`

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि डब्लूएचओको सम्मान

काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले पुर्याएको योगदानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीट्जरल्याण्डमा अवार्ड प्राप्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनको ७८ औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई विशेष अवार्ड प्रदान गरेका हुन् ।

मन्त्रालयले हालै क्यान्सर नियन्त्रणका लागि सुर्तीजन्य पदार्थको बाहिरी भागमा शत प्रतिशत चेतावनी छाप्नुपर्ने प्रावधानसहितको सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१ स्वीकृत गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएको छ ।

जगदम्बा मोटर्सले जेठ ७ देखि भृकुटीमण्डपमा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने

काठमाडौं ।  नेपालमा टिभीएसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्ने भएको छ ।

यही जेठ ७ देखि १२ गतेसम्म काठमाडौँको प्रसिद्ध स्थल ‘भृकुटीमण्डप’ मा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी घर लैजान सक्नेछन् ।

मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले रू. ५,००० बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।

मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन रू. ३०,००० सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले रू. ८,००० सम्मको नगद छुट, रू. १०,००० रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।

मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसीहल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।

जगदम्बा मोटर्सले सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टिभीएस ग्रेट ग्राण्ड एक्सचेन्ज एण्ड फाइनान्स मेलामा सहभागी हुन आग्रह गरेको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले तीन दिन अझै वर्षाको सम्भवना रहेको जनाएको छ ।

अहिले पनि देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षा हुनुका साथै हुरी र चट्याङ परिरहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन माहाशाखाले अनुरोध गरको छ ।

माहाशाखाका मौसमविद् सञ्जिव अधिकारीले आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको र सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिए ।

“हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ”, उनले भने, “जसले गर्दा जुनसुकै समयमा पनि वर्षा भइरहेको छ ।”

उनका अनुसार अहिले प्रि–मनसुनको समयमा खासगरी साँझाको समयमा चट्याङसहितको वर्षा हुनेगर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

देशका केही स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।

महिमानसिंह विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कारागार चलानको पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ परेका थिए ।

उनीविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

अपाङ्गमैत्री रङ्गशाला निर्माण गर्छौंः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेदकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने बताएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले दशरथ रङ्गशाला, पोखरा र कर्णाली प्रदेशको सुर्खेत रङ्गशाला अपाङ्गमैत्री निर्माण गरेको जानकारी दिए ।

उनले आगामी दिनमा निर्माण हुने खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।

पारा खेलका लागि विभिन्न राष्ट्रियस्तरको प्रतियोगिता गराउँदै आएको जनाउँदै मन्त्री चौधरीले पारा खेलाडीहरूको हौसलाका लागि अन्य खेलाडीसरह पुरस्कारको समान व्यवस्थामा गरिने जानकारी दिए ।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने विषयमा बजेट अभावको कारण तत्काल प्रदान गर्न नसकेको स्वीकार्दै बजेट व्यवस्थापनको लागि हरसम्भव प्रयत्न भइरहेको बताए ।

त्यसअघि जगप्रसाद शर्माले पारा ओलम्पिक खेलमा सरकारले अहिलेसम्म कुनै पनि लगानी नगरेको, देशैभरि एउटा पनि अपाङ्गमैत्री रङ्गशाला बनाउन किन पहल नगरेको भन्ने प्रश्न राखेका थिए ।

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौं।  सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ। सोमबार एक कार्यक्रमका बीच खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी वितरण शुभारम्भ गरे।

मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि सिंहदरबारभित्र जार र बोतलको पानी विस्थापित हुने बताए। सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने उनको भनाइ थियो।

कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेललगायतको सहभागिता रहेको थियो।

आगामी आम निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी लाग्नुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुमत आउनेगरी लाग्न उत्पीडित तथा जातीय समुदायलाई आग्रह गरेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताए ।

‘समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रूपमा विकसित गर्न हामी लाग्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरूले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुश्मन हो । विपक्षीहरूले जनतामा हाम्राविरुद्ध भ्रम फिजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे ।

बेपत्ता आयोगले तीन वर्षमा पायो पदाधिकारी

काठमाडौं । ‘मर्यादाका लागि सत्य, तथ्य, न्याय र परिपूरण’ को मर्मसहित स्थापना भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले करिब तीन वर्षपछि तेस्रो कार्यकालका लागि पदाधिकारी पाएको छ ।

तत्कालीन विद्रोही माओवादी द्वन्द्वका क्रममा बेपत्ता भएका व्यक्तिको छानबिनका लागि गठित यस आयोग विसं २०७९ साउन १ देखि पदाधिकारीविहीन थियो । द्वन्द्व अन्त्य गर्ने सिलसिलामा महत्त्वपूर्ण मानिएको यस आयोगको गठन विसं २०७१ मा भएका थियो ।

आयोगका नवनियुक्त अध्यक्ष लीलादेवी गड्तौलाले भद्रकालीस्थित कार्यकक्षमा पदबहालीपछि सङ्क्रमणकालीन न्यायको मर्म र भावनाअनुरूप पीडितलाई न्याय दिलाउने विषयलाई केन्द्रमा राखेर सामूहिक जिम्मेवारीका आधारमा कार्य सम्पादन गरिने बताइन् ।

उनले भनिन्, ‘टिम वर्कको जिम्मेवारी भएकाले सदस्य र विज्ञहरूको राय, परामर्श र सल्लाहका आधारमा बाँकी काम अघि बढाइनेछ, आयोगको कार्य सम्पादन गर्ने सन्दर्भमा आउन सक्ने चुनौतीलाई हटाएर अघि बढ्न र जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरिनेछ ।’

आयोगका सदस्यहरू गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौँ) र विनिता नेपाली (कास्की) ले पनि आजै पदबहाली गर्नुभयो । आजै प्रधानन्यायाधीशबाट शपथ लिएका उनीहरूको कार्यकाल चार वर्षको हुनेछ ।

विसं २०५२ फागनु १ देखि सुरू गरेको दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका सन्दर्भमा सत्यतथ्य पत्ता लगाउने उद्देश्यले आयोग गठन भएको हो । आयोगलाई बेपत्ताको छानबिन, परिपूरण, आगामी दिनमा त्यस्ता द्वन्द्व पुनः नदोहोरिन राज्यका चाल्नुपर्ने कदमका बारेमा सुझावसहितको प्रतिवेदन दिने कार्यदेश छ ।

विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच भएको सशस्त्र द्वन्द्व विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि अन्त्य भएको थियो ।

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका छानबिन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोगमा यही वैशाख ३० गते पदाधिकारी नियुक्ति गरेको थियो ।

आयोगका प्रवक्ता कविराज पौडेलका अनुसार आयोगमा तीन हजार २८८ उजुरी परेका थिए । त्यसमध्ये ७४६ तामेली, फछ्र्याैट र फरफारक भएका छन् । आयोगमा अझै दुई हजार ५४३ निवेदन फछ्र्यौट गर्न बाँकी छ । त्यसमा दुई हजार ५४७ व्यक्ति हराएको भन्ने दाबी गरिएको छ ।

आयोगमा नयाँ पदाधिकारी नियुक्तिको तीन महिनाभित्र कुनै कारणले वा काबुबाहिरको परिस्थितिले विगतमा उजुरी दिन छुटेको रहेछ भने त्यसको आधार र कारणसहित निवेदन दिन पाउने व्यवस्था छ ।

प्रधानन्यायाधीशद्वारा संक्रमणकालीन न्यायका दुई आयोगका अध्यक्षलाई शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापालाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा सोमबार आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश राउतले दुवै आयोगका अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रधानन्यायाधीशले आयोगका दुई अध्यक्षलाई शपथ ग्रहण गराएपछि अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यलाई पद तथा गोपनीयताका शपथ ग्रहरण गराएका छन् ।

सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा थापा तथा सदस्यमा अचुतप्रसाद भण्डारी, डा टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा छन् ।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा गड्तौला तथा सदस्यमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य छन् ।

मन्त्रिपरिषद्को बैठकले यही जेठ १ गते दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिम गठित सिफारिस समितिको सिफारिसबमोजिम दुवै आयोगका अध्यक्ष र सदस्य नियुक्त भएको थियो ।

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवं समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताए ।

उनले सम्पूर्ण नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने दाबी समेत गरे ।

मन्त्री खडकाले भने, ‘विधेयकले जलको लाभ र हानिको विषय समेटेको छ । आयोगले विधेयक पारित भएपश्चात् विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्नेछ, यसले जलको न्यायोचित बाँडफाँटमा सहयोग पुग्नेछ ।’

यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, डा अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले धारणा राखेका थिए ।

शेयर बजारमा सात अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको दोस्रो सोमबार शेयर बजार नेप्से १९ दशमलव ३० अङ्क अर्थात् ०.७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८ मा किनबेच भएका छन् ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सिन्धु विकास बैंक र ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले उकालो लागेको छ ।

साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी छ्याङदी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ४०, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चार दशमलव ३९ प्रतिशतले घटेको छ ।

आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने जानकारी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री सुडीले आव २०८२/८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्। आव २०७९/८० को बजेट वक्तव्यअनुसार हाल सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ।

सामाजिक सुरक्षा ऐन, २०७५ को दफा ४ मा दलित र एकल महिला ज्येष्ठ नागरिकले ६० वर्ष उमेर पूरा गरेपछि र अन्य ज्येष्ठ नागरिकले ७० वर्ष उमेर पूरा गरेपछि सामाजिक सुरक्षा भत्ताका रूपमा सरकारले तोकेको बमोजिमको ज्येष्ठ नागरिक भत्ता पाउने व्यवस्था रहेको छ।

बैठकमा सांसद प्रेम सुवालको प्रश्नको उत्तर दिँदै मन्त्री सुडीले गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई समाज कल्याण परिषद्मार्फत एक द्वार प्रणालीबाट परिचालन गर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले नेपाल राष्ट्र बैंकलाई पत्र लेखी परिषद्को स्वीकृति प्राप्त गरेका परियोजनाको मात्र रकम परिचालन गर्ने/गराउने कार्यमा सहजीकरण गर्न अनुरोध गरिएपछि परिषद्को दायरामा आउने संस्थाको संख्या बढ्दै गएको जानकारी दिएका छन्। तर, पूर्ण रूपमा गैरसरकारी संस्था उक्त प्रक्रियामा आउन नसकेको उल्लेख गरेका छन्।

मन्त्री सुडीका अनुसार राष्ट्रिय गैरसरकारी संस्थाद्वारा सञ्चालित परियोजना आव २०८०/८१ मा १ हजार ३०४ संस्थाको २ हजार ८४ परियोजना सञ्चालनमा थिए। यस्तै, चालु आवको चैत मसान्तसम्म १ हजार ३२४ संस्थाको १ हजार ८३३ परियोजना स्वीकृत भएका छन्। गत आवमा ४४ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको र चालु आवको वैशाखसम्म २० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको परियोजना सम्झौता भएको छ।

मन्त्री सुडीले सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदा, चन्द्र सदा लगायत दलित परिवारको नागरिकता नहुँदा ७२ वर्षको उमेरमा पनि ज्येष्ठ नागरिक भत्तालगायत राज्यबाट प्राप्त हुने अन्य सुविधा उपलब्ध नभएकोबारे सदनलाई जानकारी दिएका छन्।

‘यी व्यक्तिले भत्ता प्राप्त गर्न नसक्नुको कारण नागरिकता प्रमाणपत्र नहुनु हो। नागरिकता प्रमाणपत्र नहुने व्यक्तिले सामाजिक सुरक्षा परिचय प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था छ,’ उनले भने ।

त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए।

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे । यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिए ।

दैलेखमा प्रचण्डद्वारा पत्रकार डेकेन्द्र थापाको परिवारसँग भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्र थापाको सालिकमा सोमबार माल्यार्पण गरेका छन् । माल्यार्पणअघि प्रचण्डले उनको घरमा पुगेर आमा र परिवारका सदस्यसँग कुराकानी गरेका थिए ।

पत्रकार थापालाई द्वन्द्वकालमा माओवादी मिलिसियाले अपहरण गरेर लगेपछि २०६१ साउन २७ गते द्वारी–१ स्थित नेरा निम्न माध्यमिक विद्यालयको कक्षाकोठामा हत्या गरेका थिए । थापाको कंकाल घटनाको चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो ।

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

गाजा  । गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सेनाले आक्रमण तीव्र पारेको गाजाका उद्धारकर्ताहरूले बताएका छन् ।

गाजाका नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले गाजाको मुख्य सहर र वरपर निरन्तर आक्रमणहरू भएको र खान युनिसमा ११ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताएका छन् ।

जबलिया सहरको पश्चिममा रहेको बजार नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको उनले बताएका छन् ।

मध्य गाजाको नुसेइराटस्थित पसलमा भएको हवाई आक्रमणमा एउटै परिवारका तीन जनाको मृत्यु भएको र उत्तरी गाजा सहरको एउटा पसलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।

बेइत लाहियाको अस्पतालमा पनि मृत्युको खबर आएको तर निरन्तर भएको बम विष्फोटका कारण शव उद्धार हुन नसकेको बासलले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनालाई घेराबन्दी गरेको आरोप लगाउदै अस्पताललाई सेवा प्रवाहमा असर पारी सेवा ठप्प पार्न बाध्य पारेको जनाइएको छ ।

इजरायली सेनाले सोमबार आफ्नो पछिल्लो तीव्र अभियान ‘सम्पूर्ण गाजा पट्टीमा सञ्चालन’ गरिरहेको बताएको छ ।

गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलको स्वीकृति

गाजा । दुई महिनाभन्दा लामो नाकाबन्दी हटाउन बढ्दो दबाबको सामना गरेपछि इजरायलले गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न प्रवाह’ लाई अनुमति दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

पछिल्लो पटक गाजामा सेनाले अपरेसन अभियान सुरु गरेको घोषणा गरेको केही समयपछि इजरायल र हमासले युद्ध रोक्नको लागि छलफल गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सेनाको सिफारिसमा ‘गाजामा भोकमरीको अवस्था आउन नदिन’ इजरायलले जनताका लागि आधारभूत खाद्यान्न प्रवेशलाई अनुमति दिने जनाएको छ ।

इजरायलले आफ्नो नाकाबन्दी प्यालेस्टिनी अतिवादी समूहबिरूद्ध भएको बताएको छ, भने संयुक्त राष्ट्रसङ्का निकायहरूले खाना पानी, इन्धन र औषधिको गम्भीर अभावको चेतावनी दिएका छन् ।

इजरायलका सहयोगीसमेत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धेरै मानिसहरू भोकबाट गुज्रिरहेको र हामीले उक्त क्षेत्रमा हेरविचार गर्न गइरहेको बताएका थिए ।

फ्रान्सेली विदेश मन्त्री जाँ–नोएल ब्यारोले इजरायललाई ‘तत्काल बिना अवरोध’ सहायताको आपूर्ति पुनः सुरु गर्न अनुमति दिन आग्रह गरेका छन् ।

इजरायली सेनाले गाजा पट्टी, उत्तर र दक्षिणमा स्थलगत अपरेसनहरू सुरु गरेको र प्रमुख स्थानमा सेना तैनाथ गरिएको बताएको छ ।

इजरायलले बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको भन्दै शनिबारदेखि सुरु भएको अभियानमा दुई पक्षले कतारमा अप्रत्यक्ष वार्ता गरेका थिए ।

नेतान्याहुको कार्यालयले भने दोहाका वार्ताकारहरूले लडाइँ अन्त्य गर्ने सम्झौताका रूपमा सबै सम्भावनाहरू समाप्त गर्ने काम गरिरहेको उल्लेख गरेको छ ।

मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका दूत स्टिभ विटकोफ पनि छलफलहरूमा संलग्न रहेका थिए ।

नेतान्याहुको वक्तव्यमा अधियानमा बन्धकहरूको मुक्ति, हमास समूहको निर्वासन र गाजा पट्टीको निशस्त्रीकरण समावेश हुने बताएको छ ।

मार्चमा इजरायलले दुई महिनाको युद्धविराम भङ्ग गरी आक्रमण पुनः सुरु गरेपछि कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्तामा कुनै प्रगति हुन सकेको छैन ।

नेतान्याहूले हमासको पराजयबिना युद्ध अन्त्ये नगर्ने बताएक छन् भने हमासले आफ्ना हतियारहरू बुझाउन अस्विकार गरिरहेको छ ।

हमासले सबै इजरायली बन्धकहरूलाई एकै पटकमा रिहा गर्न इच्छुक भएता पनि इजरायल ‘अस्थायी युद्धविराम’को बदलामा आफ्ना कैदीहरूलाई रिहा गर्न चाहेको जनाएको छ ।

थाइल्याण्डले कर अनिश्चितताको कारण वृद्धिको पूर्वानुमान घटायो

बैङ्कक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएको व्यापार शुल्कको अनिश्चितताका कारण थाइल्याण्डले सन् २०२५ को आर्थिक पूर्वानुमानमा कटौती गरेको वरिष्ठ अधिकारीहरूले सोमबार बताएका छन् ।

वासिङ्टनले प्रस्ताव गरेको विश्वव्यापी ‘पारस्परिक’ करको एक हिस्साको रूपमा थाइल्याण्डले जुलाईसम्ममा कर कटौती गर्न सहमत नभएमा ३६ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

राष्ट्रिय आर्थिक तथा सामाजिक विकास परिषद् (एनईएसडीसी) को कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.१ प्रतिशतले वृद्धि भएको छ ।

यद्यपि, थाइल्याण्डले यस वर्षको वृद्धिको अनुमानलाई २.३ प्रतिशतदेखि ३.३ प्रतिशतबाट १.३ प्रतिशत र २.३ प्रतिशतको बीचमा झारेको छ । एनईएसडीसीका महासचिव दानुचा पिच्याननले सन् २०२५ मा पर्यटकको सङ्ख्यामा आउने अनुमानित गिरावटका साथै शुल्क अनिश्चिततालाई दोष दिएका छन् ।

“व्यापार वार्ता अझै सकिएको छैन र धेरै देशहरू छलफलका लागि लाइनमा बसेका छन्,” उनले एक पत्रकार सम्मेलनमा भने ।

उनले व्यापार वार्ताको नतिजा नआउँदासम्म निजी क्षेत्रले लगानी गर्न ढिलाइ गरेकाले दोस्रो त्रैमासिकमा आर्थिक अवस्था सुस्त हुने सम्भावना रहेको बताए ।

थाइल्याण्डले पनि सन् २०२५ मा चिनियाँ पर्यटकको आगमनको अनुमान तीन करोड ८० लाखबाट घटाएर तीन करोड ७० लाखमा झारेको छ ।

व्यापार समस्या समाधानका लागि बङ्गलादेशले भारतसँग छलफल गर्ने

ढाका । भारतले स्थल बन्दरगाहमार्फत् बङ्गलादेशी निर्यातमा प्रतिबन्ध लगाएपछि देशको अन्तरिम सरकारले भारतसँगको सबै व्यापारिक समस्याहरू समाधान गर्न चाहेको बताएको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारका सल्लाहकारले बङ्गलादेश भारतसँग सबै विषयमा छलफल गर्न चाहेको बताए ।

हालै भारतले बङ्गलादेशबाट सडकमार्फत् तयारी पोसाक (रेडीमेड गार्मेन्ट, आरएमजी) फलफूल/फलफूलको स्वाद र कार्बोनेटेड पेय पदार्थ, बेक गरिएका सामान, स्न्याक्स, चिप्स र कन्फेक्सनरी, कपास र कपासको धागोको अवशेष, प्लास्टिक र पिभिसी तयारी सामान र काठको फर्निचरको आयातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि बङ्गलादेशले भारतबाट स्थलमार्गबाट धागो आयात गर्न प्रतिबन्ध लगाएको थियो । भारतले बङ्गलादेशबाट तेस्रो देशहरूमा सामान निर्यात गर्ने ट्रान्स–शिपमेन्ट सुविधा पनि रद्द गरेको थियो । यसरी दुई छिमेकी देशबीच पारस्परिक व्यापार प्रतिबन्धहरू लगाइँदैछन् ।

“हामीलाई भारतको कदमबारे औपचारिक रूपमा केही थाहा छैन । हामीलाई औपचारिक रूपमा थाहा भएपछि मात्र हामी कारबाही गर्न सक्नेछौँ । कुनै समस्या उत्पन्न भएमा दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन्”, भारतले लगाएको पछिल्लो प्रतिबन्धबारे बङ्गलादेश अन्तरिम सरकारका वाणिज्य सल्लाहकार शेख बशिरुद्दीनले पत्रकारहरूलाई भने, “हामीले सामाजिक सञ्जाल र समाचारबाट थाहा पाएका छौँ कि उनीहरू (भारत) ले स्थल बन्दरगाहहरू, विशेष गरी अखौरा र दावकी बन्दरगाहहरू र केही सीमा क्षेत्रका सम्बन्धमा केही निर्णय लिएका छन् । हाम्रो मुख्य लक्ष्य प्रतिस्पर्धात्मकता हासिल गर्नु हो । यो दुवै देशका लागि लाभदायक विषय हो ।”

“भारत आफैँ कपडा वा कपडा उद्योगमा धनी देश हो भन्ने हामीलाई लाग्छ । त्यसो भए पनि जब यी उत्पादनहरू हाम्रो देशबाट निर्यात गरिन्छ, यो हाम्रो क्षमताहरूमा आधारित हुन्छ । हामी ट्रान्स–शिपमेन्टबाट प्रभावित हुँदैनौँ । हामीले आफ्नै क्षमता प्रयोग गरेर यो समस्या समाधान गरेका छौँ”, उनले भने, “हामी भौगोलिक रूपमा जोडिएको देश भएकाले हाम्रो प्रतिस्पर्धात्मकता, यातायात खर्च र अन्य कारकहरू निश्चित छन् । यस सम्बन्धमा हामी विभिन्न समयमा हाम्रो कृषि उत्पादनहरूको आयातमा प्रतिबन्ध लगाउँछौँ, भारतले पनि गर्दछ । यो व्यापार व्यवस्थापनको एक प्रक्रिया हो र हामी त्यसमा काम गरिरहेका छौँ, यदि त्यहाँ समस्या उत्पन्न भयो वा विकसित भयो भने, दुवै पक्षले छलफल गरेर समाधान गर्ने प्रयास गर्नेछन् ।”

“म उदारवादी व्यापारमा विश्वास गर्दछु । व्यापार मेरो लागि महत्त्वपूर्ण छ । मेरो देशको व्यवसाय र उपभोक्ताहरूलाई सशक्त बनाउन व्यापार समावेशीकरण बाहेक अन्य कुनै मार्ग देख्दिनँ”, बशिरुद्दीनले भने ।

यसअघि शनिबार वाणिज्य तथा उद्योग मन्त्रालयले विदेश व्यापार महानिर्देशालय ९डिजिएफटी० ले जारी गरेको निर्देशनपछि बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानको आयातमा तत्काल स्थल बन्दरगाहमा प्रतिबन्ध लगाएको थियो ।

ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जिटिआरआई) का अनुसार बङ्गलादेशबाट स्थल बन्दरगाहमार्फत् हुने आयातमा भारतले लगाएको प्रतिबन्धले सात करोड ७० लाख अमेरिकी डलर मूल्यका सामानमा असर पर्नेछ । यो कुल द्विपक्षीय आयातको लगभग ४२ प्रतिशत हो ।

यस कदमले विशिष्ट बन्दरगाहहरूमा तयारी पोशाक र प्रशोधन गरिएका खाद्य पदार्थहरू जस्ता उत्पादनहरूको प्रवेशलाई सीमित गर्ने मन्त्रालयको एक आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसलाई व्यापक रूपमा भारतीय धागो, चामल र अन्य सामानहरूमा बङ्गलादेशको हालैको प्रतिबन्धको प्रतिक्रियाका रूपमा हेरिएको छ ।

नयाँ निर्देशिकाअनुसार बङ्गलादेशबाट सबै प्रकारका तयारी पोशाक अब नव सेवा र कोलकाता समुद्री बन्दरगाहहरूमार्फत् मात्र आयात गर्न सकिन्छ । स्थल बन्दरगाहहरूमार्फत् प्रवेश अब अनुमति छैन ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा अनियमितताः सुनील पौडेलसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै पौडेलविरुद्ध सोमबार विशेष अदालतमा अर्को मुद्दा दायर गरेको हो ।

आयोगले पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरुसहित खरिदमा संलग्न कम्पनीले गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

केन्द्रको एनआईटीसी/जीएनसीबी–६–०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र तीन वर्सेको वारेन्टीसहित अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको देखिएको अख्तियारको दाबी छ ।

यो कार्यबाट राज्यलाई ५ करोड ७९ लाख रुपैयाँ बढी भुक्तानी लिई हानी पुर्याएको अख्तियारको दाबी छ । उनीविरुद्ध यसअघि एउटा ठेक्कामा ४ लाख डलरबाट घुसको बार्गेनिङ सुरु गरी २ लाख ८० हजारमा पक्का गरेको पाइएको भन्दै मुद्दा दायर भइसकेको छ ।

हिंसालाई धर्मसँग जोड्न नसकिने गृहमन्त्रीको भनाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँगको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसालाई धर्मसँग जोड्न नसकिने बताएका हुन् ।

उनले भने, ‘हामी सबै धर्मप्रति सम्मान र मर्यादा गर्दै आ–आफनो धर्म मान्ने र अर्काको धर्ममा अवरोध नगर्ने पद्धति अपनाउँछौं । कुनै पनि धर्मलाई आफ्नो राजनीति अभिष्ट पूरा गर्नलाई प्रयोग गर्नु हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निम्ति प्रयोग गर्नुहुँदैन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म र आस्थासँग जोड्न मिल्दैन।’

उनले आपराधिक कार्यमा संलग्न जोसुकै भएपनि कडाकारवाही हुने बताए। मन्त्री लेखकले उक्त घटनामा पक्राउ परेकामाथि अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए ।

गृहमन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत रहेको उल्लेख गरे । उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुुरक्षा कोषमा जोड्न बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सहयोगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्ने बताएका छन्  ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बर्तौलाले राज्यका तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा जोड्नका लागि सहलगानीका प्रक्रिया अघि बढाउन माग गरे ।

“अनौपचारिक क्षेत्रका झण्डै ४० लाख श्रमिकलाई कोषमा जोड्न सहयोगदानमा आधारित प्रक्रिया अघि बढाउनुपर्छ”, उनले भने, “त्यसका लागि प्रत्येक महिना श्रमिक वा योगदानकर्ता र सरकारले रकम जम्मा गर्ने प्रावधानअनुसार हुनुपर्छ । यसले श्रमिक आत्मनिर्भर र स्वरोजगार बन्न सहयोग पुग्छ ।”

उनले हुम्लाको तिलगाउँमा हिमताल फुटेर गएको पहिरोबाट त्रासिद बासिन्दाको तत्काल उद्धार, पुनःस्थापनाका लागि आवश्यक संयोजन र आवश्यक राहतको व्यवस्था सुनिश्चित गर्न सरकारको ध्यानार्कषण गराए।

“यस्तो प्रकृतिको घटना देशका अन्य ठाउँहरूमा पनि अब क्रमशः हुनसक्छ । सरकारको पूर्वसावधानी र पूर्वतयारी प्रभावकारी ढङ्गबाट हुनुपर्छ”, सांसद बर्तौलाले भने ।

मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छः अध्यक्ष प्रचण्ड

दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गरेका छन् ।

अध्यक्ष दाहालले ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई पालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई सम्मान गरेका हुन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ । उक्त सम्मान अध्यक्ष दाहालले प्रदान गरे ।

सो अवसरमा अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे । उनले भने, ‘यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ ।’

उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी काममा अब ढिलाइ हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो ।

यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।

भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।

उनले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट पछाडि फर्कने कुनै सम्भावना नरहेकाले अबको गन्तव्य नेपालको स्थायित्व र समृद्धि रहेको स्पष्ट गरे ।

‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने भावलाई आत्मसात् गर्दै नेपालको भारत र चीन दुवै छिमेकीसँग नजिकको सम्बन्ध रहने र अन्य मुलुकसँग मित्रवत् सम्बन्ध रहने स्पष्ट गरे ।

उनले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागिताका लागि सबैलाई धन्यवाद दिँदै हिमालदेखि समुद्रसम्मको अवधारणालाई महत्त्व दिँदै यस शृङ्खलाको निरन्तरता हुने बताए ।

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण भई सम्बद्ध पक्षको परामर्शसमेतका आधारमा दुई आयोग गठन भएकाले अब काममा ढिलाइ नहुने विश्वास व्यक्त गरे ।

युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए ।

उनीहरूले नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा लान थालेका खुसी व्यक्त गर्दै पीडितका मुद्दालाई केन्द्रमा राख्न आग्रह गरेका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीलगायत सहभागी थिए ।

कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी

 

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद केसीले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् ।

सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्याउन सहज हुने बताए ।

उनले मन्त्रिपरिषद् पनि संविधान अन्तरगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट बढाउन माग गरे ।

केसीले कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै खाद्यान्नमा आत्मनिर्भर बन्न सरकार गम्भीर हुनुपर्ने बताए । ‘अहिले कृषि क्षेत्रमा विनियोजन भएको तीन दशमलव ३६ प्रतिशत बजेटलाई कम्तीमा पाँच प्रतिशत पुर्याउनुपर्छ’, उनले भने ।

उनले किसानलाई आवश्यक मल समयमा उपलब्ध गराउन खरिदको प्रक्रिया समयमा नै थाल्न समेत सरकारको ध्यानार्कषण गराए ।

‘वितरणमा अवैज्ञानिक प्रणालीले वास्तविक किसानसम्म मल नपुग्ने समस्या छ’, सांसद केसीले भने, ‘युएसएडमार्फत आएको ८७ अर्बमध्ये अधिकांश बजेट कृषि क्षेत्रमा पर्छ, त्यसतर्फ गम्भीर हुनुपर्छ ।’

कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले विगत पाँच वर्षमा वितरण गरेको अनुदानबारे छानबिन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै सांसद केसीले त्यसबारे सदनलाई जानकारी दिन माग गरे ।

उनले किसानलाई समयमा मल उपलब्ध गराउन समयमै खरिद प्रक्रियाको तयारीबारे समेत ध्यानार्कषण गराए । उनले झण्डै आठ लाख मेट्रिक टनको मल आवश्यक भए पनि चार लाख मेट्रिक टन मात्र मल उपलब्ध हुने भन्दै किसान मर्कामा परेकोतर्फ समेत ध्यानार्कषण गराए ।

 

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसद खतिवडाको माग

काठमाडौँ । गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखामा समातिएको सुनमा चालकमात्र समातिएको, त्यसका साहु को हो ? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गरे । आइतबार पनि रसुवामा अवैध रूपमा ओसारपसार भइरहेको सुन समातिएको थियो ।

धेरै पैसा लिएर महिला कामदारलाई हाउस मेडका रूपमा विभिन्न देश पठाउन थालिएकाले कानुन बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्न पनि उनले माग गरे ।

न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ रहेनः सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद झाले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘गृहमन्त्री रवि लामिछाने आएपछि सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको संचारमाध्यमले बताउँदै आएका छन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट ? राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो ?’

उनले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहीँकतै नरहेको बताए ।

उनले भने, ‘आज न्यायालयहरुले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ ।’

नेपाल पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबलमा छनोट

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबलमा छनोट भएको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईमाथि ५ विकेटको जित निकाल्दै नेपालले एसिया छनोट पार गरेर ऐतिहासिक सफलता हासिल गरेको हो ।

यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रनको महत्वपूर्ण पारी खेलिन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो ।

नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिइन् ।

अब नेपालले मंगलबार थाइल्याण्डसँग अन्तिम खेल खेल्नेछ । त्यस खेलको नतिजा जस्तो भएपनि नेपालको ग्लोबल छनोट यात्रा सुनिश्चित भइसकेको छ।

वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षायाममा हुनसक्ने पहिरोको समस्या पहिचान गरी समाधानका काम सुरु गरिएको छ । गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इञ्जिनिएर नारायण लामिछानेका अनुसार संवेदनशील ठाउँहरुमा पहिरो नियन्त्रणका काम भएका छन् । गत वर्ष घटना भएको सिमलतालको माथिल्लो भागमा लेदो बगेर नआओस् भन्नका लागि ससाना ‘चेक ड्याम’ निर्माण गरिएको उनले बताए । यस्तै मौरी खोला पुलको माथिल्लो भागमा पनि चेक ड्याम र खोल्सो बनाउने (लाइनिङ) को काम भएको छ ।

कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरुमा पनि आवश्यकताअनुसार पहिरो रोकथामका काम भएको उनले बताए । उनले भने, “यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौँ ।” पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनी बताउँछन् ।

कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उनले जानकारी दिए । यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पहिरो नियन्त्रण र पहिरो खसिहालेमा तत्काल पन्छाउनका लागि आवश्यक तयारी गरिएको बताए ।

उनका अनुसार डिभिजन सडक र सुरक्षा निकायका अधिकारीहरुको बीचमा यसअघि छलफल गरी तयारीको काम सुरु गरिएको छ । गत वर्षको असार २८ गते दुई वटा रात्रि बस बगाउँदा ६२ जना हाराहारीलाई बगाएको थियो । तीमध्ये कतिपय अझै बेपत्ता छन् । ती दुई बस समेत फेला परेका छैनन् ।

सिमलतालमा बेपत्ता बसका ३९ यात्रु अझै भेटिएनन्

गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् ।

दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता छन् । तीमध्ये सात जना भारतीय यात्रु रहेकोमा दुई जना मृत फेला परेका थिए भने चार जना अझै बेपत्ता छन् ।

त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।

उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस बस फेला पार्न सकेका थिएनन् । त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस फेला नपरेका हुन् । कतिपय शव त्रिशूली र नारायणीका विभिन्न क्षेत्रबाट फेला परेका थिए । दुई वटा शव भारतमा फेला परेका थिए ।

लमजुङको खुदीबजारमा फुटबल खेलाडी साम्बाको सम्मानार्थ साम्बाचोक स्थापना

काठमाडौं  नेपाली महिला राष्ट्रिय फुटबल टीम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निर्माण गरिएको छ ।

लमजुङको मस्र्याङ्दी  गाउँपालिका –९ स्थित खुदीबजार चोकमा निर्माण गरिएको साम्बा स्तम्भको सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ्गले सोमबार उद्घाटन गरेका छन् ।

नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन् । हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आवद्ध छिन् ।

उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मस्र्याङ्दि  गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा, आश्रित  गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी(साम्बा)का बुवा आमालाई समेत सम्मान गरिएको थियो ।

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औँजार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताए ।

उनका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको थियो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको थियो । बरामद अवैध सामान र कन्टेनरलाई आज आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि पछिल्ला दिन निगरानी बढाएको छ ।

हुम्लाको तिलगाउँका बाढी प्रभावितलाई राहत दिन सांसद लामाको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामाले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद लामाले हिमताल फुटेर आएको पहिरोका कारण स्थानीय जोखिममा रहेका भन्दै उद्धारका लागि सरकारको ध्यानार्कषण गराएका हुन् । अठार परिवारका ३२ जना हाल नजिकैको बारीमा त्रिपालको सहारामा बसिरहेको उनले सदनलाई जानकारी दिए ।

“पहिरोपीडिहरु असाध्यै अप्ठ्यारो र त्रसित अवस्थामा छन्”, सांसद लामाले भने, “उनीहरुको तत्काल उद्धार गर्दै उक्त स्थानमा सरकारले निरीक्षण, संरक्षण र आवश्यक राहत उपलब्ध गराउन ध्यानार्कषण गराउँछु ।”

तिलगाउँमा यही जेठ १ र २ गते गएको पहिरोले १८ परिवार जोखिममा रहेका छन् । यही जेठ १ गते मध्यराति गएको पहिरोबाट १८ परिवार जोखिममा रहेका बताइएको छ ।

सांसद लामाले हिमाल नजिकका बस्तीहरु दैवी प्रकोपको जोखिममा रहेकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानार्कषण गराए ।

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी–डम्पिङ शुल्क

बेइजिङ  । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ ।

नयाँ शुल्कले कारका पार्ट्स, मेडिकल उपकरण र घरेलु उपकरणहरूमा प्रयोग हुने सामान्य प्लास्टिक पोलिफर्मल्डिहाइड कोपोलिमरको आयातलाई लक्षित गर्दछ ।

वाणिज्य मन्त्रालयले जनाए अनुसार ती शुल्कहरू तीन दशमलव आठ प्रतिशतदेखि ७४ दशमलव नौ प्रतिशतसम्म हुनेछन् र भोलिपल्ट लागू हुनेछन् ।

नयाँ शुल्कहरू अमेरिका र चीनले एक अर्काका सामानमा व्यापक कर कटौती गरेको केही दिनपछि आएको छ । विश्व बजार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा हलचल ल्याएको निर्मम व्यापार युद्धमा ९० दिनका लागि अस्थायी रूपमा तनाव कम गरिएको छ ।

बेइजिङले व्यापक व्यापार विवाद भएका देशहरू विरुद्ध बारम्बार एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको छ ।

अप्रिलमा चीनले फ्रान्सको निर्यात–निर्भर कोग्नाक उद्योगमा असर पार्दै इयु ब्रान्डीमा एन्टी–डम्पिङ उपायहरू लगाएको थियो ।

यूएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनायो ।

जसमा कप्तान इशा ओजाको ३९, तीर्था सतिशको २१ र हीना होचन्दानीको २० रनको योगदान रह्यो । नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिएर उत्कृष्ट बलिङ गरिन् ।

उनले ४ ओभरमा २० रन खर्चिइन्। कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट हात पारे । यो खेल दुवै टोलीका लागि जित्नैपर्ने अवस्थामा छ। नेपालले जितेमा एक खेल अगावै ग्लोबल छनोटमा पुग्ने पक्का हुनेछ।

प्रहरी सहायक निरीक्षक कुन्जाङ सगरमाथाको शिखरमा

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् ।

शेर्पा सोमबार बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथको शिखरमा पुगेकी प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राविधिक समस्या देखिएपछि फाप्लु पुगेको समिट एयरको जहाज काठमाडौँ फर्कियो

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए ।

बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो । विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

शिक्षा उपसमितिको प्रतिवेदनले आन्दोलनलाई बिर्सिएको देखियोः शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा शिक्षा उपसमितिको प्रतिवेदन अनुदार भएको टिप्पणी गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले उपसमितिले पेश गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको टिप्पणी गरेका हुन् ।

उनले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी/करार, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षालगायतका शिक्षकलाई सहमति बमोजिम न्याय नगरेको बताए ।

उनले भने, ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले पेश गरेको प्रतिवेदन थुप्रै सवालमा अहिले दर्ता भएको विधेयक भन्दा पनि अनुदार र शिक्षक–कर्मचारी विरोधी भएको देखियो । यसले अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी/करार, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा लगायतका शिक्षकलाई पनि सहमति बमोजिम न्याय गरेन । आवधिक बढुवाको प्रबन्ध पनि चन्द्रमामा दिएको घडेरी जस्तै हुने भयो । सरुवा झन् शिक्षक मारा भयो । अस्थायी अवधि गणनाको समस्या पनि सम्बोधन भएन । विभागीय कार्यबाही जस्ताको तस्ते रहयो । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको समस्या पनि सम्बोधन हुन सकेन । सबैलाई अन्याय गर्न खोजियो । वि.सं.२०७५, २०७८ र २०८० मा भएका सबै सहमतीलाई लत्याइयो । भरखरै भएको २०८१/८२ को आन्दोलनलाई पनि विर्सिएको देखियो । अब झन् दह्रो लडाईं लड्नुको विकल्प छैन ।’

उपसमितिले आइतबार आफ्नो प्रतिवेदन समितिलाई बुझाएको थियो ।

बाइडेनलाई प्रोष्टेट क्यान्सर

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । गतसाता गरिएको परीक्षणमा उनलाई क्यान्सर भएको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी बाइडेनको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं ।’

त्यस्तै पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् ।

बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएको लगभग एकवर्ष पछि आएको हो ।

हुम्लाको नाम्खाका बाढीपहिरो पीडित ३२ जनाको उद्धार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले हुम्लाको तिलागाउँका पहिरो पीडितको उद्धार भइसकेको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकमा दिनेश भट्टले १८ परिवारका ३२ जना सबैलाई सुरक्षित स्थानमा आइतबार नै सारिएको जानकारी दिएका छन् । पहिरो पीडितका लागि आइतबार नै टोली पुगेर उनीहरुको उद्धार गरेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा जेठ एक गते राति साढे १० बजेदेखि बिहान पाँच बजेसम्म लेदोसहितको बाढी आएको थियो ।

बाढीले तिल्चुङ खोलामा रहेका पाँचवटा काठको पुल÷ बाटो सहित बगाएको, १५ किलोवाटको जलविद्युत भवन, कुलोसहित जलविद्युतको मेसिन लगायत भौतिक क्षति भएको तथा सिँचाइ कुलो र खानेपानीसमेत बगाएको भट्टले जानकारी दिए । बाढीका कारण मानवीय क्षति भने नभएको उनले बताए ।

नाम्खाका पहिरो पीडितको उद्धारमा जुट्न सरकारलाई प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लाको नाम्खाका पहिरोपीडितको उद्धार र राहतमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत प्रचण्डले पहिरो पीडित राहत र उद्धारको पर्खाइमा रहेका तर सरकारको उपस्थिति नभएको भन्दै गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भनेका छन्, ‘हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोको जोखिममा रहेको खबरले गम्भीर बनाएको छ। हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेका तर अहिलेसम्म सरकारको उपस्थिति नभएको कुराले झन गम्भीर बनाएको छ। तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गर्दछु।’

उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा

काठमाडौँ । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

वसन्त यामको जारी आरोहणमा एकै दिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको आधारशिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार मौसम अनुकूल भएकाले आइतबार धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार पनि धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेको जनाइएको छ ।

विभागका निर्देशक हिमाल गौतमले भने, ‘मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै सङ्ख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भएपनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।’

निर्देशक गौतमले हालसम्म २०० भन्दाबढीले सगरमाथा आरोहण गरेको र भोलि सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको जानकारी दिए ।

फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा आरोहण गरेकी छन् । श्रेष्ठले आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँ पटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ । श्रेष्ठले गत वर्ष एउटै याममा तीन पटक सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी थिइन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । विभागको तथ्याङ्कअनुसार वसन्त ऋुतमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् ।