`

प्रधानमन्त्री कार्कीको निर्देशन : नर्सहरूलाई न्यूनतम पारिश्रमिक दिलाउने व्यवस्था मिलाउनू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । उनले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी छन् ।

देशमा रहेका दक्ष जनशक्तिलाई निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले प्रधानमन्त्री कार्कीले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने बताएकी छन् । स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पारिश्रमिक ३४ हजार ७३० हुनु पर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेकी छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय

काठमाडौँ ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिए । बैठक अहिले १ बजेबाट जारी रहेको छ।

प्राप्त एजेन्डाको सूची अनुसार पहिलो नम्बरमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ ।

त्यस्तै प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतको कार्यसूची तय भएको छ।

कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा मतभेद छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्ष मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, संस्थापन पक्ष मंसिरमा दुवै महाधिवेशन सम्भव नहुने पक्षमा छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ । डा। शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्‍याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।

संस्थापन नियमित महाधिवेशन गर्न राजी छ तर, मंसिरमा विधि र प्रक्रिया पुर्‍याइ नियमित महाधिवेशन गर्न समय अपुग हुने बताइरहेको छ । यसैबीचमा १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन लागेको हो ।

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

खड्काले कार्यवाहकको जिम्मेवारी पाएपछि बुधबार संस्थापन पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

संस्थापन पक्षीय नेताहरूले कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको कार्यतालिका र सम्पन्न हुने आधारसहितको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सुझाएका थिए । सभापति देउवाले कार्यवाहक दिएपछि विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षीय नेताहरूको भनाइ रहँदै आएको छ ।

 

 

विश्वकप छनोट प्रतियोगिताकाे उपाधि जिते क्रिकेट खेलाडीलाई जनही साढे १९ लाख

काठमाडौं । नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जिते राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने जानकारी दिएका हुन् ।

नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ । हिजोको खेलमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गरेमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ । घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख रहेको जनाइएको छ ।

नियमावलीको अनुसूची ४ अन्तर्गत यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ । विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।

छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउने छन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

नेपालले अब अन्तिम खेल सामोआसँग खेल्नेछ । उक्त खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हारेमा र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हारेमा भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हारे र ओमानले जिते चाहिँ रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्ने छन् ।

 

४५ औं विश्व खाद्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो (तस्बिरहरु)

काठमाडौँ ।  आज नेपाल लगायात विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाईएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी  ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मुल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ‌।
सोही अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौं प्रदेशका स्थानीय निकायहरुलाई सम्मान प्रदान गरिएको छ ।
सम्मान प्राप्त गर्ने स्थानीय निकायहरु कोशी प्रदेशीको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेशी प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदुरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुलालाई सम्मान प्रदान गरिएको छ ।

बुद्ध एयरका मालिक बस्नेतले खोले पार्टी, को छन् अध्यक्ष ?

काठमाडौं । बुद्ध एयरका मालिक समेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरु संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । आयोगमा बिहीबार निवेदन दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन् । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ छन् । व्यवसायबाट राजनीतिमा होमिएका बस्नेत भने सदस्य छन् ।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन । ‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा छ,’ त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’

पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ । ‘आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकून्’ पार्टीले भनेको छ । आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ दल दर्ताको लागि कात्तिक ३० गतेसम्मको समय सीमा तोकिएपछि यतिबेला विभिन्न समूहहरु राजनीतिक दलमा रुपान्तरण भइरहेका छन् ।

मधेसका नव नियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

धनुषा । मधेस प्रदेश सरकारका नव नियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

 

लाइसेन्स छपाइको अनुमति प्रदेश सरकारलाई दिन माग (तस्बिरहरु)

काठमाडौं। प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा पत्र बुझाइएको छ । बिहीबार युवा आवाज नामक संगठनले विभागमा पत्र बुझाएको हो ।

भाद्र २३ गते भ्रष्टाचार विरुद्ध भएको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र नभई सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस, र उत्तेजनाको संयुक्त अभिव्यक्तिको रूपमा देखिएको उनीहरूले बताएका छन् ।

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजवादी मोर्चाको बीचमा यथाशीघ्र एकता हुने बताएका छन् । आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

संयोजक दाहालले भने, ‘यस पटक धेरै वामपन्थी पार्टीहरूका बीचमा एकता समाजवादी मोर्चाबाट सुरु गर्छौैँ’, सबै वामपन्थी दललाई एक ठाउँमा ल्याएर अघि बढ्ने योजनाका साथ आफूहरू अघि बढेका छौँ ।’ सामाजवादी मोर्चामा रहेका दलहरूबीच एकता केही दिनमा हुने भन्दै उनले यो एकताले राजनीतिक दलहरूको ध्रुवीकरणको सुरुआत गर्दै राजनीतिक शक्ति सञ्चय गरी समाजवादी क्रान्तिको सुरुआत गर्ने विश्वास व्यक्त गरे । पार्टी एकता एमालेसम्म पुगेर रोकिने उनको भनाइ छ ।

संयोजक दाहालले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतका रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने धारणा राखे । उनले भने, ‘युवाहरूले भ्रष्टाचार विरोधी माग उठाएका छन् । अहिलेको पुस्ताले भ्रष्टाचार अन्त्य र सुशासनको मार्ग खोज्नु गौरवको विषय हो ।’

 

निर्वाचन आयोगले बोलाएको छलफलमा कुन दलबाट को गए ?

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तिमा एउटा वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव कविन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे लगायत अन्य दलका प्रतिनिधि छन् ।

छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।

मधेशका सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका सांसद सरोजकुमार सिंहसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । महोत्तरी प्रतिनिधि सभा क्षेत्र नं ४ को प्रदेश सभा २ बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य समेत रहेका सिंहले मधेश प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८ ७९ मा विनियोजन भएको बजेटबाट विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिको खातामा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव बिनोदकुमारलाल कायस्थमार्फत झिकी आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गराएका थिए ।

एक करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये करिब २८.२५ प्रतिशत अर्थात् ३ करोड ८५ लाख ३ सय १९ रुपैयाँ घुस तथा कमिसनबापत लिएको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ । यस प्रकरणमा, सिंहले आफ्ना अनुकूलका पदाधिकारीलाई उपभोक्ता समितिमा चयन गराई बैठकका निर्णय स्वकीय सचिव कायस्थबाटै तयार गराएको, बैंक खाता खोल्दा न्यूनतम शुल्क समेत आफैले तिरेको र भुक्तानी लिने व्यक्ति तथा मिति उल्लेख नगरी खाली चेकमा अध्यक्ष र कोषाध्यक्षको दस्तखत गराई रकम नियन्त्रणमा लिएको पाइएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरीत काम नगरी सिंहले खटाएका कामदारमार्फत योजनाका काम सम्पन्न गराएको र त्यस बापतको कमिसन संयुक्त खातामा जम्मा गरेको अख्तियारको आरोप छ । उक्त कार्यमा संलग्न सिंह, रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउतकुर्मी, भुपेन्द्रकुमार झा, मन्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवीसमेत १६ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा कैद, बिगो बराबर जरिवाना र बिगो जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।

 

 

राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल जारी

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबीचको छलफल चलिरहेको छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । छलफलमा नेपाली कांग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट गुरु बराल, माओवादी केन्द्रको तर्फबाट देव गुरुङ, रास्वपाका हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत सहभागी छन् । नेपाली कांग्रेस र नेकपा एमाले संसद्को पुनः स्थापना गर्नुपर्ने पक्षमा देखिएका छन् । अन्य दलहरू भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा दृढ देखिँदै आएका छन् ।

जेनजी आन्दोलनमा फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

काठमाडौँ । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन् ।

त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरुष र १० जना महिला छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताए । उनले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे ।

प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ ।

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिँदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न थालिएको छ ।

बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्न आज सार्वजनिक सूचना जारी गरेको छ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । छ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने तथा आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटकपटक सूचना प्रकाशन गर्दासमेत सम्झौताबमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ ।

ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्थाबमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये छ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा फेरि पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ । उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

पूर्व गृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि पक्राउ परेर तारेखमा छुटेका थिए । अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए । घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

 

चीनका दुर्लभ पृथ्वी (खनिज) तत्व प्रतिबन्धमा जी–७ को एकजुट प्रतिक्रिया आवश्यक : जापानी अर्थमन्त्री

जापान । जापानका अर्थमन्त्री कात्सुनोबु कातोले चीनले लगाएका दुर्लभ–पृथ्वी (खनिज) तत्व निर्यात प्रतिबन्धहरूको विरुद्धमा सात राष्ट्रको समूह (जी–७) एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले बिहीबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भने, “गत हप्ता चीनले घोषणा गरेको दुर्लभ पृथ्वी तत्व सम्बन्धी व्यापक निर्यात प्रतिबन्धबारे जापान गम्भीर चिन्तित छ र जी–७ ले यस विषयमा संयुक्त रूपमा कदम चाल्नुपर्दछ ।”

बेइजिङले अक्टोबर ९ मा दुर्लभ–पृथ्वी तत्व प्रविधि र वस्तुहरूको निर्यातमा नयाँ नियन्त्रण नीति घोषणा गरेको थियो । यी खनिजहरू अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा रक्षा उद्योगका लागि अत्यन्तै महत्त्वपूर्ण चुम्बक निर्माणमा प्रयोग हुने गर्छन् ।

चीन विश्वका लागि यस्ता खनिजहरूको प्रमुख उत्पादक देश हो र यी स्रोतहरू चीन तथा संयुक्त राज्य अमेरिकाबीचको व्यापारिक वार्तामा लामो समयदेखि विवादको मुख्य विषय बनेका छन् ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बुधबार चीनको नयाँ प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘चीन विरुद्ध विश्व’ का रूपमा व्याख्या गरे । उनले वासिङ्टन तथा उसका सहयोगी राष्ट्रहरू ‘न त आदेश पालना गर्नेछन् न त नियन्त्रणमा पर्नेछन्’ भन्ने दृढ प्रतिवद्धता व्यक्त गरे ।

कातो र बेसेन्टका टिप्पणीहरू यसै हप्ता वासिङ्टनमा सम्पन्न हुँदै गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकका सन्दर्भमा आएका हुन् । बैठकमा विश्वका प्रमुख आर्थिक नीति–निर्माताहरू एकत्रित भएका छन् ।

जी–७ समूहमा संयुक्त राज्य अमेरिका र जापानका साथै क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र बेलायत रहेका छन् । यी राष्ट्रले चीनको निर्यात नियन्त्रणको दीर्घकालीन प्रभावबारे गम्भीर छलफल अघि बढाउने अपेक्षा गरिएको छ ।

रेसुङ्गा र मदाने दुर्लभ चराको वासस्थान

गुल्मी । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षीत क्षेत्र दुर्लभ चराहरुको मुख्य आश्रयस्थल बन्दै गएको छ । विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका फेला परेका छन् ।

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्र दुर्लभ चराहरुको मुख्य वासस्थान रहेको नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिनुभयो । दुर्लभ प्रजातिका चरामध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो माहाचिल रहेका छन् ।

रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने ९०२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशतभन्दा बढी चरा फेला परेका अधिकृत भट्टराईले जानकारी दिए । नेपाल पंक्षी संरक्षण सङ्घले विभिन्न समयमा गरेकोे पंक्षी सर्भेक्षणअनुसार रेसुङ्गा वन क्षेत्रमा २७६ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा २८९ प्रजातिका चरा फेला परेका हुन् ।

जिल्लाका दुई वन संरक्षण क्षेत्रमा गरिएको पछिल्लो सर्भेक्षणअनुसार रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा गरी ३२५ प्रजातिका चराहरुको तथ्याङ्क रेकर्ड गरिएको छ । यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार हाल ३५ प्रतिशतभन्दा बढी रहेको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।

विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा समेत पाइने भएको कारण यसको संरक्षणका लागि अति सङ्कटापूर्ण अवस्थामा रहेका चराको वासस्थानलाई जोगाई राख्नुपर्नेमा यहाँका स्थानीय एवं सरोकारवालाले जोड दिएका छन् । सङ्घले जिल्लामा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराको खोजी गर्दै तिनीहरुको संरक्षणका लागि विभिन्न प्रयास गर्दै आएको छ ।

सङ्घले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र सम्वद्र्धनसँगै विभिन्न सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गुल्मीमा धार्मिक पर्यटन सँगैसँगै चरा पर्यापर्यटनको समेत प्रचुर सम्भावना रहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । यसबाट जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै यसले स्थानीयको जीविकोपार्जनमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

दुर्लभ प्रजातिका चरा संरक्षणका लागि पछिल्लो समयमा मुख्य चुनौतीको रुपमा वासस्थान विनास, पानीको अभाव, वन–डढेलो, अवैध शिकार, जनचेतनाको अभावजस्ता कारण रहेको सङ्घले जनाएको छ । सङ्घले विगत दश वर्षदेखि जिल्लामा डिभिजन वन कार्यालयसँग सहकार्य गरी चरा संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

मोटरसाइकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–१ चिदिकास्थित सौरेखोलाबाट दुर्गा फाँटतर्फ जाँदै गरेको लु ५८ प ७७८ नम्बरको तारा बेल्वासेले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आएको लु ३३ प ६५४४ नम्बरको सुमन सुनारले चलाएको मोटरसाइकल सौरेखोला खर्ज्याङमा एक आपसमा ठोक्किँदा बुधबार साँझ दुर्घटना भएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।

अर्घाखाँची र गुल्मीको सीमाना खज्र्याङमा रहेको पब्लिक लुम्बिनी हस्पिटल प्रा.लि.उपचार गर्दा–गर्दै २१ वर्षीय बेल्वासे र ३५ वर्षीय सुनारको मृत्यु भएको हो । बेल्वासे अर्घाखाँची पाणिनि गाउँपालिका–५ मैदानका हुन भने सुनार गुल्मी छत्रकोट गाउँपालिका–६ दौघा मोहोर गाउँका स्थानीय हुन । मोटरसाइकलको पछाडि बसेका मैदानका १८ वर्षीय दिपा कोइराला र दौघाका ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरूलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको नाममा खोलिएका नक्कली आईडीमाथि सुरु भयो अनुसन्धान

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कार्कीको नाममा फेसबुकलगायतका फेक आईडी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो ।

प्रधानमन्त्रीको नाममा अहिलेसम्म २६ वटा नक्कली अकाउन्ट खोलिएको पाइएको छ । कार्कीको नाममा २६ वटा सामाजिक सञ्जाल अकाउन्ट नक्कली देखिएपछि ती अकाउन्ट बन्द गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले अनुसन्धान अघि बढाइएको बताए ।

केही व्यक्तिलाई कार्यालय बोलाएर सोधपुछ समेत सुरु गरिएको छ । अहिलेसम्म भने कोही पक्राउ नपरिसकेको प्रहरीले बताएको छ ।

नक्कली आईडी बन्द र्गका लागि ब्यूरोले इमलेमाफर्त सम्बन्धी कम्पनीमा पत्राचार गरेको छ । केही बन्द भइसकेको र केही बन्द हुने प्रक्रियामा रहेको बताइएको छ ।

 

 

मुख्यमन्त्री सोनलले आजै सानो आकारको मन्त्रिपरिषद बनाउने

जनकपुर । मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आजै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । बुधबार लोसपासहित पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलको पद तथा गोपनियताको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुँदैछ ।

शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने तयारी गरेका गठनबन्धनमा सहभागी माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले जानकारी दिए । गठबन्धनमा सहभागी दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा लगभग सहमती भइसकेको छ ।
सहमतिअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले चार मन्त्रालय पाउने छ । त्यसैगरी जनमतले पनि चारवटै मन्त्रालयमा दाबी गरेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने २–२ वटा मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ । लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी छ ।

‘अहिले दलहरू मन्त्रालय र मन्त्रीको टुंगो लगाउन छलफलमा व्यस्त छन्,’ कुशवाहाले भने, ‘हाम्रो पार्टीबाट चाहीँ को मन्त्री बन्ने भन्ने विषय अझै टुंगिसकेको छैन । आज हाम्रो तर्फबाट मन्त्रीको शपथ हुँदैन । अन्य दलबाट केही मन्त्रीले शपथ ग्रहण गर्छन् होला ।’ सहमतिअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल जसपाले ४ मन्त्रालय पाउने छ । त्यस्तै जनमतले तीनदेखि चार वटासम्म मन्त्रालय पाउने छ भने माओवादी केन्द्र र नेकपा एसले २–२ मन्त्रालय पाउने सहमति पाँच दलबीच भएको छ । लोसपाबाट सोनल मुख्यमन्त्री भएकाले सो दललाई अन्य मन्त्रालय नदिने तयारी छ ।

आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित

काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) का पूर्व अध्यक्ष रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन् । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित भएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

यही अक्टोबर ९ देखि १५ तारिखसम्म अबुधाबीमा सम्पन्न आयुसिएन विश्व संरक्षण महासभाका क्रममा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् संख्याका लागि प्रतिस्पर्धा भएको थियो । उक्त महासभाले सन् २०२६–२०२९ अवधिका लागि नयाँ नेतृत्व र देशीय प्रतिनिधिको निर्वाचन सम्पन्न गरेको छ । संयुक्त अरब इमिरेट्सका रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आयुसिएनको अध्यक्ष पदमा सन् २०२६–२०२९ अवधिका लागि निर्वाचित भएका छन् ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको साढे दुई लाखमाथि

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार ९०० रुपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।

निर्वाचनबारे आयोगले आज २९ दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलसँग चुनावका विषयमा छलफल गर्दैछ । प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले बिहान साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

आयोगले छलफलका लागि विघटित प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ दललाई निमन्त्रणा गरिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल जानकारी दिए । दलहरूसँगको बैठक अहिले बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको कार्यालयमा हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

‘यसका लागि हामीले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका २९ दललाई पत्र पठाइसकेको छौँ’, उनल भने, ‘आज उनीहरूलाई अहिलेसम्म निर्वाचनका लागि हामीले गरेका तयारीबारे जानकारी गराउने र उनीहरूबाट सुझाव लिने कार्यक्रम छ ।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकेका छन् । अन्तिरम सरकारको प्रमुख जिम्मेवारी पनि उक्त चुनाव सम्पन्न गराउने हो । यसका लागि निर्वाचन आयोगले तयारी थालिसकेको छ ।

पार्टी त्यागेको माओवादी केन्द्रका सचिव गणेश साहको घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्यागेको घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेका साहले पार्टी एकताको सन्देश नेतृत्वले कहिल्यै दिन नसकेको भन्दै अब प्रचण्डको पार्टी छाडेको जानकारी गराएका हुन् । साहले अब आफू कुनै राजनीतिक दलमा नलाग्ने घोषणा समेत गरेका छन् । उनले अब आफ्नो विज्ञता र क्षमता देशको लागि आवश्यक परे योगदान गर्न तयार रहेको बताएका छन् ।

तत्कालीन नेकपा संयुक्त र नेकपा माओवादीबीच एकतापछि उनी माओवादीको पदाधिकारी तहमा थिए । उनी लामो समय बिष्णुवहादुर मानन्धर नेतृत्वको कम्युनिष्ट आन्दोलनमा सहभागी रहेको मधेशका स्थापित नेता हुन् । पछिल्लो समय उनी पानी र जलवायु विज्ञका रुपमा अभियानमा छन् ।

खाली हात निराश फर्किए विपिनकी आमा र बहिनी (फोटोफिचर)

काठमाडौं।  हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।
विपिनको मृत्यु भएको  पुष्टि भएपछि उनीहरु खाली हात फर्किनुपरेको हो । उनीहरु कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।

मधेसका निवर्तमान मुख्यमन्त्री सिंहले त्यागे जनमत

काठमाडौं । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी परित्याग गरेका छन् । मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका सिंहले बुधबार जनमत पार्टी फुटेर गठन भएको नयाँ दल जनस्वराज रोजेका हुन् । यस विषयमा जानकारी गराउन उनले जनकपुरमा पत्रकार सम्मेलन गरेका छन् । जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि लोसपाका नेता जितेन्द्र सोनल मधेसको मुख्यमन्त्री नियुक्त भइसकेका छन्।

सिंहसहित जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए । निवर्तमान मुख्यमन्त्री सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले नयाँ दल रोजेका हुन् ।
उनीहरूले पनि आफ्नो समर्थन जितेन्द्र सोनललाई नै रहने बताएका छन् । ‘हिजो म र त्रिभुवन साहजीले जनस्वराज पार्टी रोजेका छौँ,’ सिंहले भने, ‘तर, नयाँ दल रोजेका भए पनि हाम्रो समर्थन जितेन्द्र सोनललाई नै रहने छ ।’

प्रधानमन्त्री कार्यालयको कालोसूचीमा परे यी २५ निर्माण कम्पनी (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले आज (बिहीबार) सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाइएको छ । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१० बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

एक वर्षदेखि दुई वर्षको लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ ।

कालोसूचीमा परेका निर्माण कम्पनीहरु

अलपत्र पारिएका सिंचाइका रुग्ण ठेक्का तोड्न सुरू, बबई आयोजनाका ६ ठेक्का तोडिंदै

काठमाडौं । ठेकेदारले वर्षौंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिंचाइतर्फका ठेक्का तोड्न सुरू गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सूचना निकालेको छ ।

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएसँगै अलपत्र आयोजनाको ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो ।

आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दा समेत सम्झौता बमोजिम काम सुरू नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै चासो नदिएको जनाएको छ । ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनु नपर्ने कुनै ठोस कारण भए निर्माण व्यवसायीलाई १५ दिनभित्र प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

पेस गरिएका प्रमाण नियमसंगत भरपर्दो वा चित्त बुझ्दो नभए धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइनेछ । सिंचाइ विभागअन्तर्गत राष्ट्रिय गौरवका भेरी बबई तथा सुनकोशी मरिण बहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

अध्यक्ष ओलीको प्रस्तावमाथि आज बाँकी सदस्यले धारणा राख्दै, वैठक लम्बिने संकेत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दैछ । ललितपुरको भनिमण्डलमा बिहीबार बिहान ८ बजेदेखि दोस्रो दिनको बैठक सुरु हुने एमालेले जनाएको छ ।

आजको बैठकमा पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए ।

आज करिब एक सय जनाले धारणा राख्ने अनुमान गरिएको छ । बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने प्रवन्ध गरिएको छ । यस हिसाबले भोलि बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने संकेत देखिएको एमाले नेताहरु बताउँछन् ।

यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ । बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि वर्णानुक्रम अनुसार उल्टोपतिर (‘ज्ञ’ बाट) पालो मिलाइएको छ । गौतमका अनुसार हिजोको बैठकमा ‘र’ बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्ने तालिका छ । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरुको एकमुष्ट जवाफ दिने तयारी छ । हिजोको बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने र आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए ।

‘थर्काउँदै’ हिंड्ने नक्कली जेनजी शाही पक्राउ

काठमाडौं । सरकारी निकायहरूमा ‘जेनजी’ को नाममा धाकधम्की दिँदै हिँडिरहेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् । विभिन्न आपराधिक मुद्दामा फरार रहँदै आएका शाहीलाई बुधबार साँझ काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले पुष्टि गरेका छन् ।

शाहीमाथि ठगी र बैंकिङ कसुरका एकपछि अर्को आरोप लाग्दै आएका छन् । पछिल्लो समय उनले आफूलाई ‘जेनजी’ भन्दै संवैधानिक निकाय र सरकारी कार्यालयहरूमा गएर धम्क्याउने कार्य गर्दै आएको उजुरीहरू प्रहरीले प्राप्त गरिरहेको थियो । यही आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

कसुर र पुराना मुद्दा
शाहीविरुद्ध बैंकिङ कसुर र वैदेशिक रोजगारसम्बन्धी ठगीका तीन वटा मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छन् । पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । शाहीले रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउसमार्फत दिएको चेक बाउन्स भएपछि फुँयालले प्रहरी वृत्त महाराजगञ्जमा उजुरी दिएका थिए ।

त्यसअघि पनि उनी वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ परिसकेका थिए । वैदेशिक रोजगार विभागले अनुसन्धानपछि उनलाई प्रहरी समक्ष बुझाएको थियो भने त्यसपछि मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा दर्ता गरिएको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए ।

अधिकारीहरूलाई धम्की
शाही र उनको समूहले हालै नागरिक उड्डयन प्राधिकरण, वायुसेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगी विभिन्न अधिकारीहरूलाई ज्ञापनपत्रको नाममा धम्क्याउँदै आएको खुलेको छ । उनीहरूले कार्यकारी पदमा रहेका अधिकारीहरूलाई ‘काम गर्न नसके राजीनामा देऊ’ भन्दै दबाब दिने प्रयास गरेका थिए ।

यस्तै, २०७३ सालको ‘जेनजी आन्दोलन’ पछि सुशीला कार्की प्रधानमन्त्री बनेको शपथ समारोहमा समेत शाही देखिएका थिए । सो अवसरमा उनले हामी नेपालका संयोजक सुदन गुरुङसँग हात उठाएको तस्वीर पनि सार्वजनिक भएको थियो ।

शाहीको यस्ता गतिविधि गृह मन्त्रालयसम्म पुगेपछि सम्बन्धित निकायहरूलाई सतर्क रहन निर्देशन दिइएको थियो । अहिले प्रहरीको हिरासतमा रहेका शाहीमाथि थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२० विश्वकपको टिकट काटेका हुन् ।

बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन्।

विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ।

योसँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। त्यसको १० वर्षपछि नेपालले सन् २०१४ मा विश्वकपमा स्थान बनाएको थियो। यो पटक पनि नेपालले विश्वकपमा स्थान बनाएपछि लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो।

कृष्ण बहादुर महरालाई लगियो केन्द्रीय कारागार सुन्धारा

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुनधारामा लगिएको छ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जानकारी दिए।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो।

चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। उनका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।

यो प्रकरणमा महरा र अन्य प्रतिवादीहरूको बयानबाट समेत उनी संलग्न छैनन् भन्ने नदेखिने अदालतले भनेको छ। यसअघि अर्को मुद्दामा पक्राउ पर्दा भने उनलाई डिल्ली बजार कारागार लगिएको थियो।

यो सुन तस्करी प्रकरणमा उन्मुक्ति पाउँदै आएका महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरी मुद्दा दायर गरेको थियो।

 

 

सिंहदरबार अगाडि राइफलसहित प्रदर्शन गर्ने ‘सम्राट’ ज्यान मार्ने उद्योगसहित आठ मुद्दाका अभियुक्त

काठमाडौं । सिंहदरबार अगाडि प्रहरीको राइफल बोकेर जेनजी आन्दोलनका क्रममा प्रदर्शन गरेका राजु परियार भनिने ३६ बर्षीय ‘सम्राट’, एक महिनाको खोजीपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले सुनाकोठीबाट उनलाई पक्राउ गरेको हो । पक्राउपछि परियारले आफू नै राइफलसहितको फोटो र भिडिओमा देखिएको व्यक्ति भएको स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार परियारले जेनजी आन्दोलनको बेला प्रहरीको सेल्फ लोडिङ राइफल (SLR) लुटेर प्रदर्शन गरेका थिए । उक्त दृश्य सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो । अनुसन्धानका क्रममा परियारले प्रारम्भिक बयानमा हतियार सेना समक्ष बुझाएको बताएका छन् । तर, सेनाबाट उक्त राइफल पुनः प्रहरीले नपाएको स्रोतको दाबी छ ।

अपराधिक इतिहासको लामो सूची
क्राइम रेकर्ड सिस्टम (CRS) अनुसार, परियारको नाममा यसअघि नै ज्यान मार्ने उद्योगदेखि ठगी र अभद्र व्यवहारसम्मका ८ वटा मुद्दा दर्ता छन् ।
–ज्यान मार्ने उद्योगमा काठमाडौं र ललितपुर परिसरमा मुद्दा दर्ता
–गंगामाया देउलाको जाहेरीमा एक मुद्दा काठमाडौं परिसरमा
–बानेश्वर, महाराजगञ्ज, ललितपुर, स्वयम्भू प्रहरी वृत्तहरूमा ठगी र बैंकिङ कसुरका अन्य मुद्दा
–अभद्र व्यवहारका दुई फरक मुद्दा पनि ऋच्क् मा सूचीकृत

प्रहरीका अनुसार, परियारले सवारी अनुमति पत्र (लाइसेन्स) बना इदिने भन्दै रकम ठगी गर्ने गरेको खुलेको छ। उनले बिचौलियाका रूपमा काम गर्दै सर्वसाधारणबाट पैसा असुलेको आरोप छ ।

अदालतबाट म्याद लिएर अनुसन्धान
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव अन्तर्गत म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । अनुसन्धानपछि उनलाई सम्बन्धित कसुरअनुसार मुद्दा चलाइनेछ ।

 

 

कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् ।

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए। मंगलबार क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस चलेको थियो। तर, बहस नसकिएपछि उनलाई हिरासतमै फर्काएर आज पनि थुनछेक बहस भएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाएको थियो।

 

 

राप्रपा वैठकमा किन गएनन् रविन्द्र मिश्र ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र बुधबार बसेको पार्टी कार्यसम्पादन समिति बैठकमा अनुपस्थित भए । पार्टीभित्र अध्यक्षको कार्यशैलीलाई लिएर विवाद बढिरहेका बेला मिश्र समेत अनुपस्थित भएका हुन् । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मिश्र बैठकमा सहभागी नभएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

‘पार्टीमा स्पष्ट दुई धार भए पनि अहिलेसम्म उहाँ कतैतिर खुल्नु भएको त छैन । तर, पार्टीलाई विधिसम्मत सञ्चालन गर्नुपर्छ भन्ने उहाँको धारणा छ,’ एक केन्द्रीय सदस्यले भने । अध्यक्ष लिङदेन र महामन्त्री डा. धवलशम्शेर राणाबीच लामो समयदेखि चलिरहेको टकराबमा मिश्र निरपेक्ष रहँदै आएका थिए । उनले कुनै पनि पक्षलाई खुलेर साथ दिएका छैनन् । तर, आजको बैठकमा अनुपस्थित हुनुलाई लिङ्देनप्रति उनको असन्तुष्टिको संकेतका रूपमा बुझिएको छ ।

बैठकमा सहभागी नभएका मिश्रले सामाजिक सञ्जाल एक्समार्फत पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आएको उल्लेख गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘प्रजातन्त्र-लोकतन्त्रमा पार्टी नबनी देश बन्दैन । पार्टी बनिदेओस् भन्ने एक मात्र कामना छ !’ उनले सबै पार्टीले विश्वसनीयता गुमाएको दाबी गर्दै अप्रत्यक्ष ढंगले आफ्नै पार्टीलाई पनि यसमै घान हालेका छन् । उनले भनेका छन्, ‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुमाउँदै गएर सबै पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आउनु ठुलो चिन्ताको विषय हो ।’

आजै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले समेत कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका थिए । स्रोतका अनुसार मिश्र पछिल्लो समय अध्यक्ष लिङदेनको कार्यशैलीप्रति सन्तुष्ट छैनन् । लिङदेनले सबैलाई समेटेर पार्टीमा अभिभावकीय भूमिका खेल्नुपर्नेमा गुटको नेता मात्रै बन्न खोजिरहेको उनको बुझाइ छ । पार्टीको आगामी महाधिवेशनमा लिङदेनले मिश्रको साथ पाउने सम्भावना पनि कमजोर बनेको स्रोत बताउँछ ।

राप्रपामा अध्यक्ष लिङदेनको नियमित कार्यकाल मंसिरमा सकिँदैछ । पार्टीको विधानअनुसार एक वर्ष उनले आफ्नो कार्यकाल थप्न सक्नेछन् । तर, इतर पक्षले मंसिरभित्रै महाधिवेशन गर्न दवाव बढाइरहेका छन् । आज बसेको कार्यसम्पादन समितिको बैठकले यसै महिना केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको मिति तय गर्ने निर्णय लिएको छ । महाधिवेशनमा लिङदेन अध्यक्षमा दोहोरिन चाहन्छन् भने राणा उनलाई चुनौती दिने तयारीमा छन् । वरिष्ठ उपाध्यक्ष मिश्रले कुन रणनीति लिन्छन् भन्ने प्रष्ट भएको छैन । उनले आफूलाई अध्यक्षको प्रत्याशीका रूपमा उभ्याएका पनि छैनन् र कसलाई साथ दिने भनेर पनि खुलेका छैनन् ।

विधानबमोजिम महाधिवेशनको मिति तोकिनुपर्ने, विधान विपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णयहरू फिर्ता गरिनुपर्ने, निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन् । उनीहरूको सहभागिता बिना बसेको बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले कात्तिक २७ र २८ गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

बङ्गलादेशको कपडा कारखानामा आगलागी हुदाँ १६ जनाको मृत्यु

बङ्गलादेश । बङ्गलादेशको कपडा कारखानामा आगलागी हुदाँ १६ जनाको मृत्यु बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताए ।

कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले जनाए ।

नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताए।

यस अघि बङ्गलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

 

 

देउवाले आगामी परीक्षा सुम्पिएर जानु भयो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले पार्टीभित्र बहुमत हुँदाहुँदै समयको स्वरलाई सम्बोधन गर्दै कार्यवाहक दिएर गएको बताएका छन् । सभापति देउवाले मंगलबार केन्द्रीय कार्यालय सानेपा आएर केन्द्रीय समितिमा बोल्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

महामन्त्री शर्माले सभापति देउवाले आगामी परीक्षा सुम्पिएर गएको टिप्पणी गरेका हुन् । ‘जेनजी प्रदर्शनको जायज माग सम्बोधन गरिनु पर्छ,’ शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार लेखेका छन्, ‘व्यक्तिगत या समूहगत मतभेदभन्दा माथि उठेर अबको बाटो पहिल्याइनु पर्छ । बहुमत छँदै थियो छ तर दिनु भयो कार्यवाहक र जानु भयो हामी सबैलाई यिनै शब्द साथ ‘आगामी परीक्षा’ सुम्पिएर समयको स्वरलाई सम्बोधनको यो कर्मप्रति हृदयदेखि सम्मान ।’

चीनमा सवारी दुर्घटना : ८ जनाको मृत्यु, ४ घाइते

लियाओछेङ । पूर्वी चीनको शानडोङ प्रान्तस्थित लियाओछेङ शहरको छिपिङ जिल्ला क्षेत्रमा मंगलबार राति एक सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

छिपिङ जिल्ला प्रशासनका अनुसार, ३७ वर्षीय चालक दु नामक व्यक्ति मद्यपान गरी गाडी चलाइरहेका बेला दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मङ्गलबार राति १०ः४६ बजे दुले चलाएको यात्रुबाहक गाडीले धेरैजसो इलेक्ट्रिक साइकलहरूलाई ठक्कर दिएको थियो । घटनास्थलमै एक जनाको मृत्यु भएको र बाँकी सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।

अन्य चार जना घाइतेहरूको अवस्था हाल स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । चालक दुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक परीक्षणमा उनको रगतमा मद्यपानको मात्रा १९५.३ मि.ग्रा.-१०० मि.लि. पाइएको छ, जुन कानुनी सीमाभन्दा निकै बढी हो ।

प्रतिनिसधसभा विघटनविरुद्ध सर्वोच्चद्वारा रिट दर्ता, कात्तिक १२ मा सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । सर्वोच्च अदालतमा रिट दर्ता खुला गरिएको मङ्गलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू क्रमशः दर्ता हुँदै गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट दर्ता प्रक्रिया जारी रहेको बताए ।

अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता युवराज सफलसहितले दायर गरेका रिटहरू दर्ता भइसकेका छन् । ती रिटहरूमा सर्वोच्चले कात्तिक १२ गतेको पेसी तोकेको छ । बुधबारसम्म आइपुग्दा १३ वटा रिट अदालतमा पुगेका भए पनि १० वटा मात्रै दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अजुर्नप्रसाद कोइरालाले जानकारी दिए ।

‘१३ वटा रिट आइपुगेकामा १० वटा दर्ता भए, बाँकी प्रक्रिया नपुगेकाले दर्ता भइसकेका छैनन्,’ उनले भने । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइ बाहेक सबै काम स्थगत भएको थियो । मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन् ।

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिककालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियोे ।

सो अवसरमा बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको बताए।

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रूपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह गरे।

नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमर्स्याङ्दी र मस्र्याङ्दी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफ लाइन रहेको बताए ।

जर्मनी र युरोपेली सङ्घको संयुक्त सहायतामा अगाडि बढाइएको सन् २०२९ सम्ममा विकास हुने पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्त्वपूर्ण भएको बताउँदै मन्त्री घिसिङले त्यस क्षेत्रमा विद्युतीय सवारीसाधन र घरायसी प्रयोजनका लागि विद्युतको प्रयोगलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न प्रसारण र वितरण सञ्जाल विस्तार तथा सुधारको काम तत्काल सुरु हुने उल्लेख गरे ।

पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेकाले तीन सहर जोड्ने गरी ट्रली बस चलाउन, चार्जिङ स्टेसन सञ्चालन गर्न, त्यस क्षेत्रमा बढ्ने विद्युत्को भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नुपर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न उनले आग्रह गरे।

उनले जेनजी आन्दोलनका क्रममा आगलागी गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुनर्निर्माण यकिन गर्न स्वदेशीविज्ञ नरहेकाले अन्तरराष्ट्रिय विज्ञ उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराए ।