`

बैंकहरुले कात्तिकका लागि घटाए ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोजको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.२० प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर असोज महिनामा ५.४६ प्रतिशत विन्दु थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् । बाँकी ६ बैंकले भने असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कात्तिकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी ब्याजदर घटाएका छन् । नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् ।

कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज नबिल, प्रभु र कृषि विकास बैंकले दिँदा ग्लोबल आइएमई र हिमालयन बैंकले ६ प्रतिशत ब्याज दिने भएका छन् । छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ । बैंकहरुका लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाहको वृद्धि पनि सुस्त रहेपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् । राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता खिचिरहेको छ ।

हेर्नुस् नयाँ ब्याजदर

जेनजी आन्दोलन आपराधिक मानसिकताका व्यक्तिका कारण हिंसात्मक बन्यो : गृहमन्त्री अर्याल

काठमाडौं । जेनजी आन्दोलन आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।

‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए,’ मन्त्री अर्यालले भने । त्यस्तै सयौं प्रहरी कार्यालयमा आगजनी भएको पनि उनले बताएका छन् । ‘सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भएको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ’ मन्त्री अर्यालले भने ।

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन् । पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन् ।

सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ । विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्ती यही असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण झन जोखिममा परेको हो । पहिरोले बस्ती नै तलतलिर तानेपछि कतिपय घर भत्किसकेका छन् भने धेरजैजो घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । वर्षा रोकिएको दुई बित्न लाग्दा समेत पहिरो भने रोकिएको छैन । चक्लाबन्दी पहिरोका कारण बस्ती दिनदिनै तलतल सर्दै गइरहेका छन् । जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाइएको र राहतबापतको केही रकम पनि दिने तयारी भएको सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले बताइन् ।

घरहरु दिनदिनै खानीखोलातर्फ बग्दै गएपछि पीडितले आफूहरुलाई तत्कालै सुरक्षित ठाउँमा बस्ने बासको व्यवस्था मिलाइदिन माग गरेका छन् । बस्तीमा बस्न सक्ने अवस्था नभएकाले तत्काललाई सुरक्षित ठाउँमा बस्ने बास मिलाइदिन र स्थानीयवासीको लागि सुरक्षित ठाउँमा बस्ती नै सार्नुपर्ने स्थानीय पीडित सीता खड्का बताउँछिन् । पहिरो क्षेत्रमा पर्ने बस्तीका बासिन्दालाई राति त्यस ठाउँमा नबस्न गाउँपालिकाले आग्रह गरे पनि अन्त बस्ने ठाउँ नहुँदा पीडित त्यहीँ बस्न बाध्य छन् ।

स्थानीय पीडित मीनबहादुर खत्रीका अनुसार २०३५ सालमा त्यस ठाउँलाई पहिरोको जोखिम क्षेत्रमा सूचीकृत गरिएको थियो । त्यति बेला त्यहाँका केही बासिन्दालाई बसाइँ सारेर अन्यत्र लगिए पनि पछि त्यस ठाउँमा पुनः बस्ती बसालिएको थियो । अब यस ठाउँमा बस्न सक्ने अवस्था नरहेको तर अन्यत्र सर्न पनि आफ्नो निजी जग्गा जमिन यही ठाउँमा भएको पीडित रोज थिङले बताए ।

सुनापति–३ का वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति बनाएर पीडितको पहिचान गरिसकिएकाले अब तत्कालै उनीहरुलाई राहत र पुनर्वासको व्यवस्था मिलाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले बताए । पहिरो जोखिम क्षेत्रका बासिन्दालाई सरकारले तत्कालै राहत सँगसँगै उनीहरुको जीवन रक्षाको लागि अन्यत्र बसाइँसराइ गराएर स्थायी रुपमा पुनर्वासको व्यवस्था मिलाउन नसके ठूलो जनधनको क्षति अवस्था रहेको छ ।

तस्वीरमा अष्ट्रेलियन बेस क्याम्प

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने अष्ट्रेलियन बेस क्याम्प छोटो तर रमणीय हाइकिङको रुपमा परिचित छ । समुद्री सतहबाट २ हजार ५० मिटर उचाइमा रहेको बेस क्याम्प धम्पूसबाट करिब ४५ मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ । यस्तै पोखरा–बाग्लुङ सडकमा पर्ने कास्कीको काँडेबाट पैदल यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । काँडेबाट भने करिब २ घण्टाको पैदल यात्रापछि क्याम्प पुग्न सकिन्छ ।

अन्नपूर्ण बेसक्याम्प र मर्दी हिमाल जाने बाटोमा पर्ने भएकाले सो रुटमा ट्रेकिङ गर्ने धेरै पर्यटक एक रात अष्ट्रेलियन बेस क्याम्पमा बिताउने गर्छन् । क्याम्प पुग्दा आँखै अगाडि माछापुच्छ्रे र अन्नपूर्णसहितका हिमालले धेरैलाई मोहित बनाउँछ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

नेपाल भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन् । बिहीबार विश्व बैंक समूहले अमेरिकामा आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले यस्तो बताएका हुन् ।

कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए । कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । रासस

पुटिन र सिरियाका अल–शाराबीच द्विपक्षीय भेट

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाली अन्तरिम नेता अहमद अल–शारासँग भेट गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्ध र मध्यपूर्वको अवस्थाबारे छलफल भएको हो । कार्यसूचीमा राजनीतिक, व्यापार, आर्थिक र मानवीय क्षेत्रमा रूसी–सिरियाली सम्बन्धको विकासको वर्तमान अवस्था र सम्भावनाहरूका साथै मध्यपूर्वको अवस्था पनि समावेश रहेको थियो । वार्तामा आफ्नो उद्घाटन भाषणमा पुटिनले दुई देशहरू बीचको विशेष सम्बन्धबारे टिप्पणी गरे । द्विपक्षीय सम्बन्ध सधैं विशेष रूपमा मैत्रीपूर्ण रहेको बताए ।

 

यसरी मनाइयो ७० औं प्रहरी दिवस (तस्वीरहरू)

काठमाडौं । आज नेपाल प्रहरीले ७० औं प्रहरी दिवस मनाइरहेको छ । यस अवसरमा प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना समेत गरिएको छ । उक्त कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रूपमा कदर पत्रसहित सम्मान गरिएका छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

एकै दिन सात हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) एकै दिन सुनको भाउ तोलामा सात हजार एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ । त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ ।

प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड रानालाई

काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानाले लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ७०औं प्रहरी दिवसको अवसरमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानित गरेका हुन् । दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

जेनजी आन्दोलनबाट देशले अकल्पनीय क्षति व्यहोर्नु पर्‍यो : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन—जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन् ।

शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ‘राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल बताए ।

उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको बताए । नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने स्पष्ट पारे । विभिन्न ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए । यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए ।

उनले भने, ‘राज्यको सबैभन्दा अग्रपंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल भएको छ ।राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको छ । गत भदौ २३ र २४ गतेको जेन जी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनु भएका अन्य दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु ।’

उनले प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको बताए । प्रहरीभित्र पनि शुद्धिकरण र सुधारका प्रशस्त आवश्यकताहरु रहेको बताए । नागरिकले तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए ।

 

 

बंगलादेशमा पूर्व प्रधानमन्त्री हसिनालाई मागियो मृत्युदण्ड

काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ । उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ । बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा धेरै मानिसको मृत्यु भएको थियो । यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो ।

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन् । बीबीसीका अनुसार उनीविरुद्ध चलिरहेको मुद्दामा एउटा अडियो क्लिप बाहिरिएको छ, जसमा कथित रूपमा उनले सुरक्षा बलहरूलाई प्रदर्शनकारीहरूमाथि ‘घातक हतियारहरूको प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ ।
हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन् ।

गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियाे। यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ । बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘हसिनाले १,४०० मृत्युदण्डको सजाय पाउनु पर्छ ।’ उनले थपेका छन्, ‘किनकि यो मानवीय रूपमा सम्भव छैन, त्यसैले हामी कम्तीमा एक पटक मृत्युदण्डको सजायको माग गर्दछौं ।’

 

 

निर्यातमा नगद अनुदान रोकिँदा के हुन्छ ?

काठमाडौं । सरकारले निर्यातमा दिँदै आएको नगद अनुदान तत्काललाई बन्द गरेको छ । गत बिहीवार उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने भनेसँगै निर्यात व्यवसायीहरु यसबाट प्रभावित हुँदैछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन भन्दै विभागले आर्थिक वर्ष २०८१÷८२ को स्वघोषणाको विवरण उद्योग विभागमा नगर्न पनि सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ । यसरी विभागले थप निवेदन लिन अस्वीकार गरेसँगै उद्योगी व्यवसायीले गत वर्षमा निर्यात गरे बापतको नगद अनुदान पाउने अवस्था छैन् ।

निर्यात व्यवसायीकाअनुसार मुलुकमा दिन प्रतिदिन व्यापार घाटा बढिरहेको छ । निर्यात बढाएर नेपालको वैदेशिक व्यापार नाफामा लैजान सक्ने क्षेत्रलाई नै सरकारले प्रभावित हुने गरी निर्णय लिएको छ । सरकारी निर्णय यो मुलुककै लागि घाटा हुने खालको छ । आर्थिक वर्ष ०६८/६९ मा कुल निर्यात ७४ अर्ब रुपैयाँ रहेकोमा आ.व. ०८१/८२ मा यो बढेर दुई खर्ब ७७ अर्ब पुगेको छ । सोही आवमा देशको व्यापार घाटा वार्षिक १५ खर्ब २७ अर्ब रहेको छ र निर्यात–आयात अनुपात १ः.६.५ रहेको छ । साथै चालु आवको प्रथम दुई महिनाको व्यापार घाटा दुई खर्ब ५७ अर्ब रुपैयाँ र निर्यात–आयात अनुपात १ः१०.५ रहेको छ ।

यस्तो अवस्थामा सरकारले दिर्दै आएको निर्यातमा अनुदान रोक्न नहुने उद्योगी व्यवसायी बताउँछन् । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्ष पशुपतिदेव पाण्डे नगद अनुदानका लागि निवेदन नलिने सरकारी निर्णयले दीर्घकालीन रूपमा निर्यातमुखी उद्योगहरूमा नकारात्मक प्रभाव पार्ने बताउँछन् । उनकाअनुसार नेपाली उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्ने अवसरबाट पनि सरकारी निर्णयले वञ्चित गराउन सक्छ ।

अध्यक्ष पाण्डेले भने, ‘निर्यातमा नगद अनुदान २०६७/६८ मा कार्यविधि बनाएर अगाडि बढेको थियो र त्यसमा कार्यविधि थपघट हुँदै गइरहेको थियो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार निर्यातमा अनुदान दिँदा अरू मुलुकहरू फड्को मारेको छ । बंगलादेशकै हेर्ने हो भने, जति बेला हाम्रो मल्टिफाइभर एग्रिमेन्ट सकियो र जुन निर्यातमा कमी आएर गार्मेन्टको कोटा फेजोआउट भयो, त्यति बेला अमेरिकाले दिएको सुविधा बंगलादेशमा पनि त्यही थियो । त्यतिबेला पनि त्यो उद्योग बचाई राख्नलाई चाहीँ झन्डै २५ प्रतिशतसम्म नगद अनुदान दिएर त्यो उद्योग बचाएर आज चाहीँ त्यसलाई घटाउँदै घटाउँदै ल्याएर ६ देखि ९ प्रतिशतमा ल्याएर सीमित गरेको छ ।’

उनले भने, ‘नेपालमा कुनै बेला २ प्रतिशत, कुनै बेला ३ प्रतिशत, कुनै बेला ४—३ देखि ८ प्रतिशत सम्म भनेर घोषणा गरेको थियो र गत वर्षका कागजपत्रहरू असोज मसान्तसम्म बुझाउनुपर्ने डकुमेन्ट उद्योग मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर अहिलेलाई होल्ड गर्नु भनेको अवस्था छ । तर रोक्न हुन्न भनेर हामी मन्त्री, मुख्यसचिव, त्यसैगरी विभिन्न अर्थ मन्त्रालय लगायत विभिन्न ठाउँमा हामीले पत्र पनि दिइरहेका छौं । तयारी पोशाक उद्योग संघ र उद्योग वाणिज्य महासंघको तर्फबाट पनि हामीले पत्रहरू बुझाइसकेका छौ । यो रोकिदिँदा निर्यातमा ठूलो असर पर्छ । किनभने यो निर्यात भनेको एकदमै प्रोमोसन गरेर राम्रोसँग काम गर्नुपर्ने चिज हो । यो रोजगारीका अवसर, व्यापार घाटा कम गर्नेदेखि देशको अर्थतन्त्रलाई सबैभन्दा ठूलो टेवा पुर्‍याएको ठाउँमा अब क्लाइन्टहरू किनभने हामीले कस्टिङहरू सबै अरू हिसाबले गरेको हुन्छ । त्यो रोकिनेबित्तिकै अर्को कस्टिङ आउनेबित्तिकै उनीहरू अर्को डाइभर्ट भएर अर्को मुलुकमा जाने खतरा छ ।’

उनले भने, ‘आउन लागेको लगानीहरू पनि नआउने सम्भावना छ । अहिले जुन अमेरिकाको ट्रम्प सरकारले गरेको रेसिप्रोकल ट्यारिफ जुन हाम्रा लागि न्युनतम थियो । हामीलाई १० प्रतिशत मात्र थप चाहीँ भन्सारको कर थपेको थियो । भने बंगलादेशलाई २० प्रतिशत गरेको थियो । अब त्यो १० र २० को बीचमा अहिले ६ प्रतिशत फेरि बंगलादेशले क्यास इन्सेन्टिभ दिन्छ । हामी कहाँ यसलाई शुन्य गरिदिँदा खेरिमा जम्मा ४ प्रतिशतको मात्र डिफ्रेन्स आउँछ र त्यस्ता लगानीहरू जुन हामीलाई अरू मुलुकबाट दिएको सुविधाबाट आउन लागेको लगानी मात्रै होइन कि काम पनि, अर्डरहरू पनि यसले गर्दा रोकिन्छ । यसलाई चाहिँ रोक्न हुँदैन ।’

उनी भन्छन्, ‘राज्यले यसलाई अझै पेपरलेस, फेसलेस गराउने, रुग्ण उद्योगहरूलाई खुलाउने, त्यसैगरी भ्याट रिफन्डहरूलाई अटोमेसनबाट जाने, सहुलियतपूर्ण कर्जाहरूलाई सहुलियत सजिलैसँग दिनुपर्छ । पूर्वाधार विकासमा ठुलो लगानी आउने बेलामा हामीसँग उद्योगको इन्फ्रास्ट्रक्चर पनि नमिल्न सक्छ । हामीलाई ठूलो इन्फ्रास्ट्रक्चर चाहिन सक्छ । त्यस्तो इन्फ्रास्ट्रक्चरलाई पनि ० प्रतिशत ब्याजमा लगानी गरेर व्यापार बढाउनुपर्छ । किनभने व्यापार बढेन भने कमाइ गरिदिने वाणिज्य मन्त्रालय हो र खर्च गर्ने अर्थ मन्त्रालय हो । दुईको तालमेलमा सबैभन्दा इम्पोटेन्ट वाणिज्य मन्त्रालय भएको हुनाले वाणिज्य मन्त्रालयले गरेका चिजहरू, त्यो अरू मन्त्रालयले नकाटिकन त्यसलाई एकदमै काम लाग्ने गरी गर्नुपर्छ ।’

नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्ष पाण्डेकाअनुसार निर्यात प्रवद्र्धनका लागि हालसम्म कायम रहेको नगद अनुदानको व्यवस्था पूर्ववत रूपमा सुचारु सरकारले गर्नुपर्छ । सुचारु नगरे लगानी विस्तार, उत्पादन, निर्यात र रोजगारीमा गम्भीर असर पार्नेछ । —न्युज एजेन्सी नेपाल

रोमानियाको होटल आगलागीमा हुँदा मृत्यु भएका सोनी र सुस्मिताको शव नेपाल पठाइयो

काठमाडौं । युरोपेली मुलुक रोमानियामा होटलमा आगलागी हुँदा मृत्यु भएका दुई नेपाली युवतीको शव नेपाल पठाइएको छ । गत २९ सेप्टेम्बरमा रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा भएको आगलागीमा मृत्यु भएका इलामको माई नगरपालिका–७ घर भएकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँको दक्षिणकाली नगरपालिका–९ घर भएकी २४ वर्षीया सुस्मिता तामाङको शव आज नेपाल पठाइएको हो ।

सोनी, सुस्मिता तथा सेप्टेम्बर २६ मा दुर्घटनामा परी मृत्यु भएका धनुषाका वीरेन्द्रकुमार ठाकुरको शव हिजो साँझ टर्किस एयरलाइन्सको उडानबाट नेपाल पठाइएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयालले जानकारी दिए । उनले तीनै जनाको शव १९ तारिख बिहान काठमाडौँ पुग्ने समेत जनाएका छन्।

त्यसको जानकारी सम्बन्धित मृतकका परिवारलाई गराइसकिएको उपप्रमुख फुयालले बताए । रोजगारीको सिलसिलामा मृतक सोनी एक वर्ष र सुस्मिता ५ महिनाअघि मात्र रोमानिया पुगेका थिए । काम गर्ने होटलकै माथिल्लो तलामा बस्ने उनीहरूको विद्युत् सर्ट भएर लागेको आगोमा परी मृत्यु भएको हो । आगलागीमा परी सोनी र सुस्मिताको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी इलामको चुलाचुली गाउँपालिका–३ घर भएकी सुमिना मगर उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

न्यून स्रोत साधनमा काम गरिरहेका प्रहरीलाई आन्दोलनले क्षति पुर्‍यायो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताएका छन् । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए । उनले सरकारले प्रहरीलाई स्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए ।

नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताए । गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गरे । जेन—जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र स्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बताए ।

उनले भने, ‘समाजका हरेक घटनामा प्रहरीले नै फस्र्ट रेस्पोण्डरको रुपमा काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पंक्तिमा रहने कारणले प्रहरीको काम कारबाहीको सम्बन्धमा मात्रै नभइ सरकारप्रतिको धारणा र सोको प्रतिक्रियामा समेत प्रहरी निशानामा पर्ने गर्दछ । यही भाद्र २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व हो । जसमा नेपाल प्रहरीका होनहार तीन जना प्रहरी कर्मचारीले जीवन उत्सर्ग गर्नु भएको छ । साथै प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएका छन् । त्यसैत अभाव झन त्यसमा पनि यस किसिमको क्षतिले नेपाल प्रहरीलाई मात्रै होइन, आम नागरिकको जीवनमा पनि प्रभाव पारेको छ ।’

उनले भने, ‘न्युन साधन, स्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्‍याएको छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व पनि छ । शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरी संगठनलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालयर वर्तमान सरकार सचेत रहेको छ । प्रहरीलाई साधन, स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्नेछ र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउनेछ भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।’ गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको बताए । यसले अपराध अनुसन्धान कार्य थप चुनौतिपूर्ण बन्दै गएको बताए । नेपाल प्रहरीलाई साधन, स्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताए ।

तेस्रो दिनको एमाले केन्द्रिय कमिटीको बैठक शुरु, आजै समापनको तयारी

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । ललितपुरको भनिमण्डलमा बैठक बिहान साढे ८ बजेबाट शुरु भएको हो । केन्द्रिय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ । पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनकाअनुसार प्रत्येक केन्द्रिय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले धारणा राखेका छन् । साथै समसामयिक राजनीति, सरकारका गतिविधिका बारेमा पनि आफ्ना धारणा राखेको प्रमुख गौतमले बताए । एमाले केन्द्रिय समिति सदस्यहरुको संख्या ३५७ रहेको छ । प्रदेशगत अध्यक्षहरु १० जना जोडेर ३६७ जनाले आफ्ना धारणा राखेपछि बैठक सकिनेछ । संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्‍याउनु पर्ने विषय उठेको बताए ।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एक मात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए । सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताए ।

विशेष महाधिवेशन पार्टीको एजेण्डामा छैन, बैठकले नियमितकै मिति तोक्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीवार दिउँसो बसेको केन्द्रिय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेको बताए ।

आम नागरिकले पूर्ण रुपमा सुरक्षा महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताए । निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणा सदस्यहरुले राखेको बताए । साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राखेको दाबी गरे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराएको बताए । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिको बैठकमा नरहेको बताए । उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाएको जिकिर गरे । बैठकमा कार्यतालिका प्रस्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिए ।

बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानविन हुनुपर्ने धारणाहरु आएको बताए । साथै अबको दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरु आएको बताए ।

नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए । नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिए । जेन—जीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताए । सुरक्षाको प्रत्याभूति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने बताए । संसद पुनःस्थापनातिर लाग्न नहुने उनको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिवन्ध गर्न माग समेत गरे । हरेक छानविनका लागि कांग्रेस तयार रहेको बताए ।

बैठकपछि बोल्दै केन्द्रिय सदस्य रामहरि खतिवडाले कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरु लागेको बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गरे । सरकार संविधान विपरित बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राखेको बताए । उनले जेन जीका मागहरु सम्बोधन गरेर जान आवश्यक रहेको बताए । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताए । पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताए । साथै महाधिवेशनबारे पनि विषयहरु बैठकमा उठेको बताए । समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल शुरु भएको बताए ।

निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा काँग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताए । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै कांग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे । एकतावद्ध भएर कार्यतालिका बनाइ कांग्रेस अघि बढ्ने बताए । सबैको भावना समेट्दै कांग्रेस अघि बढ्ने बताए । देशमा शान्ति सुरक्षा कमजोर रहेको, सुरक्षा निकायको मनोबल गिरेको अवस्था रहेको बताए । सरकारको प्राथमिकता निर्वाचन रहेको बताए ।

 

सरकारले अमेरिका र चीनसहित ११ देशका राजदूत फिर्ता गर्ने

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको हो । उनीहरुलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

फिर्ता भएका राजदूतहरुमा चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिकार र जापानका रहेका छन् । चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी, र जापान डा. दुर्गाबहादुर सुवेदी छन् ।

चर्को आवाज निकाल्ने मोटरसाइकल प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं।  उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

उपत्यकाको विभिन्न स्थानहरूबाट मोटरसाइकलको स्वरूप वा संरचना परिवर्तन गरी ठूलो आवाज निकाली समाजमा अराजक फैलाएको भन्दै एक सय भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

ललितपुरबाट ५० किलो बढी चाँदी बरामद

काठमाडौं । सशस्त्र प्रहरीले ललितपुरबाट आज (बिहीबार) दिउँसो ५० किलो बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो ।

उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ । यसको गोप्य सूचना सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोको विशेष आएको थियो । त्यही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेशिन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको छ । उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

विशेष अधिवेशनको मागको जोड मंसिरमा नियमित महाअधिवशन हो : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको केन्द्रीय समितिलाई जानकारी गराएका छन् । कार्यवाहक सभापति खड्काले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको बताए ।

‘मलाइ विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्त भित्रमा नियमित महाअधिवशन हुनुपर्छ भन्ने विषय मुख्य हो,’ खड्काले बैठक सुरु गर्दै भने, ‘केन्द्रीय समिति बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं ।’ नियमित महाधिवशेनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने र त्यही दिशामा आफूहरू अघि बढ्ने उनले बताए ।

 

हस्ताक्षर अभियान कांग्रेसलाई ऊर्जा भर्न : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र सञ्चालित हस्ताक्षर अभियानलाई ‘कांग्रेसभित्र ऊर्जा भर्ने अभियान’ को रूपमा व्याख्या गरेका छन् । उनले हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै हस्ताक्षर अभियान, महाधिवेशनको समयशिद्धता, पार्टीभित्रको एकता र राष्ट्रिय राजनीति सम्बन्धी महत्वपूर्ण विषयमा स्पष्ट अभिव्यक्ति दिएका छन् ।

जेन–जी आन्दोलनप्रति श्रद्धाञ्जली र न्यायको माग
डा. कोइरालाले जेन–जी आन्दोलनका क्रममा मारिएका युवाहरु तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले आन्दोलनका क्रममा लुटिएका हतियार र फरार अभियुक्तलाई खोजी गरी कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरे । उनले भदौ २४ गते भएका तोडफोड, आगजनी र हत्या हिंसालाई सभ्य समाजले स्वीकार गर्न नसक्ने भन्दै अपराधी तत्वलाई उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

संविधान र निर्वाचनको सन्दर्भ
कोइरालाले वर्तमान संविधानलाई ‘अर्धमूर्छित’ अवस्थामा रहेको टिप्पणी गर्दै यसको रक्षाका लागि सबैले उभिनुपर्ने धारणा राखे । उनले आगामी आम निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनु नै राजनीतिक स्थायित्वको आधार हुने बताए ।

कांग्रेसको भूमिका र नेतृत्व
उनले नेपाली कांग्रेसलाई आगामी निर्वाचन र राष्ट्रिय परिवर्तनको नेतृत्व लिने हैसियतमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै भने, ‘कांग्रेस मात्र शब्द होइन, यो नेपाली समाजको सभ्यता र इतिहास हो ।’ उनले कांग्रेसभित्र अहिले एकताको अत्यन्त खाँचो रहेको उल्लेख गर्दै एकता निर्णय प्रक्रियामा न्याय स्थापित गरेर मात्र सम्भव हुने बताए ।

महाधिवेशनको तयारी
डा. कोइरालाले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै त्यसकै माध्यमबाट कांग्रेसलाई नयाँ ऊर्जा र सम्भावनाको पार्टीका रूपमा प्रस्तुत गर्न सकिने विश्वास व्यक्त गरे । उनले भने, ‘महाधिवेशनबाट आउने परिणामले २१ फागुनमा हुने राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई फेरि एक पटक जनताबीच जागृत गराउनेछ ।’

अनुशासनको सिफारिस फिर्ता गर्न माग
२०७९ सालको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्दै अनुशासन समितिबाट कारबाही सिफारिस भएका नेताहरूलाई क्षमादान दिनुपर्ने कोइरालाको माग छ । उनले अहिलेको परिस्थितिमा सबैलाई समेटेर एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखे । उनले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रिया, पारदर्शिता, अपनत्व र नेतृत्व क्षमतालाई बलियो बनाउने हो भने कांग्रेस फेरि एकपटक देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरे ।

जे गर्नुपर्छ गरौं, तर सहकारी ठगलाई कारवाही गर्नैपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगी गरेर हिंड्नेहरूलाई कुनै हालतमा छाड्न नहुने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले सहकारी ठगहरूलाई जुनसुकै अवस्थामा पनि अहिलेकै सरकारले कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन् । आज (बिहीबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री अनिल सिन्हा मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतसँगको छलफलमा कानुनमा समस्या भए संशोधन गर्नुपर्ने उनले उल्लेख गरिन् ।

‘ठगेर खाएर हिंड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन,’ कार्कीले भनिन्, ‘यिनीहरू सुनका घडी लगाएर हिंड्छन्, महँगा गाडी चढेर हिँड्छन् । नक्कली डिभोर्स गराएर हिँड्छन् । उनीहरूलाई छाड्न मिल्दैन । बरु कानुनमा समस्या छ भने त्यो पनि संशोधन गरौं । जे गर्नुपर्छ गरौं तर ठगेर हिँड्नेलाई नछाडौँ, पीडितलाई रुँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौं ।’

सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ । ‘हामीले नगरे कसले गर्ने ? यही सरकारले गर्छ । पीडित चाहीँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्यो चाहीँ सुकिलो मुकिलो भएर हिँड्ने । यस्तो हुन हुँदैन,’ प्रधानमन्त्रीले भनेकी छिन्, ‘यो सभ्य समाजको परिचय होइन । उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नु पर्छ ।’

निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छन् : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरु निर्वाचन विथोल्नका लागि सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरुलाई सरकारले सम्झाईबुझाई गर्ने बताए । सम्झाउँदा नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने उनको भनाई छ ।

वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागि बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे । निर्वाचनको लागि सरकारले सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको समेत जिकिर गरे । राजनीतिक दलहरुले भने सरकारले आफूहरुलाई वेवास्ता गरेको आरोप लगाउने गरेका छन् ।

उनले भने, ‘निर्वाचनको लागि सबै संवादमा आउन पर्‍यो । स्टेक होल्डरहरु संवादमा आउनु पर्‍यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपति ज्यूले पनि संवाद शुरु गरिसक्नु भएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन । निर्वाचन गर्ने हो, फ्रेस म्याण्डेड लिएर फेरि आउनलाई त्यो अधिकार छ, राजनितिक अधिकार सुनिश्चित गर्नका लागि नै यो सरकारकार बनेको हो । फ्रि र फेयर ईलेक्सनको लागि बनेको हो । यसमा सहयोग गर्न पर्‍यो । कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरुलाई सकभर सम्झाई बुझाई नै गर्ने हो । त्यो एलिमेन्टहरुले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’

उनले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम पनि सरकारले गरिरहेको बताए । व्यापक राजनीतिक हस्तक्षेप भएको कारण प्रहरीको मनोबल गिरेको दाबी गर्दै उनले वर्तमान सरकारले उठाउने कोशिस गरिरहेको बताए । राजनीतिक दलहरुले प्रहरीको दुरुपयोग गरेको उनको भनाई थियो । – न्युज एजेन्सी नेपाल

 

राष्ट्रपतिलाई बुझाइयो दुई आयोगको प्रतिवेदन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष छुट्टाछुट्टै दुई आयोगका वार्षिक प्रतिवेदन बुझाइएको छ।

शीतलनिवासमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारु आयोगको आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको हो।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

यसैगरी आजै (बिहीबार) थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले प्रतिवेदन पेस गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

एमाले केन्द्रीय सदस्य शेपाको प्रस्ताव : नेतृत्वमाथि प्रहार गर्ने नेतालाई पार्टीबाटै निष्काशन गरौं

काठमाडौं । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता झन बढेको दाबी गरेका छन् । ११ औं महाधिवेशनबाट फेरि ओलीलाई नै अध्यक्ष बनाउनु पर्ने प्रस्ताव उनले गरेका छन् । चालु केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा राख्दै उनले ओलीलाई हटाउने एजेण्डा विदेशी खुफियाहरुको भएको टिप्पणी गरे । त्यसको कार्यान्वयनमा प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईंहरू लागिपरेको शेर्पाको भनाइ छ ।

ओलीको विरोध गर्ने नेताहरूलाई यही बैठकले कारबाही गर्नुपर्ने माग समेत उनले राखेका छन् । ‘केपी ओलीलाई हटाउनु पर्छ भन्ने एजेण्डा विदेशी खुफियाहरुको एजेण्डा हो । त्यसलाई कार्यन्वयन गर्ने नेपाली कारिन्दाहरु प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं बनेका हुन्,’ उनले बैठकमा भने, ‘अहिले हाम्रै केही नेताहरूले उनीहरूका एजेण्डा बोक्न थाले । पार्टीको महत्वपूर्ण पदमा बसेर पनि दुष्मनका एजेण्डालाई मलजल पुग्ने गरी नेताहरूबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भीर अपराधको बिषय हो । यसको निर्मम समीक्षा हुनु पर्दछ ।’

मुलुक गम्भीर अवस्थामा भएको र यस्तो बेला ओलीले नै पार्टीको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । ‘यो आवश्यकतालाई ठोस र मूर्त रूप दिन आगामी महाधिवेशनमा कमरेड केपी शर्मा ओलीकै निर्विकल्प नेतृत्वमा नेकपा (एमाले) लाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ भन्ने मेरो प्रस्ताव छ,’ उनले बैठकमा प्रस्ताव गरेका छन् ।

शेर्पाले बैठकमा बोलेका कुरा उनकै शब्दमा :
संकटको घडीमा मूल नेतृत्वलाई नै प्रहार गरेर पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्ने, विभिन्न मिडियामा त्यस्तै प्रकारका अभिव्यक्ति दिँदै हिँड्ने सचिवालय भित्रका नेताहरुलाई यो बैठकले कारबाही गर्नुपर्छ भन्ने मेरो प्रस्ताव छ । विधान महाधिवेशनमा असहमति केही छ कि ? भनेर अध्यक्षले सोध्दा सबै ठीक छ भनेर सहमति जनाउने अनि जेनजी आन्दोलनले आगो लगाएपछि अब केपी ओलीले भएन, बिदा लिनुपर्छ भन्दै हिँड्ने ? नेताहरुको यो तरिकाप्रति दुःख व्यक्त गर्दछु ।

केपी ओलीलाई हटाउनु पर्छ भन्ने विदेशी खुफियाहरूको एजेण्डा हो । त्यसलाई कार्यान्वयन गर्ने नेपाली कारिन्दाहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाई हुन् । अहिले हाम्रै केही नेताहरुले उनीहरुका एजेन्डा बोक्न थाले । पार्टीको महत्वपूर्ण पदमा बसेर पनि दुश्मनका एजेन्डालाई मलजल पुग्ने गरी नेताहरुबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भिर अपराधको बिषय हो । यसको निर्मम समीक्षा हुनु पर्दछ ।

हाम्रा केही नेताहरूले ‘एमाले सच्चिन्छौँ, सच्चिनु पर्छ, हामी माफी माग्छौँ’ भन्दै फेसबुकमा पोस्ट गर्ने, मिडियाहरुमा अन्तर्वार्ता दिने काम गरेका छन् । मैले नबुझेको कुरा, एमाले कुन कुरामा बिग्रिएको हो ? कुन विषयमा सच्चिनुपर्ने हो ? हामीले जनतालाई कुन कुरामा माफी माग्नुपर्ने हो ? एमालेका नेताहरूले सार्वजनिक रूपमा यसरी माफी मागेर हिँड्ने भनेर हाम्रो कुन बैठकले निर्णय गरेको हो ? यसलाई प्रष्ट पारियोस् ।

संकटको बेला हाम्रा नेताहरु आफू मातहतका कार्यकर्ताहरूलाई एकताबद्ध गराउनु त कता हो कता, उल्टै विग्रहका चर्चा चलाउने, फुट र गुटका विभिन्न गतिविधि सञ्चालन गर्ने, मूल नेतृत्वलाई खुइल्याउने र घेराबन्दी गर्ने काम गरिरहेको देख्छु । यो घोर आपत्तिको बिषय हो । यस्ता तत्वहरुले त जेन्जी आन्दोलनमा घुसपैठ गरी देश ध्वस्त पारे जस्तै संगठनभित्र घुसपैठ गरी पार्टी ध्वस्त पार्न खोज्ने तत्वहरू हुन् भन्ने मेरो ठहर छ । यस्ता तत्वहरूलाई समयमै पहिचान गरी ठूलै नेता भए पनि अब पार्टीबाट निश्कासन गर्नु आवश्यक छ भनेर माग राख्दछु धन्यवाद ।

 

 

मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री कार्की : भ’को भई छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रीमण्डलले अझैसम्म पूर्णता पाएको छैन । दुई पटकसम्म मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनी आफैंले अहिलेसम्म ९ वटा मन्त्रालय सम्हाली रहेकी छन् । जसका कारण कार्कीको मन्त्रीमण्डलले कहिले पूर्णता पाउँछ भन्ने चासोको विषय बनेको छ ।

जसका कारण मन्त्रीमण्डलले पूर्णता नपाउँदा खाली रहेका मन्त्रालहरू मन्त्रीविहीन छन् । प्रधानमन्त्री कार्कीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्न लागेको चर्चा यत्तिकै सेलाएको छ । उनले जेन–जीका तर्फबाट चार मन्त्री थप्न लागेको समाचारहरू आएका भए पनि अहिलेसम्म थपेकी छैनन् ।

जेन–जीबाट अनेकथरि नाम प्रस्ताव भएपछि प्रधानमन्त्री बिलखबन्धमा परिरहेको स्रोतको भनाइ छ । सुरूमा छलफलमा आएका चारजनाको नाम विवादित भएपछि यत्तिकै रद्द भएको थियो । त्यसपछि कार्कीले जेनजी अभियन्ताहरुलाई साझा नाम दिन आग्रह गरेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा प्रधानमन्त्रीले जेन–जी अगुवाहरूसँग वार्ता गर्ने भनेर दुईपटक समय निर्धारित भएको थियो । पहिलो पटकको वार्तामा पौडेल अचानक अस्वस्थ भएर सहभागी हुन सकेनन् । दोस्रो पटक तोकिएको वार्ता पनि राष्ट्रपतिले आराम गर्नुपर्ने भन्दै रद्द गरेका थिए । त्यसयता मन्त्रिपरिषद विस्तारको विषय ओझेलमा परेको छ ।

यही चासोका बीच बिहीबार सिंहदरबार परिसरमा एक पत्रकारले जिज्ञास राख्न भ्याइहाले– प्रधानमन्त्री ज्यू मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ ? तर प्रधानमन्त्री प्रश्नको जवाफ दिन अडिएनन्, उनले हिंड्दा हिंड्दा जवाफ फर्काइन्–मन्त्रिपरिषद् विस्तार ‘भको भई’ छ ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री बनेको ३ दिनपछि अर्थात ३० भदौमा पहिलोपटक उनले मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यसपछि ६ असोजमा उनले दोस्रो पटक ४ मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् ।

पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, तात्कालीन राज्य पुनर्संरचना आयोगका संयोजक मदन परियार, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र पत्रकार जगदीश खरेललाई मन्त्री नियुक्त गरेकी थिइन् । कार्कीले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैं सम्हाली रहेकी छन् ।

अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ताको तयारी

काठमाडौं । सरकारले कांग्रेस–एमाले नेतृत्वको सरकारका पालामा नियुक्त विभिन्न देशका राजनीतिक नियुक्त राजदूत फिर्ता गर्ने भएको छ । भारत, अमेरिका, बेलायतलगायत १३ देशमा राजनीतिक नियुक्तिका राजदूत छन् । तर, उनीहरूमध्ये कतिपय सेवा निवृत कर्मचारी पृष्ठभूमिका रहेकाले राजनीतिक दलका कार्यकर्ताबाहेक अरुलाई यथावत राख्ने विकल्पमा पनि छलफल भएको छ ।

आजै बसिरहेको मन्त्रिपरिषद बैठकमा यो बारेमा पनि चर्चा हुने एक मन्त्रीले बताएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रुसका लागि जंगबहादुर चौहान लगायत छन् ।

यस्तै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले बतायो । केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।

जेनजीको नाममा ‘थर्काउने’ शाहीसँग असईको परिचयपत्र

काठमाडौँ । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई ‘थर्काउँदै’ हिंड्ने अर्जुनबहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ । असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षकको परिजानकारी दिए । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् ।

शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो । उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका–२ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ । रोजन थापामगरसहितका युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउँछु भनेर उनले खाली चेक लिएका हुन् । प्रतिव्यक्ति १२ लाख लाग्छ भनेर उनले चेक लिएको पीडितहरूको भनाइ छ । पीडितहरूले सो चेकमा रकम भरेर बाउन्स गरेको भन्दै शाही विरुद्ध काठमाडौँ प्रहरीमा उजुरी गरेका छन् । शाहीले जापान पठाउँछु भनेर पनि ठगी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीलत निवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी भएको फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

 

खोलामा डुबेर एकै घरका दिदी–बहिनीसहित तीन बालिकाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

 

तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार सुरु भएको छ ।

तिहारमा घर विभिन्न विद्युतीय बत्तीले झिलिमिली र उज्यालो बनाउने गरिन्छ, जसका लागि अहिले महाबौद्ध क्षेत्रमा विभिन्न आकार र प्रकार अनुसार १५० रुपैयाँदेखि एक हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने बत्तीहरूको व्यापार सुरु भई सकेको छ ।

तिहारको लक्ष्मी पूजाका दिन विशेषतः घर झिलिमिली बनाउने प्रचलन रहेको छ, उज्यालो घरमा लक्ष्मीको बास हुने विश्वासका साथ पनि अहिले बजारमा झिलिमिली बत्ती व्यापार बढेको एक व्यापारीले जानकारी दिए ।

सभामुखसँग पूर्व महान्यायाधिवक्ता : खाती र कार्की संसद पुनर्स्थापनाको पक्षमा, यादव चुनाव हुनुपर्नेमा

काठमाडौं । पूर्व महान्यायाधिवक्ताहरूले सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा विघटन र सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा नजान सुझाव दिएका छन् । सभामुख घिमिरेले संसद् विघटनबारे निर्णय गर्न पूर्व महान्यायाधिवक्ताहरुसँग छलफल गरेका हुन् । छलफलमा पूर्व महान्यायाधिवक्ता भरतबहादुर कार्की, खम्मबहादुर खाती र महादेव यादव सहभागी थिए ।

कार्की र खातीले संसद् पुनस्थापना हुनुपर्ने भनेका थिए भने यादवले निर्वाचनमा जानुपर्ने राय दिएका थिए । तर तीनै जनाले सभामुख रिट बोकेर अदालत जान नहुने एउटै धारणा राखेका थिए । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका छन् । रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । ‘छलफलमा तीन जना पूर्व महान्यायाधिवक्ताहरू सहभागी हुनुहुन्थ्यो । उहाँहरू सबैले आफै रिट लिएर अदालत जान आवश्यक नरहेको भन्ने कुरा गर्नु भयो’ सभामुखका प्रेस संयोजक शेखर अधिकारीले भने ।

उनीहरूले यसबारे अदालतमा रिट दायर भइसकेको र त्यसैमा बहस हुने, आवश्यक कागजात अदालतले तीनै बहसमा लिने भन्दै उनीहरूले सभामुखलाई रिट नलैजान भनेका थिए । महान्यायाधीवक्ताहरूले संवैधानिक परीक्षण गर्ने पनि बताएका थिए । सभामुख आफैले रिट लैजाँदा राजनीतिक दलमाथि थप आक्रमण नहोला भन्न नसकिने भन्दै सचेत हुनुपर्ने महान्यायाधीवक्ताहरूको भनाइ थियो । ‘अहिले संविधानमाथि प्रहार भएको छ । दलहरू असाध्यै अफ्ठ्यारो स्थितिमा छन् । सुरक्षालगायतको अफ्ठ्यारो स्थितिमा थप प्रहार हुनसक्छ । अदालतको विषय भइसकेको छ थप केही गर्न जरुरी छैन’ उनीहरूले भनेका थिए ।

महान्यायाधीवक्ताहरूमध्ये यादवले फागुनमा चुनाव तोकिएको र उक्त चुनाव हुनुपर्ने धारणा बताएका थिए । वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते चुनाव गर्ने घोषणा गरेको छ । ‘चुनाव तोकिएकै समयमा हुनुपर्छ । यो नै समाधानको उत्तम विकल्प हो’ यादवले भनेका थिए । तर कार्कीले भने अहिले परेका रिटमाथिको सुनुवाइकै क्रममा अदालतबाट संसद् पुनर्स्थापना हुने तर्क गरे । उनले जस्तै खातीले पनि अहिले सुरक्षासहितको कारण उल्लेख गर्दै चुनाव हुने वातावरण नभएकोले संसद् पुनर्स्थापना हुुनपर्ने बताएका थिए । ‘कतै पनि सुरक्षा प्रत्याभूतिको अवस्था छैन । दलहरू सहजै चुनावमा भाग लिन जाने वातावरण छैन । दलहरू नगई कसरी चुनाव होला त । त्यसैले अदालतबाट संसद् पुनर्स्थापना हुन्छ ।’

कर्णाली याक्स र नेबिकोबीच साझेदारी, तस्बिरहरु

काठमाडौँ । कर्णाली याक्स स्पोर्ट्स प्रा.लि. र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ ।

बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपीएल हुन लागेकोमा खुसी व्यक्त गरे ।

नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको बताए ।

सम्झौता नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ । नेबिको गुल्कोज, कोकोनट बिस्कुट लगातयका उत्पादन चर्चित छन् ।

एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।

 

पदभार ग्रहणसँगै मुख्यमन्त्री सोनलको निर्णय : हेल्लो सिएम कार्यक्रमलाई निरन्तरता

जनकपुर । मधेस प्रदेशका चौंथो मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गरेसंँगै नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले ‘हेल्लो सिएम’ कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै जनताको भावनालाई कदर गर्ने काम पहिलो प्राथमिकतामा राखिने बताए ।

उनले बाँकी निर्णयहरु मन्त्री परिषद्बाट हुने र जानकारी गराइने बताउँदै तत्काल जनताको आवाज, गुनासो र भावना समेटिने कार्यक्रम हेल्लो सिएमलाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर भएको बताए । मुख्यमन्त्री सोनलले आफ्ना नव नियुक्त मन्त्रीहरुसहित जनकपुरधामको मुजेलियास्थित शहीद गेट पुगेर शहीदहरुप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरेका छन् । यस सरकारमा कुनै पनि किसिमको अन्यौलता, हेलचेक्र्याई र लापरवाही नहुने समेत बताए । जनताको भावनाको कदर, सुशासन र विकासमा अग्रसरता लिने बताए । —न्युज एजेन्सी नेपाल

जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्चमा सीके राउत

काठमाडौं । जनमत पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राजनीतिक दलसम्बन्धि ऐन निष्क्रिय भएको समयमा दल विभाजन नै हुन नसक्ने दावी गर्दै रिट दायर गरेका हुन् ।

‘अहिले दल विभाजनको ऐन नै निष्क्रिय छ । त्यसमाथि पार्टीले कारबाही गरिसकेका व्यक्तिको हस्ताक्षर प्रयोग गरेर दल विभाजन गरिएको छ,’ राउतले भने, ‘हामीले कारबाही गरेका व्यक्तिबारे आयोगलाई यसअघि नै जानकारी गराइसकेका थियौं । अनि उनीहरूकै हस्ताक्षरमा दल विभाजन हुन्छ ? त्यसैले आज रिट दायर गरें ।’ राउतले निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट दायर गरेको जनाएका छन् । उपाध्यक्ष रहेका दीपककुमार साहसहितले जनमत पार्टी फुटाएर जनस्वराज पार्टी गठन गरेका छन् । राउतको रिटको पेसी शुक्रबारलाई तोकिएको छ ।

संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनर्स्थापनाको बाटोमा लाग्न नहुने बताएका छन् । निर्वाचन आयोगले बिहीवार दलहरुसंग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनस्र्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिए । सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताए । वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरुको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उनको भनाई छ ।

उनले भने, ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको बनेको होइन तर यो चाहीँ आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरुको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहीँ दुविधा पाल्नुपर्ने कुनै आवश्यकता छैन भन्ने कुरा हाम्रो पार्टीलाई लागेको छ । यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनस्र्थापनाको लागि मुद्दाहरु गएका छन् । अब मुद्दाले के गर्छ भन्नेकुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनस्र्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गुर्नपर्छ ।’ उनले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निवार्चन पनि समयमै गर्नुपर्ने बताए । – न्युज एजेन्सी नेपाल

एमालेको आरोप : सरकार चुनाव गराउन चाहँदैन, संसद पुनः स्थापनाको विकल्प छैन

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारलाई प्रतिनिधि सभा निर्वाचन गराउने तयारी नगरेको आरोप लगाएको छ । निर्वाचन आयोगद्वारा बोलाइएको सर्वदलीय छलफलमा सहभागी हुँदै एमालेले सात बुँदे धारणा पेश गर्दै चुनाव नहुने खतरा औंल्याएको हो । एमालेका उपाध्यक्ष गुरु बराल र निर्वाचन विभाग प्रमुख निरज आचार्यले आयोगमा धारणा प्रस्तुत गर्दै यदि चुनाव समयमै नभएमा संसद पुनः स्थापना बाहेक विकल्प नहुने बताएका छन् । एमालेले सरकार उल्टो बाटोमा हिँडिरहेको आरोप लगाउँदै भनेको छ, ‘राजनीतिक दलहरूलाई निषेध गर्दै, पुराना दलहरूलाई चुनावमा अवरोध गर्ने काम भइरहेको छ । सरकारले न्यूनतम चुनावी वातावरण समेत बनाउन सकेको छैन ।’

यस्ता छन् एमालेको सात बुँदे धारणा
– सरकार २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्न कानुनी रूपमा बाध्य भए पनि तयारी नगरेको ।
– मनाङको प्रदेशसभा निर्वाचन स्थगित हुनु सरकारको असक्षमता देखाउने प्रमाण ।
– सबै दललाई समान अवसर दिनुको साटो विशिष्ट दललाई निषेध गर्ने प्रयास ।
–मुलुकभर एकैसाथ चुनाव आवश्यक भए पनि सुरक्षा व्यवस्था सुनिश्चित गरिएको छैन ।
–जनताबाट प्राप्त म्यान्डेटमा अवरोध सिर्जना भइरहेको ।
–खेल सुरु भइसकेपछि नियम नफेरिए जस्तै, निर्वाचन प्रक्रिया बीचमै बद्लिन नहुने ।
–असंवैधानिक रूपमा सत्ता कब्जा गरिएको अवस्था आएमा विगतको जनमत पुनःस्थापना अपरिहार्य ।

यता नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए । सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भूमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गरे । सरकारले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडि बढाएको उनको भनाई छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।

 

 

 

 

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय समिति बैठक सुरु भएको छ । सानेपास्थित  पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो ।

मलेसियाविरुद्धको हार उल्ट्याउन फिफा समक्ष नेपालको निवेदन

काठमाडौं । एसियन कप छनोटका क्रममा मलेसियासँग हार व्यहोरेको नेपालले सो नतिजा उल्ट्याउन औपचारिक निवेदन दिएको छ । साउदी अरेबियामा सन् २०२७ मा हुने एसिएन कप छनोट प्रक्रियाअन्तर्गत ‘२–०’ ले नेपाल पराजित भएको थियो । सो छनोट प्रतियोगितमा भाग लिने मलेसियन खेलाडी प्रतिबन्धित भएसँगै विश्व फुटवल नियामक संस्था ‘फिफा’ समक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

गत महिना ‘फिफा’ ले मलेसियाको राष्ट्रिय फुटवल टोलीमा संलग्न सात जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै फुटबल संघ (एफएएम) लाई चार लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ ले जनाएको छ ।
यसरी प्रतिबन्धित खेलाडीमध्येका एक ‘हेक्टर हेभल’ ले मलेसियाको ‘जोहोर’ मा सम्पन्न छनोट खेलमा नेपालका विरुद्ध पहिलो गोल गरेका थिए । ‘हामीले उक्त खेलमा अयोग्य खेलाडी खेलेको विषयमा ‘फिफा’ सँग सम्पर्क गरिसकेका छौँ । त्यसैले नतिजा उल्ट्याउनुपर्छ भन्ने हाम्रो माग हो, सोहीबमोजिम निवदेन दिएका हौं’, एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने ।

मलेसियाका तर्फबाट खेलेका ती सात खेलाडीले आफ्ना मलेसियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेसियामा नजन्मेको ‘एएफपी’ ले जनाएको छ ।

यसैबीच मलेसियाको फुटवल संघले सो सम्बन्धमा जानाजानी कुनै पनि गलत काम नगरेको स्पष्ट गर्दै खेलाडीहरूको योग्यतासम्बन्धी निर्णय ‘कानुनी प्रक्रियाअनुसार’ नै भएको भन्ने दावी गरेको छ । प्रतिबन्धित ती सात खेलाडी गत जुनमा भियतनामविरुद्ध भएको खेलमा पनि सहभागी भएको र उक्त एसिएन कप छनोट खेलमा मलेसियाले ४–० को विजय हासिल समेत गरेको एएफपीले जनाएको छ । हालसम्म चार खेल खेलिसकेको नेपाल कुनै पनि अङ्क प्राप्त गर्न नसकेर समूह ‘एफ’को अन्तिम स्थानमा रहेको छ । मलेसिया १२ अंकका साथ शीर्ष स्थानमा छ भने भियतनाम नौ अंकसहित दोस्रो र लाओस तीन अंक प्राप्त गरी तेस्रो स्थानमा रहन सफल भएको छ ।

 

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् । विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको गुनासो गरेका छन् ।

पोखरा–बागलुङ सडक विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भएको थियो । बन्द भएको २७ वर्षमा बागलुङ नगरपालिकाले सञ्चालनको प्रयास गरेको थियो । विसं २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्याइएकामा यात्रु अभावले छ महिना पनि नियमित सञ्चालन हुन सकेन । नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे धावनमार्गमा उडान भरेका थिए ।

अहिले रु आठ करोडभन्दा बढी खर्च गरेर धावनमार्ग, पार्किङ तथा टर्मिनल भवन मर्मत सम्भार गरेर आकर्षक बनाइएको छ । चौबीस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगन गरिएको विमानस्थल हवाईजहाजको पर्खाइमा रहेको विमानस्थलका कार्यालय सहयोगी सविता शर्माले बताए । उनका अनुसार नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघि मात्र विमानस्थल कालोपत्र तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो ।

विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानी जस्तै भएको राम शर्माले बताए । उनले विमानस्थलमा एक कार्यालय सहयोगीले नियमित रेखदेख गर्दै आएका छन् । ‘यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन गर्न सकिन्छ’, उनले भने । यो विमानस्थलमा हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने स्थानीयको भनाइ छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालन गर्न सातामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको थियो । पछि विमानस्थलको धावनमार्ग पक्की बनेपछि सेवा सञ्चालन झनै ठप्प बनेको छ ।

कालोपत्र भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडान पनि नभएको बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताए । उनले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेका भन्दै पटक–पटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गरे । हरेक सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई विमानस्थल अवलोकन गराउँदै आइएको जनाउँदै खत्रीले कसैबाट ठोस् पहल नभएको उल्लेख गरे ।

‘राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रको चरणमा रहेकाले कालोपत्र भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल सञ्चालन हुन सक्छ । नगरले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता साहसिक उडानका लागि पहल गरिरहेको छ’, उनले भने ।

निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेकाले समस्या भएको तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीले बताए । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलका कारण पर्यटन प्रवर्द्धनको सम्भावना भए पनि नियमित सञ्चालन गर्न नसकिएको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गरे । उनले नगरको पहलले मात्रै विमानस्थल सञ्चालन गर्न सम्भव नहुने जनाउँदै संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । कालीगण्डकी करिडोर सम्पन्न भएपछि र कुश्मादेखि जोडिने यान्त्रिक पुल, बन्जी पुल र नयाँ बन्ने झोलुङ्गे पुल सम्पन्न भएपछि यात्रुको समस्या नहुने स्थानीय कमल जिसीले बताए । त्यसका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ । –रासस

 

मधेसमा मुख्यमन्त्रीपछि दुई मन्त्रीले लिए शपथ

धनुषा । मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बुधबार पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी रहेको छ ।