार र कुशासनविरुद्ध ठोस कानुनी र राजनीतिक प्रतिबद्धतासहित संसदले विशेष प्रस्ताव पारित गर्ने ।

आठ महिनाभित्र चुनाव
‘वन नेसन, वन इलेक्सन’ मोडेल ल्याउँदै संघ, प्रदेश र स्थानीय तहका चुनाव एकैचोटि सम्पन्न गर्ने ।

ओलीप्रति संकेत ? वा नयाँ नेतृत्वको सन्देश ?
भट्टराईको प्रस्ताव ‘पूर्व प्रधानमन्त्री’ लाई पुनः सत्तामा ल्याउन नपाइने भन्ने बुँदाबाट केपी शर्मा ओलीप्रति संकेत भएको प्रष्ट देखिन्छ । एमाले अध्यक्ष ओलीले भने वर्तमान राजनीतिक संकटको समाधानको रूपमा सडक आन्दोलन र संसद पुनःस्थापनाको माग अघि सार्दै आएका छन् । भट्टराईले भने शान्तिपूर्ण र संवैधानिक बाटोबाटै निकास खोजिनु पर्नेमा जोड दिएका छन् । उनका अनुसार अहिलेको द्वन्द्वमूलक राजनीति देशलाई संवैधानिक शून्यतामा लैजान सक्छ ।

भावना होइन, समाधान खोजौं : भट्टराई

भट्टराईले प्रतिनिधिसभा पुनःस्थापनाको सवाललाई भावनाको तहबाट माथि उठाएर राजनीतिक सहमति र संवैधानिक समाधानका दृष्टिले हेर्न आग्रह गरेका छन् । उनका अनुसार, सरकारले तोकेको समयमा चुनाव गराउन नसकेको खण्डमा जनसमर्थनसहित संसद पुनःस्थापनाको माग उठ्न सक्छ–तर त्यसो गर्दा पनि स्पष्ट मापदण्ड, प्रतिबद्धता र नीतिगत तयारी हुनुपर्छ ।

भविष्यको संकेत : पुस्ता परिवर्तनको युग ?
यो प्रस्ताव केवल संसद पुनःस्थापनाको बहस मात्रै होइन, यो सम्भावित ‘लीडरशिप ट्रान्जिसन’ अर्थात् नेतृत्व हस्तान्तरणको संकेत पनि हो । जहाँ पुराना अनुहारहरूलाई विश्राम दिई नयाँ पुस्ताले मुलुकको भविष्य निर्धारण गर्ने मोडतिर देश अग्रसर हुने सम्भावना देखिन्छ ।

तिहारको झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर किशोरको मृत्यु

पर्सा । वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

साहलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पतालमा पुर्‍याइएको थियो । तर, उनको मृत्यु भने बाटोमा नै भएको पर्सा प्रहरीले जनाएको छ । मृतक साहको शवलाई परीक्षणका लागि नारायणी अस्पतालमा राखिएको छ ।

तिहारमा जति मन लाग्छ बत्ती बाल्नुस् : प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन सकिने बताएको छ । उज्यालोको पर्व तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा विश्वस्त रहन प्राधिकरणले आम उपभोक्तालाई आग्रह गरेको हो । प्राधिकरणका अनुसार तिहारको समयमा उद्योग धन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठुलो मात्रामा बिजुली बचत हुन्छ । जसलाई घरायसी प्रयोजनका लागि सहजै उपलब्ध हुन्छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन । उनले भने– ‘पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नु हुन्छ ।’

उनले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरे । तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ । उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ, जसले गर्दा बत्तीको माग बढे पनि आपूर्तिमा कुनै कमी हुने छैन । प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । कुनै स्थानमा फल्ट भएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिनेछ ।

विगतका वर्षहरूमा तिहारको समयमा, विशेषगरी लक्ष्मी पूजाको दिन, विद्युतको माग बढेर अधिकतम १६ सय मेगावाटसम्म पुग्ने गरेको थियो । यस वर्ष पनि सोही हाराहारीमा माग रहने प्राधिकरणको अनुमान छ । सामान्यतया तिहारमा साँझ ६ बजेदेखि ९ बजेसम्मको समयमा विद्युत् खपत ३० देखि ४० प्रतिशतसम्म बढ्ने गर्छ । प्राधिकरणले विद्युत् प्रणालीलाई विश्वसनीय बनाउन नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसनको स्तरोन्नती र पूर्वाधार थप्ने कामलाई निरन्तरता दिएकोले पनि यस वर्ष आपूर्ति थप भरपर्दो हुने विश्वास दिलाइएको छ ।

ट्रम्प र जेलेन्स्कीबीच भेटः त्रिपक्षीय शिखर सम्मेलन अस्वीकार

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।

तर निकट भविष्यमा अमेरिका–रूस–युक्रेन शिखर सम्मेलनलाई अस्वीकार गरे । जेलेन्स्कीसँगै बोल्दै ट्रम्पले हंगेरीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उनको योजनावद्ध भेट केवल दोहोरो बैठक हुने बताए । जसमा मस्को र कीभबीच धेरै खराब रगत रहेको उल्लेख गरिएको थियो ।

रूस–युक्रेन द्वन्द्वमा वाशिंगटनको रणनीतिको केन्द्रबिन्दु अमेरिकाले बनाएको टोमाहक क्रूज मिसाइलहरू प्रदान गर्ने बारेमा सोध्दा ट्रम्पले संयुक्त राज्य अमेरिकालाई पनि हतियारहरू चाहिन्छ भन्ने जवाफ दिए । तिनीहरूलाई युक्रेनमा स्थानान्तरण गर्नाले द्वन्द्वको ठूलो वृद्धि हुनसक्ने चेतावनी दिए।

जेलेन्स्कीले गाजा युद्धविराम पछि रूस–युक्रेन द्वन्द्व समाप्त गर्ने गति रहेको बताए । तर मस्कोलाई वार्तामा फर्कन अस्वीकार गरेको आरोप लगाए । वाशिंगटनलाई रूसमाथि दबाब दिन आग्रह गरे । ट्रम्पको दोस्रो कार्यकालमा जेलेन्स्कीको यो ह्वाइट हाउसको तेस्रो भ्रमण थियो ।

ट्रम्पले पुटिनसँग गरेको लामो फोन वार्ताको एक दिन पछि यो भेट भएको थियो । ट्रम्प र पुटिनले अन्तिम पटक अगस्टमा युक्रेनमा वार्ताका लागि अलास्कामा भेटेका थिए । तर कुनै सम्झौता भएन । युद्धविराम वार्ता गतिरोधमा रहेको छ ।

मोहन वैद्यले पनि छाडे नेतृत्व, सीपी गजुरेललाई दिए महासचिवको जिम्मा

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वेच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् । ८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने भएको छ ।

‘किरणजी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले सुनाए ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा– माओवादी’ बनेको थियो । २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए । भदौं २३–२४ गतेको जेनजी विद्रोहपछि सबैजसो शीर्ष नेताहरुलाई नेतृत्व हस्तान्तरण गर्ने दबाब परेको छ । अहिले सबैजसो दलहरुमा नेतृत्व परिवर्तनको बहस चलिरहेको छ ।

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ पुनः निर्माण सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो ।

लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, ‘निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।’ सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए । निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ ।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए । उनले भने, ‘अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।’

त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ । सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छभने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ । रासस

 

चीनकै ठूलो मरुभूमिमा फलफूल फलाइयो

काठमाडौं । ताक्लिमाकान मरुभूमिको उत्तरी सिमाना, जहाँ खेतीपातीको कल्पना पनि दुष्कर मानिन्छ, त्यही ठाउँमा २९ वर्षीया ली जिफानले हरित क्रान्तिको बीजारोपण गरेकी छिन् । विश्वविद्यालयबाट स्नातक गरेपछि सिन्जियाङ फर्किएकी लीले सन् २०१९ मा टिमेनगुआन शहरमा एउटा प्रयोगात्मक बगैँचा सुरु गरिन् । कृषिबारे सामान्य ज्ञानसमेत नभएकी उनलाई सुरुमा अनेकौँ चुनौतीले घेरेको थियो ।

तर लीले हार मानिनन्। उनले शिहेजी विश्वविद्यालयका कृषि विशेषज्ञहरूसँग सहयोग मागिन् र बालुवा खेती प्रविधिको गहन ज्ञान हासिल गरिन्। बालुवा खेती एउटा यस्तो नवीन प्रविधि हो, जहाँ परम्परागत माटोको सट्टा बालुवा वा बालुवामा आधारित माध्यममा बिरुवाहरू उमारिन्छ । यो प्रविधि विशेष गरी हरितगृह खेतीका लागि उपयुक्त मानिन्छ र यसले सुख्खा क्षेत्रहरूमा समेत खेती गर्न सम्भव बनाउँछ । यद्यपि यसमा पोषक तत्व र पानीको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ ।

आजसम्म, लीले विभिन्न स्थानहरूमा आधुनिक कृषि औद्योगिक पार्कहरू स्थापना गरेकी छिन् । उनले करिब १ हजार ७ सय हरितगृहहरूको लागि खेती प्रविधिहरू स्तरोन्नति गर्न महत्त्वपूर्ण सहयोग गरेकी छिन् । मरुभूमिको प्रतिकूल वातावरणमा पनि कृषि कर्मलाई सफल बनाएर ली जिफानले असम्भवलाई सम्भवमा परिणत गरेकी छिन्। उनको यो कार्यले सिन्जियाङको कृषि क्षेत्रमा नयाँ आयाम थपेको छ र अन्य युवाहरूलाई पनि प्रेरणा प्रदान गरेको छ ।

मुलुक असाधरण र जटिल अवस्थामा छ : प्रचण्ड

ललितपुर । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन् । माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।

‘गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह ग¥यौ’, उनले भने ।

संयोजक प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरुले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहना र भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए । ‘परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नु पर्छ, यो कुरा नवयुवाहरूले बुझ्नु पर्छ’, उनले भने ।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । ‘लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्’, उनले भने ।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्व सभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राखे । संयोजक प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनु हुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूति गर्ने संविधान लेखेको उल्लेख गरिन् । उनले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा उनको जोड थियो । उनले १० वर्षे जनआन्दोलनमा समेत नभएको विध्वंस जेनजी आन्दोलनमा संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले आन्दोलनलाई शान्त बनाएको बताउँदै फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

नेकपा (माओवादी केन्द्र) ललितपुर महानगर इन्चार्ज एवं संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका नयाँ खालको जिम्मेवारीमा रुपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रम आयोजना गरिएको बताउँदै तल्लो तहसम्म नयाँ कार्ययोजनासहित अगाडि बढ्ने प्रतिबद्धताका साथ क्रियाशील रहेको जानकारी गराए । ललितपुर महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले पार्टीलाई समुदायमा स्थापित गराउँदै जानुपर्नेमा जोड दिए ।

प्रविधिसँग जोडेर परम्परागत मिठाई बनाउँदै काष्ठमण्डप खाद्य उद्योग

काठमाडौँ । तिहार पर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । तिहारका लागि आवश्यक पर्ने सामान खरिदमा उपभोक्ता जुटेका छन् । तिहारमा मिठाईको उपभोग निकै बढी हुन्छ । बजारमा अनेक प्रकारका मिठाई पाइन्छन् । उपभोक्ताको रोजाइमा परम्परागत मिठाईहरू पनि पर्ने गरेको छ ।

माग बढेसँगै काठमाडौंको काष्ठमण्डप खाद्य उद्योगका कामदारहरू लोकप्रिय परिकारहरूको तयारीमा जुटेका छन्। पुरानो परम्परागत विधिलाई आधुनिक प्रविधिसँग जोड्दै यस उद्योगले जापानी, आसी एन्ड आसफाइट पञ्जाब, गुरु हुक्मेओन, आरस्सा, बोथ, जोप्रसाद, आति र आइथा जस्ता विभिन्न प्रकारका लखमरी उत्पादन गर्छ।

साथै फिरेन्डेन, शिमोही, बोल्लोङ्गी, पवकौ, ओरिवा र निम्की जस्ता अन्य परम्परागत मिठाई र नास्ताहरू पनि स्वच्छ वातावरणमा तयार गरिन्छन्।

सन् २००८ मा अनिल दास राजकर्णिकरद्वारा स्थापित यो उद्योगले आठ पुस्तादेखि निरन्तर चलिरहेको राजकर्णिकर परिवारको परम्परागत मिठाई बनाउने संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

 

रास्वपाको सचिवालय विस्तारमा तोसिमाको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन् । उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको बताएकी छन् । पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको गुनासो उनले सामाजिक सञ्जालबाट गरेकी हुन् ।

उनले भनेकी छन्, ‘महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठक समेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होइन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’

पार्टीको कार्यशैली सच्याएर थप लोकतान्त्रिक हुन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीका गतिविधिहरूमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नु पर्नेमा जोड दिइन् । उनले विस्तारित बैठकमा पार्टी संगठनको वृहत् सहभागिता र भोटिङ राइट्स सुनिश्चित गरिनुपर्ने बताएकी छन् । भोटिङ राइट्स नदिने भए देशभरिबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको औचित्य नभएको उनको भनाई छ ।

पुजारीको गोली हानेर हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारी परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेर हत्या गरेको स्थानीयको भनाइ छ । घटना भएको जानकारी पाए लगत्तै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान थालेको छ ।

घटनास्थलमा गोलीका दुईवटा खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए । उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि जाँच तीव्र बनाइएको छ ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भने–केन्द्रिय समितिको म्याद थप्न खोजियो

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले पार्टी महाधिवेशन अविलम्व हुनुपर्ने माग गरेका छन् । आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हस्ताक्षर पक्षधरहरुले यस्तो माग गरेका हुन् । उनीहरुले केन्द्रिय समितिले बैठक अस्वभाविक रुपमा लम्ब्याएको आरोप लगाएका छन् । महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रिय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीहरुसहित केन्द्रिय समितिको मनशाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्धत रहेको देखिएको बताए ।

वर्तमान केन्द्रिय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक रहेको बताए । कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरुको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने बताए । पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रिय समितिको असफलताको मानक नेपाली राजनीतिमा भएका घटनाहरुले पुष्टि गरेको जिकिर गरे । केन्द्रिय कार्यसमितिले आफ्नो म्याद थपरेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरे ।

आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको स्पष्ट पारे । आफूहरुको मागप्रति गम्भीर रही महाधिवेशनतर्फ अग्रसर हुन सचेत गराए । आगामी मंसिरभित्र विधिवत महाधिवेशन गरी नयाँ कार्यसमितिको चयन आजको आवश्यकता भएको बताए । उनले केन्द्रिय कार्य समिति पार्टीको मूल जिम्मेवारीबाट भाग्न खोजेको र बरालिएको महसुस आफूहरुले गरेको बताए । उनले विशेष महाधिवेशनको मागलाई वैधानिक, समयसापेक्ष, स्वभाविक आवश्यकताको रुपमा महसुस गरी कार्यान्वयनतर्फ अघि बढ्न माग गरे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरु घिमिरेले भदौ २३ र २४ का तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर आफूहरु नभएको बताए । उनले आगजनी र तोडफोड, लुटपाटका क्रियाकलापहरु निन्दनीय रहेको बताए । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बताए । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भएको कुरा महसुस गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘भदौ २३ र २४ का घटनाहरुले हामीलाई सधैँ बिझाइरहनेछ । तोडफोड, आगजनीका उग्र क्रियाकलापका पक्षधर हामी होइनौँ । ती क्रियाकलापहरु निन्दनीय छन् । त्यो घटनाले विश्व राजनीतिमा मानक खडा गरेको छ । अब कसरी जाने भन्ने छलफल गरेका छौँ । मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ । नेतृत्व बदल्नै पर्छ । २०४६ सालयता नेतृत्व गर्दा र जनताले बारम्बार दिएको जिम्मेवारी, हरेक निर्वाचनमा प्राप्त गरेको समर्थनलाई दृष्टिगत गर्दा हामीबाट पनि कमजोरी भयो की ? यो भदौ २३ र २४ को घटनासम्म आइपुग्दा हाम्रा यी कमजोरीहरु कारक छन् की ।’

गत असोज २९ गते नेपाली कांग्रेसका केन्द्रिय कार्यालयमा पुगेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई १४ औं महाधिवेशनका २ हजार ४८८ प्रतिनिधिहरुले हस्ताक्षरसहितको निवेदन बुझाएका थिए । बदलिँदो राजनीतिक परिवेशलाई आत्मसात गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको विधानको धारा १७ (२) बमोजिम महाधवेशनको माग गरेको बताएका छन् । —न्युज एजेन्सी नेपाल

प्रधानमन्त्री कार्कीको अपिल : चुनाव गराउन सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताएकी छिन् ।

आज (शनिबार) राष्ट्रपति निवासमा चार वटै सुरक्षा निकायसँगको छलफलपछि उनले एक्समा लेखेकी छिन्, ‘तयारी अझै द्रुततर गतिमा अघि बढाइँदैछ । सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौं ।’

प्रधानमन्त्री कार्कीका अनुसार राजनीतिक तहबाटै चुनावको वातावरण बनाउन पहल सुरु भइसकेको छ र दलहरूसँग संवादको सुरुवात भएको छ। ‘चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ,’ उनले लेखेकी छिन्, ‘राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको छ ।’

छलफलमा सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिएको समेत कार्कीले उल्लेख गरेकी छिन् । ‘सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी दिनु भएको छ,’ उनले भनेकी छिन्, ‘चुनावको वातावरण बनाउन भइरहेका प्रयासहरूको समीक्षा पनि गरिएको छ ।’

 

म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यकाभित्र मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज (शनिबार) एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा आफूलाई आवश्यक परेका बेला नेपालका कुनै पनि क्षेत्रमा जान सक्ने जिकिर गरे । ‘चुनाव गराउने अरे, झापामा मेरो घर जलाइयो, अनि हेर्न जान परेन ?,’ ओलीले भने, ‘हेर्न पनि जान नपाउने । साँगा तरेर धुलिखेलमा गएर मिटिङ गर्न नपाउने । क्या गजबको सरकार छ । मलाई जति बेला काम पर्छ, त्यतिबेला म साँगा कट्ने होइन नेपालको जहाँ पनि घुम्न जान सक्छु ।’

उनले आफूलाई कुन कानुनले रोक्छ भन्दै प्रश्न समेत गरेका छन् । ओलीले भने, ‘के कानुनले समाउँछ ? के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभावी गर्ने ? मनपरी गर्ने ? यो देश हाम्रो होइन ?’

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट फिर्ता भयो सेना

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनपछि ६२ वटा कारागार र महत्त्वपूर्ण संरचनाको सुरक्षामा खटिइएको नेपाली सेनाको फौज स्थिति सामान्य हुँदै गएपछि ४१ स्थानबाट फिर्ता भएको छ । गत भदौ २३ र २४ को प्रदर्शनपछि उत्पन्न परिस्थितिमा उपत्यकाभित्र पाँच र उपत्यका बाहिर ५७ गरी कूल ६२ वटा कारागार तथा महत्त्वपूर्ण संरचनाको सुरक्षार्थ सेना खटिएको थियो ।

सुरक्षा चुनौतीलाई ध्यानमा राखी अझै पनि २१ स्थानमा फौज तैनाथ भइरहेको सेनाले जनाएको छ । प्रदर्शनबाट सिर्जित आगजनी, तोडफोड र दङ्गा जस्तो अप्ठ्यारो परिस्थितिमा छदेखि आठ घण्टाको तैनाथीमा उक्त अवस्था नियन्त्रणमा ल्याउन सफल भएको सेनाका उपरथी एवं युद्र्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले जानकारी दिए ।

उनले भने, ‘अत्यन्त चुनौतीपूर्ण अवस्थामा शून्य मानवीय क्षतिका साथ शतप्रतिशत उद्धार गर्न सफल भएका छौँ । जसका कारण अत्यावश्यक सेवा तथा वस्तुको प्रवाहमा तत्कालै सहयोग पुगेको छ ।’

सिंहदरबारको मुख्य भवनमा आगजनी भए पनि सेनाको पहलबाट त्यहाँभित्रका रणनीतिक महत्त्वका कागजातको राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ‘डाटा सेन्टर’ आगजनीबाट जोगाउन सफल भएको उपरथी थापाले जानकारी दिए । मुलुकको समग्र सुरक्षा अवस्थाको जिम्मेवारी सम्हालेपछि  सेनाले सञ्चालनमा ल्याएको ‘हटलाइन’मा प्राप्त चोरी, लुटपाट र आगजनीजस्ता गुनासाको तत्काल सम्बोधन गरी सुरक्षाको प्रत्याभूति दिइएको सेनाले जनाएको छ ।

‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यका साथ भेला भएका करिब दुई हजार जना प्रदर्शनकारीलाई रोकी भदौ २५ गतेदेखि नै विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको थियो’, महानिर्देशक थापाले भने, ‘विमानस्थलमा फसेका विदेशी पर्यटकको समेत यथोचित सुरक्षा गरिएको थियो । साथै उपत्यकामा रहेका विभिन्न कूटनीतिक नियोग तथा विदेशी नागरिकको सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको थियो ।’

यसअघि पहिलो चरणमा सिंहदबारभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई सेनाले रोक्न सफल भए पनि ठूलो सङ्ख्यामा थपिएको भीडलाई रोक्न घातक हतियारको प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यसबाट हुनसक्ने मानवीय क्षति रोक्न विशेष सचेतता अपनाइएको सेनाको प्रष्टीकरण छ ।

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

पाकिस्तान । पाकिस्तानमा हालै आएको बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर (झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ) बराबरको क्षति भएको पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले बताए ।

शुक्रबार मन्त्रालयको मासिक विकास अद्यावधिक तथा प्रारम्भिक बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कन गर्न विस्तृत अध्ययन भइरहेको जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुमानमा सबैभन्दा धेरै क्षति कृषि क्षेत्रमा देखिएको छ । त्यसपछि पूर्वाधार क्षेत्रमा ३०७ अर्ब रुपैयाँ ९१।१ अर्ब डलर० बराबरको क्षति भएको छ ।

बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरहरूमा क्षति पुगेको उनले जानकारी दिए।

मन्त्री इकबालले भनेअनुसार, यी बाढीजन्य क्षतिहरूका कारण चालू आर्थिक वर्ष (जुलाई २०२५ देखि जुन २०२६ सम्म) मा पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा ०.३ देखि ०.७ प्रतिशत अंकले कमी आउनेछ । यसअघि ४.२ प्रतिशतको लक्ष्य राखिएको भए पनि अहिले ३.५ देखि ३.९ प्रतिशतको दरमा सीमित हुने अनुमान गरिएको छ ।

उनले थपे,“यी प्रारम्भिक अनुमानहरूले सरकारलाई पुर्ननिर्माण र राहत कार्यमा मार्गदर्शन गर्नेछ । विशेषगरी पूर्वाधार पुनः निर्माण, जनजीविका पुनःस्थापना र भावी जलवायु जोखिमको सामना गर्ने क्षमता विकासमा ध्यान दिइनेछ ।”