`

७१ लाख नगदसहित सिरहाबाट पाँचजना पक्राउ

सिरहा । सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीय किरणकुमारी यादवका साथबाट ५५ लाख र २०० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।

प्रहरीले उनीहरुका साथबाट गत शुक्रबार २१ ग्राम ब्राउन सुगर र ५१ हजार तथा दुई थान मोबाइल बरामद गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको कोठा खानतलासी गर्दा थप ५४ लाख १४ हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

त्यसैगरी, उनीहरुका साथबाट थप १८० ग्राम ब्राउनसुगर पनि फेला परेको थियो । प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढङ्गले नै लागुऔषधको कारोबार गर्दै आएका थिए ।

उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ । अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।

यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई शनिबार सिरहा–२ स्थित महावीर चोकबाट स्रोत नखुलेको १६ लाख ३८ हजारसहित पक्राउ गरेको थियो । प्रहरीले औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

सुदूरपश्चिमका नवनियुक्त उद्योगमन्त्री चौधरीले लिए शपथ

धनगढी । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् । पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए।

विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको एक कोटा खाली थियो । चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका छन् ।

२० लाख भन्दाबढी हुण्डीको रकमसहित काठमाडौंबाट एकजना पक्राउ

काठमाडौं । प्रहरीले हुण्डीको रकमसहित काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार दिउँसो जुद्धसालिकबाट सिन्धुपाल्चोकका संजय बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २० लाख २९ हजार ६ सय बीस रुपैयाँ बरामद गरेको परिसरका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकलाई सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन बजेट पर्याप्त नभएको बताएका छन् ।

राष्ट्रिसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको  बैठकमा उनले बजेट अभावका कारण अतिकम विकसित मुलुकबाट (एलडिसी)बाट स्तरोन्नत हुन सरकारले तयार पारेको ‘सहज रुपान्तरण रणनीति कार्यान्वयन गर्न कठिन भएको बताए। अन्तरनिकाय समन्वय अभावमा एकीकृत रुपमा रणनीति कार्यान्वयन गर्न नसकिएको उनले बताए ।

“अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि हामीले गर्नुपर्ने तयारी र कार्ययोजना कार्यान्वयन गर्न चार अर्ब बराबर बजेट आवश्यक पर्ने देखिन्छ । यसवर्षको हाम्रो बजेट चार करोड मात्र छ । यति रकमले हामीलाई नतिजा प्राप्त गर्न कठिन हुन्छ,” उनले भने । स्तरोन्नतिका लागि सहयोग गर्ने उद्देश्यले तयार पारिएको एकीकृत व्यापार रणनीतिअनुसार सबै मन्त्रालयले आ–आफ्नो क्षेत्रको काम गर्नुपर्नेमा उनले जोड दिए ।

देशलाई विकासशील मुलुकमा स्तरोन्नति गर्न आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनले जोड दिए । “जबसम्म मुलुकको कुल गार्हस्थ्य उत्पादनमा उद्योग र उत्पादन क्षेत्रको योगदान बढ्दैन तबसम्म समस्या रहन्छ,” उद्योगमन्त्री भण्डारीले भने ।

हालसम्म एलडिसीका रुपमा मुलुकले पाइरहेका सुविधा स्तरोन्नतिपछि कटौती हुनेछ । अन्तरराष्ट्रिय व्यापार, विकास सहायता परिचालनलगायत क्षेत्रमा स्तरोन्नति अघि र पछिको अवस्था फरक हुनेछ । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा सबैभन्दा बढी प्रभावित हुने क्षेत्र अन्तरराष्ट्रिय व्यापार हो । एलडीसीका सुविधा कतौती हुँदा देशको निर्यात व्यापारमा चार प्रतिशतको कमि आउने प्रक्षेपण गरिएको उद्योगमन्त्रीले बताए ।

स्तरोन्नतिपछि विश्व व्यापार संङ्गठन (डब्ल्युटिओ) को प्रावधानअनुसार एलडिसीका रुपमा नेपाली वस्तु तथा सेवाले अन्तरराष्ट्रिय बजारमा पाउने प्राथमिकता र सुविधा पाइने छैन । स्तरोन्नतिपछि पनि यस्तो सुविधा नगुमोस् भन्ने उद्देश्यले ‘ड्यटी फ्रि’ ‘कोटा फ्रि’ लगायत सुविधाको निरन्तरताका लागि युरोपेली सङ्घ, टर्कीलगायत देशसँग छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

समितिमा दिइएको जानकारीअनुसार स्तरोन्नतिपछि कृषिजन्य वस्तुको निर्यातमा अनुदान दिन पाइने छैन । गैरकृषिजन्य वस्तुको निर्यातमा दिइने अनुदानमा पनि कटौती हुनेछ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जिएनआई) एक हजार डलरभन्दा कम भएका मुलुकका लागि भने गैरकृषिजन्य वस्तुमा निर्यातमा अनुदान पाउन सक्छन् । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा प्रतिव्यक्ति आयको शर्त पनि रहने भएकाले यो अवस्था स्वतः समाप्त हुनेछ ।

सेवा क्षेत्रमा सरकारबाट पाइरहेको सुविधामा भने यथावत रहने छ । कृषिजन्य वस्तुको देशभित्र हुने आन्तरिक व्यापारमा दिइने अनुदान पनि यथावत रहने छ । गैरकृषिजन्य स्थानीय वस्तुमा भने अनुदान दिन पाइने छैन । स्तरोन्नतिको चरणमा देशले यस्ता अनुदानहरु उपलब्ध गराएको वा नगराएको जानकारी डब्ल्युटिओलाई दिनुपर्नेछ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अनुसार तयारी कपडा, गलैचा र पस्मिना क्षेत्रमा साढे दुई लाख भन्दा बढी कामदार कार्यरत रहेका छन् । निर्यातमा कमी आउँदा क्षेत्रमा मात्र १० हजार ५०० सय श्रमिकले रोजगारी गुमाउने अनुमान गरिएको छ । देशको निर्यात घट्दा आर्थिक वृद्धिदर पनि प्रभावित हुनेछ ।

मुलुकले द्विपक्षीय तथा बहुपक्षिय विकास साझेदारबाट पाइरहेको विकास सहायतामा पनि एलडिसी स्तरोन्नतिको असर पर्नेछ । विकास सहायतासम्बन्धी सुविधाहरुमा कटौती हुनेछ । मुलुकको विकासका ठूला साझेदार एसियाली विकास बैंक र विश्व बैंकलगायत वित्तीय संस्थाले सुविधामा कटौती गर्नेछन् । उदाहरणका लागि एसियाली विकास बैंकबाट नेपालले सहुलियतपूर्ण ऋण पाउँदै आएको छ । जुन ऋण २४ देखि ३२ वर्षमा परिपक्क (म्याचुअर) हुन्छ र यस्तो ऋणमा नेपालले ८ वर्षको ग्रेस अवधि पाउँछ । यस्तो ऋणमा अहिले नेपालले एक प्रतिशत देखि एक दशमलव ५ प्रतिशत ब्याज तिर्दै आएको छ ।

स्तरोन्नती पछि एडीबीबाट नेपालले अधिकतम २५ वर्षसम्मका लागि ऋण पाउँनेछ । जसमा ग्रेस अवधि पाँच वर्षको हुनेछ भने त्यस्तो कर्जाको ब्याजदर कम्तीमा दुई प्रतिशत हुनेछ । त्यस्तै, अर्को ठूलो विकास साझेदारका रुपमा रहेको विश्व बैंकको सुविधाहरु पनि नेपालले गुमाउनेछ । न्युन–मध्यम आय भएको मुलुक भएकाले अन्तर्राष्ट्रिय विकास सङ्गठन (इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन) को सहुलियतपूर्ण ऋण पाउँन छोडिसकेको छ ।

सन् २०२६ सम्म नेपालले विश्व बैंकमार्फत ब्लेन्ड क्रेडिटका रुपमा ३० वर्षको म्याचुरिटी अवधि, पाँच वर्षको सहुलियत अवधि एक दशमलव २५ प्रतिशत ब्याजदरमा पाउँछ । यस्तो ऋणमा शून्य दशमलव ७५ प्रतिशत सेवाशूल्क पनि लाग्नेछ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो स्रोतको निश्चित प्रतिशत अतिकम विकसित मुलुकका लागि उपलब्ध गराउँछन् । स्तरोन्नतिपछि देशले ती शीर्षकको सहायता पाउनेछैन । त्यस्तै, एलडिसी कोषबाट पनि वित्तीय सहायता रोकिनेछ । यद्यपि, युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसिसिसी) अन्तर्गतको वित्तीय सुविधा भने कायम रहनेछ । एलडिसीका रुपमा अन्तरराष्ट्रिय मञ्चहरुमा सहभागी हुँदा पाइरहेका सुविधा र शैक्षिक छात्रवृत्ति पनि

बौद्धिक सम्पत्ति अधिकार प्रभावित हुने अर्को क्षेत्र हो । ‘एग्रीमेन्ट अन ट्रेड रिलेटेड एस्पेक्ट्स अफ इन्टेलेक्चुअल प्रोपटी राइट (ट्रिप्स एग्रीमेन्ट) अन्तर्गतका सुविधा पाइने छैन । औषधिजन्य उत्पादनमा देशका औषधि उत्पादक कम्पनीहरुले प्रयोग गर्दै आएका विदेशी कम्पनीका प्याटेन्ड, डिजाइन, प्रतिलिपि अधिकार र गोप्य सूत्रलालगायत सुविधा कसिलो हुनेछन् । प्रविधि हस्तान्तरणको क्षेत्रमा पनि प्रभाव पर्नेछ ।

स्तरोन्नतिपछि उदारीकरणसँग सम्बन्धित प्रतिवद्धता नेपालले पनि पालना गर्नुपर्नेछ । नेपालले यी सबै समस्यालाई सम्बोधन गर्नेगरी ‘स्मुथ ट्रान्जिसन स्ट्राटेजी’ बनाएपनि त्यसको कार्यान्वयन भने चुनौतीपूर्ण भएको उद्योग मन्त्रालयले जनाएको छ ।

ठूलो परिमाणमा रसुवामा सुन बरामद

काठमाडौं । रसुवाबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले रसुवा नाकाबाट आइतबार दिउँसो ७ किलो भन्दाबढी सुन बरामद गरेको हो ।

स्याउ बोकेको कन्टेनरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले सात किलो ६५३ ग्राम सुन बरामद गरेको जानकारी दिए ।

केरूङबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको कन्टेनरबाट सुन बरामद भएको हो । प्रहरीले सुनसहित कन्टेनर चालकलाई नियन्त्रणमा लिएको छ । नेपालमा सुन तस्करी बढ्दो छ । पछिल्लो समय सुन तस्करीका लागि रसुवा नाका प्रयोग हुँदै आएको छ ।

संसदीय उपसमितिद्वारा शिक्षा समितिलाई विद्यालय शिक्षा विधेयकको प्रतिवेदन हस्तान्तरण

काठमाडौं । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस भएको छ ।

उपसमितिले दवाफार छलफल सकेर आइतबार प्रतिवेदन पेस गरेको हो । उपसमिति संयोजक विश्वकर्माले समिति सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

गत चैत ८ गते नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमिति करिब २ महिना लामो छलफलपछि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाएको हो । उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइए पनि करिब दुई महिनामा काम सकिएको हो ।

विश्वकर्मासँगै उपसमितिमा सांसदहरू डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, बीना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य थिए ।

उपसमितिले आधारभूत तहको कक्षागत तथा विषयत शिक्षकमा शतप्रतिशतसम्म खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्ने गरी कानुन बनाउन प्रतिवेदन तयार गरेको छ ।

आधारभूत तृतीय श्रेणी सत प्रतिशत खुला गर्ने, द्धितिय २० प्रतिशत आन्तरिक र ८० प्रतिशत आवधिक, प्रथम श्रेणीमा १० प्रतिशत आन्तरिक र ९० प्रतिशत आवधिक गर्न सुझाव दिइएको छ ।

त्यस्तै माध्यमिक र विषयगत शिक्षकमा पनि तृतीय श्रेणी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक, द्धितीयमा २० प्रतिशत आन्तरिक, ८० प्रतिशत आवधिक, प्रथम श्रेणीमा १० प्रतिशत आन्तरिक र ९० प्रतिशत आवधिकबाट छनोट गर्न उपसमितिको सुझाव छ ।

प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्र सङ्घको हानी नोक्सानी कोष (फण्ड फर रेस्पोण्डिङ टु लस एण्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृङ्खलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुरक्षा हुने भएकाले यस विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए।

कतिपय ठूला धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र हिमालहरूको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्वको सवाल भएको बताए।

कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकाललगायत सहभागी थिए।

कोप–२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो। कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकासित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहनेछन्।

अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा ढकाल बोर्डको आमन्त्रित सदस्य रहेका थिए।

‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए।

वैदेशिक विकास सहायताको कटौतीले मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा तथा स्वास्थ्यका क्षेत्रमा पर्ने प्रभाव र प्रतिक्रिया विषयक मन्त्रीस्तरीय गोलमेचमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरुको सूचीमा स्तरोन्नतीका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको बताए।

प्रजनन् उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा ५ वर्ष मुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए। उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए।

‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरु प्रभावित हुने देखिएको छ,’ मन्त्री पौडेलले भने, ‘समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ।’

सहयोग र बजेट कटौतीका बावजुद नेपालले आन्तरिक श्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रुपमा रहेको बताए।

मन्त्री पौडेलले विश्वका अल्पविकसित देशहरु सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामाना गर्नका लागि राष्ट्रसंघ तथा दातृ निकायहरुले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे।

मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे प्रस्तुती समेत राखेका थिए। नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास गरे।

स्वीट्जरल्याण्डको जेनेभामा रहेका मन्त्री पौडेलले भोलीबाट शुरु हुने सभाको मुख्य कार्यक्रममा सम्बोधन गर्दैछन्। यसैगरी, विभिन्न राष्ट्रका स्वास्थ्य मन्त्रीहरु तथा स्वास्थ्य सम्बद्ध अधिकारीहरुसँग भेटवार्ता गर्ने मन्त्री पौडेलले युरोपका नेपाली चिकित्सक समुदायसँगसमेत अन्र्तक्रिया गर्ने कार्यक्रम छ।

लमजुङको गुरुङ बस्तीमा घाटुको रौनक

लमजुङ। लोपोन्मुख घाटु नाचलाई गुरुङ संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ । लमजुङको श्रीमञ्ज्याङ, घलेगाउँ, सिउरुङ, सिङ्दी, करापु, भुजुङ, गिलुङ, भुलभुले, खुदी, ताघ्रिङ, घेर्मु, हिलेटक्सार, फलेनी, ढोडेनी, ढगैँ, पाचोक, प्यारजुङ गौँडा, इलमपोखरी, दूधपोखरी, खाँसुरगाउँलगायत गुरुङ समुदायको बाहुल्यता रहेको बस्तीमा अझै घाटु नाच देख्न पाइन्छ ।

वैशाख पूर्णिमाका दिनमा सुरु भएको घाट जारी छ यतिबेला । गुरुङ बस्तीमा साना नानीदेखि वृद्ध आमासम्म सबैले सजिलैसँग घाटु नाच्ने गर्दछन् । तिनैले नाचेको घाटु नाचले गुरुङ बस्तीसम्म पुग्ने सबैको मन लोभ्याउने गर्दछ । हिजोआज गुरुङ बस्तीमा पुग्ने पर्यटकलाई घाटु नाच देखाएर स्वागत गरिने प्रचलन कुनै नयाँ चलन पनि होइन ।

गुरुङ र गुरुङसेनीहरु गाउँमा पाहुना आएपछि हतार हतार गरी सामुदायिक भवनमा गुन्द्री ओछ्याएर घाटु नाच्न थाल्छन् । वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिने प्रचलन गुरुङ गाउँहरूमा रहेको छ ।

गुरुङ संस्कृतिको अमूल्य निधिको रूपमा रहेको यो नाच शास्त्रीय नाच पनि हो । सती र बाह्रमासे गरी यो नाच दुई समयमा नाचिन्छ । सतीघाट श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने यता बाह्रमासे घाटु जुनसुकै समयमा पनि नाच्ने र गाउने गरिन्छ । यी दुवै घाटुको आकर्षण भनेको कुसुन्डा घाटु हो । कुसुन्डाविनाको घाटु नै हुँदैन । गीत र मादलको तालमा नाच्दै गर्दा घाटसरी (घाटु नाच्ने व्यक्ति) हरु बेहोस हुन्छन् भने नाँच्दानाँच्दै बेहोस भएका घाटसरीलाई गीत र मादलको तालले ब्युँउझाउने गरिन्छ ।

नाचमा कम्तीमा दुई र बढीमा तीन जना किशोरी सहभागी गराइन्छ । उनीहरूले शिरमा लाहाको मुकुट, गुन्यु र चोली लगाउने गर्छन् भने दुई घाटसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतीकका रूपमा लिने गरिन्छ । घाट शब्द कसरी नामकरण भयो र यसको अर्थ के हो भन्नेबारेमा खासै भरपर्दो र विश्वासलाग्दो आधार केही पनि छैन । गुरुङ भाषामा घाटु शब्दको अर्थ कतै पनि पाइँदैन ।

नेपाली शब्दकोषमा हेर्दा भने गुरुङ कन्याहरूले गाउँदै नाच्ने एक प्रकारको लोकनृत्य भन्ने उल्लेख गरिएको छ । कसैले घाटली देवीको नामबाट घाट नाम रहन गएको भन्छन् र कसैले घैँटोजस्तो आकारमा नाचिराख्ने भएकाले घैँटो नाच भन्दाभन्दै यसको अपभ्रंश भई घाट भएको किंवदन्ती पनि पाइन्छ ।

गुरुङ जातिको घाट नाच्ने अविवाहित घाटनीले घाटु नाच्ने तीन दिनको अवधिभर लगाएको चुरापोते र कपालको रातो डोरी घाटु नाच सेलाउने अन्तिम दिनमा हिन्दू राजा पर्शुरामका नाममा बनाएको काल्पनिक समाधि (गुरुङ भाषामा चैँदी) मा चढाएर विधुवी भएको नाटक वा रूप धारण गराउने मस्याङ्दी गाउँपालिका–३ स्मृति गुरुङको भनाइ छ ।

गुरुङ जानकारहरुका अनुसार घाटु नाच राजा पर्शुराम र रानी यम्फावतीको कथामा आधारित छ । इतिहासमा यी राजा रानीको उल्लेख नभए पनि गुरुङ जातिले सदियौँदेखि यी राजा रानीसँग सम्बन्धित विभिन्न घटनाक्रमलाई किंवदन्तीका रूपमा आफ्नो संस्कृतिको धरोहरका रूपमा अँगाल्दै आएका छन् ।

जानकारहरूका अनुसार १६औँ शताब्दीतिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जङ्गलको सिकार, पुत्रबढाइँ, लडाइँ र अन्ततः मृत्युसम्मको कथा नै घाटुको विषयवस्तु हो ।

राजा रानीको विवाह, उनीहरुको प्रेम कहानी, शिकार खेल्न गएको प्रसङ्ग, विभिन्न राज्यसँगको लडाइँ, राज्यको रक्षाका लागि राजाले दिएको बलिदानी र रानी सती गएको प्रसङ्ग घाटको कथा सारांश हो । गुरुङ गाउँमा घुम्न आउने पर्यटकहरुको रोजाइमा घाट परेको ढगैँका पूर्णबहादुर गुरुङले बताए ।

उनी भन्छन्, ‘मादलको ताल र टुक्का बिग्रिएमा बेहोस हुन्छन् घाटसरीहरु घाट सुरु हुनुपूर्व देउता बोलाइन्छ । घाटु गुरुहरुले सुरुमा देउचुली, हिमचुली आदि देवीदेउता पुकारेपछि देउता घाटसरीको शरीरमा प्रवेश गर्ने विश्वास गरिन्छ । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरीहरु नाच्ने गर्छन् । यस क्रममा मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुट्यो भने घाटसरीहरु बेहोस नै भइरहने विश्वास छ ।’

देउता चढेपछि घाटसरीहरु बेहोसीमै नाच्ने गर्छन् । यही अवस्थालाई ‘कुसुण्डा’ भनिन्छ । घाटको गीतलाई विशेषगरी चार खण्डमा व्याख्या गरेको पाइन्छ । यसमा जन्मडाँडी, विवाहडाँडी, सिकारडाँडी र कुसुन्डाडाँडी पर्दछन् । यसलाई ‘डाँडी’ पनि भनिन्छ । घाट नृत्य पनि ठाउँ अनुसार फरकफरक रहेको पाइन्छ । तर सबै ठाउँमा नाचिने घाटको कथा भने एउटै हुने घाट गुरुहरु बताउँछन् । घाटसरीहरुको साथमा एक/एक जना सुसारे पनि हुन्छन् । घाट नाचनेहरु रजश्वला भएका, अपाङ्ग तथा अशक्त हुनुहुँदैन भन्ने मान्यता रहिआएको छ ।

विशेष गरेर घाटु नाच पश्चिमाञ्चलको लमजुङ, गोर्खा, तनहँ, कास्की, स्याङ्जाका गुरुङ गाउँहरूमा बढी प्रचलित रहेको छ । यो नाच गण्डकी अञ्चलमा बसोबास गर्दै आएका केही दुरा, मगर र अधिकांश गुरुङ जातिले नाच्दै आएको एक लोकनृत्य हो ।

यसलाई गुरुङ जातिले आफ्नो प्राचीन इतिहास बोकेको संस्कृति नाच ठान्दछ । तर घाटु नाचमा गाउने गीत भने गुरुङ भाषामा छैन र आफ्नो जातीय इतिहास झल्काउने कुनै कथा पनि छैन् । घाटमा गाउने गीतको भाषालाई राम्रो अध्ययन र अनुसन्धान गरेर इतिहास खोज्यो भने सुदूरपश्चिमाञ्चल र भित्रीमधेसमा बस्ने भोजपुरी र थारु जातिको धेरै पुरानो हिन्दू संस्कृति नाच देखिन्छ । किनभने ‘घाट नाचमा गाउने सबै गीतहरू बिहारी, भोजपुरी र थारु भाषामा गाएको पाइन्छ ।

घाटु गीतको भाषा सुन्दा घाटु नाच थालनी भोजपुरी र थारु जातिले नै सुरु गरेको केही जानकारहरू बताउँछन् । घाट स्थापना गर्दा पहिला घाट नाचिसकेको अनुभवी दिदीहरू र घाट गीत गाउने गुरुहरूबाट रजश्वला नभएकी दुई कन्या युवतीलाई नचाउने अथवा सिकाउने प्रचलन छ । हिजोआज कुसुण्डा घाट कमै साथमा मादलको ताल राम्ररी बजाउन सक्नुपर्छ । अन्यथा घाटनीहरू बेहोस भएर ढल्न सक्छन् । लमजुङ जिल्ला गुरुङको उद्गमस्थल मानिन्छ ।

यहाँ गुरुङ समुदायको बाहुल्यता रहको छ । आफ्ना संस्कार संस्कृत जोगाउन कसिएका गुरुङ समुदायले घाटु नाचलाई पनि संरक्षण गर्ने कोसिस गरेका छन् । जिल्लामा बाह्रमासे घाटु बढी नाचिँदै आएको छ । वैशाख पूर्णिमाका दिनमा नाचिने सतिघाट जिल्लामा लोप हुने अवस्थामा छ । ढगैँ, खासुरगाउँलगायत जिल्लाका अधिकांश गाउँमा यस्ता घाटु भने देख्न मुश्किल छ । तर पसगाउँमा भने पूर्णिमा दिनदेखि सुरु भई गत बुधबार बेलुकासम्म चलेको थियो ।

हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा

मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टाँसी’को छायाङ्कन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ । सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर यहाँका तीन स्थानीय तहका विभिन्न स्थानमा फिल्म ‘टासी’को छायाङ्कन गरिन लागिएको हो ।

हलिउडदेखि बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म ‘टासी’को ठूलो जम्बो टोली यहाँ आइपुगेका छन् भने कतिपय आउने क्रममा रहेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले हलिउड फिल्म ‘टासी’ निर्माण गर्न लागेको हो ।

नेपालका विभिन्न जिल्लामा छायाङ्कन गर्ने योजना बनाइरहेको फिल्मको युनिट यतिबेलामा भने छायाङ्कनका लागि यहाँ आइपुगेको छायाङ्कनस्थल सहजकर्ता पाल्गेन गुरुङले जानकारी दिए ।

उनका अनुसार उक्त फिल्मका लागि करिब ३०० भन्दाबढी जनशक्तिसहित ८० बढी कार तथा भ्यान, साना ठूला सामान बोक्ने ट्रक ५० भन्दाबढी र शौचालय, बाथरुम, भान्सा तथा सुत्नेसमेतको व्यवस्था भएका १० भन्दा बढी सवारी साधन मुस्ताङ भित्रिएका छन् ।

उक्त टोली यहाँ आएपछि जोमसोम र पुथाङ विमानस्थलका करिब दुई दर्जन होटल एक महिनाका लागि अग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए । घरपझोङ गाउँपालिका–५ को कुछ्प तेरङ्गा गुम्बा र घरपझोङ–१ को लक्कीमा सो फिल्मको छायाङ्कन हुने सहजकर्ता गुरुङले उल्लेख गरे ।

यसैगरी थासाङ गाउँपालिकाको बोक्सी खोला र बारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान तथा लुप्रा पासमा फिल्मको छायाङ्कन गर्ने योजना रहेको गुरुङको भनाइ छ ।

सगरमाथा आरोही शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, यहाँको जैविक विविधतालगायत परिदृष्य फिल्ममा समेटिने बताइएको छ । मुस्ताङमा यो फिल्म छायाङ्कनका लागि वेडनेस आउटडोर कम्पनीले सम्बन्धित यहाँका स्थानीय तहलाई ‘लोकेशन’ छायाङ्कनका लागि एक हप्ताअघि राजस्व शुल्कसमेत बुझाइसकेको छ ।

जिल्लाका तीन पालिकामा छायाङ्कन हुने फिल्मको युनिट आएसँगै जोमसोमका होटल भरिभराउ भएको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिए । पर्यटन व्यवसायी भट्टचनले राष्ट्रिय गौरवको कोरला सडक सहज भएसँगै मुस्ताङमा हलिउड, बलिउड र कलिउड फिल्म छायाङ्कन गर्नेक्रम बढेको बताए ।

“मुस्ताङमा यस प्रकारका फिल्म छायाङ्कनले यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्ने र फिल्मका माध्यमबाट यहाँको पर्यटन विकास र प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउँछ”, उनले भने ।

मुस्ताङमा सडक सञ्जालको विकास नहुँदाका बखत बलिउड फिल्म ‘खुदा गवाह’ छायाङ्कन भएको थियो । त्यसपछि सबैभन्दा ठूलो लागतको हलिउड चलचित्र ‘टासी’ छायाङ्कन हुन लागेको हो ।

मुस्ताङका धार्मिक तथा पर्वतीय पर्यटन विकासमा यहाँ छायाङ्कन हुने चलचित्रले टेवा पुर्याउने गरेको छ । मुस्ताङमा पछिल्लो १० वर्षको अन्तरालमा दर्जनौँ नेपाली, हिन्दी र अङ्ग्रजी फिल्म छायाङ्कन भइसकेका छन् ।

यसैगरी सट मुभी, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि पनि मुस्ताङ प्रसिद्ध छायाङ्कन केन्द्र बन्दै जान थालेको छ ।

जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो ।

चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव सात प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिको तुलनामा रु ५१ करोड ७४ लाख ९१ हजार राजस्व सङ्कलन गरिएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट रु २८ करोड ६२ लाख ५९ हजार, भडरिया छोटी भन्सार नाकाबाट रु १८ लाख ३६ हजार, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिए ।

कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये दुई सय ९८ वटाको फैसला गरेको उनले बताए । पाँचसय ६५ लिलामीका मुद्दा परेकामध्ये दुई सय ९८ वटाको छिनोफानो गरी रु एक करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य रु नौ करोड १५ लाख ५६ हजार रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये नौ वटाको फैसला भएको छ ।

सशस्त्र प्रहरीको चार सय १७ मध्ये दुई सय एक मुद्दाको फैसला भएको छभने नेपाल प्रहरीको एक सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से ओरालो लागेको छ । आइतबार नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ ।

आज होटल, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार र विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

कर्पाेरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३०९ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भनिएको अनियमितता छानबिन गर्न गठित संसदीय उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् ।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गत गठन भएको उपसमितिको आइतबार बसेको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यसअघि उपसमितिको संयोजक नेकपा एमालेका सांसद योगेश भट्टराई थिए । भट्टराई नेतृत्वको उपसिमितिले भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । आफूमाथि प्रश्न उठेपछि भट्टराईले संयोजकमा नबस्ने घोषणा गरेका हुन् ।

भैरहवा विमानस्थल निर्माण सम्पन्न हुँदा पनि सञ्चालनमा आउन नसकेको तथा निर्माणमा त्रुटि रहेको उजुरी परेपछि सार्वजनिक लेखा समितिले स्थलगत अध्ययन तथा अनुगमन गर्न २०८१ साल जेठ २७ गते उपसमिति गठन गरेको थियो ।

गौतमबुद्ध विमानस्थल निर्माणको लगानी शुरूमा ६ अर्ब २२ करोड अनुमान गरिए पनि सम्पन्न हुँदासम्म बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो । यो विमानस्थलमा जग्गा अधिग्रहणमा अनियमितता भएको मुख्य प्रश्न उठेको छ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्रतिनिधिसभाको आइतबारको बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सहकुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको बताएका थिए ।

छलफलका क्रममा सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय भएको सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताए ।

सांसद डा अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज भएको उल्लेख गरे ।

सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय आवश्यकताबारे चर्चा गरे । सांसद दामोदर पौडेल वैरागीले विश्वविद्यालय स्वास्थ्य शिक्षाका क्षेत्रमा सुदूरपश्चिमको क्षेत्र केन्द्रका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

सांसद किरणकुमार साहले साहस र बलिदानको योगदानस्वरुप सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नु गौरवपूर्ण कार्य भएको बताए ।

सांसद डा चन्दा कार्की भण्डारीले सहिदका नाममा खोलिएको विश्वविद्यालयमा राजनीतिक भागबण्डाको विषय हुन नहुने र स्वास्थ्यका क्षेत्रमा सबैले मिलेर राम्रो बनाउनुपर्ने सुझाव दिइन् ।

सांसद देवेन्द्र पौडेलले अब बन्ने विश्वविद्यालयको नेतृत्व प्रतिस्प्रर्धाद्वारा छनोट गर्ने विषयलाई विधेयकमा समावेश गर्नुपर्ने धारणा राखे ।

सांसद दिलेन्द्रप्रसाद बडुले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमुना विश्वविद्यालयका रुपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिए । छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले भाग लिएका थिए ।

हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु

हैदराबाद (भारत) । हैदराबादको गुलजार हाउसमा रहेको भवनमा भएको आगलागीको प्रारम्भिक जाँचबाट कम्तीमा १७ जनाको ज्यान गएको घटनामा शर्ट सर्किटका कारण ठूलो आगलागी भएको देखिएको अग्नि विभागका एक अधिकारीले आइतबार बताएका छन् ।

“प्रारम्भिक जाँचले कारण सर्ट सर्किट भएको देखाएको छ”, तेलङ्गाना विपद् प्रतिक्रिया तथा अग्नि सेवाका महानिर्देशक वाई नागी रेड्डीले भने, “सबै १७ जनाको मृत्यु धुवाँ फोक्सोमा गएकाले भएको हो, कसैलाई जलनका चोटहरू थिएन ।”

गुलजार हाउस क्षेत्रमा कृष्णा पर्ल्स पसल र आवासीय परिसरमा आगलागीको घटना भएको थियो ।

रेड्डीका अनुसार अग्नि विभागले स्थानीय समयानुसार बिहान ६ः१६ बजे कल प्राप्त गरेर ६ः१७ बजे पर्याप्त कर्मचारीहरूसहित ११ वटा दमकल पठाएको थियो… अग्नि विभागले मानिसहरूलाई बचाउन श्वासयन्त्र र अक्सिजन मास्कहरू प्रयोग गर्‍यो ।

“प्राप्त जानकारी अनुसार १७ जनाको ज्यान बचाउन सकिएन… प्रारम्भिक परीक्षणले शर्ट सर्किट कारण रहेको देखाउँछ”, उनले भने ।

“आगो निभाउने र मानिसहरूलाई बचाउने काममा अग्नि विभागमा कुनै कमी थिएन… भवनमा सुरुङजस्तै दुई मिटरको एउटा मात्र प्रवेशद्वार थियो । पहिलो र दोस्रो तलामा पुग्न एक मिटरको एउटा मात्र सिँढी छ । यसले भाग्ने र उद्धार कार्य धेरै गाह्रो बनायो । बिहान ९ बजेतिर आगो नियन्त्रणमा आएको थियो… भवनभित्र कुल २१ जना थिए… मृत्युको कारण धुवाँ सास फेर्नु होस कसैलाई पनि जलनका चोटहरू थिएन”, अग्नि अधिकारीले भने ।

तेलङ्गाना अग्नि विपद् प्रतिक्रिया आपत्कालीन तथा नागरिक सुरक्षाद्वारा जारी गरिएको १७ मृतकको सूचीमा १० वर्षमुनिका आठ बालबालिकाका नाम छन् ।

मुख्यमन्त्री ए रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरे र आगलागी घटनामा फसेका परिवारहरूलाई बचाउन सबै आवश्यक उपायहरू अपनाउन शीर्ष अधिकारीहरूलाई निर्देशन दिए ।

उनले घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा सार्न र राम्रो चिकित्सा उपचार प्रदान गर्न आदेश जारी गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाहरूप्रति ‘गहिरो दुःख’ व्यक्त गरे । प्रधानमन्त्री कार्यालयका अनुसार उनले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट  दुई लाख (भारतीय रुपैयाँ) र दुर्घटनामा घाइते भएकाहरूलाई रु ५० हजारको अनुदान घोषणा गरे ।

भारतद्वारा ७७ करोड डलरबराबरको बङ्गलादेशबाट हुने आयातमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट आयात हुने विभिन्न श्रेणीका सामानमा तत्काल बन्दरगाह प्रतिबन्ध लगाएको छ ।

व्यापार केन्द्रित अनुसन्धान समूह ग्लोबल ट्रेड रिसर्च इनिसियटिभ (जीटीआरआई) को रिपोर्टअनुसार भारतले भूमि बन्दरगाह (स्थलमार्ग) हुँदै बङ्गलादेशबाट हुने आयातमा लगाएको प्रतिबन्धले ७७ करोड अमेरिकी डलर बराबरको सामानमा असर पार्नेछ, जुन कुल द्विपक्षीय आयातको करिब ४२ प्रतिशत हो ।

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले शनिबार बङ्गलादेशबाट विभिन्न श्रेणीका सामानआयातमा तत्काल लागु हुनेगरी प्रतिबन्धको घोषणा गरेको हो ।

यो निर्णयपछि गार्मेन्ट, प्रशोधित खाद्य पदार्थ र प्लास्टिकका सामानजस्ता प्रमुख वस्तुहरू अब समुद्री बन्दरगाहहरूमा मात्र सीमित भएका छन् वा स्थलमार्गबाट पूर्णतया निषेधित भएका छन्।

नयाँ नीतिअनुसार वार्षिक ६१ करोड ८० लाख अमेरिकी डलर मूल्यका बङ्गलादेशी कपडाहरू अब दुई तोकिएका बन्दरगाहहरूबाट मात्र भारत प्रवेश गर्न पाउनेछन्।

यो निर्णयले बङ्गलादेशको भारतमा सबैभन्दा आकर्षक निर्यात च्यानललाई गम्भीर असर पार्ने जीटीआरआईले जनाएको छ ।

भारतीय टेक्सटाइल निर्माताहरूले आफ्ना बङ्गलादेशी प्रतिस्पर्धीहरूले चिनियाँ कपडाको शुल्क–मुक्त आयात र पर्याप्त सरकारी निर्यात अनुदानबाट अनुचित लाभ लिनेगरेको बताएका छन् ।

यी कारणहरूले बङ्गलादेशी निर्यातकर्ताहरूलाई भारतीय बजारमा १०–१५ प्रतिशत मूल्य निर्धारणको लाभ दिन्छ।

जीटीआरआईले आफ्नो रिपोर्टमा भनेको छ, “यी व्यापार उपायहरू अलग–अलग रूपमा देखा परेनन्।”

जीटीआरआईको रिपोर्टमा भनिएको छ, “यो ढाकाले भारतबाट ठूलो सङ्ख्यामा सामान आयातमा प्रतिबन्ध लगाएको र चीनप्रति कूटनीतिक धुरी बनाएकोप्रति भारतको प्रतिक्रियाजस्तो देखिन्छ।

यो कदमलाई बङ्गलादेशका अन्तरिम मुख्य सल्लाहकार मोहम्मद युनुसको विवादास्पद टिप्पणीको प्रतिक्रियाको रूपमा पनि हेरिएको छ।

बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसले चीनमा दिएको सम्बोधनका क्रममा भारतका उत्तरपूर्वी राज्यहरूलाई ‘भूपरिवेष्ठित क्षेत्र र समुद्रसम्म पहुँच नभएको क्षेत्र’ भनेका थिए । यो टिप्पणीले कूटनीतिक घर्षण निम्त्याएको छ, भारतीय अधिकारीहरूले यसलाई यस क्षेत्रको कनेक्टिभिटी र स्थितिलाई कमजोर पार्ने रूपमा हेरेका छन्।

ढाकाको चीनसँगको बढ्दो निकटतालाई उजागर गर्दै प्रतिवेदनमा सन् २०२४ को मध्यमा शेख हसिनाको भारतसमर्थक सरकारको पतन र मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम प्रशासनको उदयले बङ्गलादेशको बेइजिङसँग सहकार्य गर्ने इच्छा जगाएको उल्लेख गरिएको छ । सन् २०२५ को मार्चमा भएको युनुसको चीन भ्रमणका क्रममा २.१ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी तथा सहयोग सम्झौता भएको थियो । यी सबै घटनाक्रमका साथै टिस्टा नदी विकास जस्ता पूर्वाधार परियोजनाहरूले यस क्षेत्रमा भारतको स्थितिको लागि महत्त्वपूर्ण खतरा खडा गरेको छ।

सन् २०२४ को अन्त्यदेखि बङ्गलादेशले भारतीय निर्यातमा शृङ्खलाबद्ध प्रतिबन्ध लगाएको छ ।

यी प्रतिबन्धले सन् २०२५ को अप्रिलमा पाँच प्रमुख बन्दरगाहबाट भारतीय धागो आयातमा प्रतिबन्ध, चामल ढुवानीमा कडा प्रतिबन्ध र कागज र सुर्तीदेखि माछा र पाउडर दूधजस्ता दर्जनौं भारतीय सामानको आयातमा प्रतिबन्ध समावेश छ । ढाकाले आफ्नो भूमि भएर आवतजावत गर्ने भारतीय सामानमा प्रतिटन १.८ टका प्रति टन ट्रान्जिट शुल्क लागू गरेको छ ।

रिपोर्टमा भनिएको छ, “यी संचयी कार्यहरू, परिचालन ढिलाइ र कडा बन्दरगाह निरीक्षणले भारतीय निर्यातकर्ताहरूलाई बाधा पुर्याएको छ र व्यवस्थित प्रतिक्रियाको लागि अह्वान गरेको छ ।

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

 

काठमाडौँ । नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो ।

सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ ।

आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ ।

संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासहरूलाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।

पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशहरूको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ ।

दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ ।

संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवद्र्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ ।

जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवद्र्धन गर्ने आह्वानमा उल्लेख छ ।

‘क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौं । विकासशील देशहरूको आवश्यकता अनुरूप तथ्याङ्क प्रणालीलाई सुदृढ गर्ने, तथ्याङ्क साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्रहरू विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौं’ सथरमाथा कार्य आह्वानका उल्लेख छ ।

बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैङ्गिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ ।

पर्वतीय समुदायहरूको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तरराष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ ।

आह्वानमा भनिएको छ, ‘स्थानीय र आदिवासी समुदायहरूको जलवायु नीति, कार्यक्रम र कार्यहरूमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौं । वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्रहरू विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ ।’

ज्ञान केन्द्रहरू विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ । संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ ।

मधेश प्रदेशका तत्कालीन मन्त्रीसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमार यादव, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मुक्तानसमेत आठजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले यादव र थापासहित तत्कालिन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, लेखा अधिकृत विश्वास पोखरेल, मधेश प्रदेश सरकारका तत्कालिन कानुन अधिकृत गोकुल भुजेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुभकामना गरे ।

अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरेका थिए । साथै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरेका थिए ।

सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे ।

सङ्घका सचिव एवं दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुलालले अन्तरराष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकाबाट सहयोग हुनुपर्ने आग्रह गरेका थिए ।

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु । मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ ।

यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा सङ्कलनका लागि आउने गर्दछन् ।

जिल्लावासीका लागि प्रतिव्यक्ति रु २ हजार र बाहिरी जिल्लाबाट आउने सङ्कलनकर्ताका लागि रु दुई हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा सङ्कलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न सङ्कलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ ।

यार्सा सङ्कलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका सङ्कलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् ।

विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती

मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गर्न वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा सङ्कलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन् ।

सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा सङ्कलक रातारात पाटन प्रवेश गरी यार्सा सङ्कलनमा लागेका छन् ।

अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लङ्घन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा सङ्कलनमार्फत गाउँपालिकाले रु ७१ लाख राजस्व सङ्कलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी रु ८० लाखसम्म राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

यार्सा सङ्कलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रे । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।

मूर्ति निर्माणका लागि ४० लाख खर्च भइसकेको छ । पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताए । उनका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ ।

नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ । केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्ति एसियाको पहिलो भएको मानिएको छ ।

यस्तै भुइँचालो डाँडालाई धार्मिक एवं पर्यटनको आकर्षक केन्द्र बनाउन ब्रह्माको मूर्ति नजिकै बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय बताउँछन् । बुद्धको मूर्ति भएको स्थानमा ‘थेरापी पार्क’ निर्माण प्रक्रिया पनि थालिएको मोक्तानले जानकारी दिए ।

“पार्क निर्माणार्थ बागमती प्रदेश सरकारबाट रु एक करोड ६५ लाख बजेट प्राप्त भइसकेको छ, अब थेरापी पार्कको निर्माण थाल्नेछौँ”, उनले भने । यस स्थानमा विस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने उनले उल्लेख गरे ।

प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा कार्यालय मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महानिरीक्षक थापाले सबै प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

उनले व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढीकरण एवम् शुद्धीकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको बताए ।

उनले नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने बताए । उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न उनले निर्देशन दिए ।

सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोलमोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।

विरोध प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्था गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै उनले सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गर्न निर्देशन दिए ।

चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए ।

हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।

सगरमाथा संवाद अन्तर्राष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याउन सफलः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् ।

गत शुक्रबारदेखि यहाँ जारी सगरमाथा संवादको समापन सत्रमा आइतबार उनले भनिन्, ‘संवादको यो संस्करणले उच्च हिमालदेखि टापु राष्ट्रका नेता, नीति निर्माता, विज्ञहरू, शिक्षाविद्, युवा, नागरिक समाज, अन्तरराष्ट्रिय सङ्गठन र समुदायका आवाजलाई वास्तविक संवादको भावनामा एकसाथ ल्याएको छ ।’

संवादका निष्कर्षको कार्यान्वयन र लक्ष्यित उपलब्धि हासिल गर्न सामूहिक प्रयत्न आवशयक पर्ने उल्लेख गर्दै मन्त्री राणाले संवाद एउटा कार्यक्रम मात्र नभइ विचारको सङ्गम र साझा जिम्मेवारीको उत्सव भएको बताइन् ।

उनले भनिन्, ‘सगरमाथाले हाम्रो दृढताको सम्झना गराउँदै अटल उभिएको जस्तै, यो संवादको नतिजाले हामीलाई हाम्रो सङ्कल्पको सम्झना गराओस् ।’

संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले जानकारी दिइन् ।

उक्त विषय यसै महिनाको अन्त्यमा ताजकिस्तानमा हुने हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन,संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभा तथा यसै वर्ष ब्राजिलमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप– ३० लगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाइने उनले बताइन् ।

सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् ।

एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ।

एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए।

विसं २०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ। धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ।

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ। ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं।’

यस्तै, एमालेले गत चैत मसान्तसम्म जनसङ्गठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटा मात्र जनसङ्गठनको महाधिवेशन सम्पन्न भएका छन्।

आयोग अध्यक्ष डा. सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ।

उनले ती जनसङ्गठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन्। एमालेका २२ जनसङ्गठन रहेका छन्।

यही महिनाको अन्त्यसम्ममा कांग्रेस र एमाले उपसभामुख हटाउने योजनामा छन्ः सांसद सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले कांग्रेस र एमाले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने खेलमा लागेका बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले जनजाति महिला भएकै कारण उपसभामुख राना मगरलाई हटाएर कांग्रेसका सांसदलाई उपसभामुख बनाउने तयारी गरिएको बताएका हुन् । उनले उपसभामुखलाई हटाउन खोजे त्यो स्वीकार्य नहुने बताए ।

उनले भने,‘यही महिनाको अन्त्यमा कांग्रेस एमाले पार्टीलाई ठूलो बम्पर उपहार पर्दैछ । अब जनजाति महिला उपसभामुखलाई बलि दिने तयारी हुँदैछ । त्यो स्वीकार्य छैन ।’

उनले नेपाली कांग्रेस छानीछानी जनजातीहरुलाई बलि दिने खेलमा लागेको आरोप लगाए । उनले भने, ‘जनजाति भएकै कारण उपसभामुख पदलाई बलि दिन खोजिँदैछ । के कांग्रेसलाई अब जनजाति चाहिँदैन ? कांग्रेसले लोडसेडिङ गर्न तामाङ समुदायका दुई नेतालाई बलिदियो । एउटा कुलमान घिसिङ र अर्का कान्छाराम तामाङलाई । त्यस्तै मधेसी भएको कारणले डा.सङ्गीता कौशललाई सिनियर भएर पनि स्वास्थ्य सचिव बनाए । त्यसैले कांग्रेस जनजाति विरोधी पार्टी हो । ८४ को चुनावमा यिनीहरुलाई मतदाताले डाँडो कटाउनुपर्छ ।’

उनले रेशम चौधरीलाई कांग्रेसले नै पक्राउ गर्न लगाएको आरोप लगाए ।

न्यायपालिकाले कानुनको प्रक्रिया मिच्न थालेको जनगुनासो बढ्योः सांसद गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकाले कानुनको प्रक्रिया मिच्न थालेको जनगुनासो बढेको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले न्यायपालिकाको कामकारबाहीप्रति प्रश्न उठ्नु गम्भीर विषय भएको बताइन् ।

सांसद गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले थुनामा रखेका व्यक्तिलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको बताइन् । सूचना दिएर मात्रै पेसी राख्ने प्रक्रिया अदालतले मिच्न थालेको उनले बताइन् ।

पार्टी सभापति रवि लामिछाने सम्बन्धित मुद्दामा थाहै नदिई पोखराको उच्च अदालतले एकफर्ती सुनुवाई गरेको सन्दर्भ उल्लेख गर्दै उनले भनिन्, उनले भनिन्, ‘व्यक्तिको बारेमा फरक फरक धारणा हुन सक्छन्, तर विधि मिचिएको विषय सबैको साझा सरोकार हुनुपर्छ । मुद्दाको एउटा पक्षले विपक्षीको जिकिर सुन्न नपाउने कस्तो खाले सुनुवाइ हो ? विपक्षीलाई जानकारी दिएर पेशी तोक्नुपर्नेमा त्यसो किन गरिएन ? यसरी न्यायपालिकाबाटै गैरकानूनी तरबारबाट व्यक्तिको हत्या भयो भने के अवस्था आउला ?’

रास्वपा सभापति लामिछानेलाई जानकारी नदिइ उच्च अदालतले पेसी राखेको विषय बाहिर आएको थियो ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेस सांसद गौतमको माग

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकार सरकार जसरी नचलेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले सरकार सरकारजसरी चलेको अनुभूति गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकारजसरी चलेको अनुभूति गर्न सकेको छैन । संसद जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।उनले निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने बताए ।

संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद भएपनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमले बताए ।

भारतीय अभिनेत्री नोराको जादुमयी प्रस्तुतिले हजारौँ नेपाली दर्शक मन्त्रमुग्ध

काठमाडौँ । भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पारिन् ।

पहिलोपटक नेपाल आएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गरिन् । उनले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताइन् ।

“नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भनिन् ।

प्रस्तुतिका क्रममा उनले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित परिन् । त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखर थिए ।

‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गरिन् । दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले तालि बजाएर धन्यवाद व्यक्त गरेका थिए ।

यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर अभिनेत्री फतेहीले मञ्चमा लगिन् । उनले दुईले ‘दिलवर’ मा प्रस्तुति दिए । अभिनेत्री फतेहीका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आएका छन् ।

“म अभिनेत्री फतेहीको ठूलो प्रशंसक हुँ । मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु । आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु”, सिटौलाले भने । आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म अभिनेत्री फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिइन् । उनी आफैँले गाएको ‘स्नेक डान्स’ बाट प्रस्तुतिको सुरुवात गर्दै ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूमा दर्शकलाई नचाइन् ।

“नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ । यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्”, फतेहीले आफ्नो अनुभव सुनाइन् ।

यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौँ आइपुगेकी अभिनेत्री फतेही आइतबार बिहान संयुक्त अरब इमिरेटस् प्रस्थान गरिन् ।

कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वल्र्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेका हुन् ।

कार्यक्रममा अभिनेत्री फतेहीका साथै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्याङ्गना तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ–आफ्नो प्रस्तुति दिए ।

भारतीय र नेपाली कलाको यो सुन्दर संयोजनले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जक र अविस्मरणीय बनाएको थियो ।

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो ।

तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताए ।

यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो ।

दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइ आएको हो ।

शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै र रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको आह्वान दोहोर्‍याए ।

“कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन”, उनले भने ।

आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए ।

किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एक महिला, एक पुरुष र चार वर्षीय बच्चा घाइते भएको लेखेका छन् ।

मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए ।

युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीचको बैठक हुने जानकारी दिए ।

– ट्रम्पद्वारा रक्तपातको निन्दा –

रुसले यो अनुरोधलाई ध्यानमा राखेको बताएको छ ।“हामी यसलाई सम्भव ठान्दछौँ, तर कामको परिणाम र दुई पक्षबीचको सम्झौताका रूपमा निश्चित परिणामहरू प्राप्त गरेपछि मात्र”, क्रेमलिनका प्रवक्ताले भने ।

रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले ‘सम्भावित भविष्यको युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ बताए तर कहिले भन्ने बताएनन् ।

क्रेमलिनले पहिले युद्धबन्दीहरूको आदानप्रदान पूरा गर्नुपर्ने र अर्को चरणको वार्ता तय गर्नुअघि दुवै पक्षले युद्धविरामका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बताएको छ ।

“अहिलेका लागि हामीले प्रतिनिधिमण्डलहरू हिजो टर्कीमा सहमत भएका कुराहरू गर्न आवश्यक छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “जसको अर्थ एक हजारका लागि एक हजार आदानप्रदान पूरा गर्नु हो ।”

युक्रेनका सैन्य गुप्तचर प्रमुख किरिलो बुदानोभले प्रसारणकर्ता टिएसएनलाई अर्को हप्ता कैदी आदानप्रदान हुने आशा गरेको बताए ।

शनिबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले उनी सोमबार पुटिनसँग ‘रक्तपात’ बाट बाहिर निस्कने उपाय खोज्नबारे छलफल गर्न कुरा गर्ने बताए ।

त्यसपछि युद्धविराम हुने र यो अत्यन्त हिंसात्मक युद्ध… अन्त्य हुने आशा व्यक्त गर्दै उनले जेलेन्स्की र नाटो अधिकारीहरूसँग कुरा गर्ने बताए ।

मस्को र वासिङ्टन दुवैले पुटिन र ट्रम्पबीचको द्वन्द्वबारे बैठकको आवश्यकतामाथि जोड दिएका छन् ।

ट्रम्पले पुटिनलाई आमनेसामने नभेटेसम्म द्वन्द्वमा ‘केही हुने छैन’ भन्ने तर्क दिएका छन् ।

– वास्तविक प्रगति –

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्तामा पछिल्लो कैदी आदानप्रदानको स्वागत गरेका छन् ।

सिबिएसलाई दिएको अन्तर्वार्तामा उनले लाभरोभले आफूलाई मस्को युद्धविरामका लागि आफ्ना आवश्यकताहरू उल्लेख गरिएको दस्तावेज तयार गरिरहेको बताएको जानकारी दिए ।

“यदि रुस र मस्को दुवैले ‘गम्भीर र व्यावहारिक’ प्रस्तावहरू प्रदान गर्न सक्छन् भने ‘त्यहाँ वास्तविक प्रगति भएको छ र हामी त्यसमा काम गर्न सक्छौँ’”, रुबियोले भने ।

बसमा भएको आक्रमण बिलोपिल्ल्या सहर नजिकै भएको स्थानीय समुदायका प्रमुख युरी जार्कोले सुस्पिलेन टिभीलाई बताए । अधिकारीहरूका अनुसार मृतकहरूमा तीन जनाको परिवार रहेको थियो ।

अन्यत्र युद्धभूमिमा रुसी सेनाले आफ्ना सैनिकहरूले पूर्वी डोनेट्स्क क्षेत्रमा ओलेक्सान्द्रोपिल गाउँ कब्जा गरेको बताएको छ । त्यहाँ सबैभन्दा तीव्र लडाइँ भइरहेको छ ।

जेलेन्स्कीले वार्ताका लागि टर्की जान अस्वीकार गरेपछि पुटिनलाई ‘डराएको’ आरोप लगाए र रुसले वार्तालाई गम्भीरताका साथ लिएको छैन भनी तर्क गरे ।

“हिजो इस्तानबुलमा सबैले कुनै महत्त्वपूर्ण शक्ति नभएको कमजोर र तयारीबिनाको रूसी प्रतिनिधिमण्डल देखे । यो परिवर्तन हुनुपर्छ । हामीलाई युद्ध अन्त्य गर्न वास्तविक कदमहरू चाहिन्छ”, जेलेन्स्कीले शनिबार भने ।

जेलेन्स्कीले शुक्रबार इस्तानबुल वार्ता असफल भएमा नयाँ प्रतिबन्धहरूसहित विश्वबाट ‘कडा प्रतिक्रिया’ को आह्वान गरेका थिए ।

मस्कोले ‘बिना शर्त युद्धविराम’ अस्वीकार गर्न जारी राखेमा युरोपेली राष्ट्रहरूले थप प्रतिबन्धहरूमा वासिङ्टनसँग समन्वय गरिरहेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताए ।

शनिबार जेलेन्स्कीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग रुसविरुद्ध नयाँ र प्रभावकारी प्रतिबन्धका बारेमा कुरा गरेको बताए ।

इस्तानबुल वार्ताका क्रममा युक्रेनी पक्षले रुसले ‘अस्वीकार्य’ क्षेत्रीय मागहरू गरेको बताएको थियो ।

मस्कोले सन् २०२२ को आक्रमणपछिको चार र सन् २०१४ मा कब्जा गरेको दाबी गरेको क्रिमियासहित पाँच युक्रेनी क्षेत्र दाबी गरेको छ ।

वायुप्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न सुझाव

काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औल्याएकी छन् ।

यही जेठ २ गतेदेखि सुरु भएको सगरमाथा संवादको तेस्रो दिन आइतबार  आयोजित ‘जलवायु न्याय कार्य र दिगो विकासमा वित्तीय चुनौतीको समाधान’ विषयक उच्चस्तरीय सत्रमा उनले वायुप्रदूषणले नागरिकको औसत आयु घटेकाले यसको समाधानमा सबै लाग्नुपर्नेमा जोड दिइन्।

“वायुप्रदूषण हाम्रो समयको सबैभन्दा जटिल विकास चुनौतीमध्ये एक हो, जसले हाम्रो क्षेत्रको स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई गहिरो रूपमा असर गरिरहेको छ”, राज्यमन्त्री विकले भनिन्, “दक्षिण एसिया विश्वव्यापी वायुप्रदूषणको केन्द्रबिन्दु बनेको छ र यसका धेरै सहरहरू विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा गनिन्छन् ।”

उनले नेपालले यस सङ्कटलाई सम्बोधन गर्न कम कार्बनयुक्त सार्वजनिक यातायातको प्रवर्द्धन, कडा उत्सर्जन मापदण्डको कार्यान्वयन र विद्युतीय गतिशीलताको विकासलगायतका कदमहरू चालेको अवगत गराइन् ।

“काठमाडौँ उपत्यका वायुप्रदूषण व्यवस्थापन कार्ययोजना (२०२०) र राष्ट्रिय वातावरण नीति (२०१९) ले सरकारको रणनीतिक प्रतिक्रियालाई झल्काएको बताउँदै वातावरण विभागले वास्तविक समयमा वायु गुणस्तर अनुगमनलाई पनि विस्तार गरेको र यसले गर्दा तथ्याङ्क सर्वसाधारणका लागि पहुँचयोग्य भएको उल्लेख गरिन् ।

“वन डढेलोले पनि वायुप्रदूषणमा योगदान पुर्याइरहेको छ, मानिसहरू गाउँ छोड्दै गएका छन् र वनको उचित व्यवस्थापन हुन नसकेका कारण बाँकी रहेको जैविक पदार्थले वन डढेलोलाई बढावा दिइरहेको छ”, उनले भनिन्, “यसले गर्दा गम्भीर वायुप्रदूषण भइरहेको छ । यो नयाँ खतरालाई हाम्रो फराकिलो वायु गुणस्तर रणनीतिहरूमा तत्काल ध्यान दिन आवश्यक छ ।”

वायुप्रदूषण एक सीमापार मुद्दा पनि भएकाले यसलाई साझा तथ्याङ्क, नीति र उत्कृष्ट अभ्यासमार्फत बलियो क्षेत्रीय सहयोगको आवश्यकता पर्ने उनको भनाइ थियो । राज्यमन्त्री विकले तालिम, क्षेत्रीय कार्यशाला र सरोकारवालाहरूको संलग्नतामार्फत संस्थागत र प्राविधिक क्षमता निर्माण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।

उनले भनिन्, “हामीले दिगो लगानी सुनिश्चित गर्नुपर्छ । विकास साझेदारहरू, परोपकारी संस्थाहरू र बहुपक्षीय बैंकहरूले दीर्घकालीन र विस्तारयोग्य समाधानलाई समर्थन गर्नुपर्छ ।”

माओवादी सांसदको व्यंग्यः झ्यापझ्याप बत्ती जानु सरकारको आयुको सङ्केत हो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । उनले भनिन्, ‘आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?’

बैठकमा माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ दोङले पनि लोडसेडिङका कारण नेपाली जनता अँध्यारोमा बस्नुपरेको बताए ।

उनले कुलमान घिसिङलाई बर्खास्त गरेपछि देशभर लोडसेडिङ हुन थालेको भन्दै ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

उनले प्रश्न गरे,‘के अब जनता लोडसेडिङमा बस्नुपर्ने हो ? सरकार, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको गम्भीर बनुन् ।’

ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर ओझेलमा परेको छ । प्रचारप्रसार अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।

गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयवासी पाण्डव राईले बताए । परापूर्वकालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको बिहेका क्रममा बेहुलाबेहुलीसहित जन्ती अलप भएकाले यस स्थानको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उको भनाइ छ ।

अहिले पनि यहाँ जन्तीजस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, बिहेमा प्रयोग भएका बाजागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रूपमा देख्न सकिने उनले बताए । ‘गोल्मे राजा, गोल्मे रानी एक ऐतिहासिक धार्मिक क्षेत्र हो’, उनले भने,’धेरै मानिसले यस स्थानको नाम सुनेको हुनुपर्छ । तर यो स्थानको धार्मिक महत्वसँगै ऐतिहासिक किंवदन्तीको विषयमा हामीले प्रचारप्रसार गर्न नसक्दा गुमनाम छ ।’

उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा यो स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित जन्तीहरू अलप भएको किंवदन्ती रहेको स्थानीवासी राजेन्द्र राईले बताए । यहाँ रहेका ढुंगाका आकृतिले किंवदन्तीमा भनिएका कुरालाई पुष्टि गर्न मद्दत गर्ने उनको भनाइ छ ।

यहाँ पापद्धार, धर्मद्धार, बन्दुकको आकृति देखिने बन्दुके गहिरा, खड्कुले, गुन्टे ढुंगा, मालिगाईको आकृतिलगायत देख्न सकिने उनको भनाइ छ । यहाँ गोल्मे राजा र गोल्मे रानीका आकृतिका दुई ठूला ढुंगा रहेको रामप्रसादराई- ६ का वडाध्यक्ष एकराज आचार्यले बताए । यो ऐतिहासिक धार्मिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको उनको भनाइ छ । यो क्षेत्रको विकाससँगै प्रचारप्रचारमा स्थानीय सरकारले जोड दिएको अध्यक्ष आचार्यले बताए ।

‘गोल्मे राजा, गोल्मे रानी क्षेत्र ओझेलमा परेको छ,’ वडाध्यक्ष आचार्यले भने,’यो स्थानको देशविदेशमा जति चर्चा हुनुपर्ने त्यो हुन नसकेको अवस्था छ । स्थानीय सरकारले यो क्षेत्रको संरक्षणसँगै यहाँको ऐतिहासिक तथ्य तथा धार्मिक महत्वको विषयमा खोजी गरिरहेको छ ।’

गोल्मे राजा, गोल्मे रानीको काखमा अर्को धार्मिक गङ्गा खोलाको मुहान रहेको अध्यक्ष आचार्यले बताए । ढुंगाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहानमा कहिले पनि पानी नसुक्ने अध्यक्ष आचार्यको भनाइ छ । यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने उनको भनाइ छ ।

देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय यो स्थल भौगोलिक विकटताका कारण पनि ओझेलमा परेको उनको  भनाइ छ । गोल्मे राजारानी भिरको काखमा रहेका सबै मुहान कहिले नसुक्ने, वर्षात्को समयमा धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष आचार्यले बताए ।

पानीका मुहान नै दक्षिणबाट उत्तरतर्फ बग्ने भएकाले सबैलाई अचम्मित बनाउने उनको भनाइ छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर गोल्मेसम्म पुग्ने पदमार्ग निर्माण गर्ने योजना रहेको उनले बताए । वडाभित्र पर्ने सम्पूर्ण पयर्टकीय क्षेत्रको एकीकृत विकासका लागि सरकारको माथिल्लो निकायसँग पहलकदमी गरिरहेको वडाध्यक्ष आचार्यले बताए ।

न्युयोर्कस्थित ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्कियो

सिएनएन । अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिन पुलमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको छ । शनिबार राति इस्ट नदीको पुलको तल्लो भागमा मेक्सिकन नौसेनाको जहाज ठोक्किएको सिएनएनले जनाएको छ ।

पुलमा ठोक्किएपछि जहाजमा सवार १९ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर छ । जहाजले ठक्कर दिएपछि पुलमा करिब एक घन्टा सवारी आवागमन रोकिएको थियो ।

निरीक्षण गर्दा पुलमा क्षति नपुगेको भन्ने निश्चित भएपछि यातायात पुनः सुरू भएको छ । मेक्सिकोको नौसेनाले जहाज पुलमा ठोक्किएको जानकारी एक्समार्फत दिएको छ । जहाजमा २७७ जना सवार थिए।

सगरमाथा संवादमा इलामे चियाको स्वाद

काठमाडौं । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका प्रतिनिधि तथा राजदूतहरूका लागि ‘रिट्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो ।

मन्त्रालयले प्रायः हरेक वर्ष गर्ने यो कार्यक्रम यसपटक पूर्वी इलामको श्रीअन्तुमा आयोजना गरिएको थियो । नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि आयोजित सो रिट्रिटमा इलामका चिया बगान र अन्तु पुगेका राजदूतहरूले अन्तु डाँडाबाट यस वर्षको पहिलो दिनको सूर्योदय पनि बडो चाखपूर्वक हेरेका थिए ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नेतृत्वमा त्यहाँ पुगेका राजदूतहरूले विभिन्न जातजातिका वेशभूषामा सजिने, चियाबगानमा तस्बिर खिचाउने तथा कतिपयले त कन्यामका विभिन्न स्थानमा घोडचडीमा समेत रमाएका थिए । त्यहाँ बेलायत, जापान, अष्ट्रेलिया, युरोपेली युनियनलगायत १५ देशका राजदूत एवं मिसन प्रतिनिधि र विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिहरू पनि थिए ।

परराष्ट्र मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाले सहयोग पनि गरेका थिए ।

खासमा नेपालस्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिहरूलाई नेपालका पर्यटकीय स्थान, कला, संस्कृति र सम्पदाहरूको परिचय दिलाउने र त्यसमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रालयले यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यसपटक उनीहरूका लागि इलाममा प्रमुख दुई आकर्षक चिया टिप्ने प्रतियोगिता र ताजा चिया चाख्ने (टि टेस्टिङ) कार्यक्रम पनि राखिएको थियो ।

अन्तुको चिया बगानमा कूटनीतिज्ञहरू चिया टिप्ने प्रतियोगितामा सहभागी पनि भए र सबैभन्दा बढी चिया टिप्नेले पुरस्कार पनि पाए । त्यसपछि त्यसै दिन अर्थात् गत चैत ३१ गते अपराह्न टि टेस्टिङ कार्यक्रममा मन्त्री डा राणासहित सबै कूटनीतिज्ञहरू सहभागी हुनुभयो । त्यस क्रममा उनीहरूले चिया बगानको बडो स्वादिलो र स्वस्थ चिया पिउन पाएको अनुभव पनि आदानप्रदान गरेका थिए ।

सूर्योदय नगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा त्यहाँका स्थानीय चिया उद्यमीहरूको पनि सहभागिता थियो । उपस्थित कूटनीतिज्ञ एवं पाहुनाहरूलाई ताजा तथा विविध थरि र स्वादका चिया उपलब्ध गराएका थिए ।

स्थानीय जनप्रतिनिधि एवं उद्यमीहरूले त्यहाँ उपस्थित परराष्ट्रमन्त्री डा राणालाई नेपाली चियाको प्रवर्द्धन गर्न र यसको बजारलाई मुलुक बाहिर विस्तारका लागि सहयोगका लागि आग्रह गर्न भने छुटाएनन् ।

संयोगवश सरकारले सगरमाथा संवादको तयारी थालिसकेको थियो । त्यसैले मन्त्री डा राणाले पनि सो संवाद कार्यक्रममा विश्वका देश तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाहरू समेत आउने भएकाले सो संवादको कार्यक्रमस्थलमा टि टेस्टिङ समारोहका राख्ने प्रबन्धका लागि सुझाव दिए ।

मन्त्री डा राणाले संवादको व्यस्थापन समितिको संयोजकका हैसियतले संवादमार्फत त्यहाँ उपस्थित विभिन्न अन्तरराष्ट्रिय प्रतिनिधि एवं पाहुनाहरूले नेपाली अग्र्यानिक चियाको वास्तविक स्वाद पनि पाउने र यसबाट नेपाली चियालाई विश्व बजारमा स्थापित गर्न सहयोग पनि पुग्ने भएकाले उक्त कार्यक्रमस्थलमा सो चिया राख्ने प्रबन्धका लागि निर्देशन दिनुभएको थियो ।

सोहीबमोजिम नै सूर्यो दय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ । यसमा विभिन्न उत्पादन र स्वादका चिया चाख्ने (टि टेस्टिङ)को प्रबन्ध गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए ।

उनले भने, ‘हाम्रो यस प्रदर्शनी कक्ष प्रति धेरै विदेशी तथा स्वदेशीहरूको आकर्षण रह्यो, उहाँहरूले थरिथरिका चियाका स्वाद पनि लिनुभयो र यसबाट नेपाली चियाको विश्व बजारमा प्रचारका लागि सहयोग पुगेको महसुस हामीले गरेका छौं ।’

सगरमाथा संवादमा आएका धेरैले चियाको प्रदर्शनी कक्ष भ्रमण गरेका, चियाको स्वाद लिएका र नेपाली चियाको विशेषताका बारेमा जानकारी लिएका भन्दै अध्यक्ष प्रधानले यस प्रकारको अन्तरराष्ट्रिय सम्मेलनमा नेपाली चियाको प्रचार गर्दै जानुपर्ने अनुभव आफूले लिएको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चिया विश्वमा प्रवर्द्धनका लागि आफूहरूले सहजीकरण गरेको जानकारी दिए ।

यतिमात्र नभएर उनीहरूले यस संवादमा सहभागी विदेशी पाहुना, प्यानलिष्टलगायतलाई इलामको अर्गानिक चिया उपहार पनि दिएका थिए । यसको प्रायोजनचाहिँ नेपाल पर्यटन बोर्डले गरेको थियो ।

विष्णु रिमाल भन्छन् -बलेको बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भाष्य बनाइँदै छ

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आफ्नो कर्ममा सजग रहन सुझाव दिएका छन् ।

आइतबार सामाजिक संजालमार्फत रिमालले कर्ममा अडिग रहन सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘कर्ममा अडिग रहनुहोस्, तर ’कन्टेन्ट’ को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।’

उनले बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘श्री हितेन्द्र शाक्यजी ! तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँ मुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’

रिमालले अहिले हाम्रो समाजमा सेवा दिनेहरू नभई कथा बनाउनेहरू चर्चामा रहेका उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन्। यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन । त्यसैले, सजग रहनुस्—काम गर्नुस्, तर ध्यान दिनुस्—कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।’

पछिल्लो समय झ्यापझ्याप बत्ति जान थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आलोचना भइरहेको छ ।

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन् । उनीहरूले सेभेन समिट ट्रेक्समार्फत आरोहण सम्पन्न गरेका हुन् । सफल आरोहण गर्नेमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा समावेश छन् । इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ आरोही र पथ प्रदर्शक कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै छन् ।

कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकको आकर्षण बढ्दो छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी नागरिक, चार इजरायली, दुई बेलायती र दुई नेदरल्याण्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरेका छन् ।

कञ्चनजङ्घा उत्तरी आधार शिविरतर्फ पनि पर्यटकको उपस्थिति उल्लेखनीय रहेको छ । घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म तीन सय ६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन् ।

यसरी कञ्चनजङ्घा क्षेत्र विदेशीका लागि मात्र नभई आन्तरिक पर्यटकको पनि रोजाइमा पर्न थालेको छ । तर आन्तरिक पर्यटकको विस्तृत तथ्याङ्क भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन । कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ । यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण र उत्तरी आधार शिविर छन् ।

उत्तरी आधार शिविर (ओक्ताङ)

उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ । त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ ।

घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार २०० मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो । घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थल सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ ।

दक्षिण आधार शिविर (पाङपेमा)

दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारीसाधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ । त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार ८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो । यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ ।

हिमाल आरोहणकर्ताले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन् । आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ ।

कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालमध्ये एकदमै कठिन मानिन्छ । बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिमलगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन् ।

त्यसैले यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्चस्तरको तयारी आवश्यक पर्ने बताइन्छ । गत सातामात्र हिमाल आरोहण क्रममा एक फ्रान्सका नागरिकको मृत्य समेत भयो ।

नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरवमात्र नभई अन्तरराष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ ।

यस क्षेत्रमा सञ्चार र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटन तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ । ट्रेकिङ मार्गमा नयाँ होमस्टे, बाटोमा सङ्केत चिह्न, प्राथमिक उपचार केन्द्र तथा आपत्कालीन उद्धार सेवा विस्तार भएमा अझ पर्यटक भ्रमण गर्न आउने छन् ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ । होमस्टे सञ्चालन, प्रथप्रदर्शक, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन् ।

‘सगरमाथा संवाद’का विशिष्ट पाहुनालाई हिमाल देखाउन पर्वतीय उडान

काठमाडौँ । बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । आइतबार बिहान पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गरेका थिए ।

साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तरराष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।

नेपालका केही निजी वायुसेवा कम्पनीले पर्वतीय उडान भर्दै आएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुने जनाइएको छ । उडानमा सगरमाथा, मकालु, नुप्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् ।

जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले जानकारी गराएका छन् ।

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए ।

तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

इजरायली सेनाको आक्रमणमा गाजामा कम्तीमा ७४ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गाजामा कम्तीमा ७४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार बिहानै गाजाको दक्षिणी क्षेत्र अल–मावासीमा इजरायी सेनाले गरेको आक्रमणमा कम्तीमा ७४ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

कतारमा हमाससँग युद्धविराम वार्ता पुनः सुरु गर्दै गर्दा इजरायलबाट तीव्र आक्रमणहरू भएका छन् । इजरायली सेनाले गाजाको उत्तरपूर्वी क्षेत्र जाबालिया अन–नाजलामा पनि आक्रमण गरेको छ । त्यहाँ आक्रमणमा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएकोछ ।

युरो–मेड ह्युमन राइट्स मनिटरले गाजामा इजरायलको पछिल्लो आक्रमण युद्धको सुरुवातदेखि नै ‘सबैभन्दा व्यापक र घातक आक्रमण’ मध्ये एक भएको बताएको छ ।

यसले इजरायली सेनालाई नयाँ नरसंहार गरेको र ‘बाँकी छिमेकी र पूर्वाधारको पूर्ण विनाश समावेश गर्ने जलेको माटो नीति अपनाएको’ आरोप लगाएको छ ।

समूहले शुक्रबार बिहानदेखि १२ घण्टाभन्दा कम समयमा उत्तरी गाजामा मात्र ११५ भन्दा बढी प्यालेस्टिनीहरूको हत्या भएको जनाएको छ । इजरायली सेनाले जबलियाको ताल अज–जातार र बेइत लाहियाको अल–सलाटिनमा कम्तिमा १० आवासीय घरहरूमा आक्रमण गरेपछि यो हताहत भएको हो ।

ह्यात होटलको ग्राउण्डमा नोराको प्रस्तुती

काठमाडौँ । भारतीय अभिनेतृ तथा नृत्याङ्गना नोरा फतेहीले शनिबार साँझ बौद्धस्थित ह्यात होटलको ग्राउण्डमा प्रस्तुती तथा नृत्य प्रदर्शन गरेकी छन् ।

शनिबार साँझ उनले ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा प्रस्तुती दिएकी हुन् । प्रस्तुतीका लागि उनी शनिबार बिहान काठमाडौं आएकी थिइन् । ह्यात होटलको ग्राउण्डमा भएको कार्यक्रममा हजारौं दर्शकको उपस्थिति थियो ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेतृ फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।

इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको थियो । अभिनेतृ फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिएका थिए ।