`

मन्त्री घिसिङसँग नेपालका लागि जर्मनीका राजदूतको भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई जर्मनीका तर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा जर्मनी–नेपालबीचको आर्थिक सहकार्य, जर्मनीको सहायतामा सञ्चालित सौर्य, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन आयोजना, ऊर्जा रूपान्तरणका लागि सहायताका सम्भावित क्षेत्रलगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जर्मनीले नेपाललाई पुर्‍याउँदै आएको सहायता बढाउन आग्रह गरे।

नेपाल र जर्मनीबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै राजदूतसँगको भेटमा मन्त्री घिसिङले जर्मनीको सहायतामा निर्माण भएका मध्यमर्स्याङ्दी र मस्र्याङ्दी जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा लाइफ लाइन रहेको बताए ।

जर्मनी र युरोपेली सङ्घको संयुक्त सहायतामा अगाडि बढाइएको सन् २०२९ सम्ममा विकास हुने पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजना ऊर्जा खपतका लागि महत्त्वपूर्ण भएको बताउँदै मन्त्री घिसिङले त्यस क्षेत्रमा विद्युतीय सवारीसाधन र घरायसी प्रयोजनका लागि विद्युतको प्रयोगलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न प्रसारण र वितरण सञ्जाल विस्तार तथा सुधारको काम तत्काल सुरु हुने उल्लेख गरे ।

पोखरा, बुटवल र भरतपुर जाने सडक विस्तार भइरहेकाले तीन सहर जोड्ने गरी ट्रली बस चलाउन, चार्जिङ स्टेसन सञ्चालन गर्न, त्यस क्षेत्रमा बढ्ने विद्युत्को भार र त्यसको व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधारका लागि गर्नुपर्ने कामका लागि अध्ययन आवश्यक भएकाले सहयोग गर्न उनले आग्रह गरे।

उनले जेनजी आन्दोलनका क्रममा आगलागी गम्भीर क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको परीक्षण गरी पुनर्निर्माण यकिन गर्न स्वदेशीविज्ञ नरहेकाले अन्तरराष्ट्रिय विज्ञ उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

भेटमा राजदूत भोल्जले जर्मनीले नेपाललाई आगामी दुई वर्षका लागि सहायता उपलब्ध गराउने क्षेत्रको पहिचान, सहायता पुनरावलोकन लागि परामर्श गर्न आगामी डिसेम्बरमा टोली आउन लागेको जानकारी गराए ।

राप्रपा चुनावबाट भाग्दैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान निर्वाचन प्रणालीले मुलुकको समस्याको दीर्घकालीन समाधान दिन नसक्ने बताएका छन् । तर, चुनावी प्रक्रिया सुरु भएमा राप्रपा त्यसबाट भाग्ने पक्षमा नरहेको उनले बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘हामीले संसद्ले निकास दिन नसकेको भन्दै राजीनामा दियौँ, संसद् विघटनको माग गर्‍यौँ र नयाँ निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्यायौं । तर, हामीले निरन्तर भन्ने गरेका छौं–यही प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन सक्दैन ।’

उनले वर्तमान प्रणालीप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनताले चाहेको परिवर्तन ल्याउन प्रणाली परिवर्तन अपरिहार्य रहेको जिकिर गरे । ‘प्रणाली नै नबदलीकन नयाँ चुनावले फेरि उही अन्योल र अस्थिरता दोहोर्‍याउँछ ।’ लिङ्देनले भने, ‘तर चुनाव भइहाल्यो भने हामी भाग्दैनौँ।’ राप्रपा अध्यक्षले वर्तमान प्रणालीप्रति असन्तुष्टि र सुधारको आवश्यकतालाई पुनः उठान गर्दै आगामी राजनीतिक घटनाक्रममा पार्टी सक्रिय भूमिकामै रहने बताएका हुन् ।

यस्ता छन् राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका १३ निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो । बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयमाथि विभिन्न निर्णय गरेको छ । आजको बैठकमा महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाही अनुपस्थित थिए । उनीहरूले अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका थिए ।

हेर्नुस् निर्णयहरु :
१. देश गम्भीर ढङ्गबाट भूराजनीतिक चक्रव्यूहमा फस्दै गएको, अनिर्णयको बन्दी बन्दै गएको, नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट गुम्दै गएको वर्तमान सन्दर्भमा राजनीतिक र व्यक्तिगत आग्रह पूर्वाग्रह भन्दा देशलाई केन्द्रमा राखेर सबै राजनीतिक शक्तिहरूका बीचमा बृहत राष्ट्रिय सहमति आजको आवश्यकता हो ।
अहिलेको आन्दोलनको मुख्य पक्ष जेनजी समूह, विभिन्न राजनीतिक दलहरू र परम्परागत शक्तिको प्रतिनिधि राजसंस्थाका बीचमा नवीन समझदारी गरेर कसैले नहार्ने सबैले जित्ने, देशले जित्ने राष्ट्रिय सहमति गरेर जानु आजको राष्ट्रिय आवश्यकता हो भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर रहेको छ । तत्काल सार्थक पहल र संवादका लागि सबै शक्तिलाई राप्रपा हार्दिक आहवान गर्दछ ।

२. राप्रपाले परिवर्तित सन्दर्भमा पार्टीको मुद्दाहरू र राजनीतिक विकल्पहरूमा राजनीतिक दलहरू र विभिन्न पक्षसँग औपचारिक संवाद गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिइएको छ ।

३. वर्तमान राजनीतिक अन्यौलको सन्दर्भमा विध्यमान संविधान र निर्वाचन प्रणालीबाट हुने निर्वाचन समस्याको दीर्घकालीन समाधान होइन भन्ने राप्रपाको ठहर छ । यद्यपि प्रजातान्त्रिक प्रक्रियाबाट राप्रपा अलग नरहने निर्णय गर्दछ ।

४. परिवर्तित सन्दर्भमा राप्रपाको विचार नीति, आसन्न निर्वाचन लगायतका विषयमा आम जनतासंग प्रत्यक्ष साक्षात्कार गर्न छठ पर्वपछि देशभर जनसम्वाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

५. केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २७ र २८ गते काठमाडौंमा गर्ने तथा केन्द्रीय कार्यसमितिको बैठकले आगामी केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय गरिएको छ ।

६. गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र चाडवाडका कारण प्रभावित बन्न पुगेको राप्रपाको स्थानीय तह, प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरिएको छ ।

७. जेनजी आन्दोलन पश्चात् जेनजीका नामबाट भैरहेको जवर्जस्ती चन्दा असुली, भोटेकोशी जलविद्युत आयोजना लगायतका जलविद्युत आयोजनामा निःशुल्क शेयर माग, सार्वजनिक पदाधिकारीहरुलाई दिएको अनावश्यक दवाव जस्ता कार्यले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको खस्किएको मनोवललाई अझै त्रसित बनाउने देखिन्छ। जेनजी पुस्ताले यस्तो क्रियाकलाप गर्दैन भन्ने राप्रपाको विश्वास छ ।

तसर्थ, यस्ता गैरकानुनी क्रियाकलापमा नलाग्न सम्पूर्ण जेनजीहरुलाई आव्हान गर्ने र यस्ता कार्यको नियन्त्रण गरी सुरक्षित लगानीको वातावरण कायम गर्न र सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराईएको छ ।

८. देशले लामो समयदेखि शिथिल अर्थतन्त्रको सामना गरिरहेको बेला हालैको आन्दोलनमा समेत खर्बौंको क्षति हुन पुगेको छ। कैयन् भौतिक संरचनाहरु नष्ट हुन पुगेका छन् भने कैयनले रोजगारी गुमाएका छन्। शिथिल अर्थतन्त्र उकास्ने कार्ययोजना ल्याउन, सुरक्षित लगानीको वातावरण बनाउन एवं व्यवसायी र व्यवसायिक प्रतिष्ठानलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै “सुरक्षा थ्रेट” को त्रासदीबाट मुक्त गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

९. राप्रपाको केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम राप्रपा जिल्ला कार्यसमिति जुम्लाका अध्यक्ष बेदबहादुर शाही, उपाध्यक्षद्वय विमल शाही, कालीबहादुर महत र कर्णाली प्रदेश सदस्य मनसुर सुनारलाई पार्टीको विधान बमोजिम एक वर्षको लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।

१०. हालैको बाढी पहिरोबाट इलाम लगायत देशका विभिन्न क्षेत्रमा भएको मानवीय र भौतिक क्षति प्रति राप्रपा दुःख व्यक्त गर्दछ। बाढी पहिरोबाट ज्यान गुमाउन पुगेका परिवारलाई उचित राहत एवं सहज जीवनयापनको प्रबन्ध गर्न, घाइते र घाइतेको परिवारलाई प्रभावकारी उपचार एवं रोजगारीको व्यवस्था गर्न, घरबारबिहीन भएकालाई आवास लगायतको वैकल्पिक व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

११. इजरायल – प्यालेस्टाइन युद्धका क्रममा दुई वर्षदेखि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको हत्या भएको घटनाप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ। दिवंगत जोशीप्रति श्रद्धान्जली एवं परिवारमा समवेदना प्रकट गर्दछौं ।
१२. जेनजी आन्दोलनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताप्रति भएको दुव्र्यवहार र सम्पत्तिको क्षतिप्रति राप्रपा दुःख व्यक्त गर्दछ । साथै सम्पत्ति क्षति भएका पार्टीका नेता कार्यकर्तालाई आवश्यक सहयोग पुर्‍याउन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरिएको छ ।
१३. केन्द्रीय कार्यसम्पादन समितिको रिक्त रहेका सदस्यहरुमा पदपूर्ति गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

 

 

जेन्जी आन्दोलनपछि जिप्रबाट पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु

काठमाडौँ । जेन्जी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउने प्रक्रिया आजबाट पुनः सुरु भएको छ ।

गत भदौँ २३ र २४ गते भएको देशव्यापी जेनजी आन्दोलनका कारण बनाउन रोकिएका राहदानी आजबाट पुन सुरु गरिएको हो ।

एमालेसँगको सम्भावित एकताबारे के भन्छन् प्रचण्ड ?

धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको सम्भावित एकताबारे खुलासा गरेका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेता–कार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेण्डा बनाउँदै अघि बढ्ने बताए ।

‘अबको माओवादीको लाइन भनेको चुनाव हो’, उनले भने । उनले तिहार लगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियाअघि बढ्ने जानकारी दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’ कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए ।

‘जेनजीको असली प्रतिनिधि माओवादी हो’
संयोजक ‘प्रचण्ड’ ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताए । संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए । उनले भने, ‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो । जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ ।’

सरकारमा बस्दा जेनजीहरूलाई दमन गर्ने र जेनजीका माग र एजेण्डालाई समर्थन गर्दै आउनेमा अरु पार्टी नभएको भन्दै उनले थपे, ‘सरकारमा बसेर जेनजीहरूलाई दमन गर्ने र सडकमा जेनजीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन् भनेर एकथरी मानिसहरूले प्रचार गर्ने गरेका छन् । हामी उनीहरू जस्ता होइनौँ । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरूको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

 

 

जुम्लाका अध्यक्षसहित चार जनालाई राप्रपाले गर्‍यो निलम्बन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जनालाई निलम्बन गरेको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् । शाहीसहित जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई एक वर्षका लागि निलम्बन गरिएको लिङ्देनले जानकारी दिए । पार्टी अनुशासन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको उनले बताए ।

महाधिवेशनको मिति अर्को केन्द्रीय कार्यसमिति बैठकबाट तोकिने
राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनका अनुसार, सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको छ । ‘केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्र्तिक २७ र २८ गते । उक्त बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ,’ बैठकका निर्णय सुनाउँदै लिङ्देनले भने । छठ पर्वपछि देशभर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका २४,८८ प्रतिनिधिले बुझाए हस्ताक्षर

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् । विशेष महाधिवेशन माग गर्दै बुधबार अपराह्न सवा ३ बजे केन्द्रीय कार्यालय सानेपा पुगेर महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको नेता गुरूराज घिमिरेले जानकारी दिएका छन् । नेपाली कांग्रेसका २,४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका हुन् ।

उनकाअनुसार ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको हो । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्न निवेदन पत्र कार्यवाहक सभापति खड्कालाई बुझाएका छन् । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ ।

कार्यवाहक सभापति खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गरेको हस्ताक्षरसहितको फाइल बुझेका हुन् । उनले उक्त फाइल बुझेपछि ‘जय नेपाल’ मात्रै भनेका थिए, थप अभिव्यक्ति दिएका थिएनन् । कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने माग पनि भइरहेको छ । जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा नेतृत्वको आमूल परिवर्तन खोजेको भन्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशन माग्दै हस्तक्षर अभियान चलाएका थिए । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनमा जानु पर्ने पक्षमा छन् ।

 

 

सर्वाेच्च बारद्वारा निष्पक्ष चुनावका लागि सघाउने प्रतिबद्धता

काठमाडौँ। सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सरकारको अभियानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग आज कार्यवाहक अध्यक्ष अम्बर राउत सहितका बार पदाधिकारीहरूले भेट गर्दै मुलुकमा शान्ति, सुव्यवस्था र सुशासनको प्रत्याभूति दिलाउन सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

भेटका क्रममा बार पदाधिकारीहरूले गृहमन्त्रीलाई भ्रष्टाचार नियन्त्रण, कानुनी शासनको सुदृढीकरण र जेनजी पुस्ताले उठाएका जायज मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्रीको सचिवालयका अनुसार, बार एसोसिएसनले निर्वाचनमा कानुनी सहयोग र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिवद्धता जनाउँदै निष्पक्ष र पारदर्शी निर्वाचनको वातावरण निर्माणमा साझा जिम्मेवारी वहन गर्ने तयारी व्यक्त गरेको छ ।

तिहारमा अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।

परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।

पटाका तथा झिरझिरे पड्काउने व्यक्तिमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने भएकाले त्यसो नगर्न भनेको छ । यस्तै, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान तथा धुम्रपान नगर्नसमेत अनुरोध गरेको छ ।

यसैगरी, नगद, बहुमूल्य सामान र गरगहना सकेसम्म लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न, लागुऔषध, नशालु पदार्थ सेवन, ओसारपसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको छ ।

यस्तै, छतमा चढेर यात्रा नगर्न, यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्न, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसीटिभी क्यामेरा जडान गर्नसमेत सबैलाई आग्रह गरेको छ ।

प्रहरीले धम्कीपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्न, लामो समय घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराउन, तिहार र छठपर्वको लागि गाउँ जान लागेकोलगायत उल्लेख गरी सामाजिक सञ्जालमा पोष्ट नगर्न भनेको छ ।

 

 

यस्तो छ एमाले अध्यक्ष ओलीको १५ बुँदे राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले जेनजी आन्दोलनको समीक्षा गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक रहेकोले पुनस्र्थापनामा जोड दिएका छन् । ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा ६ पृष्ठको १५ बुँदे राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले सो कुरा भनेका हुन् । उनले जेनजी आन्दोलनमा आफूले गोली चलाउन आदेश दिएको भन्ने आरोपको खण्डन गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘गोली चलाउने आदेश कानुनतः अधिकार प्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्दछ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ । भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो ।’
उनले दङ्गा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ किन करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौँको संख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंसको तयारीका लागि वा के का लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण गर्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ गतेको घटना पछि मन्त्री परिषद्को बैठक बसेको छ । बैठकले उक्त घटनाका सम्बन्धमा दुख व्यक्त गरेको छ। घाइतेहरूको निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ। मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ। घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ ।’ उनले यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्रीविरुद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमालेले कडा प्रतिवाद र खारेज गर्ने उल्लेख गरेका छन् ।

संसद् विघटनविरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने को प्रस्ताव
नेकपा एमालेले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको निष्कर्ष निकाल्दै निर्णायक आन्दोलन गर्नुपर्ने निचोड निकालेको छ । त्यसका लागि लोकतन्त्र र संविधान मान्ने सबै पक्षलाई आन्दोलनका लागि आह्वान पनि गरेको छ । ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन गर्नुपर्ने उल्लेख गरिएको हो ।

‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष छ’, ओलीको प्रतिवेदनको १४ नम्बर बुँदामा उल्लेख छ, ‘तसर्थ, जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरू तय गर्दै अघि बढ्न सिंगो पार्टी पंक्ति, संविधान, लोकतन्त्रका पक्षधर राजनीतिक दलहरू र आम नागरिकलाई आह्वान गर्दछौँ ।’ एमालेको केन्द्रीय कमिटी बैठक आगामी असोज ३१ सम्म जारी रहनेछ ।

हेर्नुस् प्रतिवेदन

सिहं र साह जस्वपाको पक्षमा सनाखत गर्न जाने क्रममा झडप

जनकपुर । जनमत पार्टी विभाजनपछि नेताहरूले जनस्वराज पार्टीमा सनाखत गर्ने क्रममा जनकपुरधाममा झडप भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएका सतीशकुमार सिंह जनमत त्यागी जनस्वराज पार्टीको पक्षमा सनाखत गर्न जाने क्रममा कार्यकर्ताले विरोध गर्दा झडप भएको हो ।

कार्यकर्ताहरूले सिंहलाई निर्वाचन कार्यालयमा प्रवेश गर्न नदिने भन्दै बाटो अवरुद्ध गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सिंहसँगै जनमतका पूर्वमन्त्री त्रिभुवन साह पनि सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । जनमतका नेता–कार्यकर्ताले सिंह सवार गाडीमाथि आक्रमण गर्न खोजेका थिए । तर सुरक्षाकर्मीहरूले गाडी तोडफोड हुनबाट बचाएका थिए ।

मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेका थिए । नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह छन् । साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए । तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।

 

 

पोखरामा १८ औँ भाइटीका महोत्सव हुने

गण्डकी । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको बताउँदै उनले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारीका अनुसार महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएर समेत टीका लगाउन आउने अपेक्षा गरिएको छ । महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने आयोजकले जनाएको छ ।

“तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ”, पहारीले भने । लेकसाइडस्थित होटल पौवामा हुने महोत्वलाई महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका छन् । महोत्सवलाई गोर्खा बियर र सोमरसबीले सघाएको सङ्घले जनाएको छ ।

विपीनको त्याग र बहादुरी राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छिन् ।

कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने भन्दै उनले यो वीरतापूर्ण कार्यले उनलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्ने बताएकी छन् ।

विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच विपीनको दुःखद मृत्युको हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेकी छन् ।

‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

साथै, उनले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताएकी छिन् ।

‘विपीन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो । उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो’, उनले भनेकी छन् ।

सदा शान्ति पक्षधर नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्न पुगेको भन्दै कार्कीले लेखेकी छन्, ‘उहाँको अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए । उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ ।’

बन्धक हुनुपूर्वका अन्तिम क्षणमा विपीनको अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर कैयौँ साथीहरूको ज्यान बचाएकोप्रति प्रधानमन्त्रीले कृतज्ञता प्रकट गरेकी छन् ।

मेरो सिफारिस विपरीत संविधान बाहिरबाट सरकार गठन गरियो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिस विपरीत संविधान बाहिरबाट सरकार गठन भएको आरोप लगाएका छन् । आज (बुधबार) बाट ललितपुरस्थित रामबाघ महल पार्टी प्यालेसमा जारी केन्द्री कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए पनि त्यसलाई संसदमार्फत् संविधान संशोधन गरेर संवैधानिक प्रक्रियामार्फत् अगाडि बढाउन मात्रै सिफारिस दिएको दाबी गरेका हुन् ।

गत भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र सम्मतिका आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको बताएका थिए । तर ओलीले राजनीतिक प्रतिवेदनमा संविधान बाहिरबाट सरकार बनाउन सिफारिस नदिएको दाबी गरेका छन् ।

‘असामान्य परिस्थितिका बीचमा थप क्षति हुन नदिन प्रधानमन्त्रीले राजीनामा दिइसकेपछिको अन्यौलपूर्ण अवस्थालाई निकास दिन हामीले संविधानसम्मत विकल्पहरू प्रस्तुत गरेका थियौं । असहज परिस्थितिका बीचमा गैरसांसद व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भएका पनि त्यसलाई संसदमार्फत् संविधान संशोधन गरेर संवैधानिक प्रक्रिया मार्फत् अगाडि बढाउने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलहरूबीच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधि सभा विघटन गर्न नहुने हाम्रो स्पष्ट र दृढ अडान थियो । सोही अनुरूप संविधानसम्मत निकासका लागि काम चलाउ सरकारको प्रधानमन्त्रीको हैसियतले मैले सिफारिस गरेको थिएँ। त्यो सुझावविपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ,’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् । यसले मुलुकलाई निर्वाचित जनप्रतिनिधि निकायविहीन अवस्थामा पु¥याएको र राजनीतिक रिक्तताको स्थिति सिर्जना गरेको बताएका छन् । ‘युुसले जनताकमा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्र विरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ । हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र विघटित प्रतिनिधि सभा तत्काल पुनःस्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ,’ उनले भनेका छन् ।

 

 

भन्सार शुल्कको असर न्यूनीकरण गर्न मेक्सिको सरकार सक्रिय

एएफपी । संयुक्त राज्य अमेरिकाले नयाँ भन्सार शुल्क नीति लागू गरिरहेको सन्दर्भमा, मेक्सिको सरकारले देशको निर्यात व्यवसायमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले सबैभन्दा अनुकूल व्यापार सर्तहरू सुनिश्चित गर्न पहल थालेको छ ।

मंगलबार आयोजित व्यापार समन्वय परिषद्को बैठकमा मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले सो जानकारी दिए ।

उनले बताए अनुसार, सन् २०२६ मा हुने संयुक्त राज्य–मेक्सिको–क्यानाडा सम्झौताको पुनरावलोकनअघि नै दुई देशबीच रहेका व्यापारिक मतभेदहरू समाधान गर्न वार्ता अघि बढाइएको छ ।

मन्त्री एब्रार्डले विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएका नयाँ भन्सार शुल्कहरूको असर कम गर्न मेक्सिकोले केही छुट योजना (रियायत) ल्याउने तयारी गरिरहेको जानकारी दिए, जसले मेक्सिकन निर्यातलाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

“हाम्रो मुख्य उद्देश्य भनेको मेक्सिकोका व्यापार सर्तहरू अन्य देशहरूको तुलनामा अझ राम्रो बनाउनु हो,” उनले भने ।

उनले थप जानकारी दिँदै भने, “अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको छ र दुवै पक्षले पछिल्ला नीतिका कारण उत्पन्न खर्च तथा सम्भावित विवादको पहिचान गरिसकेका छन् ।” आगामी नोभेम्बरसम्ममा अधिकतम समस्या समाधान गर्ने लक्ष्य राखिएको पनि उनले स्पष्ट पारे ।

भेनेजुएलानजिकै लागुऔषध बोकेको डुङ्गामा अमेरिकी आक्रमण, ६ को मृत्यु

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

राष्ट्रपति ट्रम्पका अनुसार यो डुङ्गा ‘नार्कोटेररिस्ट नेटवर्क’ सँग सम्बन्धित थियो र एक चिनिएको लागूपदार्थ मार्गमा रहेको खुफिया सूचनाका आधारमा लक्षित गरिएको हो ।

उक्त आक्रमणको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ, जसमा डुङ्गा एक प्रक्षेपास्त्रको प्रहारबाट विस्फोट भएको देखिन्छ । आक्रमणपश्चात डुंगा आगलागी भएको अवस्थामा देखिन्छ । अमेरिकी पक्षका कुनैपनि सुरक्षाकर्मीलाई क्षति पुगेको छैन ।

यो आक्रमण हालसम्म ट्रम्प प्रशासनद्वारा गरिएका यस्ता पाँचौं कारबाहीमध्ये एक हो, जसमा राष्ट्रपति प्रशासनले लागूपदार्थ ओसारपसारमा संलग्नहरूलाई ‘अवैध लडाकु’को रूपमा मान्दै सैन्य कारबाही गरिरहेको छ ।

पूर्व अमेरिकी राजदूत जेम्स स्टोरीले यस्ता आक्रमणहरूले अमेरिका र त्यसका साझेदार राष्ट्रहरूबीचको खुफिया साझेदारीमा नकारात्मक असर पर्न सक्ने बताएका छन् ।

यसैबीच अमेरिकी संसदमा पनि यस विषयमा बहस चर्किएको छ । केही सांसदहरूले राष्ट्रपति ट्रम्पले यस्ता कारबाही गर्न कानुनी अधिकार राख्दैनन् भनी जिकिर गरेका छन् । सेन्टर अडम शिफले भने,“यी कारबाहीहरूले अमेरिका एक खुला युद्धमा तानिने जोखिम पैदा गर्छ।”

भेनेजुएलाको तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले प्रेस सम्मेलनमार्फत आक्रमणको निन्दा गर्दै अमेरिकाले ‘झूटा बहानामा आक्रमणको आधार बनाउँदैछ’ भन्ने आरोप लगाएका छन् ।रासस

धनकुटामा बस दुर्घटना, दुईको मृत्यु

धनकुटा । धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जितपुर जाँदै गरेको प्रदेश १० २००१ ख ९६०६ नम्बरको बस धनकुटाको निगालेमा दुर्घटनामा परेको हो । दुर्घटनामा धनकुटा महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डील्ली बराल मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

दुर्घटनामा धनकुटा–४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङ केरावारीकी–९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटा महालक्ष्मी–९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी नगरपालिका–७ की ३३ वर्षीया श्रीजना जीमी, महालक्ष्मी नगरपालिका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछियाकी ८ वर्षीया अंकिता खड्का घाइते भएका छन् । उनीहरूको धनकुटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भदौ २४ को घटना सुनियोजित भन्दै २३ को घटना छानविन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २३ गते संसद भवन अगाडि गोलीकाण्ड घटना भइसकेपछि मात्रै आफूले थाहा पाएको बताएका छन् । उनले गोली चलाउने आदेश कानुनत अधिकार प्राप्त संस्था वा अधिकारीले मात्रै दिन सक्ने र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट रहेको पनि बताए ।

‘भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो । दंगा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौंको संख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंश केका लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण हुनैपर्छ,’ उनले दशौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ । भदौ २३ गतेको घटनापछि मन्त्रिपरिषदको बैठक बसेको र बैठकले उक्त घटनाका सम्बन्धमा दुःख व्यक्त गरेको पनि उनले बताए ।

‘घाइतेका निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ । मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ । घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ । यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्री विरूद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमाले कडा प्रतिवाद र खारेज गर्छ,’ ओलीले भनेका छन् ।

 

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

ललितपुर ।  १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तर र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।
“पुष्प व्यवसायको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको मेहनतले आफ्नै प्रयासमा भए गरेको काम सराहनीय छ, पुष्प व्यवसायमा विश्वमा आएको परिवर्तन र अभ्यासलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ, गुणस्तरीय स्वनियमनलाई उद्यमीहरूले ध्यान दिनुपर्छ”, उनले भने ।
उनले नेपाल सरकारले लागू गरेको बीउबिजन नियमावलीका आधारमा आलंकारिक बिरुवाहरूलाई दर्ता गर्ने कार्यलाई अगाडि बढाइएको जानकारी गराउँदै नेपाली पुष्प व्यवसायको विकास र विस्तारका लागि अवैधानिक रूपमा आउने फूललाई रोकेर देशभित्रका पुष्प व्यवसायीहरूलाई प्रोत्साहन गर्न व्यवसायीहरूले नै सहयोग गर्नुपर्नेमा जोड दिए ।
“कृषि विधेयक तयार भएर पनि संसद् नभएको कारणले अल्झिएर रहेको छ, कृषि क्षेत्रका हितलाई समेटेर कृषि नीति तयार भएको छ, मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ, पुष्प व्यवसायीहरूको हितका लागि व्यवसायको संरचनाको जोखिमको मूल्याङ्कन गरेर बिमा गर्ने व्यवस्थाका लागि नीतिगत व्यवस्था गर्ने प्रयास जारी छ”, उनले भने ।
उनले प्लास्टिकका फूलहरूलाई उपयोगमा नियन्त्रण गरेर पुष्प व्यवसायीहरूलाई प्रोत्साहनमा जोड दिनुपर्छ भन्दै देश बाहिरबाट आउने कृषिजन्य एवं पुष्पजन्य सामग्रीको क्वारेन्टाइन परीक्षणका विषयमा ध्यान दिएर नियन्त्रण गर्ने काम गर्छौं भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनमा घुसपैठ भएर समाजले पचाउन नसक्ने र २१ औँ शताब्दीमा नसुहाउने खालको अपराधिक काम भएको भन्दै त्यसलाई निरुत्साहित गर्दै व्यावसायिक वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।
पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवद्र्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राखे । फ्लोरिकल्चर एसोसिएनि नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवर्द्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल रहेका छन् । प्रदर्शनीमा रु ४० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

सुन्धाराको होटलमा बोर्डिङका प्रिन्सिपल मृत भेटिए

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारास्थित होटलमा एक जना शिक्षक मृत भेटिएका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा घर भएका ४६ वर्षीय सुरेश पुन मगर मृत भेटिएका हुन् ।

मंगलबार मृत भेटिएका उनको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनी रुकुम पश्चिमस्थित सिस्ने सनराइज बोर्डिङ स्कुलको प्रिन्सिपल हुन् । पुन मगर १ महिनादेखि सुन्धारा स्थित होटल रोयल थकालीमा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घटना शंकास्पद देखिएको छैन ।

मधेसमा जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउन दावी पेस

जनकपुर । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ । ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेका हुन् ।

दाबी पेस गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरिएको छ ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९÷९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् । नागरिक उन्मुक्तिले समेत समर्थन दिएपछि ५७ सांसद पुगेको छ ।

मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका शक्ति एक ठाउँ आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेलाई बाहिर राख्ने गरी गठबन्धन बनेको त्यसमा सहभागी पार्टीका नेताहरूले बताएका छन् ।

‘सुरूमा कांग्रेस र एमालेसँग सहमति गरेर जान जनमत पार्टी तयार भएको थियो । तर हामी दोस्रो तहका नेताहरूले निरन्तर छलफल गरेपछि अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘अहिलेको अवस्थामा परिवर्तनकारी शक्तिहरू एकठाउँ हुनपर्छ भनेर सुरूमा हामी र जसपा तयार भयौं । त्यसपछि यो गठबन्धनको वातावरण बनेको हो ।’ यो गठबन्धन बनाउन जसपाका तर्फबाट प्रवक्ता मनिष सुमन, जनमत पार्टीबाट महेश यादव, माओवादी केन्द्रबाट भरत साह, एकीकृत समाजवादीबाट शत्रुधन महतो लगायतका नेता सक्रिय थिए । राष्ट्रिय मुक्ति पार्टीका केशव झा समेत सहमतिका लागि जुटेका थिए ।

राप्रपाको बैठक जारी, दुई महामन्त्रीले गरे बहिष्कार

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित रहेको बताए । आजको बैठक संस्थापन इतर पक्षले बहिष्कार गरेको छ ।

महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरू बैठकमा अनुपस्थित भएका हुन् । बैठकअघि महामन्त्रीद्वयले केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिस्कार गर्ने जानकारी अध्यक्ष लिङ्देनलाई दिएका थिए ।

एमालेको महाधिवेशन मंसिर २७–२९ मा पोखरामा गर्न ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रुपमा टुंगो लगाउने छ ।

माधव नेपालसहितका नेतालाई ओलीले भने–चौतारी खोज्न नजानुस्, घर फर्किनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गर्दै विभिन्न कारणले पार्टी छाडेकाहरूलाई घर फर्किन आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एसका नेताहरू छहारी खोजेर कसको पिँढीमा बास भनेर झोली तुम्बा बोकेर हिँडिरहेको बताएका छन् ।

उनले थपे, ‘कतिपय साथीहरूले गल्ती गर्नु भएको छ, अब तिनै गल्तीहरूमा अल्झिएर बस्ने होइन । कतिले पार्टी विभाजन गरे, गराए, साथीहरू भ्रममा पर्नुभयो होला । तर, एमाले विशाल छाती भएको पार्टी हो, त्यसैले हिजो जो घर छाडेर अन्यन्त्र जानुभएको थियो, घर फर्किन आग्रह गर्छु ।’ उनीहरूसँगै मिलेर हिजो पार्टी निर्माण गरेको भन्दै ओलीले एमालेलाई यहाँसम्म ल्याउन छाडेर जानेहरूको पनि भूमिका रहेको बताए । साढे ६ लाख सदस्य भएको बलियो पार्टी भएकाले ती नेतालाई अब फर्किन आग्रह गरे ।

यस्तो ओलीको भनाइ
म साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजो घर छोडेर अन्यत्र जानु भएको थियो, घर फर्किनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु । हिजो उहाँहरू समेत भएर पनि हामीले यो पाटी निर्माण गरेका हौं । उहाँहरुको पनि यो पार्टी निर्माण गर्नमा योगदान छ । विभिन्न कारणले जानुभयो होला, कुनै समय कतै त्यसैमा नअल्झिनुस् ।

आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसका पिँढीमा बास बसौँ भनेर झोली तुम्बा बोकेर बस्दैछन् । म कार्यकर्ता साथीलाई भन्न चाहन्छु, तपाईं आफैले बनाएको पार्टी यहाँ छ, आश्रय खोज्दै नजानुस् । कुनै चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत लाग्न नजानुस् । यो मजबुत भएको छ, यसलाई कसैले पनि डग्मगाउन सक्दैन । अहिले पनि साढे ६ लाख सदस्य भएको पार्टी हो । २३ वटा महासंघ भएको पार्टी हो ।

चुनाव हुनेवाला छैन, गराउने बाटोमा सरकार छैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन तोकिएको समयमा नहुने दावी गरेका छन् । आजदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सरकार नै चुनाव गराउने बाटोमा नरहेको बताएका हुन् ।

‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नु पर्दछ, चुनाव हुनेवाला छैन । चुनाव गराउने बाटो सरकारले समातेको छैन । अवैध ढङ्गको असंवैधानिक सरकार हो यो, हामी सबैलाई थाहा छ नि त, संविधानको धारा १३२ को १, २… यिनीहरूले छर्लङ्गै भनेका छन्, पूर्व प्रधानन्यायधीश के गर्न हुन्छ के गर्न हुँदैन, संविधानमा लेखेको छैन ? अनि पूर्व प्रधानन्याधीशले आफै फैसला गर्ने अनि आफै फेरि असंवैधानिक ढङ्गले प्रधानमन्त्री हुने । संवैधानिक भनेर संसद विघटन फैसला गर्ने उहाँहरू, अहिले आफैले असंवैधानिक ढङ्गले विघटन गर्ने ? त्यसैले यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो ।’

उनले जेनजीको माग र आन्दोलन यससँग नजोडिने बताएका छन् । उनले जेनजीका माग सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल भएको बताउँदै आन्दोलनमा अरु तत्वहरू सक्रिय भएको दाबी गरे । ‘त्यस कारण यतिबेला हाम्रो काँधमा असाधारण जिम्मेवारी छ । त्यो जिम्मेवारी बहन गर्न हामी अगाडि बढ्नु पर्छ । यो नै हाम्रो पार्टीको कर्तव्य हो’, ओलीले भने ।

 

भोटेकोशी पावर कम्पनीले भन्यो–जेनजीसँग निःशुल्क शेयर दिने सहमति भएको छैन

काठमाडौँ । भोटेकोशी पावर कम्पनी प्रालिले जेनजीसँग निःशुल्क शेयर दिने सहमति नभएको दावी गरेको छ । कम्पनीले सिन्धुपाल्चोकका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडसँग निःशुल्क शेयर वितरण गर्ने कुनै प्रकारको सहमति नभएको स्पष्ट पारेको हो ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सो कम्पनीले भनेको छ, ‘भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनीबीच निःशुल्क शेयर दिने कुनै पनि प्रकारको सहमति भएको छैन ।’ कम्पनीका अनुसार, जेनजी पब्लिक इन्भेस्टमेन्टले भोटेकोशी पावर कम्पनीका १० प्रतिशत शेयर खरिदका लागि आवेदन दिने तयारी गर्दैछ । जसअन्तर्गत जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उक्त पब्लिक कम्पनीको शेयर धनी बनाइनेछ ।

कम्पनीले प्रतिशेयर अङ्कित मूल्य १०० का दरले १० प्रतिशत शेयर त्यस कम्पनीलाई बिक्री गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले भनेको छ, ‘यसरी शेयर खरिद गर्ने व्यवस्था निःशुल्क शेयर वितरण होइन । त्यसैले यस विषयमा भ्रममा नपर्न अनुरोध गर्छ ।’ शेयर खरिदका लागि आवश्यक रकम उक्त पब्लिक लिमिटेड कम्पनीले बैंकबाट ऋणस्वरूप लिने र सो ऋणको जमानी व्यवस्था मात्र बीकेपीसीले गर्ने सहमति भएको कम्पनीले स्पष्ट पारेको छ । भोटेकोशी पावरका अनुसार, आयोजना निर्माण सम्पन्न भइसकेकाले कम्पनीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट प्राप्त रकम पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण र ब्याज तिर्न प्रयोग गरिनेछ ।

उद्योगको पर्खाल भत्किएर किच्दा तीनको मृत्यु, दुई जना घाइते

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको हो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना मजदुर घाइते भएका थिए । त्यसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइतेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको खनालले बताए ।

म बिग्रिएको भए पो सप्रिनू : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको दावी गरेका छन् । आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू । सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नु पर्ने हो ? हो भने केपी ओलीले छोड्दैन ।’ उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चाँहि सप्रिनु पर्ने ओलीको भनाइ छ ।

‘म हट्ने–नहट्ने फेसबुकले होइन, कमिटीले भन्नु पर्छ’
अध्यक्ष ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने बताएका छन् । उनले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए । ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नु पर्छ,’ उनले भने, ‘यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’

विध्वंस हुने कुरा थाहा नपाएको होइन, रोक्न सकिएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतन्त्रको रक्षा जनता बाहेक अरूबाट हुन नसक्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै २३ र २४ गतेको घटना लामो प्रयासपछि भएको जिकिर गरे । उनले भने, ‘यत्रो घटनाको कसरी थाहा भएन भन्नु हुन्छ साथीहरू, उहिल्यैदेखि प्रयास भएकै छ त । चैत १५ गते पनि सिंहदरबारमा जान खोजेका होइनन् ? यी सबै कुराहरू भनिएका थिए, थाहा नपाएको भन्ने होइन, तर त्यसै दिन यो स्तरमा पुग्छ भन्ने थियो, त्यो उनीहरूको प्रयास थियो, विगतमा रोक्ने गरिएको थियो, विभिन्न कारणले रोक्न सकिएन ।’

उनले अब त्यस्ता गतिविधिप्रति सचेत रहेर पार्टीले पनि आफ्नो तयारी अवस्थामा बस्नुपर्ने बताए । ओलीले थपे, ‘यस्ता घटना आकस्मिक हुनसक्ने रहेछ, सानो कुरा पनि बढ्ने रहेछ, उनीहरूले प्रयास गरिरहेका थिए, हामीलाई रोक्ने सक्छौं भन्ने थियो । ठुलो कुरै थिएन, राज्य संयन्त्रकै प्रयोग गरेर सजिलै रोक्न सकिन्थ्यो । तर सकिएन । जनताको प्रयासबाट रोक्नुपथ्र्यो, लोकतन्त्र राज्यले होइन, जनता लडेर ल्याएका हुन् । जनताले नै बचाउने हुन् ।’ उनले संविधानमा भएको हमलालाई निस्तेज पारेर रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए ।

काठमाडौं-२६ मा अब डिजिटल ठेगाना प्रणाली (तस्बिरहरु)

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. २६ ले वडाभित्रका घरहरुमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ गरेको छ । बुधबार लैनचौरस्थित वडा कार्यालयमा यो कामको शुरुवात गरिएको हो ।

कुल ४५ लाख रुपैयाँ बजेट खर्च गरेर वडाका सबै घरमा ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ लागु गर्न लागिएको हो ।

उक्त प्रणाली सुरु गर्ने वडा नं २६ पहिलो वडा हो । यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत राखी ‘क्युआर कोड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ । जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुनेछ।

संसद विघटनलाई एमालेले भन्यो-‘प्रतिगमन’, अन्य दलहरुले के भने ?

काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा रहेका दलहरूलाई बैठकमा बोलाएर अबको बाटो र संवैधानिक निकासका बारेमा छलफल गरेका छन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी भएनन् ।

सभामुखले विघटित प्रतिनिधिसभामा रहेका दलहरूलाई छलफलमा बोलाए पनि चार दलका नेताहरू गएनन् । बैठकमा नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे, नेकपा एमालेका नेता महेश बर्तौला, माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टी नेपालकी नेतृ रेखा यादव बैठकमा सहभागी थिए । सभामुख घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठुलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए । उनले भने, ‘यो विषयमा बैठकमा सहभागी सबै दलहरूको साझा मत रह्यो । यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ । सबै दलहरूको आआफ्नै निर्णय छन्। त्यसैको आधारमा अद्दि बढ्छौं ।’ उनले संसद् पुनस्र्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने मत रहेको बताए ।

बैठकमा कांग्रेसका नेता घिमिरेले प्रतिनिधिसभा विघटन र सरकार गठन दुवै असंवैधानिक रहेको बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार घिमिरेले निकास खोज्नुपर्ने बताएका थिए । ‘यसको निकास भनेको कि संसद पुनस्र्थापना हो कि चुनाव हो । हाम्रो केन्द्रीय समितिको बैठक पनि चलिरहेको छ,’ उनले भने, ‘यदि सरकारले चुनावमा जाने वातावरण बनाउँछ र शान्ति र सुरक्षाको ख्याल गर्छ भने फ्रेस म्यान्डेटमा जान आपत्ति छैन । चुनावबाट कांग्रेस भाग्दैन ।’

एमालेका नेता बर्तौलाले संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक भएको बताए । ‘यो असंवैधानिक हो, प्रतिगमन हो । हामी आठ दलले पहिले नै भनिसकेका छौँ । चुनावको तयारी सरकारले गरेको छैन । वैधानिक संसदलाई जीवन्त राख्नुपर्छ । संसद पुनस्र्थापना गर्नुपर्छ । दलहरूले दबाब सिर्जना गुर्नुपर्छ, सभामुखले भूमिका खेल्नुपर्छ,’ उनले भनेका थिए ।

माओवादी नेता हितराज पाण्डेले दुर्लभ घटना भएको बताएका थिए । ‘यसको समीक्षा गर्नुपर्छ । संविधानको किताब हेर्दा एउटा स्थिति देखिन्छ तर अहिले फरक वातावरण छ । सरकारले चुनावको वातावरण बनाओस्, चुनावमा जानुपर्छ,’ पाण्डेले भनेका थिए । बैठकमा राप्रपाका नेता ज्ञानबहादुर शाहीले संसद पुनर्स्थापनातिर लाग्न नहुने बताएका थिए । उनले संविधान संशोधन गर्नुपर्ने बताएका थिए । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले सरकारले चुनावको वातावरण बनाए चुनावमा जाने बताए । त्यस्तै, जसपा नेपालकी नेतृ रेखा यादवले पार्टीले चुनावमा जाने निर्णय गरिसकेको बताइन् । संसद पुनस्र्थापनाका बारेमा फेरि पार्टीको बैठक बसेर निर्णय लिने बताइन् । जवाफमा सभामुख घिमिरेले लोकतन्त्र, संविधान बचाउनका लागि के गर्नुपर्छ, आफ्नो ठाउँबाट भूमिका खेल्ने बताए ।

 

एमाले सधैं सरकारबाट हट्यो भनेर भ्रममा नपरे हुन्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको दाबी गरे ।

‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने, ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एकछिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’ सरकारमा रहँदा कतिपय समयमा आफ्नै पार्टीका नेताहरूबाट समेत सरकारको विरोध गरिएको भन्दै ओलीले सरकारमा आउन नदिने प्रपञ्च संविधान जारी भएदेखि नै हुँदै आएको बताए ।

‘पार्टीभित्र एकमना एकता कहिल्यै थिएन’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकमना एकताको स्थिति कहिल्यै नरहेको बताएका छन् । केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इष्र्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताए । ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन,’ उनले भने, ‘इष्र्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो । मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो ।’

जेन–जीको दुई दिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे । आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ ।

हाम्रा प्रयत्नको तुलनामा षड्यन्त्रकारी मुखर भए : एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको टिप्पणी गरेका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै क्षति पुर्‍याएको बताए ।

‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन–जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निष्कर्ष निकालेका थियौं, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो । त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्‍यायो,’ उनले भने । महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निश्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरे ।

‘राष्ट्र र पार्टीका चुनौती सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ’
एमाले महासचिव शंकर पोखरेलले राष्ट्रका सामु चुनौती उत्पन्न भएकाले यसको सामनाका लागि पार्टी एकताबद्ध हुन अपिल गरेका छन् । जेन–जी आन्दोलनपछिको अवस्था र पार्टीको आगामी दिनको बाटो तय गर्न बुधबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकको सुरुवात गर्दै यस्तो धारणा राखेका हुन् । उनले षडयत्नकारीहरुले षड्यन्त्र गर्दा २३ र २४ गतेको घटना भएको उनले उल्लेख गरे । ‘स्वाभाविक रुपमा पार्टीमा उत्पन्न भएका चुनौती सामान गर्न पार्टी एकताबद्ध हुन जरुरी छ’ उनले भने ।

 

एकसाथ ६६५ इन्स्पेक्टरको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकसाथ ६६५ जना इन्स्पेक्टरको सरूवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

हेर्नुस् सरुवा सूची

देश प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अप्रत्याशित रूपमा देश प्रतिक्रान्तितिर धकेलिएको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै देशलाई प्रतिक्रान्तितिर जान नदिने एमालेले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।

उनले भने, ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षिय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनु पर्नेछ ।’ उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे।

एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए । ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताए । ‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’ उनले भने, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर? होइन । हामीले नराम्रा नीति लिएर ? हाम्रा राष्ट्र देशका नीति विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’ उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए ।

एमालेमा समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा ज्ञवाली, गौतम र बर्ताैलालाई

काठमाडौं । नेकपा एमालेले समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन नेतालाई जिम्मा दिएको छ । समसामयिक प्रस्तावको मस्यौदा तयार पार्ने जिम्मा प्रदीप ज्ञवाली, राजेन्द्र गौतम र महेश बर्ताैलालाई दिइएको महासचिव शंकर पोखरेलले जानकारी दिए । एमाले केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्दैछन् । एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरअघि सुरू भएको छ । साथै पार्टी निर्वाचन आयोगका प्रमुख विजय सुब्बालाई केन्द्रीय कमिटी बैठकका अवसरमा शपथ गराइएको छ ।

 

एमाले वैठकमा हरेक केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेट समय

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषयमा समेटिनेछ ।

यसैगरी, अलोकतान्त्रिक ढंगले अन्तरिम सरकारको गठन, असंवैधानिक ढंगले संसदको विघठन र यसका असरका बारेमा पनि प्रतिवेदनमा समेटिने छन् । प्रतिवेदनमा सरकारले नगर्ने निर्वाचनको हौवा पिटाएको, सरकारले दलहरुसँग संवाद नगरेको जसले गर्दा निर्वाचनको वातावरण नबनेको विषयमा पनि प्रतिवेदनमा उल्लेख हुनेछ । गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्ने छ । नेतृत्वले महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्नेछ ।

यसैगरी, लोकतन्को रक्षाका लागि संविधान पक्षधर शक्तिहरुलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरुलाई धारणा राख्न दिने गरी समय व्यवस्थपन गरिएको छ । केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

राप्रपामा थप विवाद चर्किदै : धवल पक्षबाट कार्यसम्पादन समितिको बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बस्ने कार्यसम्पादन समिति बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमा असहमति जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा पक्षधर नेताहरू बैठकमा नजाने भएका हुन् ।

राणाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र पठाएर बैठकमा नआउने जानकारी गराएका छन् । अध्यक्षलाई सच्चिनका लागि दबाब दिन आफूहरूले यो निर्णय लिएको उनले बताए ।

राणाले भने, ‘पार्टी विधिमा नचलेपछि हामीले आजको बैठकमा नजाने निर्णय गरेका छौँ । अध्यक्ष ज्यू सच्चिन तयार हुनुभयो भने अर्को बैठकमा जान सक्छौँ ।’ पार्टीका वरिष्ठ नेताहरू पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि बैठकमा नजाने संस्थापन इतर पक्षको दाबी छ । संस्थापन पक्षधरले घोषितरुपमा पार्टीको बैठक बहिष्कार गरेको यो सम्भवतः पहिलो पटक हो । आफूहरूले केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने जानकारीसहितको पत्र उनीहरूले आज अध्यक्ष राजेन्द्र लिङ्देनलाई पठाएको पार्टी सचिवालय स्रोतले जनाएको छ । उक्त पत्रमा महामन्त्रीद्वयले ४ वटा प्रस्ताव पनि अघि सारेका छन् ।

पहिलो–विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने ।
दोस्रो–विधानविपरित भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णय फिर्ता गर्ने ।
तेस्रो– निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने ।
चौथो–प्रभावकारी पार्टी संचालनका निम्ति दुई पूर्वअध्यक्षहरू सहितको विवाद समाधान समिति गठन गर्ने । उनीहरूले पार्टीभित्र आन्तरिक एकता जरूरी रहेको पनि पत्रमा उल्लेख गरेका छन् ।

 

देश र कांग्रेसको नेतृत्व लिन हाम्रो पुस्ता तयार छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको आन्तरिक एकता र संगठनलाई सुदृढ बनाएर मात्र देशलाई सफल नेतृत्व प्रदान गर्न सकिने भएकाले नयाँ (हाम्रो) पुस्ता सबै साकारात्मक परिवर्तनको नेतृत्व गर्नका लागि तयार भइसकेको बताए ।

गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता महरले देशलाई वर्तमान अवस्थाबाट उकास्न २१ फाल्गुनका लागि तोकिएको निर्वाचन हुनुपर्ने र पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न हुने तथा युवा पुस्ताको नेतृत्व स्थापनाको सुनिश्चितता आवश्यक रहेकोमा उनले जोड दिए ।

पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने धारणा राख्दै महरले भने, ‘सबैको मतको सम्मान गर्ने प्रवृत्तिले मात्र लोकतन्त्रको रक्षा गर्छ । केन्द्रीय समितिका हरेक निर्णयहरूमा सर्वसम्मत सहमतिको जुन अभ्यास विगतमा थियो, त्यसको निरन्तरताको अपेक्षा आज पनि छ ।’ पार्टीका समस्याहरूको निकास केन्द्रीय समितिभित्रैबाट खोजिनु पर्ने उनको भनाइ छ ।

नेता महरले पार्टीको पुनर्जागरण र सुधारका निम्ति देशभर चलिरहेका बहसले पार्टीलाई थप सशक्त बनाउन बल पुग्ने विश्वास व्यक्त गरे । नियमित महाधिवेशनलाई पार्टीको जीवन्तता र एकताको प्रमुख आधारका रूपमा व्याख्या गर्दै उनले समयमै हुने महाधिवेशनले मात्र पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने बताए ।

प्रधानमन्त्रीको प्रेस संयोजकमा रावल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त भएका छन् । बाजुरा, मार्तडीका उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि गरेका छन् ।

रावल २०६० सालदेखि पत्रकारितामा सक्रिय छन ्। बाजुराका रावलले नेपाल एफएम, ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन् । यसअघि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द तिमल्सिना नियुक्त भएका थिए ।

सभामुखलाई ज्ञानेन्द्र शाहीका आठ सुझाव : जेनजीका माग पूरा नभएसम्म संसद पुनर्स्थापना नगरौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा नभएसम्म संसद् पुनर्स्थापना नगर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउन बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा शाहीले देशमा गहिरिँदै गएको राजनीतिक अस्थिरता र जनअसन्तुष्टिको मूल कारण संरचनागत त्रुटिहरू भएको बताए ।

उनले जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद् पुनस्र्थापनाको मुद्दा लिएर अघि बढ्न सभामुखलाई आग्रह गरेका छन् । शाहीले संसद्लाई निरन्तरता दिने वा पुनस्र्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको धारणा राखेका छन् । प्रवक्ता शाहीले वर्तमान राजनीतिक प्रणालीको असफलतालाई औंल्याउँदै देशले भोगिरहेको अस्थिरता, भ्रष्टाचार र कमजोर शासनलाई समाधान गर्नका लागि तत्काल आठ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरे । राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसद्बाट नआएसम्म पुनर्स्थापनाको प्रक्रिया रोक्ने अडान लिएको छ ।

संसद् पुनर्स्थापनाको शर्त
१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री : राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्न वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागु गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने ।

२. प्रदेश संरचना खारेज : राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएको भन्दै वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने । संघीयतालाई केन्द्र र ‘बलियो स्थानीय तह’मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनु पर्ने ।

३. गैरदलीय स्थानीय तह : स्थानीयस्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैरदलीय (दलगत राजनीतिमुक्त) स्थानीय तहको अवधारणा लागु गरिनु पर्ने ।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द : संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनु पर्ने ।

५. राष्ट्रिय एकता कायम गर : देशमा राष्ट्रिय एकता र सद्भाव कामय गर्नुपर्ने ।

६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुन : भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्नसक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनु पर्ने ।

७. प्रतिनिधिसभा उमेदवारको उमेर हद घटाउने : १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको भन्दै प्रतिनिधिसभाको उमेदवार बन्नका लागि तोकिएको उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनु पर्ने ।

८. अनलाइन मतदान प्रणालीको व्यवस्था : विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी र पेसाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाइनु पर्ने ।