`

कांग्रेसको विशेष महाधिवेशन शुरू : ६० प्रतिशत सहभागिताको दाबी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा शुरू भएको छ । बिहान साढे ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरू भएको छ भने साढे ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी प्रतिनिधिले दर्ता गराइसकेको आयोजक समितिले जनाएको छ ।

आर्थिक समिति संयोजक हिमबहादुर रावलका अनुसार देशभरबाट चयन भएका कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिमध्ये उल्लेख्य संख्याले बिहानै दर्ता गराएका छन् । सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरी दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । अहिले पनि भृकुटीमण्डप मूलगेटसँगै राखिएका स्टलहरूमा दर्ताका लागि लामो लाइन देखिएको छ ।

जिल्ला तथा क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै आधिकारिक कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य रूपमा ल्याउन आग्रह गरेका छन् । विभिन्न स्थानबाट आउने जुलुसका कारण दर्ता प्रक्रियामा केही ढिलाइ भए पनि यसले उद्घाटन कार्यक्रममा असर नपर्ने आयोजकको दाबी छ ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपको खुला चौरमा हुनेछ । उद्घाटन सत्रका लागि भव्य मञ्च निर्माण गरिएको छ भने मञ्च अगाडि खुला चौरमा ठूलो संख्यामा कुर्सीको व्यवस्था गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च क्षेत्र कांग्रेसको झण्डा, ब्यानर, गेट तथा विभिन्न प्रचार सामग्रीले सजाइएको छ ।

उद्घाटनका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित रूपमा कार्यक्रमस्थलमा प्रवेश गराउने तयारी गरिएको छ । विशेष महाधिवेशनको सभापतित्व नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् । यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा सञ्चालन हुनेछ। बन्दसत्रमा दुईवटा फरक–फरक प्रतिवेदन प्रस्तुत गरिने तयारी छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन र महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । आयोजक पक्षका अनुसार विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ । गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

संस्थापन पक्षले भने विशेष महाधिवेशन माग गरिएको अवधिभित्रै १५औं नियमित महाधिवेशनको मिति तोकिसकिएकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको तर्क गर्दै आएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेको छ । उक्त निर्णयप्रति महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित पाँच केन्द्रीय नेताहरूले असहमति जनाउँदै आएका छन् । महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा ‘कांग्रेसलाई पुनर्जागरण गर्ने उद्देश्य’ सहित आयोजना गरिएको दुई दिने विशेष महाधिवेशनले पार्टीको आन्तरिक राजनीतिमा कस्तो सन्देश दिनेछ भन्ने विषयमा राजनीतिक वृत्तको चासो बढेको छ ।

 

डेढ वर्षअघि त्रिशूली नदीमा खसेको बसको अवशेष भेटियो

काठमाडौं । चितवनको सिमलताल नजिकै त्रिशूली नदीमा बस जस्तै सवारीसाधनको टुक्रा देखिएको छ । सिमलतालबाट करिब २ सय मिटर तल पारितर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले जनाएका छन् । ‘बस जस्तै कुनै सवारीको टुक्रा भेटिएको खबर आएको छ । हाम्रो इन्स्पेक्टरको टोली घटनास्थल जाँदैछ । त्यसपछि मात्रै यकिन होला,’ डीएसपी खनालले भने । २८ असार २०८१ मा सिमलतालस्थित त्रिशुलीमा नदीमा दुई बस बेपत्ता भएका थिए ।

बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेको थियो । बसमा सवार केही यात्रुको शव भेटिएको थियो भने केही यात्रु वेपत्ता थिए । अहिले देखिएको बस जस्तै सवारी यसअघि बेपत्ता भएका बस हुन् कि भन्ने आशंका गरिएकाे छ । दुर्घटनास्थलबाट करिब ३ सय मिटर तल त्रिशुली नदी किनारको बालुवामा गाडिएको अवस्थामा बसको अगाडिको ड्राइभरतर्फको चक्का (डिस्ट) र केही टिनका भाग फेला परेका हुन् ।

आइतबार (आज) बिहान नदीमा माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले बसको केही भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अवशेषको पुष्टि गर्दै खोतल्ने काम सुरु गरेको छ । आवश्यक प्राविधिक परीक्षण र प्रमाणका आधारमा पहिचान गरिने प्रहरीले जनाएको छ । दुर्घटनाका समयमा दुईवटा बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्ये तीन जना घाइते अवस्थामा उद्धार भएका थिए भने ११ जनाको शव फेला परेको थियो । बाँकी ५१ जना यात्रु हालसम्म बेपत्ता छन् । बस र यात्रुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै भारतबाट समेत गोताखोर परिचालन गरिएको थियो । लामो समयको खोजीपछि पनि बस फेला नपरेपछि खोजी स्थगन गरिएको थियो ।

चर्चित गायक प्रशान्त तामाङको निधन

चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो ।

 प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’

त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु ।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।

एकचोटि ‘चान्स’ दिनुस्, हामी देखाइदिन्छौँ : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले २१ फागुनकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूहरूलाई ‘चान्स’ दिन आग्रह गरेका छन् । आफूहरूलाई जिताएर नेतृत्वदायी भूमिका पुर्‍याउन उनले आग्रह गरेका हुन् ।

शनिबार (पुस २६) बेलुका काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अब उज्यालो नेपालले देशैभरि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताए ।

‘अब उज्यालो नेपाल पार्टी देशैभरि, १६५ ठाउँमै उमेदवारहरू उठाउँछौँ हामी । अगाडि बढ्छौँ,’ उनले भने, ‘देशैभर हामी क्याम्पिङ (पार्टीको निर्वाचन अभियान) अगाडि बढाउँछौँ । छोटो समय छ । रातदिन नभनीकन क्याम्पिङ अगाडि बढाउँछौँ ।’

निर्वाचनमा आफूहरूलाई जिताए धेरै परिवर्तन गर्ने उनले बताए । ‘जेनजी’को भावनाअनुसार उज्यालो नेपाल पार्टी स्थापना गरिएको उनले उल्लेख गरे ।

यो अवस्था आउँछ भन्ने लागेको थिएन, अत्यन्तै मर्माहित छु, : कुलमान

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सित एकता प्रक्रिया भंग हुँदा आफू अत्यन्तै मर्माहित भएको बताएका छन् । शनिबार (पुस २६) बेलुका काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अवस्था आउँछ भन्ने कल्पनै नगरेको बताए ।

आफूहरूलाई जबरजस्ती बाहिर राखिएको उनले जिकिर गरे । अब एक्लै भए पनि अगाडि बढ्नुपर्ने स्थिति आएको उनले सुनाए ।

‘हामीले सबै त्यागेर आजसम्म पनि अगाडि बढौँ भनेका थियौँ । तर, रास्वपाले एकतर्फी एकता भंग भएको खबर सुनायो,’ उनले भने, ‘संघीयता, संविधानको विषयमा पूरक सहमति गरौँ भनेर प्रस्ताव गरेका थियौँ । म साधारण सदस्य बन्छु, समानुपातिक सूची र केन्द्रीय सदस्यमा एड्जस गरौँ भनेका थियौँ ।’

आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्र पछाडि देशले सामना गर्नुपरेको अवस्थाले चिन्तित तुल्याएको बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा शनिबार भिडियो सन्देशमार्फत उनले अहिले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका हुन् ।

‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ,’ उनले भिडियो सन्देशमा भनेका छन् । शान्ति र आर्थिक प्रगतितर्फ देशलाई लैजाने दलहरूको चाहनाअनुसार राजतन्त्र जनतामा सुरक्षित गर्दै श्रीपेच त्यागेको उनले बताएका छन् ।

‘झण्डै दुई दशक अघि शान्ति ल्याउँछौं, आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौं र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार श्रीपेच र राजतन्त्र जनताको नासो जनताकै संरक्षणमा बुझाएका हौं,’ उनले भनेका छन् ।

रूकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा पूर्वी रूकुमबाट उम्मेदवारी दिने तयारी लगभग निश्चित भइसकेको बताएका छन् । पश्चिम रूकुममा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले रूकुमलाई आफ्नो राजनीतिक गन्तव्य बनाउने स्पष्ट संकेत दिएका हुन् ।

सभामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘आगामी चुनावमा म रूकुममैबाट लड्ने सम्भावना निकै बलियो छ । तर यहाँ उपस्थित साथीहरूले यो अहिलेको पश्चिम रूकुम मात्र ठान्नु पर्ने छैन, पूर्वी रूकुम आउने करिब निश्चित भइसकेको छ ।’ उनका अनुसार पूर्वी रूकुमबाट उम्मेदवारी दिने निर्णय भए पनि पश्चिम रूकुमसँगको राजनीतिक र भावनात्मक सम्बन्ध भने निरन्तर रहनेछ ।

उनले रूकुमले सशस्त्र संघर्षदेखि शान्तिपूर्ण राजनीतिक यात्रासम्म खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्दै जनताको भरोसा र समर्थन नै आफ्नो मुख्य शक्ति भएको बताए । ‘पूर्वी र पश्चिम दुवै रूकुम क्रान्तिको आधारभूमि हुन् । त्यसैले म जहाँबाट चुनाव लडे पनि रूकुमसँग मेरो सम्बन्ध टुट्दैन’, उनले थपे । प्रचण्डको यो घोषणासँगै रूकुम केन्द्रित राजनीतिक गतिविधि थप सक्रिय हुने संकेत देखिएको छ । स्थानीय नेता–कार्यकर्ताहरूले पनि उनको सम्भावित उम्मेदवारीलाई उत्साहका साथ स्वागत गरेका छन् । आगामी दिनमा पार्टीभित्रको औपचारिक निर्णयपछि उनको उम्मेदवारीबारे स्पष्टता आउने अपेक्षा गरिएको छ ।

उज्यालो नेपालको आकस्मिक बैठक बस्दै, रास्वपासँग छुट्टिएर अध्यक्ष बन्दै कुलमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया भंग भएपछि उज्यालो नेपाल पार्टीमा ठूलो राजनीतिक मोड आएको छ । सहमति अगाडि बढ्न नसकेपछि पार्टीका संरक्षक कुलमान घिसिङले अब नेतृत्व आफैं सम्हाल्ने तयारी गरेका छन् र उनी उज्यालो नेपालको अध्यक्ष बन्ने भएका छन् ।

रास्वपासँग भएका छलफलहरू निष्कर्षमा नपुगेपछि उज्यालो नेपालले शनिबार आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक दिउँसो ४ः३० बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बस्नेछ । बैठकपछि साँझ ६ बजे सोही स्थानमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको छ, जहाँ एकता भंग हुनुका कारण र आगामी राजनीतिक बाटोबारे औपचारिक धारणा सार्वजनिक गरिनेछ ।

उज्यालो नेपालका तर्फबाट अघि सारिएका केही राजनीतिक र संगठनात्मक मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता प्रक्रिया टुटेको घोषणा गरिसकेको छ । पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेकै कारण सहकार्य निरन्तरता दिन नसकिने निष्कर्षमा कुलमान घिसिङ पुगेका हुन् । यसैबीच, उज्यालो नेपालसँगको सहकार्य अगाडि नबढ्ने भएपछि त्यसबारे छलफल गर्न रास्वपाको आकस्मिक सचिवालय बैठक पनि अहिले जुममार्फत जारी छ ।

रास्वपा र उज्यालो नेपालबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो, तर त्यसलाई व्यवहारमा उतार्ने क्रममा देखिएका मतभेदले अन्ततः एकता प्रक्रिया टुटेको हो ।
एकता भंगसँगै उज्यालो नेपालले अब स्वतन्त्र राजनीतिक यात्राको संकेत दिएको छ । आजको केन्द्रीय समिति बैठक र त्यसपछि हुने पत्रकार सम्मेलनले कुलमान घिसिङको औपचारिक नेतृत्व घोषणा र पार्टीको आगामी रणनीतिबारे स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

उज्यालो नेपालसँग सहकार्य टुंगिएको रास्वपाको निष्कर्ष, बोलायो आकस्मिक सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको सहकार्य सम्भावना अन्त्य भएको निष्कर्षमा रास्वपा पुगेको छ । उज्यालो नेपालका तर्फबाट अघि सारिएका राजनीतिक र संगठनात्मक मागहरू स्वीकार्य नहुने ठहर गर्दै रास्वपाले सहकार्यलाई औपचारिक रूपमा टुंग्याउने तयारी गरेको हो ।

रास्वपा नेतृत्वका अनुसार उज्यालो नेपालले लोकतान्त्रिक सिद्धान्तमै पुनर्विचार गरी नयाँ राजनीतिक सिद्धान्त निर्माण गर्नुपर्ने प्रस्ताव राखेको थियो । तर, व्यवस्था र संविधानप्रति विमति नरहेको स्पष्ट धारणा राख्दै आएको रास्वपाले उक्त मागमा सहमति जनाउन नसकेको प्रवक्ता मनिष झाले बताए । उनले भने, ‘अवस्था परिवर्तन गर्ने हाम्रो अभियान हो । व्यवस्था र संविधानप्रति हाम्रो असहमति छैन भन्ने स्पष्ट धारणा राख्दा कुरा मिलेन ।’

वार्ताका क्रममा संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाबारे पनि उज्यालो नेपालले फरक धारणा अघि सारेको रास्वपा नेताहरूको भनाइ छ । यसका साथै संगठनात्मक भागबन्डामा पनि सहमति हुन सकेन । उज्यालो नेपालले हालका पदाधिकारीबाहेक थप तीन पद, वरिष्ठ उपसभापति कुलमान घिसिङलाई दिने, साथै एक नयाँ महामन्त्री पद सिर्जना गरी त्यसलाई उज्यालो नेपालको भागमा पार्नुपर्ने शर्त राखेको बताइएको छ ।

रास्वपाका एक नेताले भने, ‘यस्ता शर्तहरूमा हामी सहमत हुन सकेनौं ।’ त्यसैगरी, आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि सिट तोकेरै जानुपर्ने उज्यालो नेपालको माग र भविष्यमा सरकार गठन भएपछिका राज्यका अवसरहरूबारे अहिले नै भागबण्डा गर्नुपर्ने धारणा पनि रास्वपाले अस्वीकार गरेको छ ।

एक पदाधिकारीका अनुसार रास्वपाको तर्क निर्वाचन र तत्कालीन उपलब्धिमा मात्र छलफल सीमित नगरौँ, यो देश बदल्ने दीर्घकालीन अभियान हो भन्ने रहेको छ । ‘रास्वपा र उज्यालो नेपालबीचको सहकार्य औपचारिक रूपमा टुंगिएको घोषणा मात्र बाँकी छ’, उनले भने ।

यसैबीच, सहकार्यको सम्भावना सकिएको उज्यालो नेपालका संरक्षक कुलमान घिसिङको अभिव्यक्तिपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले आज दिउँसो ३ः१५ बजेबाट सुरु हुने गरी भर्चुअल बैठक आह्वान गरेका हुन् ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा पार्टी एकता, समायोजन प्रक्रिया, उज्यालो नेपालसँगको सहकार्य टुट्नुका कारण र आगामी राजनीतिक रणनीतिबारे छलफल हुनेछ । रास्वपा र उज्यालो नेपालबीच यसअघि पुस १४ गते ७ बुँदे सहमति भएको थियो । तर, राजनीतिक विचार र पदीय भागबण्डामा सहमति नजुट्दा सहकार्य अन्त्यतर्फ पुगेको निष्कर्ष निकालिएको छ ।

अर्थतन्त्रमा सुधार रेशम खेतीको विस्तारबाट सम्भव छ : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा शनिबार आयोजित राष्ट्रिय रेशम सम्मेलनमा उनले सीप तथा उद्यम विकासमा युवाको संलग्नता, आयत प्रतिस्थापन, निर्यात प्रवर्द्धन एवं जलवायु अनुकूलित हरित अर्थतन्त्रको प्रवर्द्धनमा पनि रेशमखेतीले योगदान दिनेमा विश्‍वास व्यक्त गरे ।

उनले रेशमखेतीले औद्यागिक विकास र विस्तार गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्‍न सक्ने प्रचुर सम्भावना रहेको बताए ।

मन्त्री परियारले भने, ‘रेशम उद्योगको भविष्य तीन तहकै सरकारबीच स्पष्ट भूमिका बाँडफाँट, निजी क्षेत्रसँगको विश्‍वसनीय साझेदारी, रेशम विकास केन्द्रलगायतका सरोकारवाला संस्थाको सवलीकरण, भरपर्दो समन्वय र सहकार्यमा निर्भर छ ।’

त्यस अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोख्रेलले हावापानीका हिसाबले नेपाल कृषि सङ्ग्रहालयका रुपमा रहेको उल्लेख गर्दै यहाँका उत्पादनलाई पर्यटनसँग जोडेर लैजानुपर्ने धारणा राखे ।

उनले नेपालको पहिचान बोकेका स्थानीय उत्पादन तथा किम्बु र टिम्मुरजस्ता आय–आर्जनको सम्भावना बोकेका वस्तु प्रवर्द्धनमा सरकारको ध्यान जान जरुरी रहेको बताए ।

ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशनकुमार पोखरेलले रेशम कुनै साधारण रेशा मात्र नभई इतिहास, संस्कृति, जीविकोपार्जन र भविष्यको सम्भावना भएको बताए ।

कृषि विभागका उपनिर्देशक राजेन्द्र कोइरालाले २५ वर्षअघिसम्म नेपालमा रेशमखेती राम्रो अवस्था रहेको उल्लेख गर्दै त्यसपछि क्रमशः न्यून हुँदै गएको बताए ।

देउवाले बोलाए सचिवालयको आकस्मिक ‘भर्चुअल’ बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सचिवालयको आकस्मिक ‘भर्चुअल’ बैठक बोलाएका छन् ।

बैठक भोलि (आइतबार) दिउँसो ३ : १५ बजेका लागि बोलाएका हुन् । बैठकको कार्यसूची पार्टी एकता र समायोजन भएको उल्लेख छ ।

महामन्त्रीद्वय गगन थापा र विश्‍वप्रकाश शर्मा पक्षले आह्वान गरेको विशेष महाधिवेशन भोलि नै हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी धमाधम भइरहेको छ । यस्तोबेला सभापति देउवाले सचिवालयको ‘भर्चुअल’ बैठक बोलाएका हुन् ।

 

रास्वपाको झण्डा लुक्दैन, अब देशभर घण्टी बज्छ : तोसिमा कार्की (भिडियाेसहित)

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तोसिमा कार्कीले आफू वर्तमान परिस्थितिहरुको सामना गर्दै राजनीतिमा अगाडि बढ्ने बताएकी छन् । ललितपुरमा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै नेतृ कार्कीले ‘अब पनि रास्वपाको झण्डा लुकाएर हिँड्ने ?’ भन्ने कार्यकर्ता र घरभित्रैको प्रश्नले देशको वर्तमान राजनीति कति विरोधाभासपूर्ण छ भन्ने प्रष्ट देखाउने उनको भनाइ छ ।

कार्कीले अब आधा र अधुरो परिवर्तन होइन, निर्णायक मोडको समय आएको दाबी गरिन् । उनले भनिन्, ‘यो केवल चुनाव चिन्ह फेर्ने समय होइन, पूरै राजनीतिक संस्कार र दल फेर्ने समय हो ।’ प्रधानमन्त्री बन्ने प्रस्ताव समेत आएको तर आफूले अस्वीकार गरेको प्रसंग सार्वजनिक गर्दै कार्कीले भनिन्, ‘पद ठूलो होइन, जनता र परिवर्तन ठूलो हो ।’

उनका अनुसार पछिल्ला दुई वर्षमा परिवर्तनको यात्रामा करिब ४० प्रतिशत काम अघि बढेको छ, तर पुराना राजनीतिक शक्तिहरूले बाँकी ६० प्रतिशत काम हुन नदिएको गुनासो गरिन् । ‘महलमा सत्ताधारीहरू पुगे, तर जनता अझै त्यहीं छन्’, भन्दै उनले व्यवस्थाप्रति आक्रोश पोखेकी छन् ।

पार्टीभित्र र बाहिर फैलाइएका हल्लाप्रति कडा प्रतिक्रिया दिँदै कार्कीले आफू रास्वपा र ललितपुरलाई कहिल्यै नछोड्ने स्पष्ट पारिन् । ‘म ललितपुरबाटै इतिहास लेख्न चाहन्छु’, भन्दै उनले यो क्षेत्रलाई परिवर्तनको प्रयोगशाला बनाउने प्रतिबद्धता जनाइन् ।

रास्वपा सभापति रवि लामिछानेको योगदान स्मरण गर्दै उनले आन्दोलन यहाँसम्म आइपुग्नुमा उनको बलिदान निर्णायक रहेको बताइन् । ‘अब यो आन्दोलनलाई अगाडि लैजाने जिम्मा जनताकै काँधमा छ’, उनले भनिन् । उनले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूलाई आगामी पुस्ता परिवर्तनको नेतृत्वका रूपमा अघि सार्नुपर्ने धारणा व्यक्त गरिन् ।

आगामी निर्वाचनमा रास्वपाले बहुमतको सरकार बनाउने दाबी गर्दै कार्कीले दीर्घकालीन दृष्टि प्रस्तुत गरिन् । ‘२० वर्षपछि फर्केर हेर्दा भन्न सकियोस्–देश भनेको यस्तै हुनुपर्छ’, उनले भनिन् । ललितपुर मात्र होइन, हुम्ला, जुम्ला, मधेश, सिन्धुपाल्चोकलगायत सबै भूगोलबाट जित निकाल्ने लक्ष्य पार्टीले लिएको उनको दाबी छ ।
विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको बहानामा स्वदेश फर्किएर प्रत्यक्ष राजनीतिक सहभागिता जनाउन आग्रह गर्दै उनले भनिन्, ‘अब भाइबर र ह्वाट्सएपमा होइन, छाती पिटेर देश बनाउनु पर्छ ।’ कार्कीले भनिन्, ‘अब घण्टी बजाउने दिन नजिकिएको छ । भोट घण्टीमै हाल्नुहोस् ।’

ओ लेडिज…..! सट योर डोर्स, बायरन इज कमिङ !

ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !’ 

यो लन्डनको साँघुरो गल्लीमा लर्ड बायरनको आगमनले झस्किएका महिलाहरूको स्वर हो ।

‘सट योर डोर्स, बायरन इज कमिङ !’ यो एउटा भीमकाय कविको आगमनको संकेत मात्र होइन, एक यस्तो व्यक्तित्वको आगमन हो, जसले युगको साहित्यिक जगतमा भूकम्प ल्याएका थिए । ‘सट योर डोर्स, बायरन इज कमिङ’ भन्‍ने यो वाक्यमा भय छ, प्रेम छ र घृणा पनि ।

फाइल फोटो 

लन्डनको साँघुरो गल्लीबाट सुरु हुन्छ लर्ड बायरनको जटिल, विरोधाभासपूर्ण र आकर्षक जीवनको उपन्यास।

बायरन एकै साथ प्रख्यात र कुख्यात भए ।  उनका कविता यति शक्तिशाली थियाे कि उनी अंग्रेजी साहित्यको शिखर कविको रूपमा स्थापित भए । तर, उनको व्यक्तिगत जीवन यति विवादास्पद थियो कि समाजले उनलाई जहिल्यै विवादमा तानिराख्यो। उनी ‘बाइसेक्सुअल’ थिए। उनीमाथि ‘हाफ सिस्टर’ अगस्टासँग सम्बन्ध राखेकाे आरोप थियो ।  

बायरनको दाहिने खुट्टा जन्मजातै विकृत थियो । यस ‘क्लबफुट’ अवस्थालाई उनले कहिल्यै आफूमाथि हावी हुन दिएनन् । बरु उनी घोडामा चढेर पहाड हेर्थे, तैरिन्थे, साहसिक गतिविधिहरू मन पराउथे ।  तर, कुस्ती, दौड वा नाचजस्ता खेलप्रति घृणा गर्थे । उनले कमजोरीलाई आफ्नो सौन्दर्यको अंश बनाए। उनको ग्लुमी फेस र हलुका पहेँलो रङ मिसिएको अनुहार बढो गम्भीर र नादान देखिन्थ्यो । धेरै महिलाहरू यत्तिकै उनीप्रति आकर्षित हुन्थे।

सन् १८१२ को मार्च ८  तारिख, लर्ड बायरन रातारात ‘अलमोस्ट अननोन’ बाट ‘सेलिब्रिटी’ बने । उनको ख्याती ‘चाइल्ड हेरोल्ड’ कविता संग्रहले एकाएक बढायो । उक्त कविता संग्रह २४ घण्टाभित्र ५०० प्रति बिक्री भयो र बायरन सांस्कृतिक नायकको रूपमा स्थापित भए । उनको सफलताको यो उचाइ आजको सेलिब्रिटी संस्कृतिमा पनि दुर्लभ छ।

त्यस दिनदेखि बेलायती समाजको एक वर्गले उनलाई पूज्य व्यक्तित्वको रूपमा हेर्न थाल्यो भने अर्को वर्गले उनीमाथि चारित्रिक प्रश्‍नहरू खडा गर्न थाल्यो । उनका बारेमा किंवदन्तीहरू फैलिन थाले। उनका कपडाको ढाँचा, कपालको शैली अनुकरण गरिन थाल्यो । उनले चर्चाको केन्द्रबिन्दु ओगट्न थाले । एकसाथ साहित्यिक र सामाजिक क्षेत्रमा उनी नामी व्यक्तित्वका रूपमा स्थापित भए।

बायरन केवल कवि मात्र होइनन्, एउटा युगको प्रतिनिधि पात्र थिए भन्दा फरक पर्दैन। तर, उनको व्यक्तित्वमा रहेको विरोधाभास अद्भुत रूपमा दोहोरो थियो।  उनी स्वभावले विद्रोही थिए तर आस्थाले कोमल।  उनी स्त्रीप्रेमी थिए तर उनीभित्र समलैङ्‍गिक आकर्षण पनि थियो । उनी सबैको नायक थिए तर खलनायक पनि।

बायरनको जीवनमा सबभन्दा रहस्यमय र विवादास्पद सम्बन्धमध्ये एक थियो- सगोत्री बहिनी ‘अगस्टा ली’ सँगको सम्बन्ध। अगस्टा, बायरनका पिता क्याप्टेन जोन बायरनको पहिलो विवाहबाट जन्मेकी छोरी थिइन् । यसरी, आमा फरक भए पनि बाबु एउटै भएकाले बायरन र अगस्टा दाजु–बहिनी थिए। तर, समयसँगै उनीहरूबीचको सम्बन्धले पारिवारिक सीमाभन्दा बाहिर निस्किएको र आन्तरिक साइनो अर्कै भएको अनुमान गर्न थालियो ।

सन् १८१३ तिर जब अगस्टाले ‘एलिजा मेडोरा ली’ नाम गरेकी एक छोरी जन्माइन्, तब बायरन र अगस्टाबीचको सम्बन्धले सामाजिक मर्यादाको नै खिल्ली उडाउन थाल्यो। ती बालिकाको बाबु बायरन नै हुन् भन्‍ने आरोप फैलियो । विशेषतः त्यस बालिकाको नाम ‘मेडोरा’ थियो, जुन नाम बायरनले आफ्ना काव्यका पात्रहरूमध्ये एकलाई दिएका थिए। यस्तो मिल्दोपनले सो सम्बन्ध झन् संकाको घेराभित्र पर्न गयो।

बायरन र अगस्टाबीचको पत्राचार अत्यन्त आत्मीय थियो। बायरन आफ्ना मनका भावनाहरू र व्यथाहरू अगस्टासँग बाँड्थे। बायरनकी पत्‍नी एनाबेला मिलबैंकले समेत यही कारण देखाउँदै बायरनसँग सम्बन्धविच्छेद गरिन्। अन्ततः सन् १८१६ मा सामाजिक बदनामी, विवाहको विफलता र अगस्टासँगको विवादित सम्बन्धको त्रासले बायरनलाई इंग्ल्यान्डबाट टाढा पुर्‍यायो।  उनी युरोपतिर लागे र कहिल्यै आफ्नो देश फर्किएनन् । अर्कातिर, अगस्टा भने जीवनभर चुपचाप रहिन्, उनले कहिल्यै सार्वजनिक रूपमा न त सम्बन्ध स्वीकार गरिन्, न त अस्वीकार।

फाइल फोटो 

बायरनलाई संसारका सबभन्दा राम्रा साहित्यकारहरूमध्ये एक मानिन्छ। अझ कोहीकोहीको दृष्टिमा त उनीभन्दा राम्रो कोही  साहित्यकार जन्मिएन भन्‍ने छ  । उनको अनुहार अत्यन्त निर्दोष देखिन्थ्यो । केही महिला त भन्थे ‘ही इज लभेबल, बट नट म्यारिजेबल। ’

उनका असंख्य प्रशंसिकामध्ये एक थिइन्,- लेडी क्यारोलिन ल्याम्ब । धनी राम्री युवती जो बायरनसँग भेट गर्न जाँदा यति लाज मानिन् कि बोल्नै सकिनन् ।  त्यसलाई फेरि बायरनले आफ्नो घोर अपमान ठानिरहे। तर, केही समयपछि नै फेरि यति नजिक भए कि ती युवतीले एउटा रात आफ्नो डायरीमा लेखिन्, ‘बायरन वाज म्याड, ब्याड एन्ड डेन्जरस टु! द्याट ब्युटिफुल फेल–फेस इज माई फेट।’

यी विवाहिता नारीपछि बायरनसँग बस्‍न थालिन्। यस्ता घटना बायरनका एक होइनन्, अनेक छन्। बायरन एक जनालाई ‘भाइ’ भनेर सधैंजसो साथमा राख्थे,दिन होस् या रात।  जहाँ गयो उनलाई साथमै लिएर गएका पाइन्थ्यो। सुरुमा त्यो दृश्यमा खासै अप्ठ्यारो देखिँदैनथ्यो तर केही समयपछि जब त्यो ‘भाइ’ गर्भवती भएको खबर फैलियो, तब सिंगो समाज चकित भयो। पछि खुलासा भयो बायरनले वास्तवमा एक युवतीलाई पुरुषको भेषमा ढालेर ‘भाइ’का रूपमा साथमा राखेका रहेछन्। यस्तो खुलासाले उनको यौनिक पहिचान र आचरणप्रति प्रश्‍न उठ्यो।

उनी द्विलैङ्‍गिक थिए (पुरुष र महिला दुवैसँग सम्बन्ध राख्‍ने)। विशेषतः उनी आफूभन्दा साना उमेरका युवकहरूप्रति आकर्षित हुने गर्थे जुन प्रवृत्तिले त्यतिबेलाको सामाजिक दृष्टिमा अस्वीकृति बेहोर्नुपर्‍यो। उनको यस्तो व्यवहारका कारण थुप्रै महिलाहरू, जो पहिले उनीप्रति आकर्षित थिए, पछि सम्बन्धविच्छेद गर्दै टाढा भए।

उनका प्रेमिका र तिनका विछोडका कथा अनगिन्ती छन्। नौ वर्षको उमेर बाल्यकालको प्रारम्भिक चरण हो।  त्यही नौ वर्षको उमेरमा बायरनले प्रेम र यौनको अलग–अलग अनुभव लिइसकेका थिए।

एक पटक देश–विदेश घुम्‍ने क्रममा बायरन भेनिसको कुनै ठाउँमा बस्‍न पुगे। त्यहाँ एउटी विवाहिता युवती मेरिआना उनको हेरचाह गर्थिन्। क्रमशः बायरनको स्वभावअनुसार, मेरिआनाप्रति उनको आकर्षण बढ्न थाल्यो।

बायरनले आफ्नो बसाइ त्यहाँ लामो बनाए। २४ वर्षका बायरन मेरिआनाप्रति मोहित थिए। मेरिआना पनि राम्रै थिइन्। आश्‍चर्यको कुरा के थियो भने मेरिआनाका व्यापारी पति पनि त्यही थिए। केही समय नबित्दै त्यस रहस्यको खुलासा भयो। बायरन मेरिआनासँग प्रत्येक दिन तीन पटक भेट्ने गर्थे।

सन् १९१५ मा बायरनले अन्‍नाबेला मिलब्लान्के नामकी केटीसँग विवाह गरे। उनीहरूले एउटी छोरी अदालाई जन्माए। तर, एक वर्ष नबित्दै अन्‍नाबेला टिक्न नसकी छोरी लिएर बायरनलाई छोडेर गइन्। उनले बायरनको स्वभाव र बानी असह्य भएको गुनासो गरिन्। तीमध्ये एक गम्भीर आरोप थियो कि बायरनले आफ्नी पत्नी अन्‍नाबेलासँग पनि ‘बाइसेक्सुअल’ व्यवहार गर्थे।

उनका धेरै घोषित र अघोषित प्रेमिका थिए।  साथै केही प्रेमीहरू पनि। कतिपय ‘इल्लिजिटिमेट’ सन्तानहरू पनि थिए। तर, उनका सबै सम्बन्धहरू प्रायः सहमतिका आधारमा थिए, बलजफ्तीका थिएनन्। बायरनले त्यसैले आफूलाई दोषी मान्दैनथे र कुनै कुनै सम्बन्ध टुटेमा पछुतो समेत देखाइरहेका थिए।

तर, जे भए पनि उनी असामाजिक र यौनिक विकृतिको हदसम्म पुगेका ‘बाइसेक्सुअल’ व्यक्ति भएकाले प्रशस्त बदनाम थिए। यो बदनामीको एउटा मुख्य कारण भने स्वयं बायरन नै थिए।

 

फाइल फोटो 

सबै चारित्रिक विरोधाभासहरू हुँदाहुँदै पनि बायरनलाई रोमान्टिक युगका महान् कवि मानिन्छ। उनको प्रभाव धेरै परवर्ती र समकालीन कविहरूमा देखिन्छ। बायरनको लेखन ‘एक्स टेम्पोर’ हुन्थ्यो।  लेख्‍न थालेपछि उनले धाराप्रवाह र सहज रूपमा लेख्‍न सक्थे।

उनको व्यक्तित्वमा एक गजबको आकर्षण थियो, जुन उनको अद्वितीय प्रतिभाका कारण झन् विशिष्ट देखिन्थ्यो। उनीसँग एकचोटी कुरा गर्ने जो-कोही विशेषगरी केटीहरू लठ्ठ परेरै फर्कन्थे रे ! मात्र केटीहरू होइनन्, महिला र पुरुष सबैजना उनको बोली, शैली र व्यक्तित्वमा मुग्ध हुन्थे। एकपटक बायरनकै प्रेममा परेकी एउटी केटीलाई अर्की केटीले सोधी रे,- ‘बायरन त्यस्तो चरित्रहीन छ भन्‍ने थाहा हुँदाहुँदै पनि तँ किन फँसिस् त ?’ ती केटीले भनिन्, ‘के गर्नु ? जान त झगडै गर्न गएकी थिएँ तर आफ्ना कुराले उसले मलाई लठ्ठ्याएर प्रेममा फसायो त।’ उच्च घरानाकी त्यो झगडा गर्न गएकी केटी फर्कंदा प्रेमिका बनेर फर्केकी थिई रे ! बायरनसँग कुरा गरेर फर्केपछि भनी- ‘आई वाज चाम्र्ड।’

बायरन सुरुमा केटीहरूसँग खासै खुल्दैनथे। तर, एकपटक परिचय भएपछि उनी मुन्टो निहुराएर ती केटीलाई पुलुक्क हेर्थे र फेरि फेरि नजर झुकाउँथे। यस व्यवहारलाई उनी स्वयं ‘अन्डर लुक’ भन्थे। केटीहरूले उनको यही ‘अन्डर लुक’ लाई अत्यन्त मोहक मान्दथे रे! यस्ता थुप्रै कारणले उनका साथी, नातेदार र कतिपय महिलाहरू समेत भन्थे- ‘बायरनको संगत रमाइलो त पक्कै हुन्छ, तर सुरक्षित चाहिँ हुँदैन।’

तर, अरूलाई ‘असुरक्षित तर रमाइलोपन’ दिने बायरन स्वयं पनि असुरक्षा र एक्लोपनसँग बाँचेका थिए। यही खालीपन मेट्न उनी निरन्तर लेखिरहन्थे। 

सन् १८२४ मा उनी एक सामान्य भनिएको ज्वरोले ग्रस्त भए। त्यो ज्वरो के थियो भन्‍ने पत्ता लाग्‍न नपाउँदै अप्रिल १९ का दिन उनले संसारलाई बिदाइ दिए।

सन् १७८८ जनवरी २२ मा जन्मिएका बायरनले जम्मा ५६ वर्षको जीवन जीए । सक्रिय र प्रभावशाली साहित्यिक व्यक्तित्वका धनी बायरनले अंग्रेजी काव्यजगतमा लगभग एकछत्र शासन गरे। उनको कविता ‘द डिस्ट्रक्सन अफ सेनाचेरिब’ अध्ययन गर्दा पाठकहरू केवल कविताबाट कविता मात्र होइन एउटा शक्ति, र एउटा युगको भावनात्मक प्रतिरोध गर्न ऊर्जा मिलेको महसुस गर्छन् ।

त्यो समय यस्तो थियो, एकातिर बायरनका बगली र झोलाभरि युवतीका चिठी हुन्थे जसमा लेखिएको हुन्थ्यो, ‘ओ बायरन, आइ वान्ट टु मिट/टक/डाइन/सिट/स्लिप विथ यु…।’ अर्कातिर, यस्ता चिठीका थुप्रा बोकेर बाटो हिँडिरहेका बायरनलाई देखेर प्रौढ महिलाहरू बार्दलीबाट चिच्याउँथेँ,‘ओ लेडिज, सट योर डोर्स, बायरन इज कमिङ।’

जेनजीलाई गगनको आग्रह : महाधिवेशनपछि तपाईहरूसँग मिलेर सहकार्य गर्छु (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको दौडधुप सकिएपछि जेनजी (Gen Z) अभियानसँग मिलेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । आज सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत उनले जेनजीले उठाएका राष्ट्रिय महत्वका मुद्दामा साझा प्रयास आवश्यक रहेको बताएका हुन् ।

थापाका अनुसार जेनजी मुभमेन्टले अघि सारेका विशेष गरी सुधार (रिफर्म) सम्बन्धी विषयमा निर्वाचनअघि नै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकबीच राष्ट्रिय तहको संवाद र सहमति हुनुपर्ने उनको धारणा छ । यसअघि आफूले सामाजिक सञ्जालमार्फत यही प्रस्ताव राख्दा धेरैबाट सकारात्मक प्रतिक्रिया र उपयोगी सुझाव प्राप्त भएको उनले उल्लेख गरे ।

उनले कतिपयले व्यक्तिगत रूपमा समेत सुझाव र आइडिया दिइरहेको भन्दै अहिले नै अनौपचारिक रूपमा सहकार्य सुरु भइसकेको बताए । ‘हामी मिलेर निर्वाचनअघि नै जेनजी मुभमेन्टले उठाएका प्रमुख मुद्दाहरूमा राष्ट्रिय स्तरको एउटा समझदारी बनाउन सक्छौँ भन्ने विश्वास छ’, थापाले भिडियो सन्देशमा भनेका छन्। गगन थापाको यो अभिव्यक्तिलाई युवापुस्तासँग राजनीतिक दलको दूरी घटाउने र नीतिगत सुधारका एजेण्डामा साझा मोर्चा बनाउने संकेतका रूपमा हेरिएको छ।

हेर्नुस् भिडियो

 

कांग्रेसका कुन-कुन समिति खुले विशेष महाधिवेशनको पक्षमा ?

नेपाली कांग्रेसका देशैभरका विभिन्न समितिहरू भोलिबाट सुरू हुने भनिएको  विशेष महाधिवेशनको पक्ष र विपक्षमा खुलिरहेका छन्।  प्रदेश, जिल्ला, क्षेत्रिय, पार्टीका भातृ संगठन लगायतका समितिहरु छन्। विभिन्न समितिहरूल विज्ञप्ती जारी गर्दै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागिता जनाउन र नजनाउन आह्वान गरिरहेका छन्।

अधिवेशनको पक्षमा कति विपक्षमा कति  ?

बिहीबारदेखि नै विशेष महाधिवेशनमा सहभागिता जनाउन विभिन्न जिल्लाबाट प्रतिनिधीहरु काठमाडौँ आउन थालेका छन् । यो क्रम आज शनिबार पनि जारी छ ।   

लुम्बिनी प्रदेश विशेष महाधिवेशनको पक्षधरका रुपमा खुल्ने सबैभन्दा शक्तिशाली प्रदेशका रुपमा देखिएको छ । लुम्बिनीबाट विशेष महाधिवेशनमा करीब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने जनाइएको छ । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन महाधिवेशनको तयारीको क्रममा भृकुटीमण्डपमा खटिरहेका छन्। 

त्यस्तै, गण्डकी प्रदेशका पार्टी सभापति शुक्रराज शर्मा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। गण्डकी प्रदेशबाट पनि महाधिवेशनमा उल्लेख्य सहभागीताको अपेक्षा विशेष महाधिवेशनको छ ।   

त्यस्तै, बागमती प्रदेशबाट उपसभापतिद्वय चन्द्र महर्जन र मोहन बहादुर बस्नेतसहित पाँच जना प्रदेश कार्यसमितीका पदाधिकारी विशेष महाधिवेशनको पक्षमा देखिएका छन्।   

नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका दुई उपसभापतिद्वय चन्द्र शेखर कुमार यादव र विरेन्द्रप्रसाद सिंह विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । 

अहिलेसम्म देशैभरका ३० भन्दा बढी जिल्लाका जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । त्यस्तै ३० भन्दा बाहेकका अन्य जिल्लाहरुमा पनि जिल्ला कार्यसमितिका उपसभापति, सचिव लगायतका पदाधिकारीहरुले विशेष महाधिवेशनका पक्षमा प्रेस विज्ञप्ती जारी गरिरहेका छन्। 

कोशी प्रदेशमा जिल्ला कार्यसमिती पाँचथरले विशेष महाधिवेशनका पक्षमा जारी गरेको विज्ञप्तीमा दुईजना उपसभापति, सचिव र सहसचिवको हस्ताक्षर छ । भोजपुरबाट एक/एक जना उप-सभापति, सचीव, सहसचिव र कोषाध्यक्षको विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर आएको छ। धनकुटाका सभापति दिनेश राईले पुष २४ मै विशेष महाधिवेशनका पक्षमा विज्ञप्ती जारी गरेका थिए। तेह्रथुमका सभापति अर्जुनबहादुर तुम्बाहाम्फेले पनि विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । कोशीबाट झापा जिल्ला सभापति उद्धव थापा भने महाधिवेशनका विपक्षमा खुलेका छन् ।    

मधेश प्रदेशमा जिल्ला कार्यसमिति रौतहटले जारी गरेको प्रेस विज्ञप्तीमा दुईजना उपसभापति र सचिवको हस्ताक्षर भएको प्रेस विज्ञप्ती जारी गरेको छ। मधेशकै अर्को जिल्ला बाराका जिल्ला सभापति र सचिवद्वय भैयाराम यादव/राजेश रौनियारले पनि विशेष महाधिवेशनमा पक्षधरता देखाएका छन् । 

विशेष महाधिवेशन हुने बागमती प्रदेशमा जिल्ला कार्यसमिती काठमाडौँका सभापति कृष्ण बानिया पनि विशेष महाधिवेशनका पक्षमा देखिएका छन्। यता नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र न. २ कार्यसमितिका सभापतिले यसअघि नै विशेष महाधिवेशनका पक्षमा जारी गरिसकेका छन् । जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले विशेष महाधिवेशनका पक्षमा जारी गरेको प्रेस विज्ञप्तीमा जिल्ला सभापतिका अलावा दुईवटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र र तीनवटा प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिको हस्ताक्षर छ।  सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका सभापति जंग बहादुर लामा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । बागमती प्रदेशकै जिल्लाहरु उदयपुर र ललितपुर जिल्ला कार्यसमितिका सभापतिहरुले पनि विशेष महाधिवेशनमा सहभागी हुनेबारे प्रेस विज्ञप्ती जारी गरेका छन्। 

चितवन सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाविनाको विशेष महाधिवेशनमा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन् भने  सिन्धुली, रामेछाप, मकवानपुर, दोलखा, धादिङका जिल्ला सभापति भने महाधिवेशनका सन्दर्भमा मौन देखिएका छन्। 

जिल्ला कार्यसमिती बागलुङले जारी गरेको प्रेस विज्ञप्तीमा जिल्लाका ६ वटा पालिका, दुई वटा प्रदेश सभाका क्षेत्रीय कमिटीका सभापती, दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति, जिल्ला कार्यसमितिका दुईजना उपसभापति र सचिवको हस्ताक्षर छ। पर्वतबाट ६ पालिका सभापति, दुई प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति र जिल्ला कार्यसमितिका सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । लमजुङका सातवटा पालिका सभापति सहित जिल्ला कार्यसमितिका सचीव विमल श्रेष्ठले विशेष महाधिवेशनका पक्षमा विज्ञप्ती जारी गरेका छन् । त्यस्तै, गोरखामा १० वटा पालिका, दुई वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र, चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिका सबै सभापतिहरु विशेष महाधिवेशनको पक्षमा छन् । नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पनि गत पुस २४ मै महाधिवेशनका पक्षमा प्रेस विज्ञप्ती जारी गरेका थिए । नेपाली काङ्ग्रेस तनहु महाधिवेशनका सन्दर्भमा विभाजित देखिएको छ।  तनहुबाट केही महाधिवेशन प्रतिनिधी काठमाडौँ आइसकेका छन्।  

लुम्बिनी प्रदेशमा सल्यानबाट नेपाली काङ्ग्रेस प्रदेश सभा ‘क’ कार्यसमितिका सभापति सुरेश चन्दले अधिवेशनका पक्षमा विज्ञप्ती जारी गरेका छन् । लुम्बिनी प्रदेशकै अर्को जिल्ला बाँकेबाट जिल्ला सभापति नारायण प्रसाद गौडेल अधिवेशनको पक्षमा देखिएका छन् । रोल्पा जिल्लाका सभापतिले विशेष महाधिवेशनमा सहभागी हुन भन्दै प्रेस विज्ञप्ती जारी गरेका छन् । लुम्बिनीका जिल्ला सभापतिमध्ये गुल्मीका खिलध्वज पन्थी, अर्घाखाँचीका केशव श्रेष्ठ, प्युठानका विष्णु गिरी, रुकुम पूर्वका केशरमान रोकाया, पाल्पाका हिमालदत्त श्रेष्ठ शेखर, कपिलवस्तुका अब्दुल कलाम पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । त्यस्तै, नेपाली काङ्ग्रेस पाल्पा जीला कार्यसमिति पाल्पाका जिल्ला सभापतिले पनि विशेष महाधिवेशनको पक्षमा प्रेस विज्ञप्ती जारी गरेका छन् । यता कांग्रेस नवलपरासी पनि विशेष महाधिवेशनको पक्षमा देखिएको छ ।  परासी काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति महेन्द्रध्वज जी.सी. ले महाधिवेशन प्रतिनिधिलाई अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । 

यसले लुम्बिनी प्रदेशमा काङ्ग्रेस संस्थापन पक्षलाई अल्पमतमा परेको देखाएको छ।  तर, यसअघि महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केहीले भने अहिले फिर्ता लिइरहेका छन्। 

कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला सभापतिहरु विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । शुक्रबार जिल्ला सभापतिहरू सुर्खेतका खड्गबहादुर पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली र डोल्पाका (कार्यवाहक) लवकुमार शाहीले संयुक्त विज्ञप्ति निकालेर महाधिवेशनमा सहभागी नहुन भनेका छन् । त्यस्तै, कालीकोटका सभापति अम्मबहादुर शाहीले पनि छुट्टै विज्ञप्ति निकालेर आफू नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन् । 

जुम्लाबाट यसअघि नै १९ जना प्रतिनिधि विशेष महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गरिसकेका छन् । 

सुदूरपश्चिमका नौ मध्ये ६ जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी नहुन प्रेस विज्ञप्ती निकालेका छन् । बझाङका सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले बिहीबार विशेष महाधिवेशनको विपक्षमा संयुक्त विज्ञप्ती जारी गरेका हुन् । बाजुरा, बझाङ र दार्चुलाका जिल्ला सभापतिहरुलाई संस्थापन इतर मानिए पनि विशेष महाधिवेशनका सन्दर्भमा भने उनीहरु मौन छन् । 

नेपाली कांग्रेसनिकट इन्जिनयरहरू पनि पार्टीको विशेष महाधिवेशनलाई लिएर पक्षविपक्ष भएका छन् । शुक्रबार काठमाडौंमा एक भेला गरेर कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन), नेपाल इन्जिनियर्स एसोसिएसनका वर्तमान तथा पूर्वपदाधिकारीहरु, इन्जिनियरीङ्ग क्षेत्रबाट प्रतिनिधित्व गर्ने महासमिति तथा महाधिवेशन प्रतिनिधिहरूले ईन्जिनियर तथा आर्किटेक्टहरूको एक पक्षको भेलाले विशेष महाधिवेशनको पक्षमा खुल्ने निष्कर्ष निकालेको हो ।

त्यस्तै नेपाल विधार्थी संघको एक खेमा पनि विशेष महाधिवेशनको पक्षमा देखिएको छ। संस्थापन इतर पक्षले विज्ञप्ती नै जारी गरेर विशेष महाधिवेशन सफल बनाउन आह्वान गरेको छ। स्ववियु परिषद नेपाल पनि विशेष महाधिवेशनका पक्षमा देखिएको छ। स्ववियु परिषद नेपालका सभापति प्रसान राईले विशेष महाधिवेशन सफल बनाउन अपिल गरेका छन्।  

त्यस्तै नेपाल मुस्लिम संघका महासचिव प्रवेज आलम अन्सारी विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । 

नेपाली काङ्ग्रेस जनसम्पर्क समिति कोरियाले पनि विशेष महाधिवेशनका पक्षमा प्रेस विज्ञप्ती जारी गरेको छ। 

विशेष महाधिवेशन पक्षधरहरूले ६० प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउने दाबी गरिरहेका छन् ।

महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशन तयारी भइरहँदा मध्यमार्गी बाटो अपनाएका शेखर कोइराला भने विशेष महाधिवेशन र नियमित महाधिवेशन कुनै पनि पक्षमा खुलेका छैनन् । आज मात्रै कोइरालाले विशेष महाधिवेशन रोकेर पार्टी विभाजन रोक्न भनेर पार्टी सभापति शेरबहादुर देउवासँग छलफल पनि गरे ।   

अहिले कांग्रेसमा महाधिवेशनलाई लिएर संस्थापन पक्ष र इतर पक्षका आ-आफ्नै धारणा छन् । संस्थापन पक्षले चुनावको मुखमा महाधिवेशन पार्टीका लागि आत्मघाती हुने दाबी गर्दै आएको छ भने थापा पक्षले जसरी पनि विशेष महाधिवेशन गरिछाड्ने उद्घोष गरिरहेको छ। यसैका लागि विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा हलबुक गर्नेदेखि लिएर मंच निर्माण सम्मका कार्यहरु तिव्र रुपमा गरिरहेको छ । 

अर्को पट्टी संस्थापन पक्षले भदौ २७ र २८ मा छुट्टाछुट्टै कार्यक्रम बोलाएको छ। संस्थापन पक्षले पुस २७ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा तरुणहरुको भेला बोलाएको छ भने पुस २८ मा जिल्ला सभापतिहरुको भेला बोलाएको छ। 

नेतालाई लाञ्छना र फसाउने प्रवृत्ति अन्त्य नगरी चुनाव सम्भव छैन: ओली (भिडियाेसहित)

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

एमालेको शनिबार आयोजना गरेको केन्द्रीय कमिटी बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनको वातावरण बनिनसकेको भए पनि निर्वाचन गर्नुपर्ने बताए ।

नेताहरूलाई विभिन्‍न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्‍नेजस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए ।

उनले विभिन्‍न बहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे । उनले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाएका छन् ।

उनले भने, ‘अहिले पनि राजनीतिक दलका नेताहरूमाथि विभिन्‍न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयासको परित्याग गर्ने अवस्था बनिसकेको छैन । निर्वाचनको वातावरण बनेको छैन । हामीले सर्वदलीय रूपमा पनि कुराहरू अभिव्यक्ति गरेका छौँ र सरकारका प्रतिनितिहरूको बातचितमा पनि हामीले यी कुराहरू उठाइरहेका छौँ । तर, अझै पनि निर्वाचनको सुनिश्‍चतता र निर्भय वातावरण बनेको छैन ।’

उनले समानुपातिक निर्वाचनका लागि सर्वसम्मतिले नै बन्दसूचीमा नाम सिफारिस गरेको दाबी गरे ।

प्रत्यक्ष निर्वाचनमा उम्मेदवारको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटीमा केही विवाद देखिएको उल्लेख गर्दै उनले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे ।

विध्वंश मच्चाउनेहरु लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कस्दैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र अन्य शक्तिहरूले लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिरहेको आरोप लगाएका छन् । उनले भदौ २४ का घटनाहरूलाई वैधता दिने कि नदिने भन्ने विषयमा राजनीतिक ध्रुवीकरण बढेको पनि बताएका छन् ।

एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘देश बनाउने लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन नपाएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन् । उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास भइरहेको छ ।’

उनले रवि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै थपे, ‘दुवै जनाले राम्रो र स्वस्थ मनसाय राखेर एक ठाउँमा उभिएको होइन । यो फरक मनसायले, देश बर्बाद गर्ने उद्देश्यले एक ठाउँमा उभिएका हुन् । लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ ।’

अध्यक्ष ओलीले कुलमान घिसिङ लगायतका अन्य शक्तिहरूलाई पनि यस मोर्चाको हिस्सा भएको आरोप लगाए । उनले भने, ‘कुनै सार्वजनिक जवाफदेहिता नभएका व्यक्तिहरूले देश बनाउने होइन, विध्वंस गर्ने उद्देश्यले एकत्रित भएका छन् । कुनै अवतारी आएर समस्या समाधान हुने भ्रम फैलाइएको छ, जुन सत्य होइन।’

ओलीको भनाइ अनुसार, भदौ २४ का घटनालाई वैधता दिने कि अस्वीकार गर्ने भन्ने बहसले देशको राजनीतिक वातावरणलाई थप ध्रुवीकृत बनाएको छ । अध्यक्ष ओलीले यसै सन्दर्भमा आफूहरू लोकतन्त्रलाई पुनःस्थापित गर्ने प्रयासमा रहेको दाबी गरे । यसरी ओलीले स्पष्ट पारे कि राजनीतिक उद्देश्यका लागि विभिन्न व्यक्ति र समूहहरू मिलेर लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा बनाइरहेका छन्, र यसलाई उनले देशको स्थायित्व र लोकतन्त्रका लागि खतराको रूपमा व्याख्या गरेका छन् ।

पार्टी जाेगाउने कित्तामा डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा, देउवा र महामन्त्रीपक्षलाई के भने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा वकालत गरेका छन् ।

पार्टी निर्णयविपरीत महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि विभाजनको डिलमा पुगेको कांगेसलाई फुटबाट जोगाउने उद्देश्यका साथ शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन पक्ष र इतर पक्ष दुवैलाई दबाब दिए ।

कांग्रेसलाई देशको नेतृत्व गर्ने शक्ति बनाउनका लागि फुट हुन नदिन आफूहरू लागि परेको नेता भण्डारीले बताए । उनले आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गरे ।

नेताहरूलाई एकतावद्ध हुनका लागि आग्रह गर्न आफूहरू लागि परेको उनको भनाइ छ ।

नेता भण्डारीले भने, ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौँ । हामी पार्टीलाई फुट्न नदिने कित्तामा छौँ । विशेष महाधिवेशनमा पार्टी सभापतिसहितका नेताहरू सहभागी हुनुपर्छ । मुलुकलाई संकटबाट जोगाउन पनि कांग्रेसलाई फुटबाट जोगाउनुपर्छ ।’

कांग्रेस नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू पनि सहभागी हुने विश्‍वास व्यक्त गरे ।

उनले सभापति देउवालाई सम्मानजनकरुपमा बिदाई गर्न आफूहरूले चाहेको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि सहभागी हुनुहुनेछ । पार्टी सभापति देउवाको सम्मानजनक बिदाईको पक्षमा छौँ । पार्टी एकताको पक्षमा हामी छौँ ।’

नेता शर्माले डा. शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरे ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरमा सुरु भएको छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो ।

बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्नुहुने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

संशोधित विधान बमोजिम पार्टीको विनियमावली संशोधन, महाधिवेशनको आय÷व्यय, पछिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन र विविध कार्यसूची रहेका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

विशेष महाधिवेशन विवाद उत्कर्षमा : राष्ट्रपति र कोइरालासँग देउवाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद उत्कर्षमा पुगेको बेला सभापति शेरबहादुर देउवा र पार्टीका अन्य समूहका नेता डा. शेखर कोइरालाबीच आज दुई वटा भेटवार्ता भएको छ । यसैबीच देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट्न पुग्दा पनि राजनीतिक हलचल बढेको छ ।

सूत्रका अनुसार, बिहान देउवा र कोइरालाबीच महाराजगञ्जस्थित देउवा निवासमा विस्तृत संवाद भएको थियो । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटवार्तामा विशेष महाधिवेशनको तयारी र रोकथामको विषयमा छलफल केन्द्रित भएको थियो ।

पार्टीको केन्द्रीय समितिले आगामी वैशाख २८–३१ सम्म १५औं नियमित महाधिवेशन गर्ने निर्णय पारित गरेको छ । तर, विशेष महाधिवेशन पक्षधर नेता गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने तयारी तीव्र पारेका थिए । यस्तो अवस्थामा पार्टी भित्रको संवाद र सहमति अभावले विवाद झन बढाएको छ ।

शीतल निवास पुगेर देउवाले राष्ट्रपति पौडेलसँग भेट गरेका कारण पार्टीभित्र यो कदमलाई राजनीतिक अर्थपूर्ण रुपमा हेरिएको छ । भेटको विषय र परिणाम सार्वजनिक भइसकेको छैन। देउवाले बैठक अघि थप छलफल गर्ने आशय व्यक्त गरेका थिए । विशेष महाधिवेशन स्थगित नगरेको खण्डमा संस्थापन पक्षले थप कदम चाल्ने तयारीमा छ । महाधिवेशन तालिका संसदको उम्मेदवारी दर्ता र राष्ट्रियसभाको चुनावपछि ल्याउने प्रस्ताव पनि संस्थापनले राखेको छ । राजनीतिक विश्लेषकहरूले भने, पार्टीभित्रको यो घामघुल्लो स्थिति आगामी महाधिवेशन र आगामी निर्वाचन रणनीतिमा निर्णायक भूमिका खेल्ने देखिन्छ ।

भण्डारी र शर्माले भने–विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पास गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माले पार्टी एकता जोगाउँदै विशेष महाधिवेशन नीतिगत र संकल्प प्रस्ताव आधारित बनाइने दिशामा काम गरिरहेको बताएका छन् । उनीहरूले पार्टी विभाजन नहुने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई सहकार्यको सन्देश दिएका छन् ।

शनिबार बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले विशेष महाधिवेशनलाई ‘नीतिगत सम्मेलन’ का रूपमा अघि बढाउन आग्रह गर्दै भने, ‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आएका छन् । यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔं । चार महिनापछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई उत्साहित बनाइ पठाऔं ।’

उनले कुनै हालतमा पार्टी विभाजन हुन नदिने पनि स्पष्ट पारे । भण्डारीले भने, ‘संस्थापन पक्ष; सभापति÷कार्यवाहक सभापतिज्यूले पनि यसलाई आफ्नो भनेर ग्रहण गर्नु पर्नेछ र आयोजकहरूले यसलाई सम्पूर्ण पार्टीको सम्मेलन भन्ने गराउनु पर्छ ।’ नेता सुनिल शर्माले पनि पार्टी विभाजन रोक्न आफूहरू सक्रिय रहेको बताए । उनले जानकारी दिए, ‘हामी दिनरात खटिरहेका छौँ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि भेट गरेर पार्टीपंक्तिलाई उत्साहित गर्ने उपाय निकाल्ने काम भइरहेको छ ।’

भण्डारीले विधानको बेवास्ता गर्दा संस्थापन पक्षले कमजोरी देखाएको उल्लेख गर्दै भने, ‘संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्ता गरेकै कारण कांग्रेस अहिले संकटको डिलमा पुगेको छ । कांग्रेसभित्र संकट आउँदा मूल नेतृत्वमा असर पर्छ । त्यसैले हामीले यो रोक्न आग्रह गरिरहेका छौँ ।’ पत्रकार सम्मेलनमा उनले थपे, ‘विशेष महाधिवेशन पक्षधरलाई पाखा राखेर अर्को ढङ्गले नजाने, मध्यमार्गी विकल्पमा दुवै पक्ष आउनु पर्छ । यसरी मात्र पार्टी एकता कायम रहन्छ ।’ यसरी, चन्द्र भण्डारी र सुनिल शर्माले विशेष महाधिवेशनलाई नीतिगत रूपमै अगाडि बढाएर पार्टी एकतालाई मजबुत बनाउने योजना अघि सारेका छन् । उनीहरू दुवै पक्षलाई सहकार्यमा ल्याएर नियमित महाधिवेशनतर्फ उन्मुख हुने दिशामा जुटिरहेका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री र सभामुख जन्माएको काठमाडौं–२, यसपटक आशिका तामाङ पर्लिन् राेजाइमा ?

काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर– २ का मतदाताले कुनै बेला निर्वाचित गरेका नेताहरू राष्ट्रपति, प्रधानमन्त्री र सभामुख भइसकेका छन् ।

विद्यादेवी भण्डारी गणतन्त्र स्थापनापछि दुईपटक राष्ट्रपति र माधवकुमार नेपाल एकपटक प्रधानमन्त्री भए । दमननाथ ढुङ्‍गाना सभामुख भए । यसरी राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि संसद्को प्रमुखसम्म यही निर्वाचनबाट निर्वाचित नेताहरू भए ।

यही क्षेत्रबाट अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । उनले काठमाडौं–९ लाई पनि उम्मेदवारीको सम्भावित क्षेत्र भनेकी छिन् ।

तर, यहाँ काठमाडौं–२, त्यहाँबाट विगतमा निर्वाचित जनप्रतिनिधि, त्यहाँका मतदाताको मतदान प्रवृत्ति, आशिका र उनको विगतबारे पनि चर्चा गर्दैछौँ ।

०००

काठमाडौं– २ मा प्रजातन्त्रको पुनर्वहालीपछि २०४८ सालमा भएको प्रतिनिधिसभा निर्वाचनबाट दमननाथ ढुङ्‍गाना निर्वाचित भए । ढुङ्‍गाना २०४६ सालको जनआन्दोलनको नेतृत्वदायी दल नेपाली कांग्रेसका नेता थिए । पछि उनी सभामुख भए । उनको निधन भइसकेको छ ।

काठमाडौं–२ ले २०५१ को मध्यावधि निर्वाचनबाट आफ्नो जनप्रतिनिधि फेर्‍यो । त्यहाँ नेकपा एमालेकी उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भइन् ।

एक वर्षअघि मात्रै भण्डारी आफ्ना पति मदन भण्डारीको चितवनको दासढुुंगमा सवारी दुर्घटनापछि काठमाडौं–१ मा भएको निर्वाचनबाट निर्वाचित भएकी थिइन् । त्यसबेला उनले नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् ।

मध्यावधि निर्वाचन हुँदा काठमाडौं–२ रोजेकी उनलाई त्यहाँका मतदाताले पनि रोजे । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा पनि मतदाताको रोजाइमा भण्डारी नै परिन् ।

तर, २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–२ बासीले तत्कालीन माओवादी उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई जिताए । तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई त्यहाँका मतदाताले त्यसबेला रुचाएनन् ।

२०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा त्यहाँबाट माधवकुमार नेपाल निर्वाचित भए । उनी दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदा काठमाडौं २ छाडेपछि कांग्रेसका दीपक कुइँकेल निर्वाचित भए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा फेरि नेपाल निर्वाचित भए । तर, २०७९ को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम निर्वाचित भइन् ।

२०४८ साल यताको यी सातवटा संसदीय निर्वाचनको परिणामले भन्छ– काठमाडौं– २ का मतदाता नेताहरू परीक्षण गरिरहन्छन् । कुनै एक उम्मेदवारलाई पटकपटक जिताएर संसद् पठाउँदैनन् । अर्थात् उनीहरू राम्रा नेताको खोजिमा हुन्छन् । त्यसका लागि नयाँ नयाँ नेता रोजिरहन्छन् । कांग्रेस, एमाले, माओवादी र रास्वपाका उम्मेदवारलाई पालैपालो संसद् पठाउनुले त्यो पुष्टि गर्छ ।

उसो भए के यसपटक आशिका तामाङ काठमाडौं–२ का मतदाताको रोजाइमा पर्न सक्छन् ? त्यो त हेर्न बाँकी छ ।

आशिका गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहको एक हिस्सेदार हुन् । उनी विद्रोहमा उत्रिएका युवा विद्यार्थीहरूलाई पानी बाँडेकी थिइन् ।

घाइतेहरूको उद्धारमा खटिएकी थिइन् । अस्पताल गएर उपचारमा सहजीकरण गरेकी थिइन् । घाइते वा मृतकका परिवारलाई आर्थिक सहायता बाँडेकी थिइन् ।

त्यही भएर सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा नागरिक सरकार गठन हुँदा समर्थकहरूले आशिकालाई मन्त्री बनाउनुपर्ने सुझाएका थिए । तर, उनी मन्त्री भइनन् ।

उनै आशिकाले काठमाडौं–२ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बन्‍न चाहेकी छिन् । उनको स्वतन्त्र उम्मेदवारी भनिएको छ ।

जबकि, उनले हालै रवि लामिछानेबाट अविर लगाएर उनी रास्वपा प्रवेश गरेकी थिइन् । तर, समर्थकहरूले स्वतन्त्र हुन र स्तवन्त्रबाटै निर्वाचन लड्न सुझाव दिएपछि आफूले रास्वपासँग आबद्ध नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएको स्पष्ट पारेकी छिन् ।

उनी पछिल्ला दिनमा मानवीय सहायताको क्षेत्रमा पनि क्रियाशील छिन् । विपन्‍न विद्यार्थीलाई पोशाक, झोला दिनेदेखि असहायहरूलाई सहायता दिने गरेको देखिन्छ ।

अलिक अघिसम्म उनी बेतिथीहरूविरुद्ध रुखो बोलीमा विरोध गर्थिन् । खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले महंगो पार्किङ शुल्कविरुद्ध खरो बोलेकी थिइन् ।

मनकामना जाने बाटोको एक होटलमा पानीको बोतल महंगोमा बेचिएको र धादिङको मलेखुमा खानालाई लिएर उनले थर्कमान गरेकी थिइन् ।

काठमाडौं उपत्यकाको नदी किनारका पुलहरूमा छलेर पिसाव गर्नेहरूको भिडियो नै खिचेर सार्वजनिक बेइज्जत गरिदिएकी थिइन् ।

गुट्का खाएर सडकमा खोल फाल्नेहरूलाई टिप्‍न लगाउँछिन् । काठमाडौंको गौशलामा उनले प्रहरीमाथि दुर्व्यबहार गरेको आरोपको सामना गर्नुपर्‍यो । भक्तपुरमा उनीविरुद्ध आपराधिक उपद्रवको उजुरी पर्‍यो ।

यसरी कानुनी कठघरामा पनि उभिँदै आएकी आशिका बेथितीविरुद्ध प्रश्‍न उठाउँदै, मानवीय सहायताको क्षेत्र र सहरी क्षेत्रको सफाइमा क्रियाशील रहँदै अन्ततः संसद पुगेर कानुन निर्माणमा सक्रिय हुन खोजिरहेकी छिन् ।

तर, उनीसँग जर्मनीको स्थायी बसोबासको अनुमति कार्ड रहेको आरोप लाग्दै आएको छ । त्यसका लागि उनले नेपाली नागरिकता र राहदानी त्यागेको विषय पनि उठ्ने गरेको छ ।

पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्तामा उनले आफूसँग जर्मनीको आवासीय अनुमति कार्ड भएको तर नेपाली नागरिकता र राहदानी कायमै रहेको दाबी गरेकी छिन् ।

विगतमा रास्वपा सभापति रवि लामिछानेको नागरिकता र राहदानीबारे प्रश्‍न उठ्यो । उनी अमेरिका जाँदा दुवै त्यागेर अमेरिकी नागरिकता र राहदानी लिएको भनियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्‍यो ।

अन्ततः सर्वोच्चले रविको नेपाली नागरिकता कायम नगरेको ठहर गर्‍यो । त्यससँगै उनको उपप्रधान तथा गृहमन्त्री, सांसद र रास्वपाको सभापति पद एकैपटक गुम्यो । पछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता फेरि लिए ।

कतै आशिकाको त्यस्तै त हुने होइन ? संशय छ । उनको जन्म धादिङको गजुरी गाउँपालिका– २ मा भएको हो ।

१३ वर्षअघि उनले जर्मन नागरिक थोमससँग विवाह सम्बन्ध गाँसेकी थिइन् । उनी दुई सन्तानकी आमा हुन् । त्यसो हुँदा उनलाई आलोचकहरूले विदेशी नागरिक भन्दै आएका छन् ।

गगन–विश्वले गरे बैठक बहिष्कार, विशेष महाधिवेशनका आजका कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किदै जाँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा सहभागी भएनन् । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको भए पनि महामन्त्रीद्वयको अनुपस्थितिले राजनीतिक तरंग पैदा गरेको छ ।

महामन्त्रीद्वय विशेष महाधिवेशनको पक्षमा उभिँदै २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । यही विषयलाई लिएर पार्टी नेतृत्व र महामन्त्रीहरूबीच मतभेद सतहमा आएको देखिन्छ । बैठक बहिष्कारलाई पार्टीभित्रको असहमतिको स्पष्ट संकेतका रूपमा हेरिएको छ ।

यसैबीच, विशेष महाधिवेशन पक्षधरले आजका लागि तय गरेका सबै कार्यक्रम स्थगित गरेका छन् । कांग्रेस नेता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रासहित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तयारी थियो ।

विशेष महाधिवेशन पक्षधरले पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको समयमा कुनै कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । जारी विज्ञप्तिमा पुस २६ गतेका सबै कार्यक्रम स्थगित गरिएको र पुस २७ गते हुने विशेष महाधिवेशनको उद्घाटन समारोह श्रद्धा र सम्मानका साथ सुरु गरिने उल्लेख छ ।

८४ वर्षीय होमनाथ दाहालको शुक्रबार साँझ उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । ओखलढुंगा जिल्लाबाट पूर्व सांसद तथा पूर्वमन्त्री रहिसकेका दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष समेत हुन् । विसं २०५६ मा सांसद निर्वाचित उनी पछि कृषि तथा सहकारीमन्त्री बनेका थिए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–२, रामपुरमा जन्मिएका दाहालको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदै छ । एकातिर कांग्रेसभित्र नेतृत्व र महामन्त्रीबीचको टकराव, अर्कोतिर शोकका कारण स्थगित कार्यक्रम–यी घटनाक्रमले कांग्रेसको आन्तरिक राजनीति थप संवेदनशील मोडमा पुगेको संकेत गरेका छन् ।

गगन–विश्वलाई घनश्यामको शुभकामना : विशेष महाधिवेशनले ‘राजनीतिक मधुशाला’ भत्काओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले नेपाली कांग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनलाई नेपाली राजनीतिका लागि अर्थपूर्ण पहलको रूपमा व्याख्या गर्दै सफलताको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै भुसालले नेपाली राजनीति लामो समयदेखि अन्तरपार्टी सिण्डिकेट र दलाल पुँजीवादको कब्जामा परेको आरोप लगाएका छन् । कांग्रेस र कम्युनिष्ट पार्टी नाम फरक भए पनि व्यवहारमा सत्ता र राज्य दोहनमा केन्द्रित एउटै ‘संयुक्त संयन्त्र’ जस्तो देखिएको उनको टिप्पणी छ ।

उनले नेपाली कांग्रेस कांग्रेसीहरूको र कम्युनिष्ट पार्टी कम्युनिष्टहरूको हुनुपर्ने मान्यता अघि सारेका छन् । तर यथार्थमा भने कांग्रेसभित्र कांग्रेसीभन्दा कम्युनिष्ट नेताहरूको स्वार्थ हाबी भएको र कम्युनिष्ट पार्टीहरू देउवा पक्षको प्रभावमा चलेको आरोप भुसालले गरेका छन् । ‘नेपाली कांग्रेस के गर्ने भन्ने कुरा ओली वा प्रचण्डको स्वार्थले निर्धारण गर्छ र कम्युनिष्ट पार्टीका नीतिमा देउवाजीको प्रभाव बढी देखिन्छ’, भुसालले लेखेका छन् ।

उनले कम्युनिष्ट र कांग्रेस नेताहरूबीच देखिने सतही झगडाभन्दा भित्रभित्रै हुने मिलेमतो नै नेपालको राजनीतिक संकटको जरो भएको दाबी गरेका छन् । आफ्नै पार्टीभित्र असहमतिलाई स्वीकार नगर्ने नेताहरू सत्ता र लाभ बाँडफाँटमा भने सजिलै एक ठाउँमा उभिने गरेको उनको भनाइ छ । यही प्रवृत्तिलाई उनले विगत २५ वर्षदेखि ‘दलाल पुँजीवाद’ भन्दै आएको उल्लेख गरेका छन् ।

भुसालले आफ्नो टिप्पणीमा कवि हरिवंश राय बच्चनको ‘मधुशाला’ कविताको प्रसंग समेत उठाउँदै नेपाली राजनीतिलाई मधुशालासँग तुलना गरेका छन् । कम्युनिष्ट र कांग्रेस नामका फरक धारका नेताहरूलाई बिचौलियातन्त्रले एउटै ठाउँमा राख्दै आएको उनको निष्कर्ष छ ।

गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भनिएको नेपाली कांग्रेसको विशेष महाधिवेशन संस्थापन पक्षले अस्वीकार गरिसकेको सन्दर्भमा भुसालको धारणा आएको हो । उनले यो महाधिवेशन कांग्रेसको आन्तरिक मामिला भए पनि त्यसले नेपाली राजनीतिको ‘मधुशाला’ भत्काउन सके वर्तमान राजनीतिक गतिरोध तोड्न ऐतिहासिक योगदान पुग्ने बताएका छन् ।

‘यदि यो विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई कांग्रेसीहरूको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ’, भुसालले उल्लेख गरेका छन् । यसले विचारको नाममा सडकमा दिनदहाडै हुने खुलेआम किनबेच रोक्न मद्दत पुग्ने उनको विश्वास छ । विशेष महाधिवेशन सफल भए कम्तीमा दलाल पुँजीवादको ‘संयुक्त कार्यालय’ विघटन हुने दाबी गर्दै भुसालले गगन थापा र विश्वप्रकाश शर्मालाई पुनः सफलताको शुभकामना दिएका छन् ।

 

नेकपाबाट श्रीमान–श्रीमती नै उम्मेदवार

सुर्खेत । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र रुकुमपश्चिमका नेता गोपाल शर्मा दम्पतीको उम्मेदवारीले तीव्र चर्चा र विवाद जन्माएको छ । पार्टीले शर्मालाई रुकुमपश्चिमबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस गर्दा उनकी श्रीमती अञ्जु दहितलाई समानुपातिकतर्फको बन्दसूचीमा समेटेपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो ।

नेकपाले निर्वाचन कार्यालयमा बुझाएको समानुपातिक बन्दसूचीमा अञ्जु दहितको नाम थारु क्लस्टरअन्तर्गत दोस्रो नम्बरमा राखिएको थियो । श्रीमान प्रत्यक्षतर्फ र श्रीमती समानुपातिक सूचीमा परेको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि पार्टीभित्रसम्म आलोचना सुरु भयो । नेकपाकी केन्द्रीय सदस्य लक्ष्मी पुनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै ‘श्रीमान प्रत्यक्षतर्फ र निर्वाचन हारेकी श्रीमती समानुपातिकमा–वा रे पावर’ भनेर कटाक्ष गरेकी थिइन् ।

आलोचना बढेपछि नेकपाका प्रत्यक्ष उम्मेदवार गोपाल शर्माले पत्नीको नाम समानुपातिक बन्दसूचीबाट हटाउने घोषणा गरेका छन् । शनिबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शर्माले समानुपातिक सूचीमा अञ्जुको नाम परेको थाहा पाउना साथ कुनै एक जना मात्र उम्मेदवार हुने गरी पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुरा भइसकेको जानकारी दिएका छन् । उनले अन्तिम बन्दसूचीमा अञ्जुको नाम समावेश नहुने निश्चित भइसकेको दाबी गरेका छन् ।

शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तिम सूची प्रकाशित नहुँदासम्म धैर्य गर्नुपर्छ । हाम्रो दाम्पत्य जीवनको २० वर्षभन्दा लामो राजनीतिक यात्रामा हामी पार्टीको निर्णयका आधारमा अलग–अलग जिल्लामा समान जिम्मेवारीमा सक्रिय रह्यौं । राजनीतिमा एकले अर्काको सहारामा अवसर खोजेको अवस्था छैन ।’ पार्टीले नाम फिर्ता नलिए पनि उम्मेदवारले फिर्ता लिन पाउने समयमा अञ्जुले नाम फिर्ता लिने स्पष्ट पारेका छन् ।

अञ्जु दहित यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बर्दियाको बारबर्दिया नगरपालिकाको नगर उपप्रमुखमा ११ हजार ११ मतसहित निर्वाचित भएकी थिइन् । २०७९ सालको प्रदेशसभा निर्वाचनमा भने बर्दिया क्षेत्र नम्बर–१ प्रदेशसभा २ बाट प्रत्यक्ष उम्मेदवारी दिँदा उनी ११ हजार ४९० मत प्राप्त गरी तेस्रो भएकी थिइन् ।

यता गोपाल शर्मा २०७४ सालको प्रदेशसभा निर्वाचनमा रुकुमपश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोही कार्यकालमा उनी कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका थिए । दम्पती दुवै जनाको उम्मेदवारी सिफारिसपछि सुरु भएको यो विवादले नेकपाभित्र अवसर वितरण, नैतिकता र पारदर्शिताबारे बहस चर्काएको छ । आलोचनापछि शर्माले लिएको निर्णयले विवाद केही मत्थर हुने अपेक्षा गरिएको छ ।

 

मिलिनसक्दै छुटिने तयारीमा रवि–कुलमान

काठमाडौं । औपचारिक घोषणा हुनै नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया गम्भीर संकटमा परेको छ । पद बाँडफाँट, वरीयता र संघीयता–धर्मनिरपेक्षता जस्ता संवेदनशील सैद्धान्तिक मुद्दामा सहमति नजुट्दा दुई पक्षबीचको दूरी झनै बढ्दै गएको छ ।

एकताको अन्तिम चरणमा आइपुग्दा रास्वपाले पूर्व सहमति पालना नगरेको आरोप उज्यालो नेपाल पक्षले लगाएको छ । रास्वपा नेतृत्वबाट ‘ठूलो दलको दम्भ’ देखिएको, आफ्ना नेता–कार्यकर्तामाथि अपमानजनक व्यवहार भएको निष्कर्षसहित उज्यालो नेपालका नेताहरूले एकता प्रक्रियामै पुनर्विचार गर्न दबाब बढाएका छन् ।

स्रोतका अनुसार, प्रारम्भिक समझदारीमा उज्यालो नेपाललाई प्रत्यक्षतर्फ ३० प्रतिशत उम्मेदवारी, केन्द्रीय समितिमा २६ सदस्य र समानुपातिकतर्फ १८ सिट दिने सहमति भएको थियो । तर, अन्तिम समयमा समानुपातिक सिट १४ मा झारिनुका साथै सांसद बन्ने निश्चित मानिएका ६ जनाको क्लस्टर नै हटाइएपछि विवाद चर्किएको हो ।

निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समिति रहेको उज्यालो नेपाललाई एकीकरणका नाममा ९४ सदस्यीय बनाइए पनि, अधिकांश केन्द्रीय सदस्यहरूले यस्तो अवस्थामा पार्टीको साख जोगाउन गाह्रो हुने भन्दै यथास्थितिमा एकता अस्वीकार्य भएको बताएका छन् । शुक्रबार काठमाडौंको बौद्धस्थित एक होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछाने व्यक्तिगत रूपमा लचिलो देखिए पनि उनको सचिवालय र ‘कोर टिम’ सहमति कार्यान्वयनमा बाधक बनेको बताएका थिए ।

त्यसअघि रविसँग भएको प्रत्यक्ष भेटवार्तामा कुलमानले वरीयता, केन्द्रीय समितिमा २६ सदस्य र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्ने सुनिश्चितता माग गरेका थिए । तर, रविले २१ केन्द्रीय सदस्यसम्म दिन तयार भए पनि समानुपातिक सांसद सुनिश्चित गर्न नसकिने जवाफ दिएपछि कुलमान थप असन्तुष्ट बनेका छन् ।

उज्यालो नेपालका नेताहरूका अनुसार, यही असन्तुष्टिले कुलमानलाई वैकल्पिक रणनीति अर्थात् ‘प्लान बी’ तर्फ धकेलेको छ । उक्त योजनाअनुसार कुलमानले उज्यालो नेपाल पार्टीबाटै प्रत्यक्ष चुनाव लड्ने र समानुपातिक मतका लागि अर्कै चिह्न भएको दलसँग मोर्चाबन्दी वा सहकार्य गर्ने तयारी गरेका छन् । समानुपातिक सूची बुझाइसकेका पाँच–छ वटा पार्टी कुलमानसँग सम्पर्कमा रहेको दाबी पनि उनी निकट नेताहरूले गरेका छन् ।

यद्यपि, उज्यालो नेपालका केही दोस्रो तहका नेताहरू भने अझै पनि असमझदारी हटाएर रास्वपासँगको एकता जोगाउने अन्तिम प्रयासमा छन् । उनीहरूको भनाइमा, एक पटक हस्ताक्षर भइसकेको सहमतिपछि ‘आए आऊ, नआए नआऊ’ भन्ने शैलीले पार्टी–पार्टीबीचको सम्मानमा चोट पुगेको छ ।

उज्यालो पार्टीभित्रै केही नेताहरूले भने अहिलेको विवादमा तीनै पक्ष–रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाह-सबैको भूमिका प्रश्नयोग्य रहेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार, व्यक्ति केन्द्रित करिज्मामा बढी भरोसा गर्दा संस्थागत राजनीति र सहमतिको मूल्य ओझेलमा परेको छ ।

दुई साता नपुग्दै एकता प्रक्रिया लगभग ठप्प अवस्थामा पुगेको छ । नयाँ ठोस समझदारी नभए कुलमान घिसिङ रास्वपाबाट अलग भएर उज्यालो नेपाल पार्टीलाई आफ्नै नेतृत्वमा अघि बढाउने लगभग निश्चित जस्तै देखिएको छ । तर, अन्तिम क्षणसम्म पनि केही नेताहरू ‘मिल्ने सानो झ्याल’ खुला राखेर वार्ता जारी राख्नुपर्ने पक्षमा छन् ।

‘अशान्त’ इरान : सडकमा राजतन्त्रको नारासहित विद्रोह, सत्तामा संकट

काठमाडौं । इरानमा पछिल्ला दिनहरूमा सरकारविरोधी आन्दोलनले अभूतपूर्व रूप लिँदै देशव्यापी संकटको संकेत दिएको छ । राजधानी तेहरानबाट सुरु भएको आन्दोलन १३ दिनदेखि निरन्तर जारी रहँदै ३१ वटै प्रान्तका १०० भन्दा बढी सहर र नगरसम्म फैलिएको छ । आर्थिक संकटबाट चुलिएको जनआक्रोशले अब राजनीतिक स्वरूप लिँदै इस्लामिक गणतन्त्रको भविष्य नै प्रश्नको घेरामा पारेको देखिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार प्रदर्शनका क्रममा तेहरानका घोलहक र सादत अबाद क्षेत्रका थुप्रै भवनमा आगलागी भएका छन् । बीबीसी फारसीले प्रमाणित गरेको भिडियो फुटेजमा ती क्षेत्रमा ठूलो आगो लागेको दृश्य देखिन्छ । मानवअधिकार समूहहरूको दाबी अनुसार, आन्दोलनका क्रममा हालसम्म कम्तीमा ४८ जना प्रदर्शनकारी र १४ जना सुरक्षाकर्मी मारिएका छन् । अवस्थाको गम्भीरताका कारण सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ ।

आर्थिक संकटबाट राजनीतिक विद्रोहसम्म
यी प्रदर्शनको मूल कारण इरानको गहिरिँदो आर्थिक संकट हो । डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल प्रति अमेरिकी डलर करिब १४ लाख ५० हजारसम्म झरेको थियो, जुन ऐतिहासिक न्यूनस्तर हो । वर्षको सुरुदेखि नै रियालको मूल्य लगभग आधा घटिसकेको छ । खाद्यान्नको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतले बढेको छ । यसैबीच सरकारले २०२६ को बजेटमा प्रस्ताव गरेको ६२ प्रतिशत कर वृद्धिले जनआक्रोशलाई थप चर्काएको छ ।

सुरुमा आर्थिक मागमा केन्द्रित आन्दोलन अहिले राजनीतिक नारामा परिणत भएको छ । प्रदर्शनकारीहरू इस्लामिक गणतन्त्रको अन्त्य र केही समूहले राजतन्त्र पुनर्स्थापनाको माग गर्न थालेका छन् । सडकमा ‘शाह फर्काऊ’ र ‘खामेनी मुर्दावाद’ जस्ता नारा गुञ्जिन थालेका छन् ।

खामेनीको कडा चेतावनी
देशव्यापी आन्दोलन चर्किदै जाँदा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकारी टेलिभिजनमार्फत प्रशारित भाषणमा उनले आन्दोलनलाई ‘विदेशी षड्यन्त्र’ को संज्ञा दिँदै प्रदर्शनकारीहरूलाई ‘दंगालु र बदमाशहरूको झुण्ड’ भने । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न केही समूहले देशमा अराजकता फैलाइरहेका छन् ।

खामेनीले ट्रम्पलाई इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै भने, ‘इस्लामिक गणतन्त्र लाखौं महान व्यक्तिहरूको रगतले स्थापना भएको हो । यसलाई नष्ट गर्न चाहनेहरूका अगाडि हामी कहिल्यै झुक्ने छैनौं ।’

ट्रम्पको दाबी र विवाद
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानी प्रदर्शनकारीप्रति खुला समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै इरानको दोस्रो ठूलो सहर मशहद प्रदर्शनकारीहरूको नियन्त्रणमा पुगेको दाबी गरेका छन् । ट्रम्पका अनुसार ‘१०श लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् र सरकारी सुरक्षा बलहरूले सहर छाडेका छन् ।’

तर ट्रम्पको यो दाबी हालसम्म कुनै पनि विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चार माध्यम वा स्वतन्त्र स्रोतले पुष्टि गरेको छैन । मशहद पूर्ण रूपमा प्रदर्शनकारीको नियन्त्रणमा पुगेको वा सुरक्षा बलले सहर त्यागेको प्रमाणित रिपोर्ट सार्वजनिक भएको छैन । करिब चार लाख जनसंख्या भएको मशहद इरानको सबैभन्दा ठूलो धार्मिक सहर हो, जहाँ शिया मुस्लिमहरूको प्रमुख तीर्थस्थल इमाम रेजाको पवित्र मन्दिर अवस्थित छ ।

उडान रद्द, देश आंशिक रूपमा ठप्प
अस्थिर अवस्थाको असर हवाई सेवामा पनि परेको छ । टर्कीको राजधानी इस्तानबुलबाट तेहरान जाने उडानहरू रद्द गरिएका छन् भने तब्रिज र इस्फहानतर्फका केही उडानहरू डाइभर्ट गरिएको बीबीसी फारसीले जनाएको छ । यात्रुहरूलाई अवतरण अनुमति नदिइएको गुनासो समेत सार्वजनिक भएका छन् ।

निर्वासित राजकुमार र आन्दोलन
आन्दोलन चर्किनुमा इरानका अन्तिम शाहका छोरा निर्वासित राजकुमार रजा पहलवीको भूमिकालाई पनि महत्वपूर्ण मानिएको छ । अमेरिकामा बसोबास गरिरहेका पहलवीले सामाजिक सञ्जालमार्फत इरानी जनतालाई सडकमा उत्रन आह्वान गरेपछि प्रदर्शन अझ तीव्र बनेको बताइन्छ । उनले आफू लोकतन्त्रको पक्षमा रहेको दाबी गर्दै सरकार ढलेमा अन्तरिम व्यवस्थामा सहयोग गर्न तयार रहेको संकेत दिएका छन् ।

तर पहलवीको पुनरागमनलाई लिएर इरानी समाज विभाजित छ । समर्थकहरूले उनलाई वैकल्पिक नेतृत्वको रूपमा हेरेका छन् भने आलोचकहरूले उनका बुबाको शासनकालमा भएका मानवअधिकार उल्लंघन र ‘सावाक’ नामक गुप्तचर संस्थाको दमनकारी इतिहास स्मरण गराउँछन् ।

अनिश्चित भविष्य
१९७९ को इस्लामिक क्रान्तिपछि स्थापित व्यवस्था ४ दशकभन्दा बढी समयदेखि कायम छ । अयातोल्लाह रुहोल्लाह खोमेनीपछि ३७ वर्षदेखि सत्तामा रहेका खामेनीका लागि अहिलेको आन्दोलन सबैभन्दा ठूलो चुनौती बनेको छ । आर्थिक संकट, जनआक्रोश, विदेशी हस्तक्षेपको आरोप र राजतन्त्रको नारा–यी सबैले इरानलाई ऐतिहासिक मोडतर्फ धकेलिरहेको विश्लेषकहरू बताउँछन् । स्थिति कहाँ पुगेर रोकिन्छ भन्ने अझै स्पष्ट छैन । तर एक कुरा निश्चित छ–इरान अहिले केवल आन्दोलनको चरणमा होइन, सम्भावित राजनीतिक परिवर्तनको संघारमा उभिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के–के छन् एजेण्डा ?

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज (शनिबार) देखि ललितपुरमा सुरु हुँदैछ । ११ औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि नीतिगत र सांगठनिक निर्णय लिन यो बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार, ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बिहान ११ बजे बैठक सुरु हुनेछ । पुस २८ गतेसम्म चल्ने यस बैठकले मुख्य गरी आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्नेछ ।

महाधिवेशन लगत्तै पुस ४ गते बसेको पहिलो बैठकले तय गरेको कार्यतालिका अनुसार बस्न लागेको यो बैठकमा चुनावी तयारीका साथै आन्तरिक सांगठनिक व्यवस्थापनका विषयमा पनि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ । विशेष गरी पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठनको विषय बैठकको प्रमुख एजेण्डामा रहेको छ ।

एमालेले निर्वाचनमा पराजित भएका, पार्टीमा लामो योगदान गरेका पाका नेताहरू र कार्यकारी भूमिकाबाट विश्राम लिएका व्यक्तित्वहरूलाई समेटेर शक्तिशाली सल्लाहकार परिषद् बनाउने तयारी गरेको छ । यसअघि नै अध्यक्ष ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन भइसकेको सन्दर्भमा, आजको बैठकले चुनावी अभियानलाई थप तीव्रता दिनेछ ।

म्यादीका लागि आवेदन दिनेको घुँइचो, बेरोजगारदेखि जागिर छोडेर आएकासम्म

 फागुन २१का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी (म्यादी प्रहरी) को आवेदन खुला गरेसँगै देशभरका जिल्ला प्रहरी कार्यालयमा आवेदकको घुइँचो लागेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा आवेदन दिन लाइन लागेकाहरूसँग म्यादीमा प्रहरीमा भर्ना हुन चाहनुको आ-आफ्नै कारण छ । यहाँ बेरोजगारीका कारण ४० दिन भए पनि जागिर खान आएका देखि जागिर छोडेर आउनेहरूसम्म छन् । 

देशभर बढ्दो बेरोजगारी, सीमित रोजगारीका अवसर र अस्थायी भए पनि आयको स्रोत बन्ने अपेक्षाले धेरै युवाहरू निर्वाचन प्रहरी बन्न इच्छुक देखिन्छन्। आवेदन दिन आएका अधिकांशले बाध्यता र रहर दुवै कारणले आफू आवेदन दिन आएको बताए ।

 जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन आइपुगेका इलामको सूर्योदय नगरपालिकाका विधान बाँस्तोलाले केही समयको लागि भएपनि पनि यो वैकल्पिक रोजगारीको बाटो भएको धारणा व्यक्त गरे ।  

‘यो युवाहरूका लागि सरकारले सिर्जना गरेको वैकल्पिक रोजगारीको अवसर हो’, बाँस्तोलाले भने ‘करिब ४०–५० दिनको कामपछि आकर्षक सेवा सुविधा पाइने हुँदा केही समय भए पनि रोजगारीको मौका मिल्यो।’ काठमाडौंको बुढानिलकण्ठ उनी निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा पनि लिन्छन् । यो निर्वाचनबाट विकास गर्ने नेतृत्व अगाडि आउनुपर्ने उनको अपेक्षा छ।

धेरै आवेदकहरूले निर्वाचन प्रहरी बन्ने अवसरलाई देश सेवाको माध्यमका रूपमा पनि लिएका छन् । ‘निर्वाचन भनेको हामीले ल्याएको परिवर्तन हो, त्यसको सुरक्षा गर्नु हाम्रो दायित्व पनि हो’, रानीवनबाट आएका आर्यन बरालले भने ‘रोजगारीको अभावका कारण धेरै युवाहरू विदेशिन बाध्य छन्, यस्ता काआर्यक्रमले केही समय भएपनि देशमै बस्ने वातावरण बन्छ।’

निर्वाचन प्रहरी बन्ने चाहना कतिपयका लागि सुरक्षासेवा क्षेत्रमा भविष्य खोज्ने माध्यम पनि बनेको छ। प्रहरी, सेना वा अन्य सुरक्षा निकायमा जाने तयारी गरिरहेका युवाहरूले यसलाई अनुभव बटुल्ने अवसरका रूपमा लिएका छन् । ‘कस्तो हुँदोरहेछ भनेर बुझ्न पनि आएको हुँ, राम्रो लाग्यो भने पछि नियमित सेवातिर पनि जान सकिन्छ,’ थलीका विजय गजमेर बताए।

कतिपयले भने निर्वाचन प्रहरीको जागिर खान आउनु बाध्यता भएको गुनासो पोखे । ‘रोजगारी छैन, कोठामा बसेर खर्च चल्दैन। ४० दिन भए पनि काम पाइयो भने खान र हिँडडुल गर्न सजिलो हुन्छ,’स्वयम्भूका एक युवाले भने, ‘पास भए सुरक्षा दिन्छु, फेल भए राम्रो मान्छेलाई समर्थन गर्छु भन्ने मानसिकताले मा आएँ।’

निर्वाचन प्रहरीको आवेदन दिने लाइनमा महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ । निर्वाचन प्रहरीको आवेदन दिन आएकी उर्मिला राई देशको लागि सेवा गर्न पाउनु ठुलो कुरा भएको बताउँछिन् । 

‘देशको लागि सेवा गर्न पाउनु नै ठूलो कुरा हो, निर्वाचन प्रहरीको अनुभवले भविष्यमा सुरक्षा सेवामा जान थप आत्मविश्वास दिन्छ’, राईले भनिन्, ‘मेरो आर्मी र पुलिस दुवैमा रुचि छ, त्यसकै तयारीको क्रममा यहाँ आएको हुँ।’

बालाजु बस्ने सानुमाया अधिकारीले भने यो अवसरलाई रमाइलो अनुभवका रूपमा लिएको बताइन् । ‘निर्वाचन प्रहरी रहर पनि हो, बाध्यता पनि हो । जागिर छोडेर यहाँ आएको हुँ’, उनले हाँस्दै भनिन्, ‘४० दिन भए पनि काम गर्न पाइयो भने अनुभव र आम्दानी दुवै राम्रो हुन्छ।’  उनले अघिल्लो निर्वाचनमा पनि म्यादी प्रहरीमा काम गरेकी थिइन् । 

देशैभरका प्रहरी कार्यालयमा देखिएको भिडले निर्वाचनप्रति आम नागरिकको चासो र सहभागिता पनि झल्काउँछ । धेरै आवेदकहरू आगामी निर्वाचनलाई परिवर्तनको निर्वाचन का रूपमा हेर्छन्। यो निर्वाचनबाट नयाँ सरकार, नयाँ नेतृत्व र सकारात्मक परिवर्तनको अपेक्षा उनीहरूमा स्पष्ट देखिन्छ।

निर्वाचन प्रहरीको रूपमा काम गर्नेहरूले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी, मतदाता परिचालनमा सहयोग लगायतका जिम्मेवारी सम्हाल्नेछन्। सीमित अवधिको भए पनि यसले लाखौ युवालाई रोजगारी, अनुभव र देशसेवाको अवसर प्रदान गरेको छ।

देशभर देखिएको आवेदनको उत्साहले एकातिर बेरोजगारीको गम्भीर अवस्था उजागर गरेको छ भने अर्कोतिर नागरिकहरू निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन कति उत्साहित छन् भन्ने पनि देखाएको छ।

प्रहरीका अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सामान्य लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन् । माघ १ गतेसम्म आवेदन लिइने निर्वाचन प्रहरीको नतिजा माघ १२ गते प्रकाशित गरिने प्रहरीले जनाएको छ। नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीका लागि आवेदन आह्वान गरेको हो । 

युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी

रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो आक्रमण गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निवास नजिक युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिउत्तरस्वरूप गरिएको हो । तर युक्रेनले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पुटिनको निवासमाथि युक्रेनी आक्रमण भएको भन्ने रुसी दाबीलाई सार्वजनिक रूपमा नकार्नुभएको छ । रुसी पक्षका अनुसार ओरेसनिक ब्यालेस्टिक मिसाइलसँगै अन्य भूमि र समुद्रबाट प्रक्षेपण गरिने मिसाइलहरू प्रयोग गरी युक्रेनका ऊर्जा तथा रणनीतिक पूर्वाधारमाथि आक्रमण गरिएको थियो । शुक्रबार राति भएको ड्रोन र मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनको पश्चिमी सहर लिभिभको महत्त्वपूर्ण पूर्वाधारमा अज्ञात प्रकारको ब्यालेस्टिक मिसाइल प्रहार भएको मेयर एन्ड्री सडोभीले जानकारी दिए।

युक्रेनी वायु सेनाको पश्चिमी कमान्डका अनुसार उक्त मिसाइलले करिब १३ हजार किलोमिटर प्रतिघण्टाको तीव्र गतिमा यात्रा गरेको थियो र यसको प्राविधिक विशेषतामाथि अनुसन्धान भइरहेको छ । मृतकमध्ये एक जना आपतकालीन स्वास्थ्यकर्मी रहेको किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताएका छन्। आक्रमण स्थलमा उद्धार कार्य गरिरहेका पाँच जना उद्धारकर्मी घाइते भएको युक्रेनको सुरक्षा सेवाले जनाएको छ । आक्रमणका कारण राजधानी किएभका विभिन्न जिल्लामा क्षति पुगेको छ । देस्न्यान्स्की जिल्लामा एउटा ड्रोन बहुतले भवनको छतमा खस्दा क्षति पुगेको छ भने सोही जिल्लाको अर्को स्थानमा आवासीय भवनका तल्ला क्षतिग्रस्त भएका छन् ।

डिनिप्रो जिल्लामा ड्रोनका टुक्रा खस्दा बहुतले भवनमा आगलागी भएको जनाइएको छ । किएभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणपछि राजधानीका केही क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले चिसो मौसमको फाइदा उठाउँदै ठूलो मात्रामा आक्रमण गर्न सक्ने चेतावनी दिएको केही घण्टामै यो हमला भएको हो । उहाँले हिउँले ढाकिएका सडक र प्रतिकूल मौसमलाई लक्ष्य बनाउँदै रुसले जनजीवन थप कष्टकर बनाउन खोजेको आरोप लगाएका छन् ।

आशिका तामाङले गरिन् उम्मेद्वारी घोषणा, होला त बालेनसँग भिडन्त?

अभियन्ता आशिका तामाङले फागुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । उनले काठमाडौं २ वा ९ मध्ये कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिन तयारी थालेको बताएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ लोकप्रीय तामाङले‍ स्वतन्त्र रुपमा चुनाव उठ्ने घोषणा गरेकी हुन् ।

यसअघि रास्वपा नेतृ सोबिता गौतमले जितेको काठमाडौं-२मा महनगरका मेयर बालेन शाह उठ्ने चर्चा छ । रास्वपाबाट बालेन यही क्षेत्रमा उम्मेद्वार बने उनीहरू दुईबीचको भिडन्त रोचक बन्न सक्ने छ ।

यस्तै क्षेत्र नम्बर-९ मा रास्वपाका उपसभापति डीपी अर्यालको चर्चा भइरहेको छ । यसअघिका दुई निर्वाचनमा यही क्षेत्रमा उम्मेद्वार बनेका विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डेले पनि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

 

पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्ब बराबरको विदेशी मुद्रा

काठमाडौँ  । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत मङ्सिर मसान्तमा १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु २२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तसम्ममा १८ दशमलव सात प्रतिशतले वृद्धि भई रु २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २७ दशमलव चार प्रतिशतले वद्धि भई रु तीन खर्ब ३५ अर्ब कायम भएको छ । केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव दुई प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको सुरुआती पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१ दशमलव सात महिनाको वस्तु आयात र १८ दशमलव दुई महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । त्यसैगरी, यो अवधिमा चालु खाता रु तीन खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो ।

पाँच महिनामा खुद पुँजीगत ट्रान्सफर रु सात अर्ब छ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु तीन अर्ब ५० करोड रहेको थियो । त्यसैगरी, मङ्सिर मसान्तसम्ममा रु सात अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब तीन करोड रहेको थियो । राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति रु चार खर्ब २१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको थियो ।

झापामा आगलागी हुँदा एक करोड ३० लाखको क्षति

बनियानी । झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउट घरमा आगलागी हुँदा रु एक करोड ३० लाखबराबरको क्षति भएको छ ।

दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आगलागीबाट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ भने सोही उद्योगसँगै रहेको तीनतले पक्की घरमा समेत आगो सल्किँदा घरभित्र रहेका सम्पूर्ण सामान जलेका प्रवक्ता खड्काले बताए ।

आगो दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाका बारुण यन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको थियो । उद्योग र घर पूर्ण रूपमा जलेर नष्ट हुँदा रु एक करोड ३० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कांग्रेस विशेष महाधिवेशनको तयारी तीव्र, उदघाटनमा आउलान् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद देखिए पनि महाधिवेशन पक्षधर नेताहरूले यसलाई पार्टीको साझा मञ्चका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् । यही पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने विशेष महाधिवेशनको उदघाटन पार्टी सभापति शेरबहादुर देउवाले नै गर्ने अपेक्षा उनीहरूले सार्वजनिक रूपमा दोहोर्‍याएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलपछि आह्वान गरिएको विशेष महाधिवेशनले पार्टीभित्र तरंग ल्याएको छ । यसै सन्दर्भमा विशेष महाधिवेशन पक्षधरको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवालाई औपचारिक पत्र पठाइने र उनकै उपस्थितिमा उदघाटन हुने विश्वास व्यक्त गरे । ‘महामन्त्रीहरूले पत्र दिइसक्नु भएको छ, उहाँ स्वयं आएर उदघाटन गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ’, केसीले भने । महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानअनुसार नै अघि बढ्ने स्पष्ट पारेका छन् ।

शुक्रबार भृकुटीमण्डपमा महाधिवेशनस्थलको अवलोकन गर्दै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रक्रिया सुरु भइसकेपछि आवश्यक कार्यविधि निर्माण गरिने र त्यसकै आधारमा नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने बताए । उनले पार्टीभित्र कसैप्रति पनि अनादर वा नकारात्मक टिप्पणी नगर्ने उल्लेख गर्दै सभापति तथा कार्यवाहक सभापतिलाई समेत सहभागिताका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिए । ‘यो महाधिवेशन विस्तारै सबैको साझा मञ्च बन्छ भन्ने हाम्रो अपेक्षा छ’, शर्माले भने । महाधिवेशनको तयारीसँगै काठमाडौँ उपत्यकाका विभिन्न सडक कांग्रेसका झण्डाले सिँगारिएका छन् । आयोजक समितिका अनुसार भृकुटीमण्डपमा मञ्च निर्माण, हल सजावट तथा प्राविधिक कामहरू तीव्र रूपमा अघि बढिरहेका छन् । स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरू काठमाडौँ आउने क्रम पनि सुरु भइसकेको आयोजकको भनाइ छ । जनपरिचालन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सहभागिता रहने दाबी गरेका छन् । यसैबीच, व्यवस्थापन समितिले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई सहभागी नगराउने निर्णय गरेको छ । समितिका संयोजक मनोजमणि आचार्यका अनुसार यो कांग्रेसको नितान्त आन्तरिक विषय भएकाले एजेण्डा केन्द्रित महाधिवेशनमा अन्य दललाई ‘नो इन्ट्री’ गरिएको हो ।

उनले पार्टी नेतृत्वले महाधिवेशनलाई औपचारिक रूपमा अपनत्व लिने आशा गरिएको र यदि त्यसो नभए पनि आयोजक स्वयंले सभापतिलाई प्रमुख अतिथिका रूपमा निम्तो दिने बताए । उद्घाटन सत्र पुस २७ गते दिउँसो १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा हुनेछ । त्यसअघि कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजारबाट जुलुस निकालेर भृकुटीमण्डपमा सभामा परिणत गर्ने तयारी गरिएको छ । संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोडका रूपमा हेरिएको छ ।

 

 

 

 

 

सुदन गुरूङ गोरखा-१ बाट चुनाव लड्ने

हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गर्न लागेको जानकारी दिएका हुन्। लामो समयदेखि सामाजिक अभियन्ता तथा उद्यमशीलताको क्षेत्रमा सक्रिय गुरूङको यो घोषणा गोरखा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चासोको विषय बनेको छ।

घोषणासँगै गुरूङले गोरखाको माटोबाटै परिवर्तनको सुरुवात गर्न चाहेको स्पष्ट पारेका छन्। ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, सुदनले फेसबुकमा लेखेका छन्, ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात, नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।’

उनको यो भनाइले पुरानो राजनीतिक अभ्यासभन्दा फरक धार प्रस्तुत गर्न खोजेको संकेत गर्छ। उनले युवाशक्ति, पारदर्शिता र जवाफदेहितालाई आफ्नो प्रमुख एजेन्डा बनाउने बुझिएको छ।

हालसम्म गुरूङले कुन राजनीतिक दलबाट निर्वाचनमा सहभागी हुने भन्ने विषयमा भने खुलासा गरेका छैनन्। यद्यपि पछिल्लो समय उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, पूर्व उर्जामन्त्री कुलमान घिसिङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित राजनीतिक संवाद र सहकार्यमा सक्रिय देखिएका थिए। यसले उनी वैकल्पिक राजनीति र नयाँ शक्ति निर्माणको प्रयासमा रहेको अनुमान गर्न सकिन्छ।

गोरखा–१ को राजनीतिक इतिहास हेर्दा, गत प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो। उक्त गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई विजयी भएका थिए। यसपटक भने नयाँ अनुहारका रूपमा सुदन गुरूङको प्रवेशले गोरखा–१ को प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। अब उनको दल चयन र भावी एजेन्डाले मतदाताको भरोसा कति जित्न सक्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

रास्वपा–उज्यालो नेपाल एकता ‘संकट’ मा, ‘नयाँ विकल्प’ को खोजीमा हुन् कुलमान ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएको एकता १२ दिन नपुग्दै संकटमा परेको छ । समानुपातिक बन्दसूची सच्च्याउने निर्वाचन आयोगको अन्तिम म्याद नजिकिँदै गर्दा उज्यालो नेपाल पार्टी रास्वपासँगको सहकार्य तोडेर नयाँ राजनीतिक विकल्पतर्फ जाने तयारीमा देखिएको छ । एकतापछि बनेको संरचनामा रास्वपा, रवि लामिछाने र कुलमान घिसिङ पक्ष अत्यधिक हाबी भएको निष्कर्ष निकाल्दै उज्यालो नेपाल पार्टी अलग्गिने मनस्थितिमा पुगेको स्रोतहरूको भनाइ छ । उज्यालो नेपालका अवधारणाकार कुलमान घिसिङले पार्टीभित्र ब्रिफिङ गर्दै रास्वपासँग छुट्टिएर फरक ढंगले अगाडि बढ्ने संकेत दिएका छन् ।

रास्वपासँगको सहमतिअनुसार समानुपातिकतर्फ उज्यालो नेपालका १८ जनाको नाम समावेश गर्ने भनिए पनि व्यवहारमा दलित महिला कोटाबाट रिमा विश्वकर्माबाहेक अन्य नेताको सांसद बन्ने सम्भावना न्यून रहेको उज्यालो नेताहरूको मूल्याङ्कन छ । यही कारण एकताबाट पार्टीको पहिचान नै हराएको अनुभूति उज्यालो नेपालमा बढ्दै गएको छ । ‘आज रातिसम्म सहमति नबने नयाँ ढंगले अगाडि बढ्छौं,’ उज्यालो नेपालका एक केन्द्रीय सदस्यले सुनाए । पार्टी नेता जीतराम वाइबाले पनि सहमति हुने–नहुने दुवै सम्भावना बराबर रहेको भन्दै सम्मानजनक एकता र समायोजन नै आफ्नो माग भएको स्पष्ट पारे।

शुक्रबार बिहान कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच करिब तीन घण्टा वार्ता भए पनि कुनै ठोस निचोड ननिस्किएको स्रोतले जनाएको छ । त्यसपछि घिसिङ उज्यालो नेपाल पार्टीका नेताहरूसँग काठमाडौँको बौद्धमा छलफलमा जुटेका छन् । उक्त बैठकमा पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायसहित केन्द्रीय नेताहरू सहभागी छन् । रास्वपा स्रोतका अनुसार, कुलमानलाई वरिष्ठ उपसभापति बनाउने सहमति पार्टीभित्र अनुमोदनको प्रक्रियामा भए पनि उज्यालो नेपाल पक्ष त्यसबाट सन्तुष्ट छैन । ‘यो सहमतिबाट न रवि खुशी छन्, न कुलमान,’ एक स्रोतले भन्यो, ‘नयाँहरू मिल्नु पर्छ भन्ने सन्देश दिनका लागि मात्र हस्ताक्षर भएको जस्तो देखिन्छ ।’

मन्त्री पदबाट राजीनामा दिएर राजनीतिमा सक्रिय भएका कुलमान घिसिङले आफ्नै बलमा २५–३० सिट जित्न सके प्रधानमन्त्री बन्ने अवस्था आउन सक्ने दाबी पार्टीभित्र गरेका छन् । ‘पहिचान र इमान गुमाएर बस्नुको अर्थ छैन,’ घिसिङको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा पनि घिसिङले आफूले कुनै दलको सदस्यता नलिएको र रास्वपाको वरिष्ठ उपसभापति स्वीकार नगरेको स्पष्ट पारेका थिए ।
रास्वपासँग सहकार्य कमजोर बनेपछि उज्यालो नेपाल पार्टीले बन्दसूची बुझाइसकेको अन्य दलसँग संवाद अघि बढाएको छ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतसँग चुनावी तालमेल र बन्दसूची पुनर्संरचनाबारे छलफल भइरहेको स्रोतले जनाएको छ । एकता भएकै दिन त्रिपुरेश्वरमा कार्यालय स्थापना गरेको उज्यालो नेपाल पार्टी अहिले भने रास्वपासँगको सहकार्य अन्त्य गर्ने कि अन्तिम प्रयासमा सहमति खोज्ने भन्ने निर्णायक मोडमा पुगेको छ । आज रातिसम्म हुने छलफलले नयाँ राजनीतिक समीकरणको दिशा तय गर्ने देखिन्छ ।

 

 

 

 

तीन वटै सुरक्षा निकायले भने–भयरहित रुपमा निर्वाचन गराउन तयार छौं

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुलुकका तीन वटै प्रमुख सुरक्षा निकायले शान्ति, सुरक्षा र विश्वासको वातावरणमा निर्वाचन सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन् । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सुरक्षा निकायका उच्च अधिकारीहरूले निर्वाचन सुरक्षासम्बन्धी तयारीबारे जानकारी गराउँदै राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट पारित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा रहेको बताएका हुन् ।

सो योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच घनिष्ठ समन्वय र सहकार्य भइरहेको जनाइएको छ । नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनु मुलुकको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि सेना पूर्ण रूपमा तयार रहेको बताए । उनका अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेको छ ।

बारुदी सुरुङ तथा विस्फोटक पदार्थलाई मुख्य सुरक्षा चुनौतीका रूपमा औंल्याउँदै उनले विगतका अधिकांश विष्फोटक सामग्री नष्ट भइसकेको जानकारी दिए । यद्यपि, कतै फेला परेमा सूचना आदान–प्रदानका आधारमा तत्काल बम डिस्पोजल टोली परिचालन गरिने बताए । निर्वाचनअघि बालबालिका, महिला र किसान जस्ता लक्षित वर्गलाई सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिने योजना पनि सेनाले अघि सारेको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुरर्वेदीले भेटिएका बम निष्क्रिय पार्नुभन्दा पनि नयाँ बम बनाउने मानसिकता अझै खतरनाक भएको टिप्पणी गरे । आन्दोलनका नाममा पेट्रोल बम र केमिकल प्रयोग गरी हिंसा फैलाउने प्रवृत्तिलाई उनले राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको बताए । उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्ती निरन्तर सञ्चालन भइरहेका छन् । आपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दीको खोजीका लागि छुट्टै समिति गठन गरी सक्रिय रूपमा काम भइरहेको जानकारी पनि उनले दिए ।

सशस्त्र प्रहरी बल नेपालका एआईजी गणेश ठाडा मगरले तीन वटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाअनुसार सक्रिय रूपमा परिचालित भएको बताए । निर्वाचन सुरक्षालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरु भइसकेको उनले जानकारी गराए । उनका अनुसार अतिरिक्त जनशक्तिको सहयोगमा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाइँदै निर्वाचनलाई पूर्ण रूपमा भयरहित बनाइनेछ। बैठकमा सहभागी सुरक्षा निकायका प्रतिनिधिहरूले आपसी समन्वय, पर्याप्त जनशक्ति परिचालन र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गराउने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

 

 

विवेकशीलका संस्थापक मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिने

काठमाडौं– विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वको परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ बाट उम्मेदवारी दिने भएका छन्।

यसअघि २०७४ र २०७९ सालमा यही क्षेत्रबाट उम्मेदवारी दिइसकेका पाण्डे उज्वल थापासँगै विवेकशील नेपाली दलका संस्थापक नेतामध्ये एक हुन्।

शिक्षा, उद्यम, युवाको सशक्तीकरण तथा वैकल्पिक राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका पाण्डेले नेपाली राजनीतिमा नयाँ संस्कार, पारदर्शिता र उत्तरदायित्व स्थापित गर्ने मुद्दामा निरन्तर काम गर्दै आइरहेका छन्।

क्षेत्र न. ९ मै जन्मेका र हुर्केका पाण्डे शिक्षा नीति र उद्यम क्षेत्रमा सक्रिय छन्। पार्टीबाट उम्मेदवारी दिने वा स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनी निकट एक नेताले बताए।

यस पटक पनि कार्यान्वयन भएन अन्तर जिल्ला मतदान

काठमाडौं । प्रतिनिधि सभाको आउँदो निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले कानुनी तथा प्राविधिक पूर्व तयारी पूरा हुन नसकेकाले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था गर्न नसकिएको स्पष्ट पारेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगले निर्वाचन तयारीबारे जानकारी दिँदै प्रवक्ता नारायणप्रसाद भट्टराईले तयारी कार्य तीव्र गतिमा अघि बढिरहेको बताए । उनले अन्तरजिल्ला मतदानको विषय लामो समयदेखि उठ्दै आए पनि आवश्यक आधार नबनेका कारण यस निर्वाचनमा लागू गर्न नसकिएको जानकारी दिए । ‘कानुनी र प्राविधिक तयारी बिना अन्तरजिल्ला मतदान सम्भव भएन’, प्रवक्ता भट्टराईले भने ।

यसैगरी, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने माग भए पनि यस पटक त्यो सम्भव नभएको आयोगले जनाएको छ । आयोगका अनुसार यस निर्वाचनका लागि सीमित समूहलाई मात्रै समेटेर अस्थायी मतदाता नामावली संकलन गरिएको छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्रै अस्थायी मतदाता सूचीमा समावेश छन् । ती बाहेक अन्य मतदाताले आफ्नो स्थायी जिल्लाबाहिरबाट मतदान गर्न पाउने छैनन् ।

निर्वाचनको सुरक्षा व्यवस्थाबारे उठेका प्रश्नको जवाफ दिँदै प्रवक्ता भट्टराईले मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने अवस्था रहेको बताए । जिल्ला तहमा एकीकृत सुरक्षा योजना बनाएर काम भइरहेको उल्लेख गर्दै उनले सुरक्षाको कारणले निर्वाचनमा सहभागी हुन डराउनुपर्ने अवस्था नरहेको दाबी गरे । ‘सुरक्षा निकायको नेतृत्व, सम्बन्धित मन्त्रालयको समन्वय र आयोगको सहजीकरणमा भरपर्दो तथा विश्वसनीय सुरक्षा व्यवस्था मिलाइँदैछ’, उनले भने ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा पनि आयोग सक्रिय रहेको जनाएको छ । प्रवक्ता भट्टराईका अनुसार आयोगले मेटा र टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीहरूसँग सम्पर्क गरेको छ र ती कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । आयोग निरन्तर समन्वयमा रहेको उनको भनाइ थियो । उम्मेदवारी फिर्ताको विषयमा हालसम्म आधिकारिक जानकारी नआएको भन्दै उनले उम्मेदवारी फिर्ता लिने अन्तिम मिति पुस २८ गते तोकिएको स्मरण गराए। सामाजिक सञ्जालमा उम्मेदवारी फिर्ताको घोषणा भए पनि तोकिएको मितिमा औपचारिक निवेदन नदिएसम्म त्यसलाई मान्यता नदिइने उनले स्पष्ट पारे । आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन निर्धारित समयमै सम्पन्न गराउने प्रतिबद्धता दोहो¥याउँदै मतदातालाई निडर भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । साथै, बदर मत घटाउन आवश्यक रणनीति तय गरी कार्यान्वयनमा लगिने तयारी भइरहेको जानकारी पनि आयोगले दिएको छ ।

 

 

 

 

 

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

कटारी । उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।

एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि दुबई हिँडे पनि सम्पर्कमा नआएका उनी म्यानपावरमा सोधीखोजी गर्दा स्वास्थ्यमा समस्या आएकाले दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको एयरलाइन्सले जानकारी दिएको थियो । तर अस्पतालमा खोजी गर्दा फेला नपरेको पारिवारिक स्रोतले जनाएको थियो । दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए।

‘बेपत्ता भएपछि खोजीका लागि पहल गर्दा पनि भेटिएको थिएन’, वडाध्यक्ष मगरले भने , ‘सामाजिक सञ्जालमै दिल्लीमा अलपत्र परेको सार्वजनिक भएपछि उनलाई उद्धार गरेर ल्याएर उपचार भइरहेको छ ।’

बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँलासमेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई उडेका दर्नाल भारत ट्रान्जिट हुँदा छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने बारे  खुल्न नसकेको पनि वडाध्यक्ष मगरले बताए ।