`

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकमा पुगे ओली सँगै अन्य नेताहरु (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुर पुगेका छन् ।

उनी केन्द्रीय कमिटीको बैठकमा सहभागि हुन् केही बेर अघि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा पुगेका हुन् । बैठक केही बेरमा सुरु हुँदै छ। ओलीलाई युवा संघले मोटरसाइकल स्कर्टिङ गरेर सुरक्षा दिदै त्यहाँ सम्म पुर्याएको हो ।बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिरहेका छन्।

ललितपुर भनिमण्डलस्थित रामबाग महलमा आयोजित केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव गोकर्ण विष्ट लगायतका नेता पुगिसकेका छन्।

केन्द्रीय कमिटीका अन्य नेताहरू पनि बैठकस्थल पुगिरहेका छन्। जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो।  बैठक आजदेखि सुरु हुँदैछ बैठक ३ दिनसम्म चल्नेछ ।

 

 

सभामुखले बोलाएको छलफलमा किन गएन रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले संसद् विघटनको विषयमा पार्टीले पहिले नै वक्तव्य निकालिसकेकाले सभामुखले बोलाएको बैठकमा नगएको बताए छन् । ‘संसद् विघटनको विषयमा हामीले वक्तव्य निकालिसकेका छौँ । त्यही वक्तव्यमा हाम्रो पार्टीको धारणा स्पष्टरूपमा आइसकेको छ’, उनले भने, ‘पार्टीको सचिवालय बैठक पनि छ, त्यसैले बैठकमा नगएका हौँ ।’ उनले भने, ‘म सचिवालय बैठकमा छु, आउन सक्दिनँ भनेर जानकारी गराएको थिएँ ।’

सभामुख देवराज घिमिरेले संसद् पुनस्र्थापनाका लागि अदालत जाने अथवा नजाने भन्ने विषयमा आज ११ राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । उक्त छलफलमा रास्वपाका प्रतिनिधि सहभागी छैनन् । बैठकमा विघटित प्रतिनिधिसभाका सबै दलका प्रमुख सचेतकहरुलाई निम्त्याइएको थियो ।

घिमिरेले छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका थिए । सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका थिए ।

बैठकमा सभामुख घिमिरेसँगै राखिएको एउटा कुर्सी खाली देखिएको छ । सभामुखको सचिवालयका अनुसार उक्त कुर्सी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका लागि थियो । दाहाललाई आजको वैठकमा बोलाइएको भए पनि उनी आएनन् । आफू अर्को बैठकमा रहेकाले आउन नपाएको उनले जानकारी गराएका छन् । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले सभामुखको छेउमा सँधै एउटा कुर्सी रहने गरेको र विशिष्ट व्यक्तित्वहरु आउँदा बस्ने गरेको बताए ।

 

आकाश खुलेपछि नुवाकोटको सुइरेचौर बाट यस्तो देखियो हिमाल (तस्बिरहरु)

काठमाडौँ । संघीय राजधानी काठमाडौंको सामाखुसी क्षेत्रबाट लगभग ४५ मिनेटमा पुग्न सकिने नुवाकोट शिवपुरी गाउँपालिकाको सुइरेचौर यो सिजनमा हिमाल हेर्नको लागि उपयुक्त गन्तव्य बन्न गरेको छ ।

सो क्षेत्रबाट अन्नपूर्ण हिम श्रृङ्खला, मनासलु, गणेश, लाङटाङ, जुगल र गौरीशंकर हिमाल लगायत विभिन्न हिम श्रृङ्खलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट नजिकै रहेको र बस्नका लागि पनि राम्रो व्यवस्था रहेका कारण शुक्रबार र शनिबार सो क्षेत्रमा आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको स्थानीय प्रधान लामा तामाङले जानकारी दिए ।

मधेश प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै

जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो । हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको एक नेताले बताए । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी रहेको बताइएको छ ।

जनमतका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सो आह्वान अनुसार पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न पुगेका छन् ।

लोकसभाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने सहभागी थिए । १०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् ।

मधेशको मुख्यमन्त्रीमा दावी पेस गर्न कांग्रेस–एमाले बाहेक पाँच दलका नेता प्रदेश कार्यालयमा

जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस र एमाले बाहेकका दल मिलेर सरकार बनाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन पाँच दलका नेता प्रदेश कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।

मंगलबार सतिशकुमार सिंहले पदबाट राजीनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको माओवादी संसदीय दलका नेता युवराज भट्टराईले जानकारी दिए ।

जनमतका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने भट्टराईले बताए ।

सहमति जुटाउन बसेको बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने सहभागी थिए ।

१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । हाल प्रदेश सभामा जसपा नेपालको १९ सीट छ । अशोक राई पक्षका सांसदले पनि दल विभाजन अदालतमा विचाराधीन रहेकाले उपेन्द्रकै पक्षमा उभिने बाध्यता छ । त्यस्तै जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । तीन दल मिलाएर ५७ सिट पुग्छ । लोसपाका एक जना सांसद निलम्वित भएकाले ५६ सीट छ ।

सभामुखले बोलाएको छलफलमा रास्वपा अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले आज (बुधबार) बोलाएको सर्वदलीय छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ । बैठक अहिले संसद् भवनस्थित सभामुखको कार्यकक्षमा चलिरहेको छ । तर यो तयार गर्दासम्म रास्वपा बैठकमा सहभागी भएको छैन ।

प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन् । यसै क्रममा सभामुख घिमिरेले आफै रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूसँग परामर्श थालेका हुन् । बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाएका छन् ।

विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बैठकमा सहभागी भइरहँदा चौथो ठूलो दल रास्वपा भने अनुपस्थित भएको हो । गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधि सभा विघटन गरिएको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सदन विघटन गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य चुनाव तोकेका छन् । तर दलहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनःस्थापनाका लागि कानुनी पहल गर्न चाहेको सन्दर्भमा सभामुखले उनीहरूसँग बैठक राखेका हुन् ।

 

सभामुखको आह्वानमा सर्वदलीय छलफल सुरु

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा दलका नेताहरूसँग छलफल सुरु गरेका छन् । छलफल केही बेरअघि नयाँ बानेश्वरस्थित संसद् भवनस्थित सभामुखकै कार्यकक्षमा सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन् । यसै क्रममा सभामुख घिमिरेले आफै रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूसँग परामर्श थालेका हुन् ।

बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाएका छन् । गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बने लगत्तै प्रतिनिधि सभा विघटन गरिएको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सदन विघटन गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य चुनाव तोकेका छन् । तर दलहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनःस्थापनाका लागि कानुनी पहल गर्न चाहेको सन्दर्भमा सभामुखले उनीहरूसँग बैठक राखेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, के–के छन् एजेण्डा ?

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो । यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो । बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ ।

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए । बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको बताए ।

उनले भने, ‘प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको । प्रधानमन्त्रीले दलका शीर्ष नेतृत्वसँग अहिलेसम्म संवाद नगरेको । शान्ति, अमन चयनको आधार तयार नभइसकेकाले निष्पक्ष चुनावको आशंका रहेको जस्ता विषय समेटिने छन् ।’ एमालेले संविधान लोकतान्त्रिक गणतान्त्रिक पक्षधरसँग सहकार्य गर्दै संसद पुनः स्थापनाको एजेण्डालाई सशक्त ढंगले उठाउने पनि गौतमले बताएका छन् ।

एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टीभित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ ।

नेपालकाे वैदेशिक मुद्रा सञ्चिति २८ खर्ब बढी, दुई महिनामा तीन खर्ब ५२ अर्ब रेमिट्यान्स

काठमाडौं । नेपालको वैदेशिक मुद्रा सञ्चिति २८ खर्बमाथिको पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ८२ अर्ब ३८ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ । २०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ । आर्थिक वर्ष २०८२÷८३ को दोस्रो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत र ३६.६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

दुई महिनामा तीन खर्ब ५२ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५२ अर्ब ८ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । २०८२ भदौमहिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १२७ अर्ब ९९ करोड रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५,८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो ।

 

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उनले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पुर्‍याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गरे ।
‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते भएका उनी आज पहिलो पटक सार्वजनिक रुपमा देखिएका हन् । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उनले लोकतन्त्र प्राप्तिको संघर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उचित गन्तव्यमा पु¥याउन कांग्रेस सफल भएको बताए ।
‘अहिले हामी केन्द्रीय कार्यसमितिको बैठक गरिरहँदा देशभित्र र विश्वभरी फैलिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीसहित संसारको आँखा यो बैठकतर्फ आकृष्ट भएको मैले अनुभूति गरेको छु’, सभापति देउवाले भने, ‘त्यसैले पनि हामीले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक छ । यस बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वनियतालाई पुर्नपुष्टि गर्नु पर्दछ ।’
मुलुकको यो विषम अवस्थामा तोडफोड, लुटपाट र आगजनी गरी खरानी भएर भग्नावषेशको रुपमा बाँकी रहेको केन्द्रीय कार्यालयमा बैठक बसिरहेको उल्लेख गर्दै उनले यसले पक्कै पनि सबैलाई स्तव्ध बनाएको उल्लेख गरे । उनले भने, ‘म सबैभन्दा पहिले भदौ २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउनु हुने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दछु । दुःखको यस घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनामा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
‘घुसपैठले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गयो’
गत भदौ २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र प्रदर्शनले अर्कै रुप लिँदा निर्दोष नवयुवकहरुको ज्यान गएको बताउँदै सभापति देउवाले यस घटनाले आफूलाई मर्माहित बनाएको उल्लेख गरे । गत भदौ २४ गते बिहानैदेखि राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालयलगायत राजनैतिक दलका विभिन्न कार्यालयहरु, नेताहरुको निजी घर डेरा, सञ्चार गृहलगायत व्यावसायिक तथा व्यापारिक प्रतिष्ठानहरुमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको अकल्पनीय घटनाको निन्दा गरे । यसबाट जनधनको अपूरणीय क्षति भएको र सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनका रुपमा लिपिबद्ध हुने उनको भनाइ थियो ।
केन्द्रीय कार्यालयसहित ४८ जिल्लाका कांग्रेस पार्टी कार्यालय र करिब एक सय २५ जना नेता साथीहरुको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको सभापति देउवाले जानकारी गराए । नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थानका रुपमा परिचित विराटनगरस्थित कोइराला निवास, काठमाडाैं चाक्सीबारीस्थित गणेशमानसिंह निवास र ललितपुर बाँडेगाउँस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन् मर्माहत बनाएको उनले बताए ।नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी  सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको बताउँदै उनले यी दुबै दिनका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे ।
‘राष्ट्रपतिको भूमिकाले अर्को संकट रोकिएको छ’
सभापति देउवाले गत भदौ २४ गतेको कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई बैठकमार्फत धन्यवाद दिए । त्यो प्रतिकूल समयमा उहाँको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट टरेको उनले उल्लेख गरे । जेनजी पुस्ताले देशमा सुशासन र भ्रस्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने उनको धारणा थियो । उनीहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्ने र यस विषयमा पनि कांग्रेसको बैठकमा छलफल हुने सभापति देउवाले जानकारी दिए ।
यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतस्फूर्त भन्दा पनि सुनियोजित र योजनाबद्ध नै थियो भन्ने कुरा घटनापछि बाहिर आइरहेका तथ्यहरुले पुष्टि गर्न थालेका सभापति देउवाले बताए । यसको  यथाशीघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने र यो अनुसन्धान कसैलाई तत्कालीन नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए । देशमा सबै महत्वपूर्ण अङ्गहरुको मनोबल गिरेको अवस्थामा देशका सबै अङ्ग वा निकायको मनोवल उच्च राख्ने गरी काम गर्नुपर्ने र अदालत, सुरक्षा निकायलगायत सबै निकायलाई उच्च मनोवल साथ काम गर्न आह्वान गरे ।
सभापति देउवाले विगत ८० वर्षमा कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र सबैभन्दा ठूलो र मियो पार्टीका रुपमा रहँदै आएको बताए । उनले कांग्रेसको एकता आजको आवश्यकता भएको बताउँदै देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा हाम्राबीचमा विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर एकतावद्ध हुनुपर्ने बताए ।
उनले अहिले हाम्रा बीचमा व्यक्तिगत वा समूहगत रुचि–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण भएको बताउँदै पार्टीका सबै साथीहरुलाई विषयवस्तुमा व्यापक छलफल गर्न, एकमतका साथ निर्णयमा पुग्न र ठोस् ढङ्गले निर्णयको कार्यान्वयन गर्न आग्रह गरे ।
‘पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु’
सभापति देउवाले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैँ एकै जना मूली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैनन् । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु ।’ आगामी १५औँ महाधिवेशनबाट आफूबाहेक अरु कुनै साथी सभापति बन्ने र त्यसमा द्विविधा नभएको उनले स्पष्ट गरे ।
उनले देशको वर्तमान विषम परिस्थितिमा कांग्रेसले आफूलाई एकतावद्ध, सुसङ्गठित बनाउँदै लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दलहरुसँग समेत संवाद र सहकार्य गर्नु आवश्यक रहेको बताए । संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको उल्लेख गर्दै सभापति देउवाले जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको बताए ।
‘निर्वाचनका लागि आवश्यक वातावरण बनाउनु पर्छ’
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने मिति तोकेको बताउँदै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण तयार हुनुपर्नेमा जोड दिए । ‘निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा सुनिश्चित गर्ने र शान्तिपूर्ण निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वतः स्फूर्तरुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चिता गराउने जिम्मा सरकारको हो’ उनले भने । यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै उहाँले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास व्यक्त गरे ।
बहुदलीय लोकतान्त्रिक व्यवस्थाकावाहक राजनीतिक दलहरुसँग सरकारले सार्थक संवादको वातावरण नबनाएको उल्लेख गर्दै उनले यस अवस्थामा कांग्रेसले अन्य राजनीतिक दलहरुसँग संवाद गरी आगामी योजनाबारे छलफल गर्नुपर्ने आवश्यकता आँैल्याए । मुलुकमा संकट आएका बेला त्यसको निकास पनि कांग्रेसले दिनेगरेको विगतको इतिहासलाई आत्मसात गर्दै सबै राजनीतिक दललाई एकमत बनाउनेतर्फ अघि बढ्न उनले आग्रह गरे ।
आफू किशोर अवस्थादेखि नै राष्ट्रियता, लोकतन्त्र, विधिको शासनका लागि अनवरतरुपमा संघर्षरत रहेको उल्लेख गर्दै उनले भने, ‘म लोकतन्त्रका निमित्त राजनीतिमा होमिदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ । सांसद, मन्त्री, प्रधानमन्त्री वा कांग्रेसको सभापति हुने ध्येयका साथ राजनीतिमा लागेको पनि होइन । मन, वचन र कर्ममा एकै उद्देश्य थियो, राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।’
देशमा लोकतन्त्र स्थापना भएका कारण साथीहरुको स्नेह र समर्थनले विभिन्न राजकीय पद प्राप्त गरेको उल्लेख गर्दै सभापति देउवाले आफूले राजनीतिमा निकै आरोह अवरोह व्यहोरेको बताए । देशमा संकट उत्पन्न हुँदा सदैव देश र जनताका पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै  उनले अझै पनि देश र जनताका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
‘मुलुक र जनताका पक्षमा गरेका कामप्रति वर्ग छ’
‘मैले कांग्रेसलाई सधैँ सबै जात, क्षेत्र, लिङ्ग र समुदायको नेपाली मौलिकतासहितको पार्टी बनाउने प्रयास गरेँ, चाहे पार्टीभित्र ‘कदमजम’को नीति लागू गरेर होस् कि केन्द्रदेखि वडासम्म पार्टीका संरचनाहरुमा आरक्षणको व्यवस्था गरेर अधिकतम् समावेशी बनाउने अभियान नै चलाए । म यस काममा गर्व पनि गर्न चाहन्छु’ सभापति देउवाले भने ।
उनले आफूले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएको र पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय रहेको स्पष्ट पारे । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको बताउँदै उनले त्यसका बावजुद पनि कतिपय क्षेत्रको सुधारमा कोशेढुङ्गाको काम गरेको अवगत गराए । ‘सामाजिक कुरीतिको रुपमा रहेको कमैया मुक्ति, छूवाछुतमुक्त नेपालदेखि सामाजिक रुपान्तरणका कतिपय कामको सुरुवात गर्न पाउँदा मलाई गर्व महसुस हुन्छ’ , सभापति देउवाले भने, ‘नेपालमा भ्रष्ट्राचार निवारणका लागि म प्रधानमन्त्री हुँदा भ्रष्ट्राचार निवारण ऐन २०५९ जारी गरेको हुँ । नेपालमा भूमिमाथिको द्वैध स्वामित्वको अन्त्य गरेर वैज्ञानिक भूमिसुधार लागू गरेको हुँ । यसकै जगमा अहिले हदबन्दी लागू हुनुका साथै द्वैध स्वामित्व अन्त्य भएको हो ।’ सभापति देउवाले आफू प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा काम गर्दा नेपाली जनतालाई र पार्टीलाई केन्द्रमा राखेर नै काम गरेको बताए ।
‘प्रतिष्ठा र छवि गिराउन सुनियोजित रूपमा झुटा प्रचार गरियो’
सभापति देउवाले गत भदौ २४ गते सिङ्गो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि पनि ज्यानै लिने मनसायले साङ्घातिक हमला गरिएको र घरमा तोडफोड, लुटपाट र आगजनी भएको, सुरक्षाकर्मीको अथक प्रयासपछि उद्धार गरिएको जानकारी गराए । उनले आफू र आफ्नो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपरेको र त्यतिले नपुगेर कृतिम बौद्धिकता प्रविधिका माध्यमले आफूहरुको प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको भनी दुःख व्यक्त गरे ।
‘मेरा राजनीतिक जीवनयात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउँन सक्छ केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ’, उनले भने, ‘यो घटनाक्रम झट्ट हेर्दा म र म जस्तै हाम्रा र अन्य राजनीतिक दलका अनगिन्ती साथीहरु माथिको व्यक्तिगत आक्रमण जस्तो देखिए तापनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने मेरो ठहर छ ।’
सभापति देउवाले आक्रमणकारीहरुको कब्जाबाट आफूलाई बचाउने घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको भूमिका जीवनभर स्मरण गरिरहने उल्लेख गरे । सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर संकटमा परेको यस घडीमा पार्टीभित्र एकता कायम राख्नुपरेको बताए । यसलाई ध्यानमा राखी आफ्नो पार्टीको विधानअनुसार तोकिएको समयमा १५औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय समितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ थियो। देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासमा लागि आवश्यकता अनुसार अन्य राजनैतिक दलहरुसँग पनि वार्ता, संवाद गर्ने उनले बताए ।
खड्का कार्यवाहक सभापति
उनले आफ्नो स्वास्थ्यका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको घोषणा गरे । साथै उनले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास पनि व्यक्त गरे ।

अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल रु १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा रु १५ खर्ब १२ अर्ब ९८ करोड अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

चालु खर्चमा रु ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा रु नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा रु दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा रु तीन खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ ।

गत आर्थिक वर्षमा कुल रु ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व सङ्कलन भएको छ । जसमध्ये कर राजस्व रु १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व रु एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति रू १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य रु १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षमा अनुदान रु २३ अर्ब ५३ करोड र ऋण रु एक खर्ब २५ अर्ब ४० करोड गरी कुल रु एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ । गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो । घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले रु तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण रु एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल रु चार खर्ब ५५ अर्ब ३९ करोड बराबरको सार्वजनिक ऋण परिचालन भएको छ ।

 

 

 

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुर । मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले आज (मंगलबार) दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत प्राप्त गर्न सक्ने दलहरुले मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि बुधबार (भोलि) दिउँसो ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको छ । १०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

मधेश प्रदेश सभामा कांग्रेसको २२, नेकपा एमालेको २५, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक-एक गरी १०७ जना सदस्य छन् । मधेशमा सिंह नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तीन दलले सहमति गरेका छन् । कांग्रेसलाई सबैभन्दा ठूलो दल एमाले र जनमत पार्टीको सर्मथन रहेको छ । तथापि समिकरण फेरिन सक्ने चर्चा पनि भइरहेको छ ।

गभर्नर पौडेलले किन पाएनन् भाडाको घर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना गभर्नर विश्वनाथ पौडेलको आवासका लागि ललितपुर क्षेत्रमा भाडामा लिन चाहेको घर अहिलेसम्म पाउन सकेको छैन । तोकिएको मापदण्डअनुसारको घर नपाएपछि राष्ट्र बैंकले आवेदन दिने म्याद कात्तिक १६ गतेसम्मका लागि थपेको छ। यसअघि राष्ट्र बैंकले असोज २७ गतेसम्म इच्छुक घरधनीहरूलाई प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो । तर निर्धारित मापदण्डमा उपयुक्त कुनै पनि घर नपरेपछि म्याद थप गरिएको हो ।

राष्ट्र बैंकको सम्पत्ति व्यवस्थापन विभागका अनुसार, केही घरधनीहरूले जिज्ञासा राखे पनि औपचारिक रूपमा मापदण्ड अनुसारको प्रस्ताव प्राप्त भएको छैन । एक कर्मचारीका अनुसार, ‘केही सोधपुछ भएको थियो, तर तोकिएको मापदण्ड पूरा गर्ने कुनै आवेदन प्राप्त भएन, जोखिम महसुस गरेको हुन पनि सक्छ ।’

यस्तो छ घरका लागि राष्ट्र बैंकको मापदण्ड
राष्ट्र बैंकले गभर्नरका लागि ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा पर्ने घर माग गरेको छ । माग गरिएको घर कम्तीमा १६ आनादेखि २४ आनासम्मको क्षेत्रमा हुनु पर्नेछ, जहाँ कम्तीमा ५ वटा सवारीसाधन पार्किङ गर्न सकिने सुविधा भएको, आरसीसी स्ट्रक्चरमा बनेको, १००० वर्गफिटभन्दा बढी प्लिन्थ क्षेत्रफल भएको हुनुपर्नेछ ।

त्यस्तै, घर २.५ देखि ३ तले हुनु पर्ने, कालोपत्रे सडकसँग सिधा पहुँच भएको र सुरक्षित कम्पाउन्डवालले घेरिएको हुनुपर्ने उल्लेख छ । साथै, घरमा खानेपानी, ढल निकास, र बिजुलीको भरपर्दो सुविधा हुनु आवश्यक छ । भित्रतर्फ, घरमा कम्तीमा एउटा मास्टर बेडरूमसहित ४ वटा बेडरूम, एउटा लिभिङ हल, किचेन, डाइनिङ हल, स्टोररूम, र सुरक्षाकर्मीका लागि छुट्टै भवन हुनुपर्ने शर्त राखिएको छ ।

घरबेटीहरू अनिच्छुक
राष्ट्र बैंकले माग गरेअनुसारको सुविधासम्पन्न घर काठमाडौं उपत्यकामा केही पाइए पनि, घरधनीहरूले राज्यका उच्च पदस्थ अधिकारीलाई घर भाडामा दिन झिनो झिनो कारणले जिज्ञासा र झमेला पर्ने डरले प्रस्ताव नपेस गरेको देखिएको छ । एक कर्मचारीका भनाइ अनुसार, ‘जोखिम महसुस भएको हुन सक्छ’, भन्ने संकेतले देखाउँछ कि सुरक्षालगायत अन्य कारणले पनि घरबेटीहरू पछि हटिरहेका छन् । राष्ट्र बैंकले अब कात्तिक १६ गतेसम्म नयाँ प्रस्ताव आह्वान गरेको छ । यो म्यादभित्र पनि उपयुक्त घर नभेटिए गभर्नरको आवास व्यवस्थापनमा थप जटिलता आउन सक्ने देखिएको छ ।

 

 

सकिएन महराविरुद्धको थुनछेक बहस, हिरासत नै फर्काइयो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज चलेको थुनछेक बहस भोलि पनि जारी रहने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस चलेको थियो । तर, बहस नसकिएपछि उनलाई हिरासतमै फर्काइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाइएको थियो । महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए । भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबु–छोराको मिलेमतो देखिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 

मतदाता नामावलीमा नाम दर्ता गराउन जेनजी युवाहरु उत्साहित

मोरङ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन् । सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नामदर्ता गराउन समय थप गरेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिति उल्लेख्य देखिएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्न नाम दर्ता गराउन आएको बताएका छन् । विराटनगर–१ का आयुष आचार्य युवाले खोजेको योग्य उम्मेद्वारलाई मतदान गर्न मतदाता परिचयपत्र बनाउन आएको बताए ।

युवाको मतले चुनिएको व्यक्तिले गर्व गर्ने लायक काम गर्न सकून् भन्ने अपेक्षा रहेको विराटनगर–११ की जोत्सीना सापकोटाको भनाइ छ । सोमबारसम्म प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एक हजार ५३० नयाँ मतदाताले नामदर्ता गराएका छन् । गत असोज १० गतेदेखि कार्यालय खुलेका दिन दैनिक बिहान ८ देखि साँझ ५ सम्म नामदर्ता गराउन आउनेको भीड लाग्ने गरेको छ । जसमा अधिकांश २५ वर्षभन्दा कम उमेर समूहका रहेको प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाईंले जानकारी दिए ।

पितृकार्यकै बेला छोरा विपिन अस्ताएको खबर सुनेपछि…

महेन्द्रनगर । महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपिन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो । गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपिनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपिनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपिनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध) मा व्यस्त थिए ।

तीन दाजु-भाइमा महानन्द कान्छा हुन् । ‘उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपिन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो’, जोशी परिवारका एक सदस्यले भने, ‘कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।’

सोमबार बिहान विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’ मा विपिन नरहेको विषयमा छलफल भए पनि विपिनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहेका थिए । तर विपिन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ । भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपीनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिइन् ।

‘विपिन जीवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन’, वडा सदस्य ठगुन्नाले भने, ‘हिजोदेखिको विपिनको खबरले सबैतिर सन्नाटा छाएको छ ।’ उनले विपिनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिइन् । विपिनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरु अझै स्वदेश फर्किसकेका छैनन् ।

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, दुई बर्षअघि नै हत्या

काठमाडौं । हतियारीधारी समूह हमासले सोमबार बुझाएका चार जनाको शवको पहिचान भएको इजरायली सेनाले जानकारी दिएको छ । तीमध्ये नेपालका विपिन जोशीको शव पनि पहिचान भएको इजरायली सेनाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायली सेनाले विपिनसहित चार जनाकै शव पहिचान भएको जानकारी दिँदै दुई जनाको नाम सार्वजनिक गरेको र थप दुई जनाको नाम परिवारको सहमतिपछि सार्वजनिक गर्ने समाचारमा जनाइएको छ। विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले जनाएको छ ।

‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भयो । उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो । उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले सैनिक अस्पताल लगेर डीएनए गरेको थियो । यसबारे नेपाली इजरायलस्थित दूतावासले औपचारिक रुपमा जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नभएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी रहेको स्रोतको भनाइ छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।

 

भदौ २४ को घटना सबै सुनियोजित हो, ज्यानै लिने मनसायले हामीमाथि आक्रमण गरियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गते जेनजी आन्दोलनकारीबाट आफूहरूलाई सुरक्षाकर्मीले बचाएको बताएका छन् । पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मीले घण्टौंको प्रयासपछि आफूहरूको उद्धार गरेको जानकारी गराएका हुन् । सभापति देउवाले भदौ २४ गतेको आन्दोलनमा क्रममा आफ्नो ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको बताए ।

आन्दोलनका क्रममा भएका घटनाहरु आकस्मिक र स्वतस्फुर्त नभएर सुनियोजित भएको उनको निष्कर्ष छ । जेनजी आन्दोलनमा आफ्नै निवासभित्र आक्रमणमा परेका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति वैठकमा सहभागी हुँदै उनले आफू र परिवारको ज्यान जोगाउन भूमिका खेल्ने सुरक्षाकर्मी र शुभचिन्तकलाई धन्यवाद दिए । भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि उनले माग गरेका छन् ।

देउवाले २४ गते त्रासदीपूर्ण घटना भएको भनेका छन् । ’गत भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनसायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो,’ सभापति देउवाले भने,’ उनले भने, ‘तपाईंहरूको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरू सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउन सक्छ, केवल सामना गर्ने साहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’

उनले उक्त दिनको घटना हेर्दा नेतामाथिको आक्रमण जस्तो देखिए पनि देश र पद्धतिमाथि नै आक्रमण भएको पनि बताएका छन् । ‘म यो बैठकबाट आक्रमणकारीहरूको कब्जाबाट हामीलाई बचाउने घटनास्थलका सुरक्षाकर्मी तथा शुभचिन्तक सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु साथै जीवनभर स्मरण गरिरहनेछु,’ उनले भने, ‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’

देउवाले आफ्नो निवासमा ठूलो परिमाणमा नगद रकम भेटिएको भन्ने विषयमा कुनै स्पष्ट जवाफ दिएनन् । बरु आफूहरुको प्रतिष्ठा र छवि वगराउन सुनोयोजिरुपमा झुटा प्रचार गरिएको टिप्पणी गरे । घटनाक्रम झट्ट हेर्दा व्यक्तिगत आक्रमण जस्तो देखिएता पनि समग्रमा हेर्दा देश, पद्धति र पार्टी माथिको आक्रमण नै हो भन्ने उनको ठहर छ । देउवाले भाद्र २३ र २४ गतेको घटनामा परी ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली दिएका छन् । घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भएको र

प्रदर्शनले अर्कै रुप लिएर निर्दोष नवयुवकहरुको ज्यान गएको उनको भनाइ छ । यस घटनाले आफूहरुलाई अत्यन्तै मर्माहित बनाएको देउवाले बताएका छन् । पार्टीमा नेतृत्व परिवर्तनको कुरा उठिरहँदा देउवाले कार्यवाहक उपसभापति खड्कालाई तोके पनि उनले पदबाट राजीनामा भने दिएका छैनन् ।

 

देउवाको सम्बोधन लगतै कांग्रेसको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए लगत्तै आजको बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ । आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् । ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

बैठक सुरु हुनसाथ देउवाले छोटो मन्तव्य राखेका थिए । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्ने तर्फ वर्तमान सरकार उद्धत रहेको उनको आरोप छ । सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे । यस्तो अवस्थमा संसद् पुनस्र्थापनाको विकल्पलाई कांग्रेसले क्लोज नगरेको उनको तर्क छ ।

सरकार असंवैधानिक प्रक्रिया बनेको भन्दै उनले संवैधानिक प्रक्रियालाई सही ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनस्र्थापनाको माग उठाएको बताए । उनले अगाडि भने, ‘निर्वाचन गराउन सरकार गम्भीर हुनुपर्छ । यत्रो लुटपाटका घटनाहरू भएका छन् । हतियारहरू लुटिएका छन् । पुलिस चौकीहरू छैनन् । कुनै रेकर्डहरू छैनन् । यो अवस्थामा सरकार साँच्चिकै चुनावका लागि गम्भीर रूपमा काम गर्नु पर्छ ।’ सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।

 

संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ गरेको छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता प्रकाशशरण महतले संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले ‘क्लोज’ नगरेको बताएका छन् । केन्द्रीय समितिको बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा केन्द्रित हुनुभन्दा पनि कुन बेला कसलाई रिस साँध्नेतर्फ वर्तमान सरकार उद्धत रहेको उनले आरोप लगाए ।

सरकारको यही रवैयाका कारण निर्वाचन कसरी हुन्छ भनेर उनले प्रश्न गरे । यस्तो अवस्थमा संसद् पुनर्स्थापनाको विकल्पलाई कांग्रेसले क्लोज नगरेको उनको तर्क छ । सरकार असंवैधानिक प्रक्रिया बनेको भन्दै उनले संवैधानिक प्रक्रियालाई सही ट्रयाकमा ल्याउन सकिन्छ कि भनेर संसद् पुनस्र्थापनाको माग उठाएको बताए ।

उनले भने, ‘निर्वाचन गराउन सरकार गम्भीर हुनुपर्छ । यत्रो लुटपाटका घटनाहरू भएका छन् । हतियारहरू लुटिएका छन् । पुलिस चौकीहरू छैनन् । कुनै रेकर्डहरू छैनन् । यो अवस्थामा सरकार साँच्चिकै चुनावका लागि गम्भीर रूपमा काम गर्नु पर्छ ।’ सरकारले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए ।

सीके राउतको जनमत फुटेर बन्यो ‘जस्वपा’, आयोगले दियो मान्यता

काठमाडौं । चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ । आज (मंगलबार) निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा) लाई मान्यता दिएको हो । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् । पार्टीको अध्यक्षमा दीपककुमार साह छन् ।

साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै साउन २२ गते साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए । तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । यस्तै जस्वपाको ३ सचिवमा हेमलता देवी, सुनिल कुमार यादव र सञ्जय प्रसाद यादव रहेका छन् ।जनस्वराजको झण्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ ।

जनस्वराज पार्टी दर्ताको पत्र

सानेपामा देउवाको आठ बुँदे सम्बोधन (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्ने बताएका छन् ।

उनले भने, ‘पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठेका छन् । म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकै जना मुली रहँदैन पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्त्रण गर्छु भनिसकेको छु ।’

आगामी १५औं महाधिवेशनबाट आफू बाहेक अरु कुनै सभापति बन्ने भएकाले द्विविधा नपर्न आग्रह गरेका छन् । देउवा जेनजी विद्रोहपछि मंगलबार सार्वजनिक भएका हुन् । आजको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले भदौ २४ गतेलाई इतिहासकै डरलाग्दो दिन पनि भनेका छन् ।

‘गत भाद्र २३ गते जेनजीको शान्तिपूर्ण प्रदर्शनको क्रममा घुसपैठ भयो र प्रदर्शनले अर्कै रुप लियो निर्दोष नव युवकहरूको ज्यान गयो । यस घटनाले म र हामी सबैलाई अत्यन्तै मर्माहित बनाएको छ,’ उनले भने, ‘यसबाट अकल्पनीय जनधनको क्षति भयो । सम्भवतः यो नेपालको इतिहासमै एउटा डर लाग्दो दिनको रुपमा लिपीबद्ध हुनेछ ।’

हेर्नुस् देउवाको सम्बोधन

 

 

पाँच पटक प्रधानमन्त्री भएँ, तर एक कार्यकाल पनि पुरा चलाएको छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन् । आज (मंगलबार) सानेपामा केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति देउवाले धेरैले आफूलाई पटक–पटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन् ।

‘पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,’ उनले भने । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको पनि बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए । ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने । उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए । सभापति देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका हुन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवामाथि आक्रमण गरेका थिए ।

 

 

मधेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन आज सांसद बैठक बोलाइएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन् । जेन–जी आन्दोलनको क्रममा २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा दिएका मुख्यमन्त्री सिंहले आज प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंह नेतृत्वको सरकार आफ्नै पार्टी जनमत र सत्ता सहयोगी दल नेकपा एमाले र नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको थियो । पार्टीले पटक–पटक राजीनामा दिन दबाब दिए पनि मुख्यमन्त्री सिंहले संघीयता र संविधानको रक्षाको लागि आफूले त्यतिबेला राजीनामा नदिएको बताउने गरेका थिए ।

पदबाट राजीनामा घोषणा गर्नुअघि उनले सरकारमा हुँदा जनमत पार्टीले गरेको असहयोग र राजीनामा प्रकरणबारे कडा रुपमा संकेत गरेका छन् । उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे । बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट राख्दा यस विषयमा पार्टी केन्द्रीय अध्यक्ष डा. सीके राउतलाई गुनासो गर्दा समेत उनले बजेट राख्नेलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

 

 

 

घरमा सँधै एकै जना मुली रहँदैन, १५औं महाधिवेशनबाट विदा लिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५ औं महाधिवेशनबाट विदा लिने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन् ।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन । जहाँसम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने ।

१५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे । जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्। १४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।

भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्नुपर्छ, निर्वाचनको वातावरण बनेको छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन् । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् । पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन् । बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन् ।

‘निर्वाचनका लागि भयरहित वातावरण बनिसकेको छैन’

सभापति शेरबहादुर देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन् । ‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’

देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन् । केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए । ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार बैठकमा भने । उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए ।

उनले नियमित महाधिवेशन हुने पनि बताए । उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका थिए । ‘पाँच पटक प्रधानमन्त्री भएँ । पाँच वर्ष पनि चलाउन पाइन,’ उनले भने । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुरमा जाने तयारी गरेका छन् ।

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि…

चितवन । चितवनको कालिका नगरपालिका–६, सिमलघारी टोलमा सोमबार (असोज २७) मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि उनीहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए । घटना विवरणानुसार, नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा उनीहरू चोरी गर्न आएका थिए । खतिवडासँग जम्काभेट भएपछि उनीहरू आफूलाई प्रहरी भन्दै उम्किएका थिए ।

खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लगाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौँ । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’ ‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चिज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ, अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरन्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासी नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर ! भन्ने सम्झेँ । तर, बोल्न सकिनँ ।’

ती व्यक्तिले ‘यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे, कहाँ छ ?’ भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए । भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्कंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए। उनीहरूले आफूहरू प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएका उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए । राति नै प्रहरीलाई खबर गरी घटना विवरण सुनाएको उनले जानकारी दिए ।

मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखिएको खतिवडाले बताए । उनका अनुसार, नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन गरिएको जानकारी दिए । घटनाको अध्ययन थालिएको उनले बताए । उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले उल्लेख गरे । जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले फरार कैदीबन्दी हुन सक्ने आशंकाबीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’ चितवनसहित देशका धेरै कारागारबाट ठूलो संख्यामा कैदीबन्दी फरार रहेका छन् । रासस

 

 

 

जेनजी आन्दोलनपछि देउवा दम्पती पहिलो पटक सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिको बैठकमा सहभागिताका लागि सानेपामा पुगेका छन् । उनले कांग्रेस केन्द्री समिति बैठकमा लिखित सम्बोधन गर्न थालेका छन् । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् । बुढानीलकण्ठस्थित आन्दोलनकारीको कुटपिटमा परेका देउवा आजभन्दा अघि सार्वजनिक रूपमा देखिएका थिएनन्।

नेपाली सेनाले बुढानीलकण्ठबाट उनीसहित पत्नी आरजु राणा देउवालाई उद्धार गरेर लगेको थियो । सुरक्षाको कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको पछि पत्रकार सम्मेलनमार्फत कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए ।

पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिवले फर्काए सरकारी गाडी

काठमाडौं । पूर्व सभामुख तारानाथ रानाभाट र सभामुख देवराज घिमिरेका स्वकीय सचिव तेजप्रकाश भट्टराईले सरकारी गाडी फिर्ता गरेका छन् । संसद सचिवालयले पूर्व सभामुख रानाभाट र सभामुखका स्वकीय सचिव भट्टराईलाई गाडी सुविधा दिँदै आएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार पूर्व सभामुख रानाभाटले पूर्व विशिष्ट पदाधिकारीको हैसियतमा गाडी प्रयोग गर्दै आएका थिए ।

तर नयाँ मन्त्रिपरिषदले पूर्व विशिष्ट पदाधिकारीहरूको सवारी सुविधा खारेज गर्ने निर्णय गरेको थियो । सुरूमा गाडी फिर्ता नगर्ने र कानुनी प्रक्रियामा जाने बताएका रानाभाटले पछि गाडी फिर्ता गरेको सचिवालयले जनाएको छ । सभामुखका स्वकीय सचिव भट्टराईले तजबिजीमा गाडी प्रयोग गर्दै आएका थिए । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालका स्वकीय सचिव विष्णु सापकोटाले गाडी फिर्ता गरेलगत्तै सभामुखका स्वकीय सचिव भट्टराईले पनि गाडी फिर्ता गरेको संसद सचिवालयले जनाएको छ ।

‘अहिलेसम्म २० वटा गाडी फिर्ता भएका छन्,’ सचिवालयका एक अधिकारीले भने, ‘हाम्रा सबै गाडी फिर्ता गर्ने काम भएको छ ।’ अन्तरिम सरकारले मन्त्रिपरिषदको निर्णयका आधारमा सांसदहरूले पाउने स्वकीय सचिवसहित पूर्व विशिष्ट पदाधिकारीको सुविधा खारेज गर्ने निर्णय गरको थियो । यसअघि नै पूर्व सभामुखहरू र संसदीय समितिका सभापतिहरूले गाडी फिर्ता गरिसकेका छन् ।

 

 

 

देउवा पहिलो पटक सहभागी हुने सानेपा वैठकमा कडा सुरक्षा, नेताहरुको चहलपहल {तस्वीरहरू}

काठमाडौं । जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवा पहिलो पटक सहभागी हुन लागेको वैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ताको चहलपहल देखिएको छ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ । जेनजी आन्दोलनमा कुटपिटमा परेका सभापति देउवा त्यसयता पहिलो पटक पार्टी बैठकमा सहभागी हुन लागेकाले सुरक्षा कडा बनाइएको हो ।

अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि केन्द्रीय कार्य समिति बैठक पहिलो पटक बस्न लागेको छ । यो केन्द्रीय कार्य समिति बैठकले पार्टीको महाधिवेशनको टुंगो लगाउने छ ।

अहिले पार्टीभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने बहस छ । नियमित महाधिवेशनमा नजाने हो भने विशेष महाधिवेशन गर्नुपर्छ भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियानसमेत चलाएका छन् । जेन–जी विद्रोहपछि बस्न लागेको बैठक भएकाले पनि नेता–कार्यकर्ताले यो बैठकलाई उत्सुकतापूर्वक हेरिएको छ । नेताहरूले दिएको जानकारी अनुसार मंगलबारको बैठक स्थगित गर्ने तयारी गरिएको छ । पार्टी सभापति देउवा आएपछि संक्षिप्त बैठक बस्ने र स्थगित गरिएको जानकारी दिइनेछ । केन्द्रीय समितिमा पेस गर्ने कार्यसूचीमा सभापति र महामन्त्रीबीच कुरा नमिलेपछि बैठक सर्न लागेको हो ।

 

 

कांग्रेसमा महाधिवेशनको दबाब : देउवाको ‘अस्पष्ट’ जवाफ

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रिया सम्बन्धी विवाद चुलिंदै गएको छ । मंगलबार दिउँसो बस्ने भनिएको केन्द्रीय समिति बैठकअघि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर विशेष छलफल भएको छ । भेटमा महामन्त्रीद्वयले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने अथवा त्यसअघि नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने स्पष्ट धारणा राखेका थिए । तर, सभापति देउवाले ठोस उत्तर नदिई ‘सल्लाह गरेर अघि बढौंला’ भन्ने सामान्य प्रतिक्रिया दिएका छन् । भेटमा सहभागी एक नेताका अनुसार देउवाले निर्णय लम्ब्याउने रणनीति अपनाएका छन् ।

एजेण्डाविहीन बैठक र अन्योल
मंगलबारको केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय भइनसकेको बताइएको छ । केन्द्रीय समितिमा एजेण्डा सभापतिको परामर्शमा महामन्त्रीहरूले प्रस्तुत गर्ने चलन छ । तर गगन थापाले सार्वजनिक रूपमा कार्यसमितिको म्याद थप्ने प्रस्ताव आफूले पेश नगर्ने घोषणा गरिसकेका छन् । यसैबीच केन्द्रीय कार्यसम्पादन समिति बैठक उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा लगातार बसे पनि बैठकको एजेण्डा तय गर्न सकेको छैन । मुख्य विवाद मंसिरभित्रै नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमा जाने भन्नेबारे केन्द्रित छ ।

विशेष महाधिवेशनको दबाब चुलियो
महामन्त्री थापा र शर्मा मात्र होइन, नेता शेखर कोइरालाले पनि मंसिरभित्रै महाधिवेशन हुनुपर्ने अडान लिएका छन् । तर देउवा पक्षले निर्वाचन तयारीलाई कारण देखाउँदै महाधिवेशन वैशाखमा सार्नुपर्ने तर्क गरिरहेको छ । यही विवादकै बीच महाधिवेशन प्रतिनिधिहरूबाट विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान तीव्र पारिएको छ । अभियानमा सक्रिय नेता गुरूराज घिमिरेका अनुसार हालसम्म ५४ प्रतिशत बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । ती हस्ताक्षरहरू आजै केन्द्रीय समितिको बैठकअघि बुझाउने तयारी गरिएको छ ।

देउवाको भूमिका अझै अन्योलमा
पार्टीको नेतृत्व निरन्तरता दिने कि नयाँ कार्यवाहक सभापति तोक्ने भन्ने विषयमा पनि देउवाले स्पष्ट संकेत दिएका छैनन् । विशेष गरी जेनजी पुस्ताको भदौ २३–२४ को आन्दोलनपछि देउवा सार्वजनिक रूपमा खासै देखिएका छैनन् । आजको बैठकमा भने उनी सहभागी हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् । यसरी नेपाली कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र कार्यसमितिको म्यादसम्बन्धी बहसले निर्णायक मोड लिँदै गर्दा देउवाको मौनता र महामन्त्रीहरूको आक्रामक शैलीले पार्टीभित्र शक्ति संघर्ष चर्किन सक्ने संकेत देखिएको छ ।

 

 

तेस्रो तिहार ‘फ्लोरा एक्स्पो’ सुरु, ७० स्टल (हेर्नुस् तस्वीरहरु)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आज (मंगलबार) देखि तेस्रो तिहार ‘फ्लोरा एक्स्पो’ सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो । एक्स्पोको प्रवद्र्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।

आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् । मेला ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

राष्ट्र बैंकले यो वर्ष असर्फी नबेच्ने, चाँदीका सिक्का लिन नागरिकता अनिवार्य {तस्वीरहरु}

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ । नेपाल राष्ट्र बैंकले यो वर्षको तिहारमा सुनका असर्फी नबेच्ने भएको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटा मात्र सिक्का किन्न पाइनेछ ।

टक्सार महाशाखाले हिजोदेखि चाँदीका सिक्का बिक्री गरिएको र लक्ष्मी मेडालियन (१० ग्राम) को मूल्य तीन हजार रुपैयाँ तोकिएको जनाएको छ । त्यस्तै गणेश मेडालियन (१० ग्राम), गजलक्ष्मी मेडालियन (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) पनि तीन हजारमा बिक्री गरिँदैछ। सिक्का किन्नको लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्नेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

कर्णाली सरकारले छुट्यायो सहिद स्मृति तथा जीवन निर्वाह भत्ताका लागि पाँच करोड

कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पाँच करोड बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बसेको बैठकले रु दुई करोड ५५ लाख ७२ हजार बराबरको सहिद स्मृति भत्ता र रु दुई करोड २९ लाख ८० हजार बराबरको जीवन निर्वाह भत्ता दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा अख्तियारी पठाउन स्वीकृति दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

त्यसैगरी, उक्त बैठकले आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश ससर्त अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताए ।

कात्तिक ६ गते भाइटीकाको उत्तम साइत कति बजे ?

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए ।

‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन’, उनले भने । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चांग) नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चांग (पात्रो)मा उल्लेख गरेका छन् ।

यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ । रासस

 

विशेष महाधिवेशन माग्दै कांग्रेसमा कतिले गरे हस्ताक्षर ?

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै दुई हजार ४६४ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनीहरुले गरेको हस्ताक्षर पार्टी कार्यालयमा दर्ता गर्ने तयारी छ । विशेष महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले हस्ताक्षर अभियान चलाएका थिए । हस्ताक्षर अभियानमा रहेका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार दुई ४६४ जनाको नामावली अहिले ‘इन्ट्री’ भइसकेको छ । कांग्रेसका चार हजार ३४७ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

‘नियमित महाधिवेशनमा जाने निर्णय गर्ने हो भने त्यहीअनुसार क्यालेन्डर आउनुप¥यो’, उनले भने, ‘होइन भने विशेष महाधिवेशनका लागि हस्ताक्षर प्रयोग हुन्छ ।’ उनका अनुसार ७७ वटै जिल्लाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । ‘कुनै जिल्लाका कम र कुनै जिल्लाका बढी होलान् तर सबै जिल्लाका प्रतिनिधिको हस्ताक्षर रहेको छ’, उनले भने । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियता हस्ताक्षर संकलन भएको हो ।

मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने बताइएको छ । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था छ । मंसिरभित्र नियमित महाधिवेशनका लागि संस्थापन तयार नभए विशेष महाधिवेशन गर्ने गरी महामन्त्री थापा र शर्माले हस्ताक्षर संकलनलाई अभियान बनाएका छन् ।

तीनकुनेमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

काठमाडौं । काठमाडौँको तीनकुनेमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

‘बिलखबन्द’ मा विप्लव : माओवादीसँग एकता कि, आयोगमा दल दर्ता ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक जारी छ । कपिलवस्तुको शिवगढीमा जारी बैठकमा नेताहरुले बोल्ने क्रम चलिरहेको छ । बैठकमा महासचिव विप्लवले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूले अध्ययन गरेर धारणा राखिरहेका छन्।

७७ वटै जिल्लाका जिल्ला इञ्चार्जहरूले पनि धारणा राखिरहेका छन् । नेताहरूका अनुसार माओवादी केन्द्रसँगको एकता कि निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने ‘बिलखबन्द’ मा नेकपाका महासचिव विप्लव रहेका छन् । माओवादी घटकसहित विचार मिल्ने वाम घटकसँग एकता गर्ने गरी एक वर्षअघि नै निर्णय गरेको थियो । एक वर्ष अगाडिको निर्णय कार्यान्वयन हुन नसकेको भनेर कतिपयले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

कतिपयले बदलिएको अवस्थामा वाम एकता गरेर जानु उपयुक्त हुने सुझाएका छन् । बैठकमा नेताहरुले माओवादीसहित विभिन्न पार्टीसँग एकतादेखि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर जानुपर्नेसम्मको सुझाव आएका छन् । माओवादीसँग एकता गर्ने भनिएपछि लामो समयदेखि सहमति जुट्न सकेको छैन । महासचिव विप्लवकै नेतृत्वमा कम्युनिस्ट केन्द्र निर्माण गरेर जानु पर्नेसम्मको विषय उठेपनि केन्द्रीय समिति बैठकले ठोस निर्णय लिने तयारी छ । बैठकमा पार्टीको आन्तरिक संगठनात्मक सुदृढीकरण, जनआन्दोलनको तयारी र राष्ट्रिय राजनीतिमा कम्युनिस्ट शक्तिको भूमिकालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ । केन्द्रीय समिति बैठकअघि विप्लवले स्थायी समिति बैठक बैठक राखेका थिए ।

 

नेपाल वायुसेवा निगमको काठमाडौँ-ग्वाञ्जाओ उडान रद्द

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अक्टोबर १९ को काठमाडौँ–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ । निगमका प्रवक्ता सुवास डाँगीले सोमबार एक विज्ञप्ति जारी गरी नियमित उडान तालिकाबमोजिम १९ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले रद्द गरिएको जानकारी दिए । उक्त उडानको सम्पूर्ण यात्रुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको समेत निगमले जनाएको छ ।

निगमले काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ सेक्टरको नियमित उडान तालिका बमोजिम १६ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ उडानमा ६८ यात्रु र १७ अक्टोबरका लागि ग्वाञ्जाओ—काठमाडौंँ उडानमा ४१ यात्रुहरुको टिकट बिक्री भइसकेको जनाएको छ । यसैगरी, २३ अक्टोबरको काठमाडौँ—ग्वाञ्जाओ र २४ अक्टोबरको ग्वाञ्जाओ—काठमाडौँ उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भइसकेको निगमको भनाइ छ ।

निगमले उक्त उडानमा यात्रु संख्या कम भई रद्द गरिएको भन्ने समाचार केही सञ्चारमाध्यममा प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उक्त गन्तव्य नेपालका लागि नयाँ भएको र सो गन्तव्यको पूर्णरुपमा प्रचारप्रसार भइनसकेको हुँदा यात्रुहरुलाई सुसूचित गर्ने कार्य जारी रहेको निगमको भनाइ छ । निगमले उक्त गन्तव्यमा टिकट बुकिङ बढ्ने क्रम रहेकाले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण सञ्चारजगतलगायत सबैमा अनुरोध समेत गरेको छ ।